भगवान निवास

कथा

मान्छेले मानेर बोलाउने भगवान माथि बस्छ र मेरा बाउआमाले राखिदएको नामको भगवान म तल बस्छु । यतिखेर हामी दुई भगवानबीच समानता उही छ कि माथिको भगवान सधैं चुप छ । तल धरतीको म भगवान धरतीसँगसँगै थर्थरथर्थर काप्दै ढुङ्गा र माटोको थुप्रोमा पुरिएकी मार्साङ र आँगनमा बेहाश ढलिरहेकी स्याङम्हेन्दोलाई हेरिरहेको छु ।


बिना थिङ


दलानभरि, पिढीभरि, आँगनभरि यत्रतत्र घरपैंचोमा आउने छरछिमेकी, इस्टमित्र, परपाहुनाहरुको बाक्लो चहलपहल थियो । मेरो लागि यो विशेष दिन थियो । मेरा बाउले, हजुरबाउले कस्तै दु:ख गर्दा पनि उठाउन नसकेको अग्लो गारो उठाएको थिएँ मैले । अग्लो धुरीपातो कसेर ठड्याएको थिएँ– त्यो घर ।

धुरीमा छाइएको थियो– रङ्गीन जस्तापाता । चौबीस गेजका । जस्तापाता ओसार्न मात्रै बाह्र हजार रुपैयाँ बराबरको खेताला लागेको हो । बर्खामास, सदरमुकामबाट गाउँ आउने बाटो भत्किएको थियो । भत्किएको बाटो हिउँद सकिँदासम्मै बन्न सकेन । बाटो बन्न कसैले त वास्ता गर्नै पर्छ । जनश्रमदान चाहिन्छ । गाविसबाट बजेट हाल्न पर्छ । योजना सम्झौता गर्नुपर्छ । लेखापढी चाहिन्छ । गाविसमा जनताले चुनेका मान्छे नभएको वर्षौं भइसक्यो । सरकारले पठाएको सचिव त सदरमुकामतिरै बस्थ्यो । आक्कलझुक्कल देखा पर्ने हो । यो सब गर्ने फुर्सद कसलाई र ? गरे पाखुरेहरुले गर्नुपर्ने हो । त्यस्तरी गर्नसक्ने पाखुरेहरु खै कहाँ छन् र ? सबैसबै त भासिएका छन् अरबतिर ।

बाटो नबनेकाले मानेभञ्ज्याङसम्म मात्रै ट्याक्टर आयो । त्यहाँसम्म मात्रै ल्याइपुर्‍यायो जस्तापाता । मानेभञ्ज्याङदेखि पूरा दुई घण्टा लाग्यो । भञ्ज्याङको उकालोले दिनहुँ तीनजना खेतालाको पैताला नाप्यो । चारवटा दिन खर्लप्पै निलेको हो जस्तापाता ल्याउँदा । ढुङ्गा त बारीमै थियो । छेटुप आस्याङ र सिस्नेको बलराम सुनारले ढुङ्गा फुटाउने जिम्मा लिए । माटो मुछ्न र बोक्न चिनिमाया आङी, जीवन आले र पिङ्घु सम्धिस्या आए । गाह्रो भएको भनेकै ढुङ्गाको गाह्रो चटक्क मिलाएर लगाउन जान्ने सिपालु डकर्मी नपाएर भएको हो । जान्नेहरु सबै काठमाण्डूतिर भासिएछन् । अधकल्चाहरुको भर लागेन ।

जीवनमा पहिलो पटक घर बनाउन लागेको थिएँ । मैले जोखिम मोल्ने कुरै थिएन । काठमाण्डूबाटै महँगोमा झिकाएँ– सन्तवीर आबच्याङ्बा र सुनबहादुर मोक्तानलाई । ती दुई नामी डकर्मी हुन् गाउँका । काठमाण्डूमा ज्याला बढी पाइन्छ भनेर हिँडेका रहेछन् । हातमा जादु नै छ तिनको । आकार नपरेकै ढुङ्गा पनि इँटाजस्तै मिलाएर सर्लक्कै खाप्न सक्ने । यस्ताका हातमा परेपछि पो ढुङ्गा र माटोले जीवन पाउँदो रहेछ । अनि पो चटक्क मिलेको गारो ठडिँदो रहेछ ।

काठ चिरानलाई थिएन । बिजुलीबाटै सबै भयो । हाइड्रोले गाउँकै व्हाङ्गल खोलाबाट बिजुली निकालेको छ । समस्या छ त पैसाको मात्रै । म्हाने टोलमा पूर्व सांसदको कान्छो भाइले राखेको थियो– फर्निचरको दोकान । झ्याल–ढोकाका चौकस र खापा त्यहीं तयार पारियो ।

पहिलेपहिले बाक्ला काठका पल्ला ठोकेर झ्याल राखिन्थ्यो । कोठामा उज्यालो पस्नै सकस हुने । म उज्यालो मन पराउने मान्छे । मैले शहरतिरकै जस्तो झ्यालमा सीसा हालें । झ्यालढोकाका चौकसमा म आफैंले इनामेल दलेको हुँ । नीलो रङको इनामेल अहा ! नीलो रङ म असाध्यै मन पराउँछु । नीलो रङले मलाई त्यसैत्यसै शान्ति दिन्छ । नीलो इनामेलले सजिएका झ्यालढोकासहितको शान्त घरमा म आफ्नो परिवारसँग खुसीसँग बाँकी दिनहरु बिताउनेछु । केटाकेटीलाई स्कूल पठाउनेछु । म र मार्साङकी आमा मिलेर आँगनमा फूलहरु रोप्नेछौं…. ।

म एकहोरो भएँछु । कतिखेर आएर मेरी तीन वर्षकी छोरी मार्साङले आफ्नो गालामा धसिहालिछे इनामेल । मैले पत्तै पाइनँ । पछि तारपीनले माड्दामाड्दा झण्डै ताछिएछन् मार्साङकै गाला । त्यो कोमल छाला । असत्ती इनामेल !

बा भन्नुहुन्थ्यो— ‘लौ भगवान, हाम्ले त सकेनौं यो घरको छानो फेर्न । तेरो हजुरबाउले बनाको हो यो छाप्रो पनि । अब त मक्किएर खस्न थालेको छ यस्को भाटाहरु । तँ जवान भएपछि काश्मिर जानू ! जसरी भएपनि एउटा घरचैं गजबकै बनाउनू ! छानोमा रङ्गीन जस्तापाता कस्नू । त्यो घरको फराकिलो वार्दलीमा झुण्ड्याउनुपर्छ मकैका झुत्ता । यो संसारले बाहिरबाट देख्ने भनेकै घर हो । घरभित्र त सिस्नै खाए नि हुन्छ । कस्ले देख्छ र ! लुहै, तेरै भर छ हाम्लाई ।’

मलाई बाको कुरा ठीक हो भन्ने लागेको हो । छोरा मान्छे भएपछि यत्ति त गर्नै पर्‍यो नि । म कश्मिर त गइनँ । एक्काइस वर्ष टेक्दाटेक्दै साउदी अरबचैं गएँ । छ वर्ष बसेर फिनिस्ड आएँ । छ वर्षको बीचमा जम्माजम्मी एकपटक मात्रै घर आएँ । पटकपटक घर आइरहन एक त विदा मिल्दैन थियो, अर्को आउजाउमा निकै रकम खर्च हुन्थ्यो । म त्यो रकम जोगाउन चाहन्थें । सकसले विदेश बस्दा कमाएको रकमबाट साँवा–ब्याजबाट सात लाख छ हजार चार सय रुपैयाँ बचेको थिएछ । मान्छेलाई आँट आउने कि धनले रहेछ कि मनले रहेछ । मसँग दुवै थियो । तीन महिनामै बार्दलीसहितको आठकोठे, तीनतला अग्लो र फराकिलो दलाने घर बनाएँ मैले ।

मेरो नाम भगवान तामाङ । लामाले न्वारानमा राखेको नाम दावा हो । पछि खै के सोचेर मेरा बाउआमाले मेरो नाम भगवान राखे ! भगवानको जस्तै सुख भोगोस् भनेर होला नै । अथवा कसैले सराप्न नसकोस् भनेर हो कि ! कङ्क्रिट र सिमेन्टको बडेमाको भवन मात्रै ‘निवास’ र ‘भिल्ला’ हो थोडी ना ! म भगवान तामाङ बस्ने घर, ‘भगवान निवास’ भएन त अब ?

नयाँ घर, नयाँ उमङ्ग । मलाई लाग्यो म निकै भाग्यमानी रहेछु । बाउआमाले भगवान नाम राखेको त्यसै होइन रहेछ । नामले सार्थकता पायो । बाउबाजेले बनाउन नसकेको घर मैले बनाएँ । अब भने बाउ माथि स्वर्गबाट तल धरतीमा हेर्दै खूब मुस्कुराउनुहुनेछ । पक्कै बाउको दायाँ गालामा खोपिल्टो पर्‍यो होला । म धरतीको भगवानले आकाशको भगवानलाई मनमनै भाकें– ‘हे भगवान, मेरो सर्वश्व भनेको यही एउटा घर हो । यसको रक्षा गर्नुस् ! गोसाइकुण्डको जात्रा भर्न आउँछु यो गोनिह्या पूर्णेमा ।’

0

पिढींमा लस्करै बसेका थिए लामा म्हेमेहरु । उनीहरुले तीन घण्टा लगाएर पढिसकाए डोमाङ । डोमाङ पढिसकेपछि विस्तारै छ्योई पट्ट्याए । पट्याइएका छ्योई पहेंला कपडामा बेरे । यतिन्जेलमा मुल लामाले तितेपाती राखिएको बुम्बाबाट (पवित्र जल राख्ने तामाको सानो कलश) जल झिकेर घरको चोटाकोठा सबैतिर छर्किएपछि भने— ‘अब पवित्र भयो यो घर । जुन भूमिमाथि यो घर बनेको छ, यो भूमिमाथि पहिलो अधिकार भगवानको हुन्छ । त्यसैले पूजा गरेर यसको आधिपत्यको अनुमति भगवानसँग माग्न जरुरी हुन्छ । त्यस्तै यहाँको माटोमा प्रेतहरु पनि रहेका हुन सक्छन् । वर्षौंदेखि स्पष्ट, अतृप्त प्रेतहरु शान्त पारेर यहाँबाट भगाउन पनि यस किसिमको पूजाको आवश्यकता हुन्छ । अब यो पूजाले वर्षौंसम्म यहाँ केही अनिष्ट हुन्न ।’

लामाले आँगनको मध्यभागमा दज्र्यु गाडे । दज्र्युको टुप्पोमा बाँधिएको लुङ्दर तनक्क तन्काएर फहराइयो ।

यस्तो हल्लाखल्लामा पनि भुइँतलामा मार्साङ भुसुक्कै निदाइछे । सिरम्हेन्दोले लगेर माथ्लो पूर्वतिरको कोठामा सुताइदिई । पाहुनापात, इष्टमित्र, छिमेकीहरुलाई खाना खुवाइयो । लामाहरुलाई दान–दक्षिणा गरेर विदा गरियो । अब बाँकी रहे खेतालाहरु । आधा पेश्की पहिल्यै लगेका थिए, सबैका ज्याला हिसाबकिताब गर्दा बाँकी तिर्नुपर्ने रहेछ– एक लाख सतासी हजार । सबैलाई हिसाब अनुसार पैसा गनिदिएँ । तिनीहरु दङ्ग परे । आजको घामजस्तै उज्यालिए तिनका अनुहार । श्रमको घाम सारै न्यानो लाग्छ । नाना, छाना र मानाको सन्तोक दिन्छ । साउदी अरबको चर्को घाममा छ वर्ष भोगेको छु मैले ।

‘ल भगवान, ताङ्सी च्यु । चु नाम्सारी प्रधानपञ्चला राङ्बा दिम सेङ्खाम्जी । अझन् ज्याबा तगाई । (ल भगवान, खुसी हुनू ! यो गाउँमा प्रधानपञ्चको जस्तै घर बनाउन सक्यौ । अझै प्रगति होस् !)’ जाँदाजाँदै सन्तवीर आबच्याङबाले मोलम (आर्शिवाद) दिनुभयो ।

मैले हात जोडेर मोलम ग्रहण गरें । त्यसपछि भोजन ग्रहण गरें ।

घरको धुरीमाथि घाम अडियो । धन्दामन्दा लगभगलगभग सकिएको थियो । शरीरले आराम मागेजस्तो लाग्यो । घरछेउ स्कूल थियो । स्कूलछेउ ठूलो चौतारा थियो । म त्यही चौतारामा एकैछिन टोलाउन भनेर गएँ ।

रमानाथ हेडसर, यादव सर र च्याङ्बा आस्याङ गफिँदै रहेछन् । केटाकेटीहरु कोही देखिएनन् आज ।

‘आज त केटाकेटीहरु देखिँदैनन् स्कूलमा ?’ मैले सोधिहालें ।

‘तिमी कुन दुनियाँमा छौ भगवान् ? शनिवार पनि स्कूलमा केटाकेटी भेटिन्छन् त ?’ रमानाथ हेडसरले हाँस्दै भने ।

मलाई आफ्नो हुस्सुपनादेखि लाज लागेर आयो । मेरो अनुहार हेर्न लायक भएको थियो होला । खासमा अरबबाट फर्केदेखि कुन बार कति गते जस्ता कुराहरु म थाहै पाउँदिनँ थिएँ । कतै जागिर खान जानु परेको होइन । कतै सरकारी कामकाजमा हिँड्नु परेको होइन । घरमा स्कूल जाने केटाकेटीहरु पनि थिएनन् । अनि त किन थाहा पाउनु पर्‍यो बार र गते ?

‘आज मौसम निकै धमिलिएको छ । केही अनिष्ट हुन्छ कि क्या हौ भगवान ? लौ भन् भन् ! तँ त आफै भगवान ।’ रमानाथ हेडसरले सोधे ।

व्यङ्ग्य थियो वा अरु केही ? मैले यति सोच्न नपाउँदै अर्को हरफ तेर्सियो । यादव सरले छेड हान्न भियाइहाले– ‘त आज घरपैंचो लगाइहालिछस् । त हामीलाई किन डाकेन हँ भागवान ? त के तिम्रो घ्याम्पाको निङ्गार सकिएर जाला भनेर डराइहालेको हो त ?’

यी दुई मास्टर बेस्सरी जाँड पिउँछन् भन्ने गाउँका सबैजसोलाई थाहा छ । स्कूल छुटेपछि गाउँलेहरुका घरघर जाँडपानी पिउन लुसुक्क निस्कन्छन् । तामाङहरुको गाउँघर, सबैकहाँ धेरथोर जाँड राखेकै हुन्छ । पाहुनापासा आउँदा सत्कार जाँडैले नगरी हुन्न । मसँग यिनले व्यङ्ग्य गरेजस्तो गरेर धक नमानी गुनासो पोखेकै हुन् ।

‘त्यस्तो हैन मास्टरसाप । यसो इष्टमित्र, पाहुनापासो मात्रै डाकेको हो । आज विदा नै रहेछ । हिँड्नुस् न घरै जाऊँ ! म कन्जुस् मान्छे हैन । फेरि हाम्रो संस्कारमा पाहुना सत्कार जाँडरक्सीले नै गरिन्छ । फेरि तपाईँहरू कति नै पिउनुहुन्छ र ? एक बोत्तल ?’ मैले मिजास देखाएँ ।

आखिर यी दुवै कुनै दिन त मेरा गुरू थिए । मैले कक्षा तीनसम्म यही स्कूलमा पढेको हुँ । स्कूलमा पढाइ हुने भाषा र मैले बोल्ने भाषा मिलाउन नसकेपछि मैले स्कूल जानै छोडिदिएको त हुँ ।

मेरो निम्तो सुनेर दुवै मास्टर बेस्सरी हाँसे । त्यसरी हाँस्दा रमानाथ सरको उछिट्टिएका दाँत र गिजा देखिए । यादव सरको चैं पहेंला दाँतहरु मात्र देखिएका थिए ।

‘ओई सँगुल (ए, भुकम्प !)… !’ च्याङ्बा आस्याङ बसेको ठाउँबाट एकैपटक बुत्रुक्क उफ्रिए ।

च्याङबा आस्याङको कुरा पूरा पनि हुन पाएको थिएन । जमीन हल्लिएको हो कि मेरा खुट्टा ? म थरर काँपे ।

‘लौ ! हो त भुकम्प आयो केटाहरु !’ रमानाथ हेडसरले स्कूल भवनपट्टि नजर हुर्‍याए ।

मैले आफ्नो घरतिर । निङ्गारले झ्याप्प भएको मान्छेजस्तै मेरो घर थरर नाँचेको मात्रै देखें ।

मैले अरु केही सोचिनँ । मात्रै मार्साङलाई सम्झिएँ र झस्किएँ । अघि भर्खर मात्रै सिरम्हेन्दोले घरको माथिल्लो तलामा सुताएकी थिई । म बेपत्ता घरतिर दौडिएँ । दौडँदादौडँदै वीरसिंहको एक पाखे पसलको दक्षिण पाखो गल्र्याम्म ढल्यो । भत्किएको गाह्रोबाट ढुङ्गा उछिट्टिएर मेरो दाहिने खुट्टाको कान्छी औंला च्याप्यो । म भुतुक्कै भएँ । फेरी जुरुक्कै उठें । खुट्टा खोच्याउँदै घरतिर वेग हानें ।

म आँगनमा पुग्नु र अगाडिको बार्दली घर्लम्म खस्नु एकैपटक भयो । बार्दलीसँगै मेरो मुटु खस्यो । सिरम्हेन्दो तल बारीबाट अतालिँदै आइपुगी ।

‘मार्साङको आबौ, मार्साङ मि तोर तलारिन् मुला । (मार्साङको बा हौ, मार्साङ माथि चोटामै छे ।)’ सिरम्हेन्दोले कहालिएर मेरो पाखुरा च्याप्पै समाती । सिरम्हेन्दोका हातहरु एकदमै चिसा र लुला भइसकेका थिए ।

घर फेरि थरर काँप्यो । यो पटक भने बुइगल झरेर माथ्लो तला थिच्यो ।

‘मार्साङ…. !’ सिरम्हेन्दो जोडले चिच्याई । ऊ कुदेर जाँदै थिई, भुइँमा ढङ्लङ्गै ढली ।

मेरो त आवाज नै निस्केन । छिनमै दायाँपट्टिको बार्दली पनि घर्लम्मै भयो । घर अब घर रहेन । निमेषभरमै ढुङ्गा र माटोको थुप्रो मात्रै भयो । थुप्रोमा मेरी छोरी मार्साङ पुरिई ।

वरिपरि, वारिपारि सबैतिर एम्बुस पड्किएजस्तै घरहरु पड्किए– बुडुम् बुडुम् । छिनमै आकाश धुलाम्मे भयो । सबैतिर धमिलो भयो । मेरा आँखा अँध्यारोले छोपिए । अघिसम्म सुरक्षित मेरो सुन्दर संसार छिनभरमै सखाप भयो । बिहान मात्र लामाले पढेको छ्योई, चोटाकोठा सबैतिर छर्किएको जल, आबच्याङ्बाले दिएको मोलम, आँगनमा गाडिएको दज्र्यु, घरको वरिपरि फहराइएको लुङ्दर सबसब छिनमै फगत भए ।

एकाएक कोलाहाल सुनियो । ‘हे भगवान !’ भन्दै सबैले जमीनमा टाउको जोतिरहेका थिए । ती सबै भगवान गुहारिरहेका थिए । अरुवेला कहिल्यै नसम्झिए पनि आपतविपतमा सबैले पुकार्ने नाउँ भनेकै ‘भगवान’ त रहेछ । फरक यत्ति रहेछ– मान्छेले मानेर बोलाउने भगवान माथि बस्छ र मेरा बाउआमाले राखिदएको नामको भगवान म तल बस्छु । यतिखेर हामी दुई भगवानबीच समानता उही छ कि माथिको भगवान सधैं चुप छ । तल धरतीको म भगवान धरतीसँगसँगै थर्थरथर्थर काप्दै ढुङ्गा र माटोको थुप्रोमा पुरिएकी मार्साङ र आँगनमा बेहाश ढलिरहेकी स्याङम्हेन्दोलाई हेरिरहेको छु । उसरी नै, एकदमै मौन ! नि:शब्द ! केही भन्न खोजिरहेको छु— तर गला दबिएको छ मेरो । शरीर शिथिल छ, धरती कापिरहेकै छ , मेरो दिमाग भने शून्य, महाशून्यमा अचल छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन