आरोप लगाउनेहरूको चरित्र कालेबुङले हेर्नुपर्छ: रूदेन लेप्चा

खबरम्यागजिन डेस्क


हिज कालेबुङ विनय खेमाबाट तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्य गरेर चारजनाले राजीनामा दिएपछि अब आरोपको खेला शुरू भएको छ।

दलबाट राजीनामा दिँदै भुवन खनाल अनि प्रवीण रहपालले दलमाथि गम्भीर आरोप गरेका थिए।

‘विनय खेमा अब पार्टी रहेन। यो कम्पनी भइसकेको छ। कम्पनीको नाम रूदेन एन्ड कम्पनी हो’, रहपालले भनेका थिए।

यता कालेबुङबाट चार नेताहरूले मिडियामा राजीनामाको घोषणा गर्दैगर्दा रूदेन लेप्चा विधानसभाको पहिलो अधिवेशनमा भाग लिइरहेका थिए।

‘मेरो चरित्र खराब भएको भए जनताले मलाई विधायकको रूपमा चुन्ने थिएन’, रूदेन लेप्चाले राजीनामा अनि उनीमाथि लागेको आरोपबारे थाहा पाएपछि भने।  

‘म पनि धमिलो पानीबाट निस्किएको माछा हो, त्यसैले हरेक कुरामा आफूलाई सही भन्दिनँ। तर जो व्यक्तिहरूले म लगायत दलमाथि आरोप लगाइरहेका छन्, उनीहरूको चरित्र कालेबुङको जनताले हेर्नुपर्छ’, रूदेनले भने।

उनले थपे, ‘आरोप लगाउनेहरूमा अझ एक व्यक्ति यस्ता छन् जसले सरकारी अनि प्राइभेट स्कूलको गरेर एकैचोटि दुईवटा तनखा खाइरहेका छन्। त्यस्ता व्यक्तिले ममाथि आरोप लगाउनु भनेको चुरनको पैसाले तास खेलेको जस्तै हो।’

केही दिन अगाडि मोर्चा दोस्रो खेमा अध्यक्ष विनय तामाङ कालेबुङ आएर आफूहरूले चुनावमा राम्रो नतिजा दिन नसकेको चार समष्टि अनि टाउन कमिटीको विघटन भएको घोषणा गरेका थिए। यही समष्टि विघटनमाथि राजीनामा दिने चार नेताहरूले व्यापक आपत्ति जाहेर गरेका थिए। समष्टि विघटनको यस प्रक्रियामाथि पनि रूदेनले विचार राखेका छन्।

‘नयाँ मुनाहरूलाई ठिकसँग पलाउन दिनको निम्ति फुटेका गमलाहरू हटाइदिनुपर्छ।  यसले पार्टीलाई ड्यामेज गर्छ भनेर भन्न सक्दिनँ’, रूदेनले भनेका थिए।

राजीनामाको घोषणा गरिरहँदा प्रविण रहपालले कालेबुङको निम्ति सात सय करोड रूपिँया आएको अनि उक्त रकम विकासको लागि प्रयोग नभएको गम्भीर आरोप लगाएपछि पहाडको राजनैतिक वृत्तमा व्यापक खलबली देखापरेको छ।

‘दिदीले दिएको पाँच सय करोड रकम पनि जिटिए वृत्तिय विभागले अहिलेसम्म चलाइसकेको छैन। कालेबुङको लागि कसरी त्यति ठूलो रकम आयो, विभागलाई प्रश्न गर्नुपर्ने हो। उनीहरूले धनकडको प्रभावमा यस्तो कुरा गरेको हुनपर्छ’, रूदेनले भने।

विकासमा आउने रकमको सात प्रतिसत रकम पार्टीले लिने चलन रहेको कुरा पनि प्रविण रहपालले हिज खुलाएका थिए।

‘यदि दलभित्र यस्तो चलन थियो भने उनीहरू पनि यसको हिस्सा थिए। उनीहरू समष्टि चलाइरहेका थिए। हिज त्यसभित्र पाप थियो भने त्यसको भागीदार उनीहरू पनि छन्’, रूदेनले भने।

‘दलमाथि आपत्ति जनाउने दलभित्रै धेरैजना छन्। तर आँट गरेर बाहिर निस्कन सकिरहेका छैनन्’, हिज प्रविण रहपालले यसो भनेका थिए।

अनित थापाले केही दिनपछि आफू जिटिएको चौकीमा वापसी गर्ने भ्रम पैदा गरिरहेको तर उनको च्याप्टर क्लोज भइसकेको कुरा पनि उल्लेख गरेका थिए।

रहपालको कुरालाई सही मान्नु हो भने हिजको राजीनामा काण्डपछि मोर्चा दोस्रो खेमा अझ भत्किन सक्ने देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन