गोर्खाल्याण्डको निम्ति मान्छे रोप्नुपर्छ

हामीले हाम्रो समाजलाई ढङ्गको समाज बनाउन खोज्छौँ भने ढङ्गकै मान्छेहरू रोपेर खेती गर्नुपर्छ। गोर्खा समाजले खेतीबिना पनि राम्रो विभूतीहरूच फलाएका हुन् तर तिनीहरुको प्रजनन् नै भएन। सन्तान अघि बडेन। एउटा रुख उम्र्यो र मासियो पनि। त्यसैले राम्रो फसलको निरन्तरता दिन खेती गर्नुपर्छ। गोर्खाल्याण्डको सपना पनि साकार गर्नु हो भने हामीले गोर्खाल्यण्डको निम्ति मान्छे रोप्नु पर्छ।

कमल भुजेल


खेती: मानवसभ्यताको इतिहासमा आगोको आविष्कारको जुन महत्त्वपूर्ण छ त्यसभन्दा बढी महत्त्वपूर्ण छ “खेती” गर्ने ज्ञानको आविष्कार। खेती गर्ने ज्ञानले वैज्ञानिक सभ्यताको धरातल बसाल्यो। खेती गर्न जान्न अघि मानिस र पशुमा खासै भिन्नता थिएन। मानिसहरु पनि आफ्नो गाँस जुटाउन यायावार बनेर घुमिबस्थे। कुनै निर्दिष्ट ठेगाना नै हुन्थेन। जता खाना जुट्यो त्यतै वास पनि हुन्थ्यो। जे पायो त्यही खान्थे। तिनीहरूलाई भूत-वर्तमान-भविष्य कुनै समयले पनि प्रभाव पार्दैनथ्यो। तिनीहरूको बहाव प्रकृतिको अधीनमा रहन्थ्यो।

खेतीको जब आविष्कार भयो, त्यसमा सबैभन्दा ठूलो उपलब्धि थियो “वैज्ञानिक चेतनाको”। खेतीद्वारा मानव जातिले समयलाई बुझ्न थाले। ऋतुहरूको परिवर्तन, जलवायुको प्रभाव, बीज रोप्नु, फसल काट्नु, फेरि त्यसलाई रोप्नुहरू सिक्न थाले। खेती जति परिमार्जित ढङ्गले गर्न थाले त्यही गतिमा मानव जातिले प्रकृतिको नियमलाई बुझ्न थाले। प्रकृतिको हरेक रहस्यहरूलाई खोतल्न थाले। प्रकृतिको नियमलाई जति बुझ्न थाले त्यति नै मानव जीवन सहज हुन थाल्यो। मानव जातिमा वैज्ञानिक युक्तिको विकास हुन थाल्यो।
खेती जानिसकेपछि खानाको लागि यायावार भएर घुम्न परेन। आफैले उप्जाएर खान सक्ने भए। समयको बहाव अनि परिवर्तनलाई मज्जाले बुझ्न थाले। प्रकृतिमाथि आश्रित मानव सभ्यता अब आफैमा कमबेस मुक्त नै भए। चिसो, सुक्खा, हिलो, सिमसार, मरुभूमी सबै ठाउँमा नै खेतीको विकास गरे। मानव र पशुमा यही नै सबैभन्दा ठूलो भिन्नता देखा पऱ्यो कि अन्य पशुहरू प्रकृति अनुकूल ठाउँमा मात्र आश्रय लिन सक्ने भयो भने मानव जाति प्रकृति प्रतिकूल ठाँउमा पनि आश्रय लिन सक्ने भए। मानिसले जाडो ठाउँमा तातोको खेती गरेर बसे भने, तातो ठाउँमा जाडोको। पानीमुनि, आकाशमाथि, जमीनमुनि सबै ठाउँमा मानव जातिको आधिपत्य जम्न थाल्यो। मानव जातिलाई कुनै पनि कुराको सङ्कट आइलागे त्यसैको खेती गरेर निर्मूल पार्ने साधन जुटाउन सक्ने क्षमतावान बने।

खेती गर्न अघि कुनै राम्रो ठाउँमा मात्र राम्रो फसल लागेको हुन सक्थ्यो तर आउने साल त्यसरी नै फल्छ भनेर किटान गर्न सकिन्न थियो। यसरी सधैँ एकैनासे उत्पादन गर्न, बहु-उत्पादन गर्न खेतीको ज्ञान हुन आवश्यक पऱ्यो। जसले खेती गर्न जान्यो उसले आफूलाई मनपरेको आवश्यक्ता अनुसारको फसलहरू सही मात्रामा उत्पादन गर्न थाले। तर खेती नजान्नेहरू भने प्रकृतिमाथि नै निर्भर रहे। जता फल लागेको छ त्यतै नै ढल्के। कुनै आफ्नो गड नै रहेन। घुमन्ते नै बनिरहे।
खेती खाद्यान्नको मात्र हुँदैन। कुनै पनि वस्तुको हुन सक्छ। कुनै पनि वस्तुलाई आफ्नो नियन्त्रणमा उत्पादन गर्नु नै खेती हो। यसरी खेती हरेक वस्तुको गर्न सकिन्छ। ज्ञानको खेती, संस्कारको खेती, सङ्गीत-कलाको खेती, यस्तै धेरै कुराहरूको खेती र सबैभन्दा महत्त्वपूर्ण खेती हो “मान्छेको खेती”। यस्तो मान्छेको खेती जसले समाजलाई प्रकृतिसितको सङ्घर्षमा विकसित गर्नसक्छ, समाजलाई अघि बढाउन सक्छ।

मान्छेको खेती(Culturing Human) : मानव सभ्यताको विकासमा समाजको जुन प्रकारको गतिशिलता छ त्यही अनुरुप समाजले त्यस किसिमको मान्छेको माग पनि गर्दछ। यदि त्यस समाजले त्यस किसिमको मान्छेको आपूर्ति गर्न सकेन भने त्यस समाज प्रतिगामी हुन थाल्छ र आपूर्ति गर्ने समाजहरू अग्रगामी बनेका छन्। समाज मान्छे उमार्ने एउटा खेत हो। यहाँ मान्छेको खेती मान्छेले नै गर्नु पर्छ। मान्छेले नै समाज बनिन्छ र समाजले नै मान्छे बनाउँदछ पनि। यो निर्माणको प्रक्रियाले नै समाजलाई अग्रगामी वा प्रतिगामी हो भनेर चिन्हित गर्दछ। त्यसैले समाजको बहावलाई अग्रगामी बनाउन मान्छेको खेती गर्ने पद्धतिलाई बुझ्न एकदमै अनिवार्य छ।

खेतीको पद्धति (प्रक्रिया) (Agricultural Process): जसरी प्रत्येक अन्नबालीलाई रोप्नेदेखि फसल काट्नसम्मको पद्धति अलग हुने गर्दछ त्यसरी नै मान्छेको खेती गर्ने पद्धति पनि अलग-अलग हुने गर्दछ। आधारभूत(Basics) कुराहरूमा समानता हुनै सक्छ तर विभिन्न थरीको मान्छेहरूको रोपाई भने अलग-अलग नै हुने गर्दछ। पद्धतिमा फरक पार्ने कुराहरू धेरै नै छन्। जसरी सामान्य खेतीलाई तापमान, माटोको गुण, वर्षा, आद्रता, जलवायु आदिले फरक पार्दछ त्यसरी नै मान्छेको खेतीलाई पनि आर्थिक, राजनैतिक, भौगोलिक, बौद्धिक, सांस्कृतिक आदि कुराहरूले फरक पर्दछ। जसरी पानी नभएको ठाउँमा सिञ्चाई(Irrigation) गरेर जलको आपूर्ति पूर्ण गरिन्छ, जाडो ठाउँमा न्यानो पारेर खेती गरिन्छ त्यसरी नै अशिक्षित समाजको मान्छेलाई ज्ञानले सिञ्चाई गर्नु पर्छ। लहरा जस्तो फसललाई इतिहासको थाँग्रा लगाउनु पर्छ। ठिहिऱ्याएर कक्रिएका विरुवालाई राजनीतिको राप दिनु पर्छ। ओइलाएर झर्न लागेका डालोलाई अर्थनीतिको हर्मोनले तङ्ग्राउनु पर्छ। जस्तो-जस्तो समस्या पर्छ त्यस्तै-त्यस्तै विधि अप्नाएर हौसाउने काम गर्नु पर्छ।

एरिष्टोटल-चाणक्य-श्रीमदभगवद गीता: आजभन्दा लगभग २३०० वर्ष अघिको संसारलाई हेऱ्यौँ भने संसारले प्रकाण्ड विद्वानसितै साहसी लडाकू पनि पाएको थियो। ग्रीसेली एरिष्टोटल र भारतीय चाणक्य लगभग समकालीन विद्वानहरु थिए। एरिष्टोटल महान एलेक्जाण्डरका गुरु थिए भने चाणक्य चन्द्रगुप्तका गुरु थिए। एरिष्टोटलकोमा अथाहा ज्ञानको भण्डार थियो र एलेक्जाण्डरलाई सानै उमेरमा नै संसार जित्न सक्ने क्षमतावान बनाए वा भनौँ एरिष्टोटलले एलेक्जाण्डरलाई रोपेका थिए, खेती गरेका थिए। त्यसरी नै नन्द राजाको अवहेलना सहेका चाणक्यले बाटोमा हिँड्दै गरेको केटोलाई सम्राट नै बनाइदिए। चाणक्यले चन्द्रगुप्तलाई रोपे। चन्द्रगुप्त एक महान राजा बन्न सफल भए। महाभारतमा पनि विशेष अर्जुन आफ्नै मान्छे(गुरुहरू)-को विरुद्ध युद्ध लड्न तयार थिएन। आफूलाई शिक्षा-दीक्षा दिने गुरु समेतलाई वाण कसरी चलाउनु भनेर अलमल्ल परेका अर्जुनलाई श्री कृष्णले युद्धको निम्ति खेती गरे। यी तीन सन्दर्भमा समानता के छ भने एरिष्टोटल-चाणक्य-श्री कृष्ण प्रकाण्ड विद्वान-शक्तिशाली भएर पनि स्वयं आफै भने कहिले पनि युद्ध लडेनन्। तिनीहरूले खेती गरेर फसलको रुपमा योद्धा फलाए र त्यस फसलले फल पनि दिए।

गोर्खे खेती: गोर्खाले भनौँ भने अहिलेसम्म खेती गर्न जानेकै छैन। धेरैले नमान्ला तर खेती नगरी आफै उम्रेको उब्जनीहरू नै उपभोग गरिराखेका छौँ। जङ्गलमा पनि राम्रो माटो, घाम, मल-जल राम्रो भेटाए चाँप-चमेली गुराँसहरू जसरी राम्रो फुल्छन्, फलहरू लटरम्मै फल्छन् त्यसरी मात्र हाम्रो समाजले पनि विभुतिहरू पाएका हुन्। ती जङ्गलमा मात्र फलेका फलहरूमा नै हामी प्राय: सन्तुष्ट भयौँ तर त्यसलाई खेती भने गरेनौँ। ज्ञानदिलदास त्यसरी उम्रिएका थिए, तर उत्पादनमा परिणत भएर समाजलाई रुपान्तरण भने गर्न सकेन, डाँडाका गुराँस झैँ रामकृष्णहरु फुले, तर घरको आँगनमा त्यसको हाँगा सरेन, त्यसरी लटरम्मै ऐँसेलु झैँ रुपनारायण पनि फले तर गोर्खे समाजदेखि उताको बजारमा पुगेन पनि र भाउ नै पाएन। अरिबहादुर-डम्बरसिंह गुरुङहरू अरूको खेतसम्म पुगे तर आफ्नो बारी जोत्न सकेन। अगमसिंह गिरी, गुमानसिंह चामलिङ, इन्द्रबहादुर राईहरूले अलि अलि घुरेन बारीमा केही रोप्ने प्रयास त गरे तर बहु-उत्पादन गर्न सकेन। मल-जल गरेर बिऊ जोगाउन नै जानेन। 86-मा बाडी आयो, बाडीले अस्त-व्यस्त पारे तापनि मलिलो माटो ल्याइदिइराखे। भलले ल्याएको माटो उर्वर हुँदछ र त्यसै उर्वर माटोमा दागोपाप फल्यो। माटोको उर्वरता रहुञ्जेल केही फसल लागे पनि छिटै खरेटी पऱ्यो। त्यसरी नै 2007 मा अर्को हुरी चल्यो। हुरीले मधेसबाट उडाएर ल्याएको हाइब्रीड बिऊहरू पहाडको माटोमा उम्रिएर जिटिए भए। त्यो पनि एकपल्ट फल दिएर ओइलिएर गयो। अब फेरि यो जिटिए फल्छ कि फल्दैन भन्ने अन्योलतामा परेर काटुँ कि स्यार गरुँ भइरहेको छ।

भूँईफुट्टे खेती: हाम्रो समाजमा व्यवस्थित खेती नभए तापनि जङ्गली निग्रोहरूले नै भान्सा चलिरहेको छ। कुनै संस्कार-पद्धतिबिना उप्जिएका फसलहरू नै भूइँफुट्टा हुन्। यिनीहरूको न त जरा खोज्दा भेट्छ न त हाँगा नै कतै गएर फैलिन्छ। एक पल्ट उम्रिन्छ फल्छ र मर्छ। यसको निरन्तरता नभएकै कारण वैज्ञानिक पद्धति निर्वाह गर्नु सक्दैन र भूइँफुट्टे प्रवृत्तिको विकास भएर जान्छ। भूइँफुट्टे प्रवृत्तिले केही अलिअलि फाइदा त होला तर समाजलाई अग्रगामी भने कहिल्यै बनाउन सक्दैन। समाजलाई गति दिन नै सक्दैन। समाजको विकास गर्न सक्दैन। पानी पर्दा मानेको पात ओडेको जस्तो मात्र हो केही छाजन त देला तल तर वर्षाबाट सम्पूर्ण रुपले जोगाउनु भने सक्दैन। कीरा लागेको दाँत दुख्दा पेनकिलर खाएको जस्तो मात्र हो, उपचार नै भने होइन। भूइँफुट्टे प्रवृत्तिले मिस्त्री जन्माउँछ भने खेती गरे इञ्जीनियर। मिस्त्रीले सिकाएको काम मज्जाले गर्नु सक्ला, देखेको भरी काम राम्रो गर्नु सक्ला तर सैद्धान्तिक मोडेल भने बनाउन सक्दैन। भूइँफुट्टेले कपी गर्नसक्छ तर नयाँ डिजाइन भने गर्न सक्दैन।

बुद्धिजिवीको लालसा: 86-को भल र 7-को हुरीले हाम्रो समाजमा पनि बुद्धिजिवीहरू धेरै नै फले। तर यिनीहरू झारै-झार भएको झोडी सरीको जङ्गलमा एउटा कोपिला लाग्दा मात्रैमा मख्ख परे। यिनीहरूको पनि खेती नै भने हुन सकेन। जङ्गलबाट आफ्नो हाँगा सारेर फूलबारी बनाउने काम गरेन। एरिष्टोटल-चाणक्य र श्रीकृष्णले जसरी एलेक्जाण्डर-चन्द्रगुप्त-अर्जुनको खेती गरेर योद्धा जन्माएर युद्ध जिते त्यसरी यिनीहरूले कसैलाई जन्माउन नै सकेनन्। बुद्धिजिवीहरूले योद्धा जन्माउनुको सट्टा आफै पो युद्धमा होमिएर सांसद र विधायकको सीटमा अल्झिबसे। हाम्रो समाजमा बुद्धिजिवी बराबर बुझिने डाक्टरेटहरूको त झनै बिऊ नै खराब बनाइदिए।

सलाम साबजी र गोर्खेनेता: गोर्खाको मूल समस्या नै हो परिचय। मूलधाराको समाजमा गोर्खा पुरुषलाई चौकीदारको नजरले हेरिन्छ भने महिलालाई पनि हीन भावनाले नै हेरिन्छ। चौकीदारी भनेको कुनै पनि मालिकको रखवाला गर्ने, सुरक्षा गर्ने, मालिक अघि-पछि गर्ने प्रवृत्ति हो। यो प्रवृत्ति धनी चौकीदारको पनि हुन सक्छ र गरीबको पनि। यसैले केही दशकदेखि यता हाम्रो नेताहरू आफ्नै भुभागको मालिक होइन चौकीदार मात्र बनेका छन्। आफ्नै सामान धितोमा राखेर कुनीको मालिकलाई सुरक्षा गर्ने अनुमति मागिराखेका छन्। पहिले पहिले हाम्रा मान्छेहरूको आर्थिक स्थिति कमजोर भएर धनी मालिकको घरमा, फ्याक्ट्री वा कम्पनीहरूमा चौकीदारी गर्थे तर अहिले भने हाम्रा नेताहरू धनी नेताहरूको चौकीदारी गर्छन्। काङ्ग्रेस-माकपाको पालीदेखि नै अहिलेसम्म घरि तृणमूल त घरि भाजपाका नेताहरूलाई साबजी – साबजी भनेर अघि पछि दौडिराखेका छन्। सबैभन्दा बेसी हाम्रा नेताहरूले नै चौकीदारी गरिरहेका छन्। अझ हाँस्यास्पद त के छ भने परिचयको मुद्दा बोकेर परिचय नै बदनाम पारिराखेका छन्। भनौँ गोदावरी फुलाउँछु भनेर तितेपाती रोपिरहेका छन्। पत्तामात्र देख्नेले त छुट्याउन नै सक्दैन। चिन्नुको लागि गन्ध सुघ्नुपर्छ।

हाम्रो मान्छेहरू नै हुँदैन: हामीले *ऑ“हाम्रो मान्छेहरू नै हुँदैन”, “मैले कत्ति… गरेँ तर भएन” भन्ने जस्ता नकारात्मक कुराहरू लछेप्रै सुन्न पाउँछौँ। हुन पनि गरेको जस्तो पनि लाग्छ तर उपलब्धि भने शुन्य हुन्छ। किन ? भनेर प्रश्न उठ्नै सक्छ। वास्तवमा हामीले झारपात नचिनी जहिले पायो तहिले, जता पायो त्यतै रोप्न खोजिरहेका हुन्छौँ। हामीले खेती गर्न होइन तर गरेँ त भन्नको लागि रोपिटोपल्न मात्र खोज्छौँ, भनौँ पर्यावरण दिवसमा एकदिन एउटा विरुवा रोपेको जस्तै। फसल राम्ररी उप्जाउनु हो भने रोप्ने-छाट्ने-गोड्ने सबै पद्धति सिकेको हुनुपर्छ। केही नजानी रोपिटोपल्दा जब विरुवा मर्छ तब भन्छ “मैले कम्ती गरे तर भएन” मऱ्यो विरुवा।। वास्तवमा विरुवालाई ठीकसँग पद्धति अनुरुप खेती गरिएको भए फसल अवश्य नै लाग्ने थियो। हामी पद्धति सिक्न अल्छी गर्छौँ र फसल नफलेकोमा गुनासो भने गरि नै बस्छौँ। हामीले गुनासो पोख्ने खेती बेसी गरेका छौँ। भनौँ हाम्रोमा काम बिगारेर गुनासो गर्ने थुप्रै समय छ तर इलिम सिकेर उद्यमी बन्न भने गाह्रो मान्छौँ। हामी बेसी शर्टकट खोज्छौँ। हामी मेहनत जोड गरेर पनि फसल खान नसक्ने भइसकेका छौँ। गहिराइमा डुब्दै न डुब, डुबिसकेको छौ भने मोती नटिपी नफर्क भने पनि हामी गहिराई सम्म त पुगेका पनि हुन्छौँ तर गहिराई नै चिन्दैनौँ र खाली हात फर्किन्छौँ। 105 दिनको हडताल पनि त्यस्तै नै भयो। रुख ठूलो हुनै सक्छ, तर चड्न सक्दिन भन्नु हुँदैन। पाखुराको बलमा चड्नु सकेन भने सिडी लगाउनु पर्छ। तर सिडी नलगाएर जति नै पल्ट पाखुराको बलमा मात्र चड्न कोशिश गरे उक्लिन भने सकिन्दैन। तर चड्नु नै सकिन्दैन भने भन्नु हुँदैन। एउटा बाटोबाट पुग्न नसके बाटोको विकल्प खोज्नु पर्छ। हरेस खाएर “हुँदैन” भने भन्नु हुँदैन। खासमा हाम्रो मान्छेहरी हुन्छ तर नेतृत्व मात्र नपाएको हो नभए त विश्व-युद्धहरूमा त्यसै नाम कमाउने थिएनन् होला। हामीले यस्तै नेतृत्वको खेती गर्नु पर्छ। “थोइट हुँदैन” भन्ने प्रवृत्ति मनबाट नै हटाउनुपर्छ।

निष्कर्ष: हाम्रो समाजलाई पनि फलाउनु हो भने हामीले राम्ररी खेती गर्न सिक्नुपर्छ। खेती गर्नको निम्ति हाम्रो समाजको हावा-माटो-पानी जलवायु, सबैको अध्ययन गर्नुपर्छ। समाजलाई सही अर्थमा अघि बढाउने नेतृत्वको खेती गर्नुपर्छ। खेती नगरी जन्मिएका जङ्गली नेतृत्वले एक-अर्कालाई दलाल बनाएर चौकीदारको पनि चौकीदार नै बनाइरहन्छ। बेस्याहार भएर हुर्केको जङ्गली झारपात कम्ती मूल्यमा पनि बिकिहाल्छ। कोहि बेला झुक्किएर विषालु च्याउ पनि खाइ पठाउँछ। त्यसैले प्रत्येक गोर्खाको नै कर्तव्य हुन्छ कि खेती गर्ने पद्धति सिक्ने। आफ्नो वरिपरिबाट सिक्न नसके बाहिर गएर सिक्ने अनि आएर सिकाउने पनि। खेती नगरे एक-दुइटा राम्रो विरुवा पनि जङ्गलीको शेप लाग्यो भने त्यो पनि मर्छ। “एउटा फूल रोपेर फुलाउनु त ६ महीना लाग्छ, एउटा आँप रोपेर फलाउनु त ५ साल लाग्छ भने हामीले त झन् मान्छे रोप्ने कुरा गरिराखेकाछौँ” मान्छे फल्नु दशकौ-शताब्दी पनि लाग्नै सक्छ। त्यसैले मान्छे आज रोपेको भोलि फलिहाल्ने वस्तु होइन तर समय लाग्ने रहेछ भनेर रोप्न अल्छी पनि मान्नु हुँदैन। हामीले हाम्रो समाजलाई ढङ्गको समाज बनाउन खोज्छौँ भने ढङ्गकै मान्छेहरू रोपेर खेती गर्नुपर्छ। गोर्खा समाजले खेतीबिना पनि राम्रो विभूतीहरूच फलाएका हुन् तर तिनीहरुको प्रजनन् नै भएन। सन्तान अघि बडेन। एउटा रुख उम्र्यो र मासियो पनि। त्यसैले राम्रो फसलको निरन्तरता दिन खेती गर्नुपर्छ। गोर्खाल्याण्डको सपना पनि साकार गर्नु हो भने हामीले गोर्खाल्यण्डको निम्ति मान्छे रोप्नु पर्छ।


(शोधार्थी) दिलाराम चिया कमान 956345194

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन