भत्कियो कालेबुङ विनय खेमा: तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्यले दिए राजीनामा


खबरम्यागजिन डेस्क


बङ्गाल विधानसभा चुनावको परिणाम आएको ठिक दुई महिनपछि मोर्चा दोस्रो खेमा कालबुङमा पहिरो गएको छ।

विनय खेमा उपाध्यक्ष नोर्देन लामा, केन्द्रिय समिती सदस्य प्रवीण रहपाल अनि कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन खनालसँग कार्यालय सचिव शरण प्रधानले पनि आज दलबाट राजीनामा दिएका छन्।

‘दलमा अनुशासनको कमी, आचारसंहिताको उलङ्घन अनि दुईचारजनाको स्वार्थप्रेरित क्रियाकलापको कारण दलबाट आज राजीनामा दिइरहेका छौ,’ राजीनामाको घोषणा गर्दै भुवन खनालले भने।

उनले बारम्बार दलको अध्यक्ष विनय तामाङ अनि सचिव अनित थापालाई दलको अवस्थाबारे जानकारी गराए पनि उनीहरू दलभित्रका केही नेताको स्वार्थसिद्धीको निम्ति मौन रहेको आरोप लगाएका छन्।

‘रूदेन लेप्चालाई अनेक परिश्रम गरेर जितायौं। जिताएको दुई दिन नबित्दै उनले आफू हारेको समष्टि अनि बुथहरूमा विकासको काममा रोक लगाउने घोषणा गरे। हामी उनको यस घोषणाको घोर निन्दा गर्छौं। के भोट नपाएका ठाउँमा जनताको समस्या छैनन्?’, उनी विधायक रूदेन लेप्चामाथि खनिए।

‘हामी जनताको निम्ति काम गर्न दलमा आएका थियौं। दलबाट निस्किएपछि हामीमाथि विभिन्न किसिमको यातना दिने काम हुन्छ होला। तर हामी निडर बनेर जनताको हक र अधिकारको निम्ति आवाज उठाइरहने छौ’, भुवनले भने, ‘चुनावपछाडि जसरी पार्टीभित्रै भिक्टिमाइज गर्ने खेला शुरू भयो, त्यसको विरोध गर्न हामी निस्किएका हौं।’

‘शुरूदेखि दलको विस्तारमा हाम्रो अहम योगदान थियो, अनेक लाञ्छना सहेर दलको निम्ति काम गऱ्यौं। तर आज हाम्रो सल्लाह बिना समष्टिहरूको विघटन गर्ने काम भयो। यो सरासर राजशासनको प्रवृत्ति हो’, भुवनले भने, ‘विघटन भएको समष्टिहरूको भोट माइनस गर्नु हो भने रूदेन लेप्चाको हार निश्चित थियो।’

दलका अध्यक्ष विनय तामाङले केही दिन अगाडि मात्र आफूहरूले चुनावमा कम मत पाएको चार समष्टि अनि टाउन कमिटी विघटन भएको घोषणा गरेका थिए।

विघटनको प्रतिसोधजस्तो देखिएको यस राजीनामाबारे प्रश्न गर्दा भुवनले भने, ‘त्यस्तो होइन। एक साल अगाडिदेखि हामीले दलमाथि गुनासो गरिरहेका थियौं। दलभित्र एकदुईजनाले पोल लगेर जाने अनि त्यसै अनुसार दलले कामकाज अगाडि बढाउने काम भइरहेको थियो। हामीले यस प्रथामाथि निरन्तर आपत्ति गरिरहेका थियौं।’

यता प्रविण रहपालले दलमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाएका छन्। 

‘अहिले विनय खेमा पार्टी नभएर कम्पनी भयो। यो कम्पनीको नाम रूदेन एन्ड कम्पनी हो। पछिल्लो साल कालेबुङको निम्ति सात सय करोड रूपियाँ आयो। त्यो पैसा कहाँ गयो?’ उनले प्रश्न गरे। 

‘अहिले कालेबुङमा विनय खेमाको दुईवटा अफिस छ। पार्टी अफिस कालेबुङमा छ अनि कम्पनी अफिस रेलीमा छ’, उनले भने। 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन