‘वाद’-मा रहेर सिर्जना गर्नु अप्राकृतिक हो- सुदीप पाखरिन

संवाद- सुदीप पाख्रिन


युवा कवि सुदीप पाख्रिन पूर्वी नेपाल, धरानका हुन्। ‘आदिम मौनता’ र ‘दगुरिहिँड्ने बाटो’ कवितासङ्ग्रह प्रकाशन गरेका पाख्रिनले कृष्णभूषण बल युवा सिर्जना पुरस्कार २०७५ पाएका छन्। कविता सिर्जनासँगै अनुवाद गर्न रुचाउने उनले पछिल्लो समय गुलजारका कविताहरू अनुवाद गरिरहेका छन्।


विशाल नाल्बो


तपाईँलाई कविता लेख्नैपर्छ भन्ने किन लाग्यो?

कविता मेरो लागि सम्वाद हो । सम्वाद समाजसँग । सहरसँग । देशसँग । ससांरसँग । यावत अस्तित्वसँग । र, कहिलेकाहीँ आफैसँग पनि । कहीँ न कहीँ, कतै न कतैबाट कुनै न कुनै माध्यमबाट हर कोही अभिव्यक्त हुन जरूरी हुन्छ भन्ने म ठान्दछु। अभिव्यक्त हुन म कविता लेख्छु । मौन रहेर मौनता चिर्न म कविता लेख्छु । नत्र,  मौन मात्रै रहिरहनेलाई यो समाजले,  सहरले,  राष्ट्रले र यो संसारले बिर्सन सक्ने खतरा रहन्छ । म त्यही खतराबाट जोगिन पनि कविता लेख्छु । मौन रहने हरकोही बुद्धको भाग्य लिएर आएको हुन्न । लामो मौनतापछि बुद्धलाई पनि बुद्ध भनेर चिनिन सम्वादको आवश्यकता रहेको थियो । बुद्धको भाषामै सम्वाद गर्न नसकिएपनि  त्यसको समकक्ष पुगेर कवितामा सम्वाद गर्न पो सकिन्छ कि भन्ने आशले पनि कविता लेख्छु।

वारी र पारी नेपाली भाषामा कविता लेख्छन्। कविहरूको निम्ति सिमानाले कस्तो अर्थ राख्ने रहेछ?

यो पारी र वारी भन्ने कुरा भूगोलको कुरा हो । राजनीतिको कुरा हो । जहाँसम्म साहित्यको कुरा आउँछ, गीतसङ्गीतको कुरा आउँछ, कलाको कुरा आउँछ, मानवीय संवेदना र अनुभूतिको कुरा आउँछ, त्यहाँ वारी पारी भन्ने कुरा छैन । हुनुहुँदैन । म घुमेको छु- दार्जिलिङ र सिक्किमका थुप्रै भागहरू । त्यहाँ म कहिले पनि वारी पारी भन्ने कुरा अनुभूत पनि गर्दिनँ । बोलिने भाषा, संस्कृति, गरिने व्यवहार उही, उस्तै छन् । जहाँसम्म कविताको कुरा आउँछ । यो त झनै नितान्त अनुभूतिको कुरा हो । कोमलताको कुरा हो । यसमा त झनै सीमाले कुनै अर्थ राख्दैन ।

रह्यो स्थानियताको कुरा । नेपालभित्रै पनि त पश्चिममा लेखिएको कविता र पूर्वका कविले लेखेका कवितामा लवज, टोन, मिथका कुराहरू अलगजस्तो लाग्ने गरी त आउँछ नै । पश्चिमका युवा कवि खेम बतास र पूर्वमा रहेर कविता लेखिरहेका सञ्जीत फलानाका कवितामा गरिएका प्रयोगको हिसाबले थोरै भिन्नता महसुस जरूर होला । तर, कोमलताको हिसाबले, अनुभूतिको हिसाबले यिनीहरूमा कुनै तात्विक फरक छैन।

यताबाट हेर्दा अर्थात पढ्दा नेपालका कविहरूले विभिन्न वाद र समूहहरूमा रहेर कविता लेखिरहेका देख्छौं। तपाईँ आफू चाहिँ कुन वाद वा समूहसँग आबद्ध हुनुहुन्छ। कि हुनुहुन्न ?

वादमा रहेर कुनै सिर्जना गर्नु मलाई ठ्याक्कै यस्तो लाग्छ, जस्तो बच्चा जन्मन अघि कपडा सिलाउनु र त्यही कपडाको माप अनुसारको बच्चा जन्माउछु भन्नु । अथवा, जुत्ता किन्नु अनि जुत्ताको माप अनुसार खुट्टालाई छिल्नु ।

यसो गर्नु भनेको त प्रकृतिलाई विकृत गर्नु हो । अप्राकृतिक हुनु हो । अप्राकृतिक हुन मन पराउदिन । सिर्जनामा त झनै ‘स्ट्रिक्ट’ छु । त्यति नगरे निस्सासिएको अनुभव गर्छु । मलाई खेल्न सारा संसार आवश्यक हुन्छ ।

समूहका कुरामा चाहीँ एउटा कुरा भन्न मन लाग्छ । मान्छे स्वभावैले वैचारिक समानता, उमेरजन्य समानता र समान ‘इन्ट्रेस्ट’ हुनेहरूबीच सहजता महशुस राख्ने प्राणी हो । म पनि त्यस्तै छु । मेरा पनि सीमित साथीहरूबीच मात्रै उठबस् हुने गर्दछ प्रायजसो । केही संस्थामा आबद्ध छु । ती संस्थाका साथीहरू पनि सीमित नै छन् । अब यसैलाई समूह बनाइयो भनिन्छ भने चाहीँ म त्यही समूहभित्र छु । नत्र, मेरो कुनै समूह छैन ।

विश्व साहित्य सामुन्ने नेपाली कविता कहाँनिर छ?

ठ्याक्कै यहाँनेर छ भनेर यकिनका साथ ताथ्यिक हिसाबले भन्न त म सक्दिन । तर, नेपालीभाषीहरूले लेखेका कविताहरू संसारका कुनै पनि देशका कविताहरूसँग काँधमा काँध मिलाएर कुनै लज्जाबोध नगरिकन यात्रारत रहन सक्छ ।

शैलीगत, बिषयगत, प्रायोगिकता र अनि मौलिकताको दृष्ट्रिमा यस भाषामा लेखिएका कविताहरू कुनै पनि देशका कुनै पनि भाषामा लेखिएका कविताभन्दा कम छैनन् । तर, यसलाई मापन गरिने आधारहरूको पनि आफ्नै ‘लिमिट’ छ । विश्व बजारमा जान यसलाई अनुवादको थाक्राको जरूरत हुन्छ । र, राम्रो थाक्रा तयार गर्ने जनशक्तिको अभाव नेपालमा जहिल्यै पनि छ । 

नेपालबाट हेर्दा भारतीय नेपाली कविताको अवस्था कस्तो देखिन्छ ?

हरिभक्त कटुवाल, गुमानसिंह चाम्लिङ, मोहन ठकुरी, नोर्जाङ स्याङ्दन, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी नेपाली कविताका शिखरहरू हुन् । जसका कविताहरूले भारतीय नेपाली कविताको जमीन मात्रै होइन, संसारभरिका नेपाली कविताको जमीन सिञ्चन गरिरहेका छन् । यी नामहरू यस्ता नामहरू हुन्, जसलाई संसारको कुनै पनि कुनामा, कुनै पनि भाषीहरूमाझ गर्वसाथ राख्न सक्छौँ । त्यसपछिका पुस्ता पनि लोभलाग्दाहरू छन् । मैले नामै लिन थालेभने यो अन्तर्वाता पुरै नामले ढाकिन सक्छ ।

यति बेला यता भारतमा उग्ररूपमा किसान आन्दोलन चर्किरहेको छ। किसानहरूको न्यायको निम्ति कवि कलाकारहरू सडकमा छन्। उता नेपालमा पनि पछिल्लो समय संविधान विघटनपछि प्रतिगमन विरूद्ध कवि, लेखक, कलाकारहरू सडकमै छन् । खासमा एकजना कवि कलाकारले सिङ्गो आन्दोलनलाई चाहिँ

जहिल्यै पनि सत्ताको विरुद्धमा रहेर कविले आफ्नो सिर्जना गरिरहेको हुन्छ । सत्तासँग शक्ति हुन्छ र शक्तिसँगसँगै जहिल्यै शक्ति, उन्माद र स्वेच्छाचारिता आउने गर्दछ । यी सबै विकृतिहरूको विरूद्ध कवि जहिल्यै खडा रहने गर्दछन् । रहनु पर्छ । 

कविहरू शब्दमा सीमित आक्रोशित भैराख्नुभन्दा आम नागरिक सङ्कटमा परेको बेला शोषक सत्ता विरूद्ध आम नागरिकसँगै सडकमा निस्किएर शोषण विरूद्ध प्रतिरोधको नारा लगाउनु पनि गज्जबकै कुरो हो नि होइन ? कवि र लेखकहरू सडकमा आउनु ठिक वा बेठिक ?

मुलूकलाई जहिल्यै जहिल्यै समस्या परेको छ, तब–तब लेखक कविहरू अग्रस्थानमा रहेर त्यस विरुद्ध आवाज उठाएका छन् । नेपालको सन्दर्भमा रहेर कुरा गर्ने हो भने ४५, ४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा भन्नुहोस् ,चाहे ६२, ६३ को आन्दोलनकै कुरा गर्नुहोस् । ती सबै आन्दोलनमा कवि लेखकहरू सडकमै आम जनताहरूसँग थिए । ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ,’ ‘बिसे नगर्चीको बयान’ जस्ता कविताहरू आन्दोलनको लागि आन्दोलनकै सहायक भएर लेखिएका गीत कविताहरू हुन् । सबैभन्दा सचेत नागरिक हुन्, कवि । जनताको दुःख सुख, समस्याहरूसँग सधैँ साथ रहिरहनु पर्दछ ।

भारतमा नेपाली कविता अथवा नेपाली साहित्यको बजार प्रायः शून्य जस्तो भइरहँदा नेपालमा चाहीँ सरकारी जागिर जस्तो पद नै छोडेर पूर्णकालीन लेखक भएर पनि बाँचेका छन् भन्छन् नि । के यो सतप्रतिशत सत्य हो ?

साहित्यको बजारको कुरा आउँदा दुई प्रकारका कुराहरू नेपालको बजारमा प्रचलित छन् । एउटा, साहित्य लेखेर केही हुनेवाला छैन । यसले रोजीरोटी दिनु कहिल्यै सक्दैन । अर्को छ, साहित्यको बजारको स्वर्णयुग हो यो । अब लेखकहरूले लेखेरै बाँच्न सक्ने अवस्था भइसकेको छ । यी दुवै अतिवादी भनाईहरू हुन् । साहित्यको बजार त्यति साह्रो निराशाजनक पनि छैन । जति भनिने गरिन्छ । केही लेखकहरू छन् । अहिले हातमै गन्न सकिन्छ । जसले लेखेरै आफ्नो जीविकोपार्जन गरिरहेका छन् । अपवाद हो यो । तर, छ त । त्यस्तै प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, गोरखापत्र संस्थान जस्ता सरकारी संस्थाहरूले मात्रै साहित्यको पत्रिका, पुस्तकहरू निकालिरहेको देशमा अहिले दर्जनौ अरू व्यववसायिक पब्लिकेशन हाउसहरू छन् । जसले बर्षेनी थुप्रै पुस्तकहरू निकालिरहेछन् । यो बिहानी हो । सुनौलो त्यो पनि । यसैले दिन कस्तो हुनेछ भन्नेतिर इङ्गित गरिरहेको छ । रह्यो कुरा मेहेनतको । भर्खरै, श्रद्धेय कवि दाजु अविनाश श्रेष्ठको अन्तर्वाता सुनेको छु, जसमा उहाँले भन्नुभएको छ, “कस्सिएर मेहेनत गर्नुहोस् । फल अवश्य पाउनु हुन्छ ।”  कस्सिएर मेहेनत गरे अवश्य अरू लेखक पनि अविनाश श्रेष्ठ बन्न सक्ने सम्भावनाको ढोका चाहिँ उघ्रिइसकेको छ ।    

पछिल्लो समय तपाईँको लेखन, प्रकाशन अलिक कम भएको हो ?

अलिकति त परिवारमा आफ्नो भूमिका, अलिकति व्यवहार, अलिकति व्यवसायको कारण पनि मैले लेखनीमा कम समय दिइरहेको छु । यसको मतलब लेख्दै नलेखेको भने होइन । हो, लेखनीको गति थोरै कम भएको चाहिँ अवश्य हो । तर, अध्ययन गरिरहेको छु । अझ विशेषगरि कविताहरू । अथवा भनौँ न आफूलाई माझिरहेको छु । पावर रिगेन गरिरहेको छु भन्दा पनि हुन्छ कि ।

तरै पनि एउटा निबन्धहरूको सङ्ग्रह तयार छ । सम्भवतः २, ४ वर्षमा बजार घुम्न निस्कनेछ भन्ने कुरामा ढुक्क छु ।

हुन त कोरोनाको प्रश्न र जवाफ सुन्दा सुन्दा दिक्क लागि सकेको समय छ। तर पनि तपाईँलाई सोधी हालौं लास्टमा, तपाईँ एकजना कवि, तपाईँको सिर्जनशीलतालाई चाहिँ यो कोरोनाकालीन समयले कतिको असर गऱ्यो वा गरेन?

कोरोनाकालीन समय गज्जब रह्यो मेरो लागि । समय एकतमासले एउटै तरिकाको रहेपनि विभिन्न किसिमका, विभिन्न विधाका, विभिन्न रङ्का नपढिएका पुस्तकहरूसँग साक्षात्कार गर्ने मौका पाएँ। पढिएकै र मन परेका पुस्तकहरू पनि फेरि पनि पढ्ने मौका मिल्यो । नहेरिएका राम्रा सिनेमाहरू र हेरिएकामा पनि मन परेका सिनेमाहरू हेर्ने मौका पनि मिल्यो । सबैभन्दा महत्वपूर्ण कुरा जीवन र मृत्युको नदेखिएका कोणहरूसँग परिचय गर्ने मौका मिल्यो । त्यसमाथि गहिरो चिन्तन गर्ने मौका मिल्यो । यही कोरोनाकालीन समयभित्र रहेर ‘बोध’ शिर्षकमा थुप्रै कविताहरू लेखेको छु । प्रेम, जीवन, मृत्यु आदिमाथिका बोधका कुराहरू लेखेको छु कवितामा । बोध नै शिर्षक राखेर एउटा सङ्ग्रह नै निकाल्ने योजनामा छु । यो पनि कोरोनाकालको उपलब्धी नै हो भन्ने मान्छु । यस अर्थले हेर्ने हो भने कोरोनाकालमा सिर्जनशिलताको कुरा गर्ने हो भने मलाई फाइदै भएको छ ।


सुदीप पाख्रिनका तीन कविता

 

बोध- एक

भूँई झरेको

एउटा पात

उभो…..

आकाशतिर फर्किएर

रूखलाई भन्छ,

-मैले खसेपछि मात्रै हो तिमीमा वसन्त चढ्ने

मैले मरेपछि मात्रै हो तिमीले बाँच्ने।


छुल्याहा सिरियस

कहिलेकाही लाग्छ

चुपचाप बसिरहुँ…..

 

नबोलु कसैसँग एक शब्द पनि….

 

भत्काउ मौनताका हरेक सीमारेखाहरू

र, आवाज नहोस् फिटिक्कै पनि…..

 

कोरू अन्टसन्ट शब्दहरूले कागज

र, रङ्गीबिरङ्गी पुतली भई उडोस् शब्दहरू कवितामा….

 

कहिलेकाहीँ

चुपचाप बसिरहूँ एककुनामा

र, फुकाइरहूँ दुःखका एकएक गाँठाहरू

र, फेरि कसूँ अरू गाँठाहरू दुःखकै

जीवन रून काम लाग्छ पछि भन्दै……

 

कहिलेकाहीँ

होउँ लाग्छ फेरि केटाकेटी

र, गरुँ लाग्छ केटाकेटी हरकतहरू बित्थैमा

होउँ लाग्छ फेरि जवान

र समातेर हात गरूँ लाग्छ प्रस्ताव

जो छुटेको थियो मेरो हातबाटै

फुक्का बालुवा हातबाट छुटेजसरी कुनै दिन…

 

कहिलेकाहीँ सोच्छु

जब मर्छु म

मरिसकेपछि

के सुन्न पाउँछु होला

लता मंगेशकर, मोहम्मद रफी र नारायण गोपालका गीतहरू

यसरी नै….. ?

 

अचम्म लाग्छ,

मभित्रको यो छुल्याहा

किन सिरियस हुन खोज्छ घरिघरि ?

 

कहिलेकाहीँ लाग्छ…..


बोध -एघार

स–साना कुराहरूमा

अचेल

भगवान देख्न थालेको छु

 

जस्तो कि…..

 

हाँगाको कोमलता चिरेर

दुनियाँ चियाइरहेका पातहरूमा

 

त्यही पातहरूसँग कुममा कुम मिलाउँदै

उम्रिएका काँडाहरूमा, कोपिलाहरूमा

 

कोपिलाहरू फुटाएर

मुस्कुराइरहेका फूलहरूमा

 

फूलहरूबाट तप्कँदै

झरेका शीतहरूमा

 

शीतले नुहाएर

आँग तापिरहेको जमीनमा

 

जमीनसँग इत्रिरहेका

किरणका बच्चाहरूमा

 

किरणसँग आँखा छोप्ने खेलिरहेका

तरूण कुहिराहरूमा

 

कुहिरालाई

बेतहासा दौडाइरहेका हावामा

 

हावामा कावा खाइरहेका

रङ्गीबिरङ्गी चङ्गाहरूमा

 

चङ्गाहरूलाई उडाइरहेछु भन्दै

आफै तिनीहरूसँगै उडिरहेका बालापनमा

 

बालकभन्दा दुइकदम अगाडि दौडिरहेका

बर्खे डुङ्गाहरूमा

 

डुङ्गामा सवार बालक सपनाहरूमा

 

त्यही सपनाहरूमा घुड्सवारी गर्दागर्दै

तरूण भएको युवापनमा

 

युवापनले लखेटिरहेका

इन्द्रेणी भविष्यमा

 

त्यही भविष्य फक्रिरहेको

तिम्रो ओँठमा…..

 

र, ओँठले खसालिरहेका

प्रेमका गुलाफी मौनतामा

 

अब कसरी नभन्नू

तिम्रो यो मौनताभन्दा ठूलो

अरू कुनै भगवान छैन भनेर…..

 

स–साना कुराहरूमा….

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन