कुर्सी राजनीति

‘पहाडका जनता तृणमूल मन पराउँदैनन्’, यहाँ आम धारणा यही छ। ममता व्यानर्जीले यही बुझेर चुनावमा मैदान विमल अनि विनयलाई छोडिदिइन् भन्छन् धेरै। विनय यसलाई ममताले निभाएको ‘गठबन्धनको धर्म’ भन्छन्। विमल यसलाई ममताले ‘क्षेत्रिय राजनीतिको सम्मान’ गरेको भन्छन्। हुनैसक्छ।

तर ममता व्यानर्जीलाई सन् 2017 अगाडिको पहाडको तिर्सना लाग्दैन भन्न सकिन्न। बाटोको छेऊतिर आ-आफ्नो जातिय पोशाक लगाएर उभिएका पहाडका मान्छे! कति शान्त! कति मायालू! दिनका दिन उनलाई भेट्न आउने प्रतिनिधि टोली! ज्ञापनपत्रको थाक! ‘भाग्य विधाता’को उपाधि!


लेखनाथ छेत्री


अक्टोबर 2020 सम्मको निम्ति पहाडमा विधानसभा चुनाव एक औपचारिकता थियो। भाजपा-विमल गठबन्धनले चुनाव जित्ने तय थियो।

विमल गुरूङको तृणमूलसँगको गठबन्धनले आरपास पनि नरहेका विनय खेमालाई दाबेदारको रूपमा मैदानमा ल्यायो अनि लडाइँ त्रिकोणीय बन्यो।

‘पहाडको वर्चस्व कोसँग छ?’ चुनाव अगाडिसम्म हरेकको मनमा यही प्रश्न थियो।

बङ्गालमा पनि उस्तै लडाइँ चलिरहेको थियो, जसको तार पहाडको राजनीतिसँग जोडिएको थियो।

बङ्गालमा भाजपा आए विमल/विनयको राजनैतिक अस्तित्व सङ्कटमा पर्ने तय थियो। गोरामुमोले पहाडको सत्तामा वापसी गर्ने सम्भावना पनि यसैसँग जोडिएको थियो।

महिनौंदेखि डेडलकमा फसेको पहाडको राजनीतिमा नयाँ समिकरण आउने सम्भावना थियो।

तर, त्यस्तो केही भएन। कालेबुङको एक सिट बाहेक पहाडमा भाजपा  बङ्गालमा तृणमूल भइदियो।

बङ्गाल विधानसभा चुनावमा तृणमूल सरकारले सत्ता वापसी गरेपछि पहाडमा जिटिएको चौकीमा बस्ने सम्भावित नेता बारे व्यापक अडकलबाजी चलेको थियो। धेरैले चुनाव परिणामको आधारमा अनित थापाले चौकीमा बाजी मार्ने सम्भावना व्यक्त गरेका थिए। कतिले विमल खेमाबाट कोही जिटिए अध्यक्ष मनोनित बन्ने समेत अड्कल गरे।

अन्तत: यो अड्कलबाजीको क्रम चुनाव परिणामको लगभग एक हप्ता पछाडि समाप्त भयो जब जिटिएका मुख्य सचिव सुरेन्द्र गुप्ता आइएएसलाई थप छ महिनाको निम्ति अध्यक्ष पदमा मनोनित गरियो। चुनाव परिणामको ठिक एक दिन पछाडिको सूचना एक हप्तापछि सार्वजनिक भयो। यस पछाडिको राजनीति कसलाई थाहा होला र?

सुरेन्द्र गुप्तालाई मनोनित गर्नको पछाडि राज्यले चाँडै जिटिएको चुनाव गराउनसक्ने सङ्केतको रूपमा हेरिएको थियो। कोरोनाको दोस्रो लहर शुरू भइसकेको थियो। राज्य सरकारले आजसम्म चुनावको लागि मन बनाएको छैन।

तृणमूल काङ्ग्रेससँग चुनावी गठबन्धन गरेर फर्किने विमल गुरूङको निर्णयलाई जनताले नकारेको चुनाव परिणामले स्पष्ट गरिसकेको थियो। यता तीनमध्ये कमसेकम एक सिट जित्न सफल बनेको विनय खेमाको अस्तत्व पनि सङ्कटमा पर्ने स्थिति बनियो। किनकि विनय तामाङ अनि अनित थापाको दल विस्तार गर्ने औजार जिटिए थियो। राज्य सरकारले जिटिएमा सुरेन्द्र गुप्तालाई राखेपछि विनय खेमाको गर्धनको नसा काटिएको अनि दल अब बिस्तारै पतनतिर जान अड्कल राजनैतिक वृत्तमा शुरू भइसकेको थियो। अब विनय अनितलाई पहाडमा अस्तित्व बचाउने एकमात्र उपाय थियो, जिटिए चुनाव।

तर जिटिए चुनाव पनि दलको निम्ति कम चुनौतिपूर्ण हुने होइन। यसका खास कारणहरू छन्।

एउटा कुरा यहाँ स्पष्ट छ। आफूहरूले शान्ति स्थापनाको लागि भनुन् अथवा विकासको लागि, विनय तामाङ अनि अनित थापालाई राज्य सरकारले आन्दोलन दबाउन प्रयोग गरेको हो। राज्य सरकारको प्रयोग यी तीन साल सफल पनि बन्यो। आन्दोलनकारी जनमुक्ति मोर्चा टुक्रियो। विमल गुरूङ विस्थापित बने।

राज्यमा भाजपा सरकार आएको भए जिटिएको अस्तित्व नरहने तय थियो। भाजपाले राज्यमा सरकार बनाएको 48 घण्टाभित्रमा जिटिए खारेज गर्ने दावी गोरामुमो नेता अजय एडवर्डको थियो।

‘विकास गर्नको लागि हामीलाई जनताले सत्तामा ल्याउनुपर्छ’, अजयले भनिसकेका थिए। दस वर्षभन्दा धेर पहाडको सत्ताबाट टाडा रहेको दल गोरामुमोको पहाडको सत्तामा वापसी गर्ने सपना बङ्गालमा भाजपाको हारसँगै पूरा भएन।

के जिटिएलाई तथानाम गाली गर्ने गोरामुमो-भाजपा गठबन्धनले पहाडको सत्ता हत्याउन अब जिटिए चुनाव ताकेको हो? हुनैसक्छ।

‘पछिल्लो चार सालमा जिटिएको चुनाव भएको छैन। जिटिएमा एकैजना निर्वाचित सदस्य छैनन्। यो गणतन्त्रको हत्या हो’, राज्यपाललाई उनलाई भेट्न जाने असंख्य टोलीहरूको कुरालाई केन्द्र गरेर भने। राज्यपाल अहिले कसको लागि काम गरिरहेका छन्, जगजाहेर छ।

‘हामी अबको चुनावमा गोलपोस्ट खाली छाड्दैनौं’ भन्ने बयान आउन थालिसकेकै छ। 

यसरी हेर्दा भाजपा-गोरामुमोले जिटिए चुनाव लडनको निम्ति माहोल तयार गरिरहेको होइन कसरी भन्ने?

विमल गुरूङको हालत त पतला छँदैछ, यदि भाजपा- गोरामुमो गठबन्धनले ‘गोलपोस्ट खाली’ नछोडे विनय अनितको निम्ति जिटिए चुनाव कम चुनौतिपूर्ण छैन। भाजपा बङ्गालको सत्तामा आउँछ भन्ने विचार राखेर विधानसभा चुनावमा भाजपालाई भोट हाल्ने पहाडका जनता जिटिए चुनावमा आफूहरूतिर फर्किन्छन् कि भन्ने मात्र हो। नत्र विधानसभा चुनावलाई आधार गरेर हेर्नु हो भने जनता त भाजपातिर छ।

सायद नवान्नले यस कुराको भनक पाइसकेको छ। उत्तर बङ्ग संवादले छापेको एउटा समाचारको आधारमा अहिल्यै राज्य सरकारले जिटिए चुनाव गराउने मन बनाइहालेको छैन। मन नबनाउनुको कारण पहाडमा भाजपाको विधानसभा चुनाव परिणाम अनि जिटिए चुनाव लड्नसक्ने सम्भावना पनि त हुनसक्छ।

उत्तर बङ्ग संवादको समाचार अनुसार अहिले राज्य सरकार जिटिएको चौकीमा कसलाई मनोनित गर्ने भन्ने बारे विमर्श गरिरहेको छ।

सन् 2014 पछि तृणमूलले पहाडमा राम्रो उपस्थिति बनाइसकेको थियो। पार्टी विस्तारको काम लगातार चलिरहेको थियो।

तृणमूलले पहाडमा जीतको पहिलो स्वाद मिरिक नगरपालिकामा चाखिसकेको थियो। सन् 2016 को विधानसभा चुनावमा तृणमूल टिकटमा चुनाव लड्ने पहाडका उम्मेद्वारहरूको भोट प्रतिसतले तृणमूल काङ्ग्रेसले पहाडमा गरेको पार्टी विस्तार बारे धेरै कुरा बताउँछ।

‘सन् 2016 मा दार्जिलिङ आउँदा दार्जिलिङको राजनैतिक माहोल अलग थियो। विभिन्न डेभलपमेन्ट बोर्ड जस्ता अनेक प्रयोग गरेर तृणमूलले पहाडमा दह्रो जरा गाडिसकेको थियो। विमललाई राज्यले  दबाव बनाउने काम गरिरहेको थियो। मलाई लाग्यो, विमलले अब केही गर्छन्’, त्यतिबेला रिपोर्टिङ गर्न दार्जिलिङ आइपुगेका लेखक अनि ‘द वायर’का वरिष्ठ पत्रकार स्निगदेन्दु भट्टाचार्य भनिरहेका थिए।

माटो मलिलो थियो। घाँसफूल रोप्ने काम धमाधम चलिरहेको थियो। सन् 2017 को आन्दोलन पहाडमा यसरी पकड बनाइरहेको हिल तृणमूलको निम्ति असिनापात भयो। असङ्ख्य तृणमूलका नेता अनि कार्यकर्ताहरूले आन्दोलनलाई समर्थन गरे। कति नेता रातारात सिलिगुडी आश्रय लिन पुगे। कतिको घर जलाइयो, सम्पत्ति नष्ट गरियो। यसरी फेरि लगभग जिरोमा आइपुग्यो हिल तृणमूल।

‘पहाडका जनता तृणमूल मन पराउँदैनन्’, यहाँ आम धारणा यही छ। ममता व्यानर्जीले यही बुझेर चुनावमा मैदान विमल अनि विनयलाई छोडिदिइन् भन्छन् धेरै। विनय यसलाई ममताले निभाएको ‘गठबन्धनको धर्म’ भन्छन्। विमल यसलाई ममताले ‘क्षेत्रिय राजनीतिको सम्मान’ गरेको भन्छन्। हुनैसक्छ।

तर ममता व्यानर्जीलाई सन् 2017 अगाडिको पहाडको तिर्सना लाग्दैन भन्न सकिन्न। बाटोको छेऊतिर आ-आफ्नो जातिय पोशाक लगाएर उभिएका पहाडका मान्छे! कति शान्त! कति मायालू! दिनका दिन उनलाई भेट्न आउने प्रतिनिधि टोली! ज्ञापनपत्रको थाक! ‘भाग्य विधाता’को उपाधि! 

यतिबेला जिटिएमा एल. बी. राई अथवा शान्ता छेत्रीलाई जिटिएमा मनोनित गरेर ल्याउने विचार राज्य सरकारको लागि गलत रणनीति हुन्छ भन्न सकिन्न। अनित थापालाई चौकीमा नल्याएर यी दुईलाई ल्याउन विमलले पनि जोड दिइरहेको कुरा उत्तर बङ्ग संवादले लेखेको पनि छ।

आन्दोलनको चार सालपछि त्यसै पनि हिल तृणमूलको पुनर्जिवनको लागि अनुकुल वातावरण बनिरहेकै छ।

हिज विनय तामाङसँग जिटिएको चुम्बक थियो, जसमा पहाडका डेढ लाख जनता तानिए। चुम्बक तृणमूलले हातमा लिएपछि जनता त्यता तानिँदैनन् कसरी भन्ने?

सम्भावनाका कुरा हुन्, तर यस्तो भइहाले विमल/विनयको भावी राजनीति कस्तो हुन्छ? हेर्न लायक कुरा बन्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन