सिस्टम कोल्याप्स भइसकेको छ

कोरोना कहर

मार्च २०२१ सम्म भारतले लगभग ९० देशलाई भ्याक्सिन निर्यात गर्ने काम गऱ्यो। तपाईंले गुगल गरेर हेर्नुभयो भने थाहा पाउनहुन्छ, आजसम्म भारतमा कुल जनसंख्याको केवल एक प्रतिसत जनसंख्याको मात्र पूर्ण टीकाकरण भइसकेको छ। यस्तो स्थितिमा अन्य देशलाई भ्याक्सिन निर्यात गर्न के वाध्यता थियो?


लेखनाथ छेत्री


बिहान बिउँझने बित्तिकै मोबाइल फोन समात्ने धेरैको आदत हुन्छ। मेरो पनि छ। बिहानको सात बजेको थियो। देशको प्रधानमन्त्रीको एउटा ट्वीटमा आँखा पुग्यो। बङ्गालमा हुन गइरहेको सातौं चरणको मतदानलाई केन्द्र गरेर लेखिएको प्रधानमन्त्रीको ट्वीटमा बङ्गालको जनतालाई भोट हाल्नको लागि अपिल गरिएको थियो।

सोंच्नुहोस् उठ्नेबित्तिकै बिहानको त्यो समय तपाईँको मन कतातिर जान्छ? प्रधानमन्त्रीको मन बङ्गाल चुनावतिर गयो। ठिक छ। प्रधानमन्त्री, गृहमन्त्री लगायत उनका मन्त्रीमण्डलका नेताहरूले बङ्गालको सत्ता हत्याउन जसरी कुनै कसर बाँकी राखेका छैनन्, त्यसलाई हेर्दा ट्वीट मुनासिब लाग्छ।

तर आज देशको अवस्था जस्तो छ, यस्तो बेला नैतिक हिसाबले पनि प्रधानमन्त्रीबाट एकाबिहानै यस किसिमको ट्विट आउन कति ठिक कुरा होला? यसले प्रधानमन्त्रीको कस्तो मनस्थिति दर्शाउँछ? एकचोटि सोंच्नुहोला।

यो कुरा सुन्दै गर्दा तपाईं आतेसमा आउनसक्नुहुन्छ, तर सत्य यही हो।

सिस्टम कोल्याप्स भइसकेको छ।

किनभने देशमा आज हरेक दिन कोरोना सङ्क्रमित बन्नेहरूको संख्या चार लाखभन्दा धेर पुग्न लागेको छ। सङ्क्रमितहरूको लागि अस्पतालमा पर्याप्त मात्रामा पलङ छैन। सडक अनि खाली ठाउँतिर सङ्क्रमितहरू एक एक सासको लागि तड्पिरहेका छन्। अक्सिजन सिलिन्डरको हाहाकार छ। शमशानघाटमा लाश जलाउने ठाउँसम्म छैन। लाशहरू समेत आफ्नो पालो पर्खेर लाम लागेका छन्।

२७ जनवरी २०२० को दिन भारतमा पहिलोचोटि एक बीस वर्षिय महिलामा कोरोनाको सङ्क्रमण भेटियो। मार्च पहिलो सातासम्म आइपुग्दा कोरोना सङ्क्रमणले गति समातिसकेको थियो।

देशको नाम सम्बोदनमा प्रधानमन्त्रीले थाल ठोक्न लगाए। घण्टी बजाउन भने। प्रधानमन्त्रीले त्यतिमात्र के भनेका थिए, थाल अथवा घण्टी ठोक्दा त्यसको कम्पनको कारण कोरोना भाग्छ भन्ने अद्भुत विज्ञानको तर्क लिएर हाम्रो वाट्सयाप इनबक्ससम्म आइपुग्यो -भाजपाको मिडिया सेल। 

जनतामात्र होइन, देशका नेता नामी फिल्मकर्मीहरूसमेतले थाल ठटाएको देख्दा लाग्यो, कोरोना अब भाग्छ। तर कोरोना भागेन। बढिरह्यो।

मात्र चार घण्टाको समय राखेर देशको प्रधानमन्त्रीले लकडाउनको घोषणा गरे।

जो जहाँ छन्, त्यहीँ बस्ने प्रधानमन्त्रीको आदेश थियो।  तर त्यहीँ कतिन्जेल बस्ने?

एकातिर सङ्क्रमणको डर अर्कोतिर रातारात बेकारी बनेपछि भोकले मरिन्छ कि भन्ने डर। आफ्नो ठाउँ छोडेर अन्य राज्यतिर काम गर्न जाने मजदुरहरूले सयौं किलोमिटर आफ्नो घरसम्मको पैदलयात्रा शुरू गरे। हिँड्दा हिँड्दै धेरैको खुट्टाको छाला उप्कियो। कति बाटैमा भोकले मरे। कति रोगले मरे। कति तिर्खाले मरे। कति गर्भवती महिलाले बाटैमा बच्चा समेत जन्माएका खबर हामीले हेऱ्यौं। रेलको लिकमा सुतेका कतिजना रेलको चक्काले काटिएर मरे। प्रधानमन्त्रीले मनकी बात सुनाइरहे।

यतिमात्र होइन, ठिकसँग विमर्श नगरी प्रधानमन्त्रीले गरेको उक्त घोषणाले देशको अर्थतन्त्र धर्मरायो। असंख्य मान्छे बेकारी बने। देश एक क्राइसिसको स्थितिमा पुग्यो।   प्रधानमन्त्रीले दिएको आदेशले कोरोना नियन्त्रणमा सरकारको पहिलो नाकामी यहीँ उदाङ्गो पारिदियो।

त्यसपछि आफ्नो उदार चरित्र देखाउन प्रधानमन्त्रीले देशवासीको लागि मुफ्त रासनको घोषणा गरे। अप्रेल २०२० देखि नोभम्बर २०२० सम्म जनताले मुफ्त रासन पाउने भए। ठिक्क नोभेम्बर महिना मैं बिहार विधानसभा चुनाव हुनुथियो। सरकारको यो चामल राजनीति हामीले बुझेनौं। बिहार चुनाव प्रचारमा प्रधानमन्त्रीले ठाउँ ठाउँमा यही चामलको देउसी खेलेर भोट मागे। 

बिहारमा भाजपा सरकारमा आउने बित्तिकै बिहारको जनतालाई मुफ्त कोरोना भ्याक्सिन दिइनेछ। भाजपाले बिहार विधानसभा चुनावको घोषणापत्रमा लेख्यो।

सरकारलाई थाहा थियो, जनता कति आतेसमा छन्। त्यही आतेसमाथि सरकारले राजनीति शुरू गऱ्यो। बाँच्ने हक भाजपालाई भोट हाल्नेहरूलाई मात्र छ? के भाजपालाई भोट हाल्ने मात्र देशका नागरिक हुन्? सरकार भाजपाको लागि हो कि देशको नागरिकको लागि? विहार विधानसभा चुनावको घोषणापत्रले प्रश्न खडा गरिदियो।

२८ जनवरी २०२१ जब कोराना  सङ्क्रमणको संख्या दस हजारभन्दा कम थियो। भारतले भ्याक्सिन उत्पादन शुरू गऱ्यो।

‘भारतले ठुलो आपदाबाट विश्वलाई बँचायो। छप्पन इन्च छात्ती चौडा गरेर प्रधानमन्त्रीले घोषणा गरे। त्यसपछि मार्च २०२१ सम्म भारतले लगभग ९० देशलाई भ्याक्सिन निर्यात गर्ने काम गऱ्यो।

तपाईंले गुगल गरेर हेर्नुभयो भने थाहा पाउनहुन्छ, आजसम्म भारतमा कुल जनसंख्याको केवल एक प्रतिसत जनसंख्याको मात्र पूर्ण टीकाकरण भइसकेको छ। यस्तो स्थितिमा अन्य देशलाई भ्याक्सिन निर्यात गर्न के वाध्यता थियो?ल सोंच्न लायक कुरा छ।

केही दिन अगाडि मात्र भारतले अमेरिकालाई भ्याक्सिन कम्पोनेन्टको सुत्रको लागि आग्रह गऱ्यो। हाम्रो लागि नागरिकको हित पहिले त्यसपछि मात्र व्यापार। अमेरिकाले भारतलाई दिएको जवाबको सार यस्तो थियो।

अभाव जति धेर, त्यति राम्रो चल्छ व्यापार। भारतमा कोरोना भ्याक्सिनको हाल अहिले यस्तै छ। सरकारी अस्पतालमा मानिसहरू दिनभरि लाम लागेर बसेका छन्। भ्याक्सिनको अभाव छ। आउँदो हप्ता निजी अस्पतालको लागि भ्याक्सिनको नयाँ रेट सार्वजनिक भइरहेको छ। सरकार कर्पोरेटमुखी छ भन्ने कुरा केवल एउटा आरोप होइन। आउँदो हप्ता सरकार आफैले त्यसलाई साबित गरेर देखाउनेछ। पर्खनुहोला। 

देशको स्वास्थमान्त्री हर्षवर्धन स्वयं एक डाक्टर हुन्। १९ फरवरीको दिन उनी बाबा रामदेवको कोरोनिल दबाईको लन्चिङ कार्यक्रममा सहभागी बने। पताञ्जली योगपिठलाई कोरोनिलको लागि तारिफका शब्दहरू वर्षाए।

तपाईंलाई बताउन जरूरी छ, कोरोनिल कोरोनाको लागि आधिकारिक औषधी होइन। विश्व स्वास्थ्य सङ्गठनले यसलाई कोरोनाको औषधीको रूपमा प्रमाणित गर्न अस्विकार गरिदिएको छ। कोरोनिललाई कोरोनाको अचुक औषधी बताउने बाबा रामदेव स्वयंको पताञ्जली योगपिठका ८३ जना सदस्य कोरोना सङ्क्रमित बनेको कुरा सिएमओ डा. एस. के. झाले हालै पुष्टि गरेका छन्।

कोरोनाको दोस्रो लहर केवल भारतमा मात्र होइन। विश्वका अनेक देशहरूमा यो लहर चलिरहेकै छ। तर सङ्क्रमित हुने अनि मर्नेहरूको संख्यामा विश्वगुरू भारत पहिलो नम्बरमा छ। भारतमा महामारीको जस्तो विकट प्रभाव छ, विश्वको कुनै देशमा छैन।  कारण स्पष्ट छ, विश्वका ती तमाम देश कोरोनाको दोस्रो लहरको लागि तयार बसेका थिए।

यता भारत, जसको स्वस्थमन्त्री स्वयं एक डाक्टर हुन्, उनले भनिरहे, हामी महामारीको अन्त्यतिर छौं। के एक डाक्टर स्वस्थमन्त्रीलाई महामारीको दोस्रो लहर अनि यसले पैदा गर्ने सङ्कटबारे केही थाहा थिएन?

अब तपाईंलाई कोरोनाको पहिलो लहरबीच टेलिभिजनतिर चलेको वहसतिर लिएर जान्छु। तबलिकी जमातको बहस।

टेलिभिजन च्यानलमा तबलिकी जमातबारे असंख्य बहसहरू चल्यो। एक धार्मिक सम्मेलनमा जुटेका मुसलमान समुदायका बन्धुहरूलाई देशको गोदी मिडियाले रातारात कोरोना सङ्क्रमणका हटस्पट घोषणा गरे। जेहादीहरूले भारतलाई बर्बाद गर्न बायोलोजिकल वार शुरू गरिसकेका छन्, न्यायधिश बनिसकेका देशका नामी टेलिभिजनका एङ्करहरूले घोषणा सुनाए।

हिन्दु धर्म अनि आस्थामाथि निरन्तर राजनीति गरिरहेको सरकारको फायदाको लागि ती मुस्लिम समुदायका बन्धुहरूलाई रातातात षडयन्त्रकारी बनाइएको कुरा हामीले बुझेनौं अनि उनीहरूलाई सराप्यौं।

दोस्रो लहरबीच कोरोना सङ्क्रमितहरूको दैनिक संख्या करिब पचास हजार पुगेका बेला प्रधानमन्त्रीहरूले महाकुम्भमा तीर्थयात्रीहरूलाई न्यानो स्वागत गरे। महाकुम्भमा लाखौंको भिड जुट्यो। महाकुम्भको भिडबाट सत्र सयभन्दा बढी मान्छे कोरोना सङ्क्रित पाइयो।

स्थिति निरन्त्रणमा छ, स्वस्थमन्त्रीले भनिरहे। महाकुम्भ चलिरह्यो। कोरोना बढिरह्यो।

कुनै धार्मिक सम्प्रदायलाई ठेस पुऱ्याउने मेरो मनसाय होइन, तर दोस्रो लहरले गति समातिरहेको त्यो बेला महाकुम्भ आयोजना गर्न कति ठिक निर्णय हो? रातारात तबलिकी जमातलाई जेहादी बताउने ती टेलिभिजन च्यानलहरूले यसमाथि बहस चलाएनन्। कोरोना नियन्त्रणमा सरकारले देखाएको उदासिनताको आलोचना गरेनन्।

उत्तराखण्डको मुख्यमन्त्रीले भने, गङ्गाको जलमा आशिर्वाद छ। कसैलाई कोरोना हुने सवालै छैन।

‘के गङ्गाको पानीमा कोरोना पखाल्ने सक्ने शक्ति छ?’ त्यसपछि भने पार्श्वमा धुमधडाकावाला म्युजिकसँगै एउटा समाचार च्यानलमा यसबारे विस्तृत रिपोर्ट नैं चल्यो।

‘एउटा ऱ्यालीमा यति धेर मानिसहरूको भीड कहिल्यै देखेको थिइनँ। जहाँ हेऱ्यो मान्छे मात्र।‘ बङ्गालको एक जनसभामा प्रधानमन्त्रीले हृदय खोले।

जब देश यस किसिमको विकट परिस्थितिबीच उभिएको छ, जब अन्य राजनैतिक दलहरूले सम्पूर्ण चुनावी ऱ्यालीहरूलाई स्थगित गरिसकेका छन्, तब राजनैतिक फाइदाको लागि जनताको ज्यान जोखिममा हालेर हजारौंको भीड जुटाउने प्रधानमन्त्रीबाट के आशा राख्ने?

यतिमात्र होइन, बङ्गालको सत्तामा आए भाजपाले बङ्गालको नागरिकहरूलाई मुफ्तमा भ्याक्सिन उपलब्ध गराउने घोषणा गरिसकेको छ। उनीहरूलाई थाहा छ, जनता सङ्कटमा छन्। जनताको सङ्कट भोट व्यापारको लागि मलिलो जमिन हो, उनीहरूलाई थाहा छ।  देशमा लाशको थाक लागिरहेको छ, लाशको मोलतोल गर्ने यहीबेला हो।

सरकारले आफ्नो औकात देखायो।

सङ्कटको यो बेला जनताको लागि सरकारले केही गरोस् नगरोस्, तर कोरोना निन्त्रणमा आफ्नो नाकामीलाई ढाकछोप गर्न भने सरकारले कुनै कसर बाँकी राखेको छैन। हालैको एउटा समाचारले यसबारे तपाईँलाई ठिकसँग बुझाउँछ।

कोरोना नियन्त्रणमा सरकारको नाकामीलाई उदाङ्गो गर्ने किसिमको ५२ वटा ट्वीटलाई चिन्हित गरेर केन्द्र सरकारले त्यसलाई हटाउन ट्वीटरसँग आग्रह गऱ्यो। ट्वीटरले हटायो पनि।

‘देशमा अस्पतालको पलङ अनि अक्सिजन सिलिन्डरको कमी छैन। केही कुतत्वहरूले केवल अफवाह फैलाइरहेका छन्’ योगी आदित्यनाथले घोषणा गरे। उनले यस्ता कुतत्वहरूमाथि कानुनी कारवाही गर्ने चेतावनी समेत दिए।

त्यसपछि उनकै राज्य उत्तर प्रदेशबाट सङ्क्रमितहरू अस्पतालमा पलङ नपाएर सडकमा सुत्न परेको अनि अस्पतालहरूमा अक्सिजन सिलिन्डरको कमी रहेको असंख्य तस्वीरहरू सामाजिक सञ्जालतिर अपलोड गर्नेहरूको साहस हेर्न लायक चाहिँ छ।

कोरोना दोस्रो लहरको पिक टाइम मई महिनाको दोस्रो सातादेखि शुरू हुन्छ। अहिले त शुरूवात मात्र हो, कोरोनालाई निरन्तर अध्ययन गरिरहेका वैज्ञानिकहरूको टिम यसो भन्छन्।

पिक टाइममा हरेक दिन सङ्क्रमितहरूको संख्या दसदेखि बाह्र लाखसम्म पुग्ने उनीहरूको आकलन छ। त्यतिबेला हरेक दिन मृतकहरूको संख्या छहदेखि सातहजारसम्म पुग्नसक्छ, उनीहरू भन्छन्।  सोंच्नुहोस्, आज हरेक दिन चार लाख मानिसहरू सङ्क्रमित बनिरहेको बेला अस्पतालमा पलङको अभावमा सङ्क्रमितहरू सडकमा सुत्न वाध्य छन्। अक्सिजन सिलिन्डरको हाहाकार छ। मृत शवहरूलाई जलाउने शमशानघाटमा ठाउँ समेत छैन। त्यतिबेला कस्तो अवस्था होला?

फेरि भन्छु, सिस्टम कोलाप्स भइसकेको छ।

‘सरकारले अब तपाईँको ख्याल राख्नसक्दैन, आफ्नो ख्याल आफै राख्नुहोला’, केही दिन अगाडि प्रधानमन्त्रीले राष्ट्रको नाम गरेको सम्बोदनको सार पनि त यही थियो। 

 सरकारले केही गरोस् नगरोस्, तर हामी आफ्नो लागि केही गर्नसक्छौं । यसैले सुरक्षित रहनुहोला। आवश्यक पर्दा मात्र बाहिर निस्कनुहोला। बाहिर निस्कँदा मास्क लगाउनुहोला। सामाजिक दुरत्व पालन गर्नुहोला।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

विज्ञापन