उसको निधारको प्रश्नचिह्न

मनप्रसाद सुब्बा 


(इस्लाम पर्व इद-उल-जुहा 2015 को दिन उत्तरप्रदेशको बिसरा भन्ने गाउँमा घटित घटनाको प्रसङ्गमा लिखित कविता।)


मोहम्मद दानिशको निधारमा

सर्जरीको सिलाइ प्रश्नचिह्नको आकारमा छापियो

तर प्रश्नचिह्नको आकार त्यो ठाडो होइन, तेर्सो पऱ्यो

हुन त त्यो त्यसबेलै तेर्सिएको हो नि

जुनबेला कानो गोरूजस्ता ‘गोरक्षकहरू’

टाउकोभरि साँढको सिङ तीखो उमारेर

उसलाई हान्न आए अनि लडाएर सडकमा तेर्साए

 

घन्टौँको शल्यचिकित्सापछि पनि

कति दिनसम्म इन्भर्टेड कोमामा थुनिएको दानिश

कोमालाई पन्साउँदै उठ्न त उठ्यो एक दिन

तर उसको निधारको बिचबाट तेर्सिएर देब्रे कानसम्म पुगेको

त्यो सोधनीको चिनो उठेन

घोप्टो परेर लामो तेर्सिएको त्यो सोधनीको चिनोले सँधै

दानिशको निधारबाट एकोहोरो

ताकिरहन्छ तल भुइँ जहाँ उसको अन्जान अब्बाजानलाई

एक हुल सिङ्हरूले हानेर हानेर मारेका थिए

 

त्यै क्षणदेखि उसले देख्न थालेको हो आफ्नो गाउँभरि

फलामका सिङ्हरू फ्वाँ..फ्वाँ.. गर्दै ओहोरदोहोर गरिरहेका

जसमा उनिएर दिनहुँ उसको विपना

थाङ्नाजस्तो फिलिलि हल्लिने भएपछि

अनि तिनीहरूको फ्वाँ फ्वाँ सास फेँकाइले

उसको सपनाको सास क्यापक्याप् भएपछि

उसले गाउँ छोड्यो

उसको निधारको आधा पाटा ढाकेर

अब्बुजानको लासजस्तै घोप्टिराखेको प्रश्नचिन्हलाई

एकै छिठा उत्तर खोजेर दिन नसकेपछि

उसका आमा र भाइबहिनीहरूले पनि गाउँ छोडे

 

त्यो शिर ढलेको प्रश्नचिह्न गह्रौं बोकेर

ऐले उ राजधानी पुगेको छ

तर राजधानीलाई पत्तै छैन

यौटा सातो हराएको सोधनीको चिनो त्यहाँ आइपुगेको कुरा!

 

पोहोरको इद-उल-जुहा सम्झेर

उसको निधारको देब्रे पाटा निकै छटपटायो –

त्यो दिन अब्बुले किनेर ल्याएको खसीको मासु चैँ

कहिल्यै बिफ नसुँघेका गोरक्षकहरूको नाकमा

कसरी बाछो गन्हायो हँ?

 

उसको निधारको प्रश्नचिह्न

पोहोरकोभन्दा दुई सेन्टिमिटर बढेको छ !!

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया