सम्झौताहीन सङ्घर्ष नै गोर्खाल्याण्डको निम्ति बाटो: किशोर प्रधान

फिटनेस, कुकिङ, सङ्गीत अनि ट्राभल भिडियो बनाइरहेका गोर्खाली भ्लगरका सुमन राणाहाङले दुई दिन अगाडि आफ्नो च्यानलमा ‘गोर्खाल्याण्ड टक्स’ कार्यक्रमको पहिलो अनलाइन सेसन आयोजना गरे। गोर्खाल्याण्डको निम्ति अबको बाटोमाथि विमर्श गर्न भनी शुरू गरिएको कार्यक्रमको पहिलो सेसनमा अतिथि थिए किशोर प्रधान।

किशोर प्रधान दार्जिलिङको राजनीतिमा सुनिरहने नाम हो। उनीसँग राजनीतिको लगभग तीन दसकको अनुभव छ। क्रामाकपाको संस्थापक सदस्य रहेका किशोरले पच्चिस साल यस दलमा रहेर काम गरे।

विधानसभा चुनावमा क्रामाकपाले कालेबुङबाट किशोरको उम्मेद्वारिता घोषणा गरिसकेको थियो। तर एक हप्ता नबित्दै दलले त्यो घोषणा फिर्ता लियो अनि चुनावमा भाजपालाई सहयोग गर्ने नयाँ घोषणा गऱ्यो।

स्थापना भएदेखि यता क्रामाकपाले विधानसभा चुनावमा कुनै  दलसँग गठबन्धन गरेको पहिलोचोटि थियो। आफ्नो विचार विपरीत रहेर काम गरिरहेको दलसँग क्रामाकपाको गठबन्धनसँग किशोर सन्तुष्ट हुन सकेनन्। ‘मुद्दा बाँच्न क्षेत्रियता बाँच्नुपर्छ’, भनेर आफ्नो दलको अडानको प्रतिवाद गरे। त्यसपछि दलबाट राजीनामा दिए।

अहिले दलगत राजनीतिदेखि अलग रहेका किशोर आफूलाई गोर्खाल्याण्ड एक्टिभिष्ट भन्छन्। गोर्खाल्याण्डको मुद्दामाथि चिन्तन गर्छन्। मुद्दालाई अगाडि बढाएर लैजाने रणनीति तयार गरिरहेका छन्।

अलग उत्तर बङ्गाल राज्यको मागले क्षेत्रिय राजनैतिक माहोल तातिएको यो बेला, गोर्खाली भ्लगरका सुमन राणाहाङले हिज किशोर प्रधानसँग गरेको अनलाइन बातचितमा उनले मुद्दालाई केन्द्र गरेर भनेका केही महत्त्वपूर्ण कुराका अंश यहाँ प्रस्तुत गरिरहेका छौं।


केन्द्र अथवा राज्य- मुद्दाको लागि कोसँग मिल्ने?

गोर्खाल्याण्डको मुद्दा सरकार प्रायोजित होइन। यसकारण यसको निम्ति राज्य अथवा केन्द्र सरकारसँग मिलेर होइन, कुटनैतिक सम्बन्ध बनाएर मुद्दालाई अगाडि बढाएर लैजान जरूरी छ। विगतको दुईवटा आन्दोलन विफल हुनको पछाडि अहम कारण यही थियो। आन्दोलन सरकारसँग मिलेर गरियो। हाम्रो शक्ति सरकार अथवा प्रशासन होइन, जनता हो। जनता आफ्नो मन अनि विवेकले मुद्दाको लागि अगाडि आउने हो। आन्दोलन गणतान्त्रिक हुनपर्छ ताकि जनताले यसमा आफ्नो आवाज थप्ने माहोल बनोस्।

गोर्खाल्याण्डको मुद्दा कसरी सम्भव?

गोर्खाल्याण्डको निम्ति गणतान्त्रिक, अहिंसात्मक अनि असम्प्रदायिक आन्दोलन हुन जरूरी छ। आन्दोलनको नेतृत्व गर्ने दल पारदर्शी, इमान्दार अनि अनुशासित हुनपऱ्यो। आन्दोलन गोर्खाल्याण्डको निम्ति गरेर व्यावस्था ताक्ने यहाँ बानी परिसक्यो। यसो हुनुको पछाडि आन्दोलनकारी दलमा सिद्धान्तको कमी हो। गोर्खाल्याण्ड माग्ने दलले सिद्धान्तको रूपमा यसलाई स्वीकार गर्न जरूरी छ।

मुद्दालाई तल्लो स्तरबाट अगाडि बढाएर लैजाने रणनीति अनिवार्य छ। किनकि हरेक आन्दोलनमा जनताले आफ्नो हिस्सेदारी दिएकै छन्। विद्यार्थी, मजदुर, व्यापारी, युवा अथवा नारी- हरेक तप्काको मानिसहरूको आन्दोलनमा सहभागीता हुन्छ। तर अहिलेसम्म आफ्नो चरित्र अनुसार मुद्दाको निम्ति जनतालाई अगाडि ल्याउने काम कहिल्यै भएन।

सङ्घीय ढाँचामा राज्यको महत्त्व, देशको संविदान आदि कुराहरूमा हरेक जनतालाई शिक्षित गर्न अनिवार्य छ। आन्दोलनको सफलताको लागि अर्को महत्त्वपूर्ण कुरा हो निरन्तरता। आन्दोलनलाई निरन्तरता दिन नसकेर पनि हामी बारबार चुकिरहेका छौं।

वुद्धिजीविको कुरा अन्तिम सत्य होइन

वुद्धिजीवि अनि नेताले भनेको कुनै पनि कुरालाई अन्तिम सत्य मान्ने हाम्रो बानी बसिसकेको छ। हरेक मान्छेमा आफूले सुनेको अथवा पढेको कुराहरूमा आलोचनात्मक चेत राख्ने सामर्थ्य हुनपर्छ। अन्तिम सत्य मान्ने यस बानी तोडिनुपर्छ। म यही मुहिममा लागिपरेको छु।

वास्तवमा धेरै नेता अनि वुद्धिजीविको कुरा परिस्थिति अनुसारका हुन्छन्। जस्तो कि, घिसिङले गोर्खाल्याण्डलाई नफल्ने बनतरूल कहिले भने? उनको यो बयान आन्दोलनको समय होइन, पार्वतीय परिषद थापिसकेर आएको हो।

इन्द्रेको बाऊ चन्द्रेले पनि गोर्खाल्याण्ड ल्याउन सक्दैन भनेर डा. हर्क बहादुर छेत्रीले कहिले भने? आन्दोलन सकेर जिटिए व्यवस्था थापिसकेपछि उनले यो बयान जारी गरेका हुन्। जुन परिस्थितिमा उनीहरूले यस्तो कुरा भने, उनीहरूले आफ्नो मनले भनेका होइनन्, भन्न लगाइएको हो। सरकार प्रायोजित आन्दोलन अनि जनताको समर्थनमा गरेको आन्दोलनमा यही कुरा फरक हुन्छ।

व्यवस्था: आन्दोलन दबाउने सरकारको षडयन्त्र

नयाँ व्यवस्था आएपछि चुनाव आउँछ। चुनाव आएपछि पैसा। अनि पैसा आएपछि अपराध। नयाँ व्यवस्था आएपछि गोर्खाले आफ्नो एकता भूल्छ अनि गोर्खाले गोर्खासँग चौकीको लागि लड्ने परिस्थिति सृजना हुन्छ। आफ्नै मान्छेलाई जित्नको लागि हिजको दिन शत्रु बनेको सरकारसँग हात मिलाउने काम शुरू हुन्छ। चौकी पाएपछि प्रतिशोधको भावना शुरू हुन्छ। त्यसपछि हुन्छ विभिन्न अवसरहरूबाट बञ्चित गर्ने काम। त्यसपछि हुन्छ सामाजिक बायकट।

सरकारले व्यवस्था थमाएर हामी-हामीबीच विवेध ल्याउँछ। हामी-हामीबीच फाटो शुरू भएपछि आन्दोलन निस्तेज बन्छ।

मुद्दाको निम्ति क्षेत्रिय राजनीति अहम कुरा

विधानसभा चुनावमा भाजपासँग गठबन्धनको घोषणा आए लगत्तै मैले क्रामाकपामाथि आपत्ति व्यक्त गरेँ। दिसम्बर महिनामा गृहमन्त्रीसँग वैठक गरेर फर्किएको म यस गठबन्धनसँग सन्तुष्ट हुन सकिन।

देशमा अहिले धेरैवटा ठाउँमा नयाँ राज्य गठनको माग चलिरहेको छ। उत्तर प्रदेशलाई चारवटा राज्यमा विभाजन गर्ने माग चलिरहेको थियो। बुन्देलखण्ड, विदर्भ आदि क्षेत्रमा अलग राज्यको माग चलिरहेको थियो। तर जुन जुन राज्यमा भाजपाले आफ्नो सरकार बनायो, त्यस राज्यभित्र चलिरहेको अलग राज्यको माग आफैआफ हराएर गयो।

मामिला स्पष्ट छ, भोट पाइसकेपछि मुद्दालाई एजेन्डामा किन सामेल गराइरहने? यहाँ जति नै जातिको ढोल पिटेपनि विधानसभा भवन छिरेपछि शुभेन्दु अधिकारीको निर्देशनमा काम गर्ने वाध्यता बन्छ।

गोर्खाल्याण्डको मुद्दा क्षेत्रिय दलको मुद्दा हो। यसलाई राजनैतिक एजेन्डामा जीवित राख्न क्षेत्रियता जीवित रहनु अनिवार्य छ।

सिक्किम विलय

दार्जिलिङ, कालेबुङ अनि डुवर्सलाई सिक्किममा विलयको कुरा गर्न अगाडि सिक्किमको चहाना के छ, बुझौं। दोस्रो कुरा, के सिक्किम विलयले गोर्खाको पहिचान सङ्कट समाधान गर्छ? सोंच्न लायक कुरा छ। किनकि सिक्किम राज्यले गोर्खा समुदायको पहिचान मुलधारामा स्थापित गर्दैन भन्ने ध्येय राखेर त्यहाँका गोर्खाहरू गोर्खाल्याण्ड आन्दोलनमा बारम्बार सामेल बनेका छन्। चाहे सिक्किममा बस्ने गोर्खा होस् अथवा कुनै राज्यमा, बङ्गालको विभाजन गरेर निर्माण भएको गोर्खाल्याण्डले मात्र देशभरिका गोर्खाहरूले न्याय पाउँछन् भन्ने ठानिसकेका छन्। सिक्किम विलयमाथि बहस नगरेर गोर्खाल्याण्डको मुद्दामा ध्यान केन्द्रित गरेको असल हुनेछ।

एनजीसीमा पोलिटिकल क्यारेक्टर छैन

एनजीसीको धेरैवटा सभाहरूमा सहभागिता दिइसकेपछि लाग्यो, एनजीसीले राष्ट्रिय कमिटीको रूपमा काम गरिरहेको छैन। यो मेरो व्यक्तिगत धारणा हो। कमिटीको साधारण सचिवसहित चालिस प्रतिसत सदस्यहरूले राजिनामा दिइसकेपछि यसको काम गर्ने क्षमतामाथि प्रश्न खडा हुन थालेको छ। एनजीसीमाथि विस्वास गर्न अगाडि यसको संविधानमा के छ? यो पारदर्शी अनि गणतान्त्रिक छ कि छैन? बुझ्न जरूरी छ।

वौद्धिक हिसाबले आन्दोलन गरेर मात्र हुँदैन, यसको निम्ति पोलिटिकल क्यारेक्टर चाहिन्छ। एनजीसीमा पोलिटिकल क्यारेक्टर छैन। फेरि, एनजीसीमा सामेल कतिजना सदस्य अन्य सङ्गठनतिर काम गरिरहेका छन्। पहिलो कुरा त आफूमाथि भरोसा देखाउनपऱ्यो।

आन्दोलनमा युवाहरूको उपस्थिति

विश्वमा तमाम समस्याहरूको समाधान राजनीतिसँग जोडिएको छ। हाम्रो मुद्दा पनि राजनैतिक मुद्दा हो। आन्दोलनमा आउन युवाहरूले राजनीतिलाई अङ्गाल्ने इच्छा व्यक्त गर्न अनिवार्य छ। ‘पोलिटिक्स इज अ डर्टी गेम’को चलती सोंचबाट बाहिर निस्कनुपऱ्यो।

युवाहरूले चाहेको माहोल हामीले दिन पनि त सकेका छैनौं। आफू अनुरूपको अवसर अथवा रोजगार हामीले युवाहरूलाई दिन सकेनौं। धेरै युवाहरू पलायन बने। यो पनि आन्दोलनको लागि क्षति हो।

युवाहरूको समस्यालाई राजनैतिक फायदाको लागि प्रयोग गर्ने मनसायले अनेक लालच दिएर राजनीतितिर तानिने काम भयो। उनीहरूलाई राजनीतिलाई पेशाको रूपमा चिनाइयो। भोलि पाउने व्यपस्थाले हामीलाई अवसर दिन्छ भन्ने सोंच राखेर कति युवाहरू आन्दोलनमा सामेल बने। हामीले तयार गरेको राजनैतिक माहोल यस कारण ठिक छैन।

चार दसकको आन्दोलनमा प्रगतिशील अनि गणतान्त्रिक विचार राख्ने धेरै युवाहरू आन्दोलनमा सामेल बनेकै हुन्। तर उनीहरूले आन्दोलनको धार आफ्नो विचार अनुसारको पाएनन् जसको कारण मोहभङ्ग भयो।

आन्दोलनमा नारी

चार दसकको आन्दोलनमा नारीहरूको अहम भागीदारी छ। हरेकपल्टको आन्दोलनमा नारीहरू सडकमा आए। कति समातिए। कति मारिए पनि। तर आन्दोलनमा नारीहरूलाई प्रयोग गरिने काम मात्र भयो। उनीहरूले आन्दोलनलाई अगाडिबाट लिड गर्ने खुल्ला अवसर पाएनन्। नारीहरूको चेतनाको विकास गर्ने काम भएन। नेतृत्वको स्तरमा नारीहरूलाई अगाडि ल्याउन जरूरी छ।

उत्तर बङ्गाल राज्य

हामी लामो समयदेखि अलग राज्य गोर्खाल्याण्डको मागमा छौं। यसकारण कसैले राज्य माग्दैछ भने त्यसलाई गलत बताउन मिल्दैन। राज्य माग्नको पछाडि उनीहरूको आफ्नो कारण हुनसक्छन्। तर व्यवहारिक हिसाबले हेर्नु हो भने उत्तर बङ्गाल राज्य गोर्खाल्याण्डको निम्ति वाधा हो। सानो उत्तर बङ्गाल राज्यलाई फेरि विभाजन गरेर गोर्खाल्याण्ड राज्य बनाइने सम्भावना न्यून हुन्छ। हामी उत्तर बङ्गाल राज्यको केवल जिल्लाको रूपमा सीमित हुनेछौं।

हामी जति उत्तर बङ्गाल राज्यको कुरा गर्छौं, त्यति यसले तुल समात्छ। त्यसभन्दा असल, हामी हाम्रो माग गोर्खाल्याण्ड कसरी हासिल गर्न सकिन्छ, त्यसमाथि विमर्श गरौं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन