एक राजनैतिक वन्डर ब्वाइ (Wonder Boy) – को कथा

यस्ता विभिन्न उतार चढावहरु पार गरी परिपक्क बनेर आउँदो बङ्गाल विधानसभा चुनावमा दार्जीलिङ जस्तो प्रतिष्ठित आसनबाट एक सशक्त उम्मेद्वारको रूपमा नामाङ्कित हुनुसम्मको उनको यात्रा हेर्दा तथा सुदुर रेलिङ बस्तीबाट साधारण परिवारमा हुर्की युवा अवस्थामै यहाँसम्म आइपुगेको देख्दा लाग्छ, उनी दार्जीलिङ पहाडको राजनीतिको सचिन तेन्दुलकर हुन्।


– चन्द्र


नब्बेको दशकको अन्ततिर हो हामी रेलिङ हाई स्कूल पढ़्थ्यौं। कहिले काहीँ एक केही छिट्टो छिट्टो बोल्ने सानो भाई बेला बेला स्कूल छेउछाउ देख्थ्यौं। सायद उसको स्कूल छुट्टीको समयमा घर आएको बेला होला। विश्वका विविध विषयहरूमा  सुनाउँथे, विद्यार्थीहरू झुरुप्प पर्थे। सानो मान्छेको जनसरोकारका गहकिलो कुरा हामी पनि दङ्ग परेर सुन्थ्यौँ कहिले काहीँ। घरि क्रिकेटको कमेन्ट्री गर्ने, घरि राजनैतिक विश्लेषण। लाग्थ्यो, ती भाइ केही असाधारण छन्। हामी रेलिङ स्कूल पढ्ने, ती भाइ डनबस्को सिक्किम पढ्छ भन्थे। हामी रेलिङ हाई स्कूल सकेर अन्तै पढ्न गएपछि ती भाइलाई मानसपटलबाट बिर्सी पठाइयो।

साल २००५ हुनुपर्छ, हामी कलेजको अन्तिम वर्षमा थियौं सायद। पहाडमा विधानसभा चुनाउको उत्तेजना चरममा थियो। दागोपाप-मा त्यस्ताकका सत्ताधारी पार्टीको रगरगिमा मदन तामाङको अगुवाइमा रहेको पिपल्स डेमोक्रेटिक फ्रन्टका उम्मेद्वार थिए, अमर लामा। रेलिङ बुथमा उनको बुथ एजेन्ट भर्खर एचएस सकेको विद्यार्थी भाइ बस्ने भयो भन्ने कुराले सनसनी फैलियो। सोधखोज गर्दा थाहा भयो ती भाइ हामीले स्कूल पढ्दा देखेको सानो केशव थिएछन्।

कलिलो उमेरमै उनको यो निर्भिकता बढो गजबको थियो। कतिले सानो उमेरमै यसले गल्ती गऱ्यो भने त कतिले यो केशव अब ‘नोटेड’ भयो पछि यसलाई समस्या हुन्छ पनि भनेको सुनियो। त्यो चुनाउमा अमर लामा पराजित भए। पछि एकचोटी बजारमा भेट्दा ती भाइ दार्जीलिङ सरकारी महाविद्यालयमा फिजिक्स अनर्स लिएर पढ्दैछु भन्थे।

एक दिन सुनचरी समाचार पत्रमा दार्जीलिङ सरकारी महाविद्यालयका छात्रहरुले दार्जीलिङको ‘बाटा’ अगाडि कलेजको विविध मागहरु लिएर धर्ना दिइरहेको समाचार आयो , फोटोमा अग्रिम पंक्तिमा ती केशव भाइ नै थिए। उनकै नेतृत्वमा विद्यार्थीहरूको तीन दिनको सफल धर्ना पछि नै हो दार्जीलिङ कलेजले ४५ वटा नयाँ प्राध्यापकहरूको रिक्त पदहरू पाएको अनि ३ अस्थायी प्राध्यापकहरू स्थायी भएको। साँच्चै ती भाइ अति जुझारु थिए, दृढ सङ्कल्पित थिए।

२००७ को अक्टोबर महिनामा दार्जीलिङ पहाडमा अचानक राजनैतिक हलचल देखा पऱ्यो। सुबास घिसिङको एकक्षत्र शासनलाई चुनौति दिएर ७ अक्टोबरको दिन उनकै निकटतम बिमल गुरुङले अलग पार्टीको घोषणा गरे । त्यही ७ अक्टोबरकै दिन एक मरौमा सहभागी बन्न सिंहमारी कै बाटो भएर जानु पर्ने भयो। त्रसित मन लिएर हिँडियो। राजनैतिक झडपको आशङ्काले दार्जीलिङको हावामा नै एकप्रकारको तनाव व्याप्त थियो।

सिंहमारी पुग्न आँट्दा एक विराट जुलुसको लश्कर दार्जीलिङ बजार तर्फ आउँदैरहेछ। एकजना जोशिलो ठिटो हातमा हातेमाइक लिएर जातीय नाराको साथ अघि अघि जुलुसलाई अगुवाई गर्दैथिए। जुलुस गाडीको छेउमा आयो, खिड्कीबाट बाहिर हेरें, बढो उदेक लाग्यो। हातेमाइकमा जोड जोडले नारा भट्याउँदै जुलुसलाई अगुवाई गर्ने त ती केशव भाइ नै पो रहेछन्।

त्यसपछि फेरि एकपल्ट धेरैले पढ्ने उमेरमा यो भाइले गलत बाटो हिड्यो भने त कतिले भर्खर जन्मिएको पार्टीमा होमिएर यो भाइले भविष्य बिगाऱ्यो पनि भने। तर नभन्दै गोर्खा जनमुक्ति मोर्चा पहाडमा एकमात्र शक्तिशाली पार्टीको रूपमा स्थापित भयो। त्यही पार्टीको विद्यार्थी मोर्चाको केन्द्रीय महासचिव बने -केशवराज पोख्रेल। सानैमा पार्टीको प्रभावशाली अनि तार्किक नेताको रूपमा परिचित बन्दै गए। एजुकेशन मोनिटेरिङ सेलको सदस्य रहेर शिक्षकहरूको सभामा पहाडको विभिन्न शैक्षिक समस्याहरुमाथि गहन विश्लेषण अनि समाधानको मार्गहरू प्रस्तुत गर्दा लाग्थ्यो, यो भाइले भविष्यमा केही गर्छ।

सन् २००८ मा उनी दार्जीलिङको आरकेएसपी स्कूलमा स्वयं सेवक शिक्षकको रूपमा आएका छन् भनेर मेरो गाउँको एकजना आरकेएसपी पढ्ने भाइबाट थाहा लाग्यो। केही पछि चौरस्तामा भेट्दा सिलिगुडीको एक प्रतिष्ठित स्कूलले उनलाई बोलाएको तर उनलाई आफ्नो पहाड मै केही गर्ने धोका रहेकोले आरकेएसपी नै रोजेको बताए। बढो चाखलाग्दो लाग्यो उनको यो रोजाइ। वास्तवमा हामी छिमेकी गाउँकै भएता पनि आपसमा त्यति घनिष्टता भने थिएन। बेला बेला राजनैतिक कार्यक्रमहरुमा भेटिनु बाहेक अन्य त्यस्तो निकटता केही थिएन।
यतिकै आफ्नो दिनचर्याहरु चलिरहेथ्यो। उनी गोजमुमोको हरेक जनसरोकारका कार्यक्रमहरुमा अग्रिम पंक्तिमा रहेर सरिक भइरहेको पढिरहन्थ्यौँ खबर कागजहरुमा। गोर्खाल्याण्डको मागको आन्दोलनको क्रममा अनेकौं धर्ना प्रदर्शनहरुहरुमा अगुवाई गरिरहन्थे। सरकारको दमन माझ पनि पछि हटेको कहिले देखिएन। २३ वर्षको उमेरमा आफ्नो उमेरभन्दा धेर मुद्दा खाएको एक समय उनको निकटको मुखबाट सुनेको थिएँ।

त्यही राजनैतिक हुमेलामा एकदिन उनी जेल परे। अनेक यातना सहे, लगभग १८ महिना जेल जीवन काटे। जेलबाट छुटेर नै हो मेरो निकटता पनि बढेको उनीसँग। जेलजीवनमा उनका भोगाइको दिनहरू सुन्दा स्वतः आँखा रसाएर आउने। त्यो कठोर भोगाई पछि यस्ता बहुप्रतिभाशाली भाइको अब राजनीतिदेखि मोहभङ्ग त हुँदैन भन्ने आशङ्का उब्जेको थियो। तर अहँ उनी अझ ऊर्जा लिएर फर्किए राजनैतिक मैदानमा।

उनी जस्तो ऊर्जावान युवाले राजनीति त्याग्नु हुँदैन भन्ने सबैको आकांक्षालाई मर्न दिएनन् उनले। २०१७ को जनआन्दोलनमा उनको सक्रियता २००७ को भन्दा कम थिएन। अनियन्त्रित आन्दोलनदेखि जब पहाड़ साम्य अनि शान्त बन्दै गयो, उनको भागीदारी अनि उत्तरदायित्व अझ प्रभावी बन्दै गयो। पहाडले हिँडेको विकासको नयाँ गोरेटोको उनी अहम शिल्पकारको रूपमा अघि आउँदै गए।

धेरै जनकल्याण अनि समस्या समाधानको मार्गमा उनको अथक परिश्रमले पहाडको धेरै गाडे घाउ सरह बनेको समस्याहरू समाधान भएको साक्षी हामी छौं। यही हाल सालहरुमा सयौं बेरोजगार युवाहरुको शिक्षक नियुक्ति, हाई स्कूलहरूका एडहक शिक्षकहरूको स्थायीकरण, बर्षौदेखि खटिरहेको पाठशालाहरुका टीचर इन चार्जहरुलाई पूर्णकालीन प्रधानअध्यापकको रूपमा बढोत्तरी, अनेकौं अन्य विद्यालयहरुको पूर्वाधार विकासमा उनको योगदान अतुलनीय रहेको छ।
त्यो सँगसँगै शिक्षकको रूपमा कोरोना कालमा पहाड़भरिको विद्यार्थीहरूको निम्ति अनलाइन क्लास अनि उडान कार्यक्रमको सम्पूर्ण व्यवस्था उनको आफ्नो काँधमा लिएको पनि उनको अर्को बेग्लै पाटो छ।

यस्ता विभिन्न उतार चढावहरु पार गरी परिपक्क बनेर आउँदो बङ्गाल विधानसभा चुनावमा दार्जीलिङ जस्तो प्रतिष्ठित आसनबाट एक सशक्त उम्मेद्वारको रूपमा नामाङ्कित हुनुसम्मको उनको यात्रा हेर्दा तथा सुदुर रेलिङ बस्तीबाट साधारण परिवारमा हुर्की युवा अवस्थामै यहाँसम्म आइपुगेको देख्दा लाग्छ, उनी दार्जीलिङ पहाडको राजनीतिको सचिन तेन्दुलकर हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन