तीन दिनको उत्तर बङ्गाल भ्रमणमा दिलिप घोष; भने, भाजपा बङ्गाल विभाजनको पक्षमा छैन

खबरम्यागजिन डेस्क


बङ्गाल विभाजन गरेर अलग राज्य उत्तर बङ्गाल गठन गरिनुपर्ने मागले क्षेत्रको राजनैतिक माहोल तातिएको बेला भारतीय जनता पार्टीका बङ्गाल अध्यक्ष अनि लोकसभा सांसद दिलिप घोष आफ्नो तीन दिनको भ्रमणमा आज उत्तर बङ्गाल आइपुगेका छन्।

अहिलेको यस माहोलमा दिलिप घोषको यस भ्रमणलाई राजनैतिक जानकारहरूले चासोको साथ हेरिराखेका छन्।

‘भारतीय जनता पार्टी राज्य विभाजनको पक्षमा छैन’, दिलिपले भ्रमणको शुरूवात आफ्नो पूरानै अडानबाट गरेका छन्।

‘कुनै पनि राज्य विभाजनको सम्भावना सधैं रहन्छ। तर एउटा राज्यलाई टुक्राएर पाँचवटा राज्य बनाइन सकिँदैन’, उनले भनेका छन्।

राज्यमा गोर्खाल्याण्ड, काम्तापूर अनि ग्रेटर कुच विहार राज्यको माग चलिरहेको बेला अलिपुरद्वार सांसद जोन बारलाले अलग उत्तर बङ्गाल राज्यको मागलाई सतहमा ल्याएपछि उत्तर बङ्गालको राजनैतिक माहोल गर्माएको हो।

बारलाले उत्तर बङ्गाल राज्यको मागलाई सतहमा ल्याउने बित्तिकै उता भाजपा सासंद शोमित्र घोषले अलग जङ्गलमहल राज्यको माग गर्न थालेका छन्।

‘गोर्खाल्याण्ड अथवा काम्तापूरको आन्दोलन लामो समयदेखि चलिरहेको हो। भारत स्वतन्त्र बनेको सात दसकपछि पनि यी क्षेत्र आफ्नो अधिकारबाट बञ्चित बनेको कारण उनीहरू अलग राज्यको माग गरिरहेका छन्’, दिलिपले भने।

उठिरहेको अलग राज्यको मागको निम्ति वर्तमान तृणमूल सरकारलाई दोषी ठहऱ्याउँदै दिलिपले भनेका छन्, ‘यो सब तृणमूल सरकारको अत्याचारको कारण भएको हो। यस क्षेत्रको जनतालाई न्याय अनि विकास दिइए मानिसहरूले यस किसिमको माग छोडिदिनेछन्।’

मुकुल रोय भाजपा छोडेर तृणमूलमा समेल बनेको केही दिन नबित्दै उत्तर बङ्गालको अलिपुरद्वार जिल्ला अध्यक्षसहित सातजना शीर्ष भाजपा नेताहरूले तृणमूलको झण्डा समातेका थिए।

मुकुलको दल परिवर्तनले उत्तर बङ्गालमा बलियो बनेको भाजपालाई थप क्षति पुग्न सक्ने सङ्केत पाएकै कारण दिलिपले उत्तर बङ्गाल भ्रमण गरेको हुनसक्ने सम्भावना पनि छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन