को हुन् कृष्ण सेन इच्छुक?

भारतको देहरादुनमा जन्मिएका कवि/पत्रकार कृष्ण सेन इच्छुकको हत्या गरिएको थियो। उनको हत्या राज्य पक्षबाट भएको थियो। नेपालको जनादेश साप्ताहिकमा जनयुद्धसँग सम्बन्धित समाचार प्रकाशित गरेको अभियोगमा उनलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको थियो। पुलिस क्लबको हिरासतमै उनको मृत्यु भएको थियो।

उनको ‘इतिहासको यो घडीमा’ ‘बन्दी र चन्द्रागिरि’ ‘शोकाञ्जली’ लगायतका कृतिहरु प्रकाशित छन्। प्रगतिवादी साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने इच्छुकसँगै जेल परेका नेपालको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवराज चौंलागाईंसित इच्छुकबारे रातोपाटीका लागि राजु स्याङ्तानले गरेको संवाद/खबरम्यागजिनले यहाँ साभार गरेको छ।


आज कृष्ण सेन इच्छुकस्मृति दिवस, कसरी सम्झनु भयो इच्छुकलाई ?

कृष्ण सेना ‘इच्छुक’ साधना कर्म र उद्देश्यपूर्ण बलिदानको एक उच्च प्रतिक हो। आजको दिनमा उहाँलाई सम्झिँदै जनताको पक्षमा अझ प्रतिवद्धतापूर्वक लाग्ने प्रतिज्ञा गरेँ।

तपाईं कहिलेदेखि चिन्नु हुन्थ्यो इच्छुकलाई?

कलेजका दिनहरुमा कविता लेख्थेँ। ती मध्ये केही जनादेशमा पनि छापिएका थिए। कविता दिन कार्यालय म आफैं जान्थेँ। त्यही बेला भेट भयो उहाँसँग। सायद ५२ सालमा पहिलो पटक भेटें।

पहिलो पटक भेट्दा इच्छुकप्रति तपाईंको धारणा कस्तो बनेको थियो?

उहाँले मोटो चश्मा लगाउनु भएको थियो। खैरो सर्ट लगाउनु भएको थियो। मिठो बोली बोल्नु हुन्थ्यो। उहाँका कविताहरु मलाई पहिल्यै मन पर्थ्यो। व्यक्तित्व त त्यस्तो खास लागेको थिएन। पछि पिकनिक र स–साना जमघटहरुमा नजिकबाट सङ्गत गर्ने मौका पाएँ। त्यसपछि उहाँका व्यवहारहरु राम्रो लाग्यो। तर मैंले वहाँलाई खास चिनेको चाहिँ पछि जेलमा सँगै बस्दा हो।

एउटै मञ्चमा सँगै कविता पनि भन्नु भयो कि?

सार्वजनिक मञ्चमा त्यो संयोग जुरेन। जेलमा रहँदा त पचासौं पटक सँगै कविता वाचन गरियो।

तपाई कहिले जेल पर्नु भयो र कसरी भेट भयो इच्छुकसँग?

मलाई २०५५ सालमा काभ्रेबाट झुठा मुद्दा लगाएर धुलिखेल जेल हुँदै काठमाडौंको भद्रगोल बन्दी गृहमा ल्याइयो। त्यही भेट भयो उहाँसँग। त्यसपछि हामी करिब डेढ वर्ष सँगै बस्यौँ।

जेलमा साहित्यिक कार्यक्रमहरु हुन्थ्यो?

साहित्यिक कार्यक्रम हरेक हप्ता हुन्थ्यो। हामी माओवादी बन्दीहरु मिलेर साहित्यिक कार्यक्रम चलाउँथ्यौं। २०५६ सालको जेठमा सेन दाइले चलाउनु भएको कार्यक्रममा म पहिलो पटक सहभागी भएको थिएँ। हामी करिब ४० जना माओवादी आस्थाका बन्दीहरु थियौं। मैले ‘आमा म आएँ’ शीर्षकको कथा पढेर सुनाएको थिएँ। त्यस क्रममा सहभागी हामी सबै भावुक भएर रोएका थियौं। पछि धेरै पटक हामीले सँगसँगै कविता लेख्यौं वाचन गऱ्यौँ। जेल बाहिर भने त्यो अवसर जुरेन।

जेलमा रहँदा उहाँका व्यवहारहरु कस्तो हुन्थ्यो?

उहाँ बिहान सबभन्दा पहिला उठ्नु हुन्थ्यो। दैनिक योगा र जगिङ गर्नु हुन्थ्यो। पायल्सको रोगी भएकोले खानेकुरा बार्नु हुन्थ्यो। त्यसबेला उहाँ नेपाली साहित्यमा स्नातकोत्तर गरिरहनु भएको थियो। नेपाली साहित्यका मोटामोटा किताबहरु वरिपरि हुन्थे। धेरै पढ्ने, थोरै लेख्ने व्यक्ति हो जस्तो लाग्थ्यो। लेखेका सामग्रीहरु परिष्कार गरिरहनुहुन्थ्यो। साना अक्षरमा लेख्ने र शब्द मिलाउँदा मिलाउँदा पचासौं पटक केरमेट गर्ने बानी उहाँको थियो। उहाँलाई आफ्ना प्रायः रचनाहरु कन्ठस्थ थिए।

४० जनाको हाम्रो संयुक्त भान्सा थियो। खाना पकाउन उहाँ एकदमै सिपालु र अग्रसर हुनुहुन्थ्यो। बाख्राको टाँड जस्तो भुँइमाथि ओच्छ्याइएका फलेकमाथि हामी ४० जना लहरै सुत्थ्यौं। सेन दाइ भित्तामा सुत्नुहुन्थ्यो।

अरु को को हुनुहुन्थ्यो तपाईंहरु?

कृष्ण सेन, म लगायत झलकपाणि तिवारी, गङ्गा श्रेष्ठ, लेखनाथ न्यौपाने, पवनमान श्रेष्ठ लगायतका हामीसँगै थियौं।

उहाँसँग जेलमा बस्दाको कुनै अविस्मरणीय क्षण?

‘बन्दी र चन्द्रागिरि’ भन्ने उहाँको अन्तिम कविता कृति त्यही जेलमा हाम्रै बीचमा लेख्नु भएको थियो। त्यो पुरै रचना मैले आफ्नो हातले नयाँ कपिमा राम्रो अक्षरले सारेको थिएँ। म जेलबाट उहाँभन्दा पहिला निस्किएँ। त्यतिबेला मैले आफ्नो सिरानी उधारेर त्यसको कपासको बिचमा त्यो कापी राखेर बाहिर निकालेको थिएँ। पछि कुनै साथी आएर त्यो कापी लानु भयो, र कविता कृति छापियो। सेन दाइका बारेमा निकै सम्झनाहरु उहाँका हरेक सहयात्रीहरुसँग होलान्। मसँग पनि त्यस्ता अनगिन्ति स्मृतिहरु छन्। जुन यहाँ सबै भन्न गाह्रो छ।

उहाँको स्मृति दिवस आउँदा उहाँसँग सम्बन्धित सम्झना भइरहने कुनै पल छ?

सेन दाइको हत्या सभ्य समाजमाथिको क्रुर हमला थियो। उहाँ यो देशको सबभन्दा असल मान्छे मध्ये हुनुहुन्थ्यो। हिजो उहाँको गुमनाम अनाहक मृत्यु भयो। आज लाखौंले उहाँलाई सम्झन्छन्। यसमा खुशी लाग्छ। उहाँसँग मैले पनि सहकार्य गरेँ भन्ने सम्झदा गर्व लाग्छ। हरेक वर्ष जब इच्छुक स्मृति दिवस आउँछ, मलाई उहाँको ताजा अनुहारको झल्को आउँछ। त्यो सँगसँगै हिजो यहाँलाई दमन गर्ने, उहाँमाथि अत्याचार गर्नेहरुको बढ़ोत्तरी देखेर आक्रोश पनि पैदा हुन्छ।

उहाँमाथि दमन र अत्याचार गर्नेको बढोत्तरी भन्नाले?

एक जना चौकीदारले सेनलाई लात्तीले भकुरेका थिए। (ती व्यक्तिको नाम भने गोप्य राखिएको छ।) हाम्रो सामूहिक बसाइ छिन्नभिन्न बनाएका थिए। कुनै आपराधिक मुद्दामा जेल परेको ऊ हाम्रा हरेक राजनीतिक गतिविधिविरुद्ध खड़ा हुन्थ्यो। तर विडम्बना, आज ऊ हाम्रो पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सदस्य भएको छ। यो देख्दा उदेक लाग्छ।

त्यस्तो व्यक्तिमाथि पार्टीले छानविन गरेन र?

मैंले धेरै पटक भनेँ। तर, आजसम्म केही भएको छैन। पार्टीले चुनावी रणनीति अपनाउँदा सबै खाले मान्छे चाहिन्छ भनेर केही नगरेको हुन सक्छ। तर यस्ता गम्भीर मुद्दाहरुमा मोलाहिजा गर्नु हुन्न भन्ने लाग्छ। सायद यसबारे कुनै दिन सकारात्मक कदम पार्टीले चाल्नेछ। म आशावादी नै छु।

समय निकै परिवर्तन भइसक्यो। त्यसबेला इच्छुकलाई अपमान गर्ने व्यक्ति अहिले सुध्रिएको पनि त हुन सक्छ?

मान्छे बदलिन सक्छ। तर उसले सार्वजनिक रुपमा विश्वास दिलाउनु पर्छ। मेरो भनाई यति हो। ठूल्ठूला गल्ती वा अपराध गर्नेलाई चुपचाप गोप्य रुपमा बढुवा गर्ने होइन, सार्वजनिक शुद्धिकरणको प्रकृयाबाट ल्याउनुपर्छ भन्ने हो।

इच्छुकबाट आजको पुस्ताले सिक्ने कुरा के हो?

सिद्धान्त र व्यवहारको मेल। मेरो विचारमा सेन यी दुई कुराको सङ्गम हुनुहुन्थ्यो। हामीले त्यही सिक्नु पर्छ उहाँबाट।

इच्छुकको आदर्श पार्टी आज विभाजित अवस्थामा छ। उहाँको वलिदानको सार्थकता अहिले कति देख्नु हुन्छ?

उहाँको वलिदान खेर गएको छैन। उहाँले स्थापित गर्नु भएको आदर्श आज पनि एक आकर्षक विम्ब बनेर खड़ा छ समाजमा। उहाँले सार्थक जीवन र उच्च मृत्युवरण गर्नुभयो। उहाँप्रति नेपाली समाज युगौं कृतज्ञ रहने अवस्था छ। राजनीति र साहित्यका दुई अलग क्षेत्रमा उहाँ प्रगतिशिलता र उचाइको एक मानक हो। जसलाई नाघ्न प्रायः हम्मे पर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया