गोर्खा लिगले माग्यो राजु विष्टको राजीनामा; बजगाइँले दिए प्रतिक्रिया

खबरम्यागजिन डेस्क


‘हिज एनजिसीले कालेबुङमा पत्रकार सम्मेल डाकेर सबै दलहरूलाई एक हुने अनि पिपिएसको लागि एउटा प्रतिनिधि टोली दिल्ली लगेर जाने कुरा राखेको हामीले सुन्यौं। तर चुनाव अगाडि कसैले नचिनेको राजु विष्टलाई जनताले मुद्दाकै लागि जिताएर पठाएको हो। राजु विष्टले गोर्खाल्याण्डको निम्ति प्रतिवद्धता जाहेर गरेर भोट मागेका हुन्। उनलाई पिपिएसको लागि दबाव नदिएर दिल्लीमा प्रतिनिधि टोली पठाउने कुरा हास्यस्पद हो’, गोर्खा लिग(भारती)का सचिव एस. पी. शर्माले हिज दार्जिलिङमा एक प्रेस सम्मेलन गरेर भनेका छन्।

उनले राजु विष्टको सांसद कार्यकालको दुई वर्षको कार्यकाल बितिसक्दा पनि अहिलेसम्म मुद्दाको निम्ति अलिकति पनि काम नगरेको आरोप लगाएका छन्।

‘सन् 2009 मा जनताले गोर्खाल्याण्डको निम्ति भाजपालाई भोट दियो। तर काम केही भएन। सन् 2014 मा पनि त्यस्तै भयो। आज राजु विष्टको कार्यकालमा पनि मुद्दाको निम्ति कति काम भयो, जनतालाई राम्ररी थाहा छ’, एस. पी.ले भने।

 आज एनसिजीले प्रतिनिधि टोली बनाएर जानुपर्छ भन्नुको अर्थ उनीहरूलाई पनि सांसदमाथि भरोसा नरहेको जिकिर एस.पी.ले गरेका छन्।

‘आज भाजपाका सासंद जोन बारलाले उत्तर बङ्गाल राज्यको माग उठाइरहेका छन्। फेरि त्यही भाजपाका दिलिप घोष बङ्गाल विभाजन हुँदैन भन्छन्। एउटै भाजपाभित्र यस्तो भिन्न भिन्न अडान किन?’, एस. पी.ले भाजपालाई प्रश्न गरेका छन्।

भाजपाले काम गरेन भन्नेहरूले विधानसभा चुनाव अगाडि जवाब पाउनेछन् भन्ने सांसद राजु विष्टले केवल झुट बोलिरहेको एस. पी. शर्माको आरोप छ।

उनले भाजपाका गठबन्धन दलहरूलाई पनि निशाना बनाएका छन्।

‘भाजपाका गठबन्धन दलहरूले राजु विष्टलाई दबाव दिने होइन, निरज जिम्बालाई विधानसभामा अलग राज्यको कुरा उठाउने माग गरिरहेका छन्। यो भन्दा हास्यस्पद कुरा के हुन्छ?’, एस. पी.ले प्रश्न गरे।

दुई दिन अगाडि मात्र क्रामाकपाको टोलीले विधायक बि. पी. बजगाइँलाई स्मारक पत्र चडाउँदै विधानसभामा उठाउनुपर्ने कुराहरू अवगत गराउँदै पहिलो नम्बरमा बजगाइँले विधानसभामा गोर्खाल्याण्डको निम्ति आवाज उठाउने अपिल गरेका थिए। आफूहरूले विधायक जिम्बालाई भेट्न चाहेको तर उनको व्यस्तताको कारण पत्रचार गरेर अलग राज्य गोर्खाल्याण्डको कुरा सदनमा उठाइदिने अपिल गरेको क्रामाकपाको एक टोलीले प्रेसलाई जानकारी गराएको थियो।

‘राजु विष्टले जिरो आवरमा कुरा राख्न बाहेक अहिलेसम्म केही गरेनन्। मुद्दाको निम्ति काम गर्न यदि सक्दैनन् भने राजु विष्टले अब राजीनामा दिने समय आयो। दुई साल बितिसक्यो। पाँच सालसम्म पर्खिरहने धैर्य हामीसँग छैन। उनको ठाउँमा मुद्दालाई ठिकसँग उठाउनसक्ने कुनै व्यक्तिलाई चुनेर हामी संसद पठाउन चहान्छौं’, एस. पी. ले थपे।

राजु विष्टलाई वृहत रूपमा दबाव दिन भनेर गोर्खा लिगले दार्जिलिङमा पोस्टरिङ पनि गरेको छ। पोस्टरिङमा पनि विष्टको राजीनामा मागिएको छ। भाजपाका सम्पूर्ण गठबन्धन दलहरूलाई भेटेर मुद्दाबारे बातचित गर्ने अनि विष्टमाथि दबाव बनाउने आफूहरूको भावी योजना रहेको एस. पी. शर्माले खुलाएका छन्।

यता राजु विष्टको राजीनामाको माग गरेर गोर्खा लिगले गरेको पोस्टरिङमाथि भाजपा विधायक बि. पी. बजगाइँले प्रतिक्रिया गरेका छन्।

‘विधानसभा चुनावमा नोटाभन्दा कम मत पाउने दलले बङ्गालभरीमैं सबभन्दा बढी मतले निर्वाचित हुने सांसदको राजीनामा माग्नु भनेको एउटा राजनैतिक स्टन्ट मात्र हो’, बजगाइँले भनेका छन्।

‘राजीनामा माग्ने साथीहरूले संसदमा राजु विषिटले कतिपल्ट गोर्खाल्याण्डको निम्ति कुरा राखे, सदनको भिडियो कोट्याएर हेर्नुपर्छ। गोर्खा अस्मिताको निम्ति सांसदले कति काम गरिरहेका छन्, जनतालाई थाहा छ’, गोर्खा लिगका नेताहरूले आफूहरूलाई अपडेट गरेर राख्ने सल्लाह राख्दै बजगाइँले थपे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन