किन फेल हुन्छ गोर्खे नेतृत्व पटक-पटक?

विचार

बिमल भन्छन्, भाजपाले १२ वर्ष लण्डायो। बजगाई र जिम्बा भन्छन्, बिमलले लण्डाए र अझै थपहरू। भाजपाले बिमललाई लण्डाएको होइन, बिमल आफूले भाजपाको चरित्र नबुझेको हुनाले लण्डिएका हुन्। बिमलको क्षमता लण्डिएको हो। बिमलको वैचारिकता, बौद्धिकता लण्डिएको हो। बिमलले भाजपालाई बुझ्न सकेन र बजगाई र जिम्बाले बिमललाई बुझ्न सकेन र फेरि भाजपामा छन्। डीडीएफका शर्माहरूले त्यसरी नै प्रताप खातीलाई बुझेनन्। बिमल बाहिर निस्कनु केही दिन अघिमात्र दिल्लीमा अञ्जनीहरूले गोर्खा विभूतिहरूको पोस्टर सार्वजनिक गरेका थिए, जसमा बिमलको पनि फोटो थियो। मैले बिमलको फोटो हटाउनु यहाँ शोभा दिँदैन भन्दा बिमलको अन्धभक्त बनेर प्रशंसा गरेका थिइन् तर तीन महिना नबित्दै बिमललाई नै दलाल भन्न थालिन्। राजनैतिक चरित्र नै नबुझ्नेले ढोंग बाहेक केही गर्न सक्दैन।


कमल भुजेल।


मानवसभ्यताको इतिहासमा सङ्घर्ष गर्नेहरूमा गोर्खाले आफ्नो सङ्घर्षको निम्ति आफै खटेको घट्ना भने धेरै नै कम छ। गोर्खाले अरूको युद्ध धेरै लडेको छ। अन्यको उन्मुक्तिको युद्धलाई फत्ते गरेर विरत्व कमाएको छ। अरूको सुरक्षालाई कडाइको साथमा पालना गरेर इमान्दारीको माला पहिरिएको छ। आफ्नो लाम्टा सुकाएर भए पनि अरूको समृद्धिको निम्ति खटेर धनी बनाएको छ। आफ्नो गरिबीलाई बेचेर भए पनि आफ्नै ठाँउको हाँडीमा भुट्टिनु र खाँडीमा लुट्टिनु पुगेको छ।

हुन त गोर्खा संसारको प्रत्येक भूगोलमा कोरिएको छ, प्रत्येक इतिहासमा गाँसिएको छ तर अस्तित्व कहीँ पनि छैन। संसारभरि छरिएर सेवा पुऱ्याउने गोर्खाको आफ्नै ठाँउमा अस्तित्व छैन किन? गोर्खाले परिचय दिन सकिरहेको छैन किन? संसारभरिको पर्यटकलाई बोलाइ खुशी बनाएर पठाउने गोर्खा वास्तवमा आफू चाँहि खुशी हुन नै सक्दैन किन?

प्रवृत्ति र चरित्र अवलोकण

गोर्खा जातिको समस्यामध्ये आफूले आफैलाई परिभाषित गर्न नसक्नु एउटा जड विषय हो। परिभाषा दिइएता पनि एकरूपता नहुनु झनै समस्या हो।

कुनै पनि समाजको आफ्नै ढाँचा हुन्छ, मूल्य-मान्यता हुन्छ। त्यस समाजलाई गतिशीलता प्रदान गर्ने विधि-विधान हुने गर्दछ। समाजलाई एउटा तहदेखि अर्को तहसम्म पुऱ्याउने समवाहक शक्तिहरू हुँदछन्। समाजको आफ्नै ऐतिहासिक बहाव हुने गर्दछ। समाजको उताड-चडाउको ग्राफलाई मनन गरेर भविष्य एवं वर्तमानको निति-योजनाहरू निर्धारण गर्नुपर्ने हुन्छ। समाज यसरी विभिन्न तत्त्वहरूको संश्लेषण हुन् जसलाई मिहिनेतले केलाइ-केलाइ बुझ्नु पर्ने हुन्छ।

यसरी हाम्रो गोर्खे समाजको पनि एउटा परिपाटी छ। हाम्रो समाजको आफ्नै विशेषताहरू छन्, आफ्नै प्रकारको प्रवृत्तिहरू छन्, गोर्खे समाजको चरित्र भिन्न छ। तर यी विशेषताहरू के हुन् ? प्रवृत्तिहरू के हुन्? गोर्खा समाजको आम-चरित्र के हो? यी प्रश्नहरूमाथि भने गोर्खाले नै कुनै प्रकारको चासो पनि लिएको छैन र काम पनि गरेको छैन। केही छुट-पुट भएको कामहरू पनि अपुरो छन् वा त पक्षपाती छन्।

“गोर्खालाई नै गोर्खाको बारेमा थाहा छैन। जति थाहा छ अगोर्खाले लेखिदिएको जति मात्र थाहा छ। यसरी लेखिदिएको कुरा कतिको सत्य हुन्छ त्यो त सचेत व्यक्तिले बुझिहाल्छन्।” त्यसैकारण गोर्खाले जति नै केही गर्नु खोज्दा पनि हुँदैन रहेछ भन्ने चलनको थालनी यहाँबाट नै शुरू हुन्छ। स्टियरिङ नै अरूको हातमा भएपछि आफूले दिशा कसरी दिनसक्ने?

समाजमा कसैले पनि केही गर्छु भनिसकेपछि आफ्नो सपनालाई योजनाबद्ध गर्नुपर्छ। योजनावद्ध गरे पछि त्यसको रूपरेखा कोर्नुपर्छ। तात्कालिक र दीर्गकालिक प्रभावहरूबारे स्पष्ट हुनुपर्दछ। यी कार्यलाई कसरी कार्यन्वयन गर्ने, यसबाट निस्कने उपजहरू के-के हुन् सबैको हिसाब-किताब छर्लङ्ग देखेको हुनुपर्दछ। आफूले जुन समाजमा यो प्रयोग गर्न आँटेको छ त्यस समाजबारे राम्रो अध्ययन गरेको हुनुपर्दछ। समाजको मनस्थिति, आर्थिक-राजनैतिक, सामाजिक, भौगोलिक, ऐतिहासिक सबै आयामको अध्ययन-मनन गरेर बाटो कोरेको हुनुपर्दछ। अनि मात्र यी कदम उठाउनु पर्दछ।

समाजमा शोषण-उत्पीडन बेसी नै भए पछि परिवर्तन साँच्चै नै आउनुपर्छ। परिवर्तनको निम्ति आन्दोलित हुनु नै पर्छ। तर जति पनि परिवर्तन हुन्छ त्यस्को मूल्य पनि धेरैको बलिदानस्वरूप चुकाउनु नै पर्दछ। त्याग बिना कुनै परिवर्तन हुने गरेको छैन। तर उपलब्धीबिनाको बलिदानमात्र गर्नुपर्ने आन्दोलन पनि गर्नु भएन। आन्दोलन असफल हुने धेरै नै कारणहरू हुनै सक्छन् तर नेतृत्वको हेलचेक्राँइले आन्दोलन तुहिनु भएन। नेतृत्व नै असक्षम छन् भने त्यो आन्दोलनमा होमिनु नै भएन।

१२ वर्ष भाजपाले लण्डाएकै हो त?

हामीले जब-जब पनि हारको सामना गर्नु पऱ्यो नेताहरूले कहिले पनि दोष आफ्नो क्षमताको कमीले गर्दा भनेर स्वीकारोक्ति दिएर इमान्दारीपना देखाएन र बौद्धिक जमातले पनि यसलाई दर्शाएन। यहाँ नेतृतवमात्र बैमान नभएर नेतृत्वसित जडित अन्य जमातहरू पनि छन् जो सँधै ओझेलमा बसेर पन्सिरहेका छन्। यसमाथि पनि बहस चल्नु नै पर्छ। कारण हाम्रो आन्दोलनहरू तुहिनुमा किन नेतृत्वहरूलाई मात्र दोष दिनु?

घिसिङको आन्दोलन दागोपापमा आएर तुहिनु र बिमलको आन्दोलन जिटिएमा तुहिनु पछाडीको कारणहरू खोज्ने काम, त्यस माथिको विश्लेषण, समीक्षा गर्ने कुनै पनि पहलहरू भएन। ढुक्कसँग जे-भयो भयो भनेर बसे। तर सँगैमा बङ्गालकै अन्य पार्टीहरू वा बौद्धिक जमातले यसको धेरै अध्ययन गरेर आ-आफ्नै प्रकारले प्रचार गरेका छन्। यद्यपी यी प्रचारहरू हाम्रो लागि घातक पनि छन्।

हाम्रो आन्दोलनहरू भावनाको आवेगमा आएर गरिएको झगडा सरह थियो। कुनै रूपरेखा नै थिएन। आन्दोलनलाई निर्वाह गर्ने सिद्धान्त पनि थिएन न त आन्दोलनबाट कुनै सिद्धान्तको प्रतिपादन नै भयो। पछि बिमल पनि आफै हिंस्रक भएर गान्धीवादको खोल ओडेर बेसी ढोल पिट्न सकेन।

घिसिङ-बिमलहरू आन्दोलन गर्दा बङ्गालसित लडिरहेको थियो। बङ्गाल यस्तो ठाँउ हो जहाँ संसारकै सिद्धान्तहरू घोक्लने टाउकोहरूको भीड छ तिनीहरूसित जुँधिरहेका थिए। राज्य-सत्तालाई टक्कर दिइरहेका थिए। राज्य-सत्ता जसकोमा दमन गर्ने समयन्त्रहरूको कमी नै छैन। भौतिक हतियारदेखि लिएर मानसिक उत्पीडन गर्ने सबै प्राविधिक यन्त्रहरूको भण्डार रहेको सरकारलाई जिस्काई रहेको जस्तो थियो। आफ्नो भने बोकाको जस्तो भर्खर उम्रिँदा चिलाएर जतापायो त्यतै जोतिहिड्ने सिङले छिप्पिएर बटारिएको सिङलाई जिस्काइराखेको थियो। उछिट्टिनु त थियो नै आफ्नो सिङको विकास नगरी जोतेपछि।

घिसिङ होस् वा घिसिङ अघि वा पछिको नेतृत्वको कुरा गर्नु हो भने सबै आन्दोलनहरू बुनियाँदी कुरामा नै चुकेका थिए। आफू जोसँग लडिरहेको छ उसको चरित्र नै नबुझिकन कमनसेन्सको भरमा मात्र आन्दोलनमा उत्रिए। खसी र कुखुरा काटेको खुकुरीले नै बाघ, भालु, बँदेलदेखि हात्ती सबै मार्छु भन्ने दुस्साहस गर्दै जोखिम उठाए। शिकार फेरिए तर हतियार फेरिएन। कमी सङ्घर्षमा थिएन, सङ्घर्षको प्रवृत्तिमा थियो, रणनीति नहुनुमा थियो। हार गन्तव्यमा थिएन तर नेतृत्वको चरित्रमा थियो। कमजोरी व्यक्ति-नेतामा थिएन तर नेता तयार हुने भुईँफुट्टे संस्कारमा थियो। र आजसम्म यही प्रवृत्ति यथावात छ।

यसरी हाम्रो नेताहरूले आफ्नो दुश्मनको चरित्र बुझ्ने प्रयास नगरेता पनि राज्य-सत्ताकोमा त हाम्रो नेताहरूको जन्म-कुण्डली नै थियो। एउटा राम्री एयर-होस्टेसले लचकिलो स्वरमा “मे आई हेल्प यु” भनेको सुन्दैमा मुद्दा भुल्लिने नेतृत्वलाई वशमा गर्नु त्यति ठूलो चटक गरिबस्नु परेन राज्य र केन्द्र सरकार दुवैलाई नै। साइकोलोजिकली हाम्रो नेतृत्वहरूमा नै धेरै कमी छन्, थिए पनि जसको मार आम-जनताले उठाउनु परिरहेको छ। तर पटकपटकको सम्झौताको मार जनतालाई थोप्दा आफ्नो नपुसंकताको सत्यता भने लुकाइनै बस्छन्।

बिमल भन्छन्, भाजपाले १२ वर्ष लण्डायो। बजगाई र जिम्बा भन्छन्, बिमलले लण्डाए र अझै थपहरू। भाजपाले बिमललाई लण्डाएको होइन, बिमल आफूले भाजपाको चरित्र नबुझेको हुनाले लण्डिएका हुन्। बिमलको क्षमता लण्डिएको हो। बिमलको वैचारिकता, बौद्धिकता लण्डिएको हो। बिमलले भाजपालाई बुझ्न सकेन र बजगाई र जिम्बाले बिमललाई बुझ्न सकेन र फेरि भाजपामा छन्।

डीडीएफका शर्माहरूले त्यसरी नै प्रताप खातीलाई बुझेनन्। बिमल बाहिर निस्कनु केही दिन अघिमात्र दिल्लीमा अञ्जनीहरूले गोर्खा विभूतिहरूको पोस्टर सार्वजनिक गरेका थिए, जसमा बिमलको पनि फोटो थियो।

मैले बिमलको फोटो हटाउनु यहाँ शोभा दिँदैन भन्दा बिमलको अन्धभक्त बनेर प्रशंसा गरेका थिइन् तर तीन महिना नबित्दै बिमललाई नै दलाल भन्न थालिन्। राजनैतिक चरित्र नै नबुझ्नेले ढोंग बाहेक केही गर्न सक्दैन।

यसरी यता-उता सरिरहने नेतृत्वहरूको खासै पक्का मालिक-(सिद्धान्त) हुँदैन, जसले दिन्छ उसैको दैलोमा पुग्छ। मनपरेन भने फेरि गाली गर्छ। बुझ्नुपर्ने व्यक्तिलाई होइन तर व्यक्तिसित अन्तर्निहित रहेको सामाजिक सचेतनालाई हो, उसको राजनैतिक चरित्रलाई बुझ्नुपर्ने हो। व्यक्तिको मीठो बोलीसित नै फसिन्छन् हाम्रा नेताहरू पनि। नेतृत्व आफै सचेत छैनन्। तिनीहरूको आफ्नो व्यक्तिगत स्वार्थहरू पुरा गर्नुको निम्ति आम-जनताको बली चडाउँछन्। तर आम जनताले पनि नेताको प्रवृत्ति र चरित्रलाई बुझ्न नसकेर नै फेरि पनि माया नै गरिराखेका नै हुन्छन् दलाल भन्दै त्यही नेतालाई।

कसैले कसैलाई लण्डाउने होइन, खासमा जसको जति औकात छ त्यसै अनुसारको फल पाउने हो। राजनैतिक चातुर्य, परिपक्वताको भरमा नलण्डिने हो। कुनै पनि राजनैतिक पार्टीले गोर्खाको सपना साकार पार्ने ठेका लिएर बसेको छैन। यो त हाम्रो गोर्खे पार्टीको दममा भर पर्छ। अर्काको आशमा छोराको बिहे हुँदैन।

नेतृत्वको खसीकरण

गोर्खाको मुद्दा बोकेर जति पनि आन्दोलनबाट नेतृत्वको आगमन भयो, सबैको पलायन पनि भयो। पलायनको कारण समर्पण थियो, सम्झौता थियो। समर्पण र समझौताको कारण भने धेरै छन्।

जति पनि नेतृत्व सरकारसित हारको सम्झौता गर्न पुगे ती सबैलाई नै विशेषत: राज्यले खसी बनाएर छोडिदिए। दाना-पानी राम्रो दिएर पुस्टाउने काम राम्रै गरेता पनि बाबु नै भने चाँही कहिल्यै बन्न सक्दैनन्। दाना-पानीले नेता पुस्टिएता पनि पार्टी भने फस्टिएन कहिल्यै पनि। अझ विस्मात त यहाँ लाग्यो कि राज्यको कम्युनिष्टले बैली पारेको क्रामाकपालाई त झनै भाजपाको गठबन्धनले त बलात्कार नै गरिदियो।

सैद्धान्तिक धरातलहरूको हेक्का लिने एकमात्र पार्टी पनि बेनाम भएर भौतारिनुमा गोर्खाले नेतृत्व नपाउनुको ठूलो चुनौति हो। आर० बी० लाई सैद्धान्तिक गुरू मानेर पुजा गर्नेहरूले मार्क्सवाद पनि धर्म सरह पढेर होला आज चेलाहरू सडकमा भाजपा फासीवादको विरोधमा छन् त गुरू आर० बी० राई भाजपा विरोधीलाई पार्टीबाट निष्कासनमा लागिपरेका छन्।

विनय-अनित आफैले कुरा स्पष्ट राखेका छन्। विकासको एजेन्ट मात्र हुँ गोर्खाल्याण्डको नाममा बोल्न पनि सक्दिनँ भनेर। झिना-मिना नेता गनिनेहरू पनि त्यस्तै हो। सबैको राजनैतिक चरित्र बुझेर विश्लेषण गर्नु पर्छ।

ईँफुट्टे नेतृत्व

हामीले जति पनि नेतृत्व होस् वा अन्य प्रतिभाशाली व्यक्तिहरू पायौँ ती सबै नै भुईँफुट्टा थिए र छन्। कुनै पनि संस्कार बिना, कुनै प्रशिक्षण बिना, कुनै पृष्टभूमि बिना नै आफ्नो बलबुतामा बनिएको प्रतिभा पाएका हौं। त्यसैले कलाको प्रदर्षनीमा गोर्खा कम त छैन तर कलाको खेती नै चाहीँ गर्न भने सक्दैन। आफ्नो कलालाई एकपुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण गर्न नै सक्दैन। ज्ञान होस् वा कला वा व्यक्तित्व, सबैको हामीले खेती गर्नुपर्छ यसमा लगानी गर्नुपर्छ। यो भुईँफुट्टे संस्कारलाई संस्थागत गरेर व्यवस्थित ढङ्गमा एउटा संस्कृतिको थालनी गर्नुपर्छ। प्रतिगमन र वहिर्गमनको राजनीतिले थाकेको जनतालाई एउटा उर्जा प्रदान गर्नु पर्नेछ पलायन हुनदेखि जोगाउनु पर्छ।

गोर्खाको लहरे प्रवृत्ति

गोर्खाले चाहे भने के चाहिँ गर्नु सक्दैन होला तर अर्काको सार लागेर? अरूको लागि जे पनि गर्न तयार हुन्छ। तर आफ्नै लागि भने केही पनि गर्न सक्दैन। गोर्खाले थाङ्ग्रा पायो भने जति पनि माथि उक्लन सक्छ “लहरा” भएर तर आफै भने खडा भएर उभिन सक्दैन। जे नै गर्दा पनि अरूको साथ, अरूको निर्देश खोजिरहने गोर्खे प्रवृत्तिलाई तोड्नुपर्छ। यो एउटा साइकी नै हो। गोर्खा “लहरा” मात्र भएर होइन अब रूख सरह उभिनु सिक्नु पर्छ। अरूको सहारामा अग्रसित हुनु छोड्नुपर्छ।

सार

हामीले धेरै आन्दोलनहरू पायौँ, हारहरूको सामना गऱ्यौँ, आशाहरूको तिलाञ्जली दियौँ, बुद्धिजीविहरूको पूजा गऱ्यौँ, थान-थपनाहरूमा सजाएर राख्यौँ, उन्मुक्तिको सपनामा धेरै नै प्राणको आहुतिहरू दियौँ, विश्वासको थाँतीमा क्रन्दनहरू लुकायौँ, बलिदान मात्र दियौँ तर त्यसको बद्ली उपलब्धी भने केही पनि पाएनौँ। पटक-पटकको हार नै भएता पनि गोर्खा माथिको शोषण जबसम्म रहन्छ, उन्मुक्तिको सपना फिलिङ्गो बनेर पनि खरानीमुनी कता न कता अवशेषमा रहिनै रहन्छ।

हामीले पाउनुको नाममा धेरै पार्टीहरू पायौँ, नेता भनौँदाहरू पनि पायौँ, सपनाहरू पायौँ, तर अभाग्यवश, एउटा निडर, बिक्री नहुने, दूरगामी जनताको हित चहाने नेता भने पाएनौँ।

अबको हाम्रो लगानी भनेको हामीले हाम्रो लागि उभिने नेता जन्माउनुमा लगाउनु पर्छ। म नेता हुँ भनेर आउने भुईँफुट्टे नेतालाई ढोक्न छोड्नुपर्छ।


Kamal Bhujel, Research Scholar, Dept. of Physics, Mizoram University, Aizawl , India, 9563451940. [email protected] 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन