गोर्खाल्याण्ड आन्दोलनलाई सिक्किमतिरबाट हेर्दा

विचार

बंगालबाट छुट्याएर दार्जीलिङलाई कुनै नाम दिएर अलग राज्य निर्माण भयो भने त्यो सिक्किमवासी तथा दार्जीलिङवासी दुवैलाई हितकारक बन्नेछ। यस विषयमा यदि दार्जीलिङले कुनै सकारात्मक आन्दोलन गर्‍यो भने पुनश्च सिक्किमले सहयोगका निम्ति अवश्य हात बढ़ाउला तर दार्जीलिङ सिक्किम विलयको कुरा आए त्यस आन्दोलनको परिणाम सायद हितकारक नहोला।
गोर्खाल्याण्ड आन्दोलन चल्दा राष्ट्रिय राजमार्ग बन्द गर्‍यो, त्यसको असर सिक्किमलाई मात्र पर्‍यो, मौन भएर सह्यो सिक्किमले, गोर्खाल्याण्ड होला भनेर तर पटक-पटक यो आन्दोलन नेतृवृन्दले नै विलाए जनताले होइन।


-रुद्र पौड्याल

गोर्खाल्याण्ड हुनुपर्छ, हामी गोर्खाहरूको चिन्हारी हुनुपर्छ भन्ने आन्दोलन दार्जीलिङ जिल्लामा धेरै भयो। धेरैजनाले यस नाराको माध्यमले प्रसिद्धी कमाए। हामी सिक्किमेहरूले धेरै सहयोग गरेका हौं। दार्जीलिङवासीहरूलाई थाहा नभएको जस्तै छ, तर सुवास घिसिङको नेतृत्वमा भएको आन्दोलनमा हामीले राशनपानी, रुपियाँ-पैसा मात्र सघाएनौ, सिक्किमका घर-घरमा त्यसताका आन्दोलनकारीहरूलाई सहारा दिने काम पनि गऱ्यौं। पछि उतै केमा सम्झौता गरेर आन्दोलन हरायो।
विमल गुरुङको नेतृत्वमा भएको आन्दोलनमा ‘दार्जीलिङ सपोर्ट ग्रुप’ बनाएर सहयोग गऱ्यौं। गोली लागेका र चोट पटक लागेकाहरूको उपचार गऱ्यौं, नाम्ची, गान्तोक र अरू पनि अस्पतालमा। छिमेकीको दुःखमा साथ दिँदै गाड़ी-गाड़ी खाद्य वस्तु जम्मा गरेर पुर्‍याउन गए सिक्किमेहरू। घर-घरमा लगेर बाँडे। हाम्रा दाज्यू भाइहरू भएको राज्य बनिन्छ, गोर्खाल्याण्ड हुन्छ, दुईवटा नेपाली भाषा बोल्ने राज्य हुन्छन्, भारतीय गणराज्यमा दुईवटा स्टेट गर्भमेन्ट र एसेम्बलीमा नेपाली भाषामा बहस हुन्छ, यस्ता धेरै आशाहरू र आकांक्षाहरू लिएका थिए। विश्वका विभिन्न भागमा रहेका नेपालीभाषी समुदायले सघायो तर कुन्नि त्यही दार्जीलिङ भित्रैबाट र त्यसै आन्दोलनकारी नेतृवृन्दबाट के भयो गोर्खाल्याण्ड भएन। अहिले भाजपा र दार्जीलिङका कुन्नि क-कसले उत्तर बंगाल र गोर्खाल्याण्डको आवाज निकाल्न थालेका छन् खाजा खाइसकेका खेतालाहरू फेरि काममा लागे जस्तो।
सिक्किमसित मिसाउने कुरा-
दार्जीलिङमा पश्चिम बंगालका राज्यपाल आएका बेला एक दलले भन्यो- “दार्जीलिङ सिक्किम विलय मात्र एउटा समाधान” भनेर।
दार्जीलिङ सिक्किमको भू भाग हो भन्न थालेको धेर भएको छैन दार्जीलिङले। सन् 1947 मा भारत स्वतन्त्र हुँदा दार्जीलिङ स्वतन्त्रताको उत्सवमा नाच्यो, हामी माटो समेत आफ्नै पुरातन सिक्किम फर्कन्छौ कसैले भनेन। सिक्किमका राजाले पनि त्यहाँका निवासीहरूको भावनामा आघात हुने ठानेर केही भनेनन्। दार्जीलिङ सिक्किमको भूभाग भन्ने कुरामा दार्जीलिङवासीले विश्वास गर्थे भने 1974 सालमा सिक्किम राज्य भारतको एउटा प्रान्त बनाउन श्रीमती इन्दिरा गान्धीको योजना सफल हुँदा ‘यो भूभाग पनि सिक्किममै मिलाउनुपर्छ’ भन्ने आवाज दार्जीलिङबाट निस्किएऩ। मेरो सानो दृष्टि, झूटो पनि हुनसक्छ, मैले जानेको कुराचाही आर. मोक्तान दार्जीलिङबाट आएर मिन्तोग्याङमा बास बस्नथाले। निकै कड़ा कुराहरू गरेर सिक्किमेलाई सिकाउन आएको अभिनय गर्ने गर्थे। सिक्किमबाट फर्किेएर गएपछि सिक्किम दार्जीलिङ विलयको कुरा झिकेको थियो भन्छु।
पूर्व सिक्किमको रिनाकसँग संलग्न दुइवटा ब्लक लिङ्गसे अनि लिङ्गसे ‘ख’ रिनाक बजारको निर्भरमा रहनुपर्छ। यो उहिल्यैदेखिको परम्परा हो। कालेबुङ, दार्जीलिङ जानुपर्दा रिनाकबाटै जानुपर्छ, हाटबजार, अस्पताल, पोष्ट अफिस सबै सबैका निम्ति लिङ्गसे र लिङ्गसे ‘ख’ रिनाक बजारसँग भर लिनुपर्छ। राजा छोग्यालको समयमा कतिपय चीज जस्तै मट्टितेल, चीनी, चामल कोटामा पुर्‍याइन्थ्यो। त्यसताक त्यो क्षेत्रका मानिसहरू पेदोङ, कालेबुङ जान टाढा पर्दा सिक्किमका राजासित निवेदन गरी हामी पनि यसै बजारको उपभोग गर्छौ भन्दा राजाले बुझेर हुन्छ भनेको कुरा हामीले सुनेका थियौं। एकचोटि त्यहाँका प्रबुद्ध जमातले रेसी खोलाले छेकेको बंगालको सानो भू-भाग मात्र साना-साना दुई गाउँ सिक्किममा मिलाइदिइयोस्, हामीलाई व्यवहार चलाउन सहज हुन्छ भनी बंगाल अथवा दार्जीलिङ जिल्लामा कुरा गर्दा यो अस्वीकार गरियो।
हाल सिक्किम दार्जीलिङ विलयको कुरा दार्जीलिङका केही नेताहरूका मुखबाट सुनिन्छ। यसले उहाँहरूको दार्जीलिङ गोर्खाल्याण्ड माग गर्ने दिंवगत भएका शहीदहरूप्रतिको उपहास हुने देखिन्छ। सिक्किममा राजाका प्रजा भएर रहेका भोटे, लाप्चे, नेपालीहरू सिक्किम सब्जेक्ट थिए र तिनीहरूलाई राजाले सब्जेक्ट अथवा ‘प्रजा’ प्रमाणपत्र दिएको थियो। सिक्किम भारतमा विलय गराउँदा भारतको संसदले 371 (एफ) बनाएर तीनै सब्जेक्टधारीहरूलाई भारतीय भएको प्रमाण मानेको छ। यहाँका मानिसहरू भोटिया, लेप्चा र नेपाली भनेर चिनिन्छन्। नेपाली भन्दा नेपालको भन्नेलाई बंगाली भन्दा बंगलादेशको र मुस्लिम भन्दा पाकिस्तानको साथै तमील भन्दा श्रीलंकाको भन्ने बुझिँदैन। यो देश नै बहू जातीय बहु भाषीय तथा बहू संस्कृति भएको देश हो।
हामी सिक्किमेहरू जो पाल्देन थोण्डुप नामग्यालबाट सिक्किम सब्जेक्ट प्रमाण-पत्र पाएका र तिनका सन्तान 6 लाख भन्दा धेर छैन। अन्य राज्यहरूबाट आएर विभिन्न व्यवसाय गर्नेहरू सबै जोड़दा सात लाख पुगनपुग जनसंख्यामा छौं। दार्जीलिङ जिल्लाको मात्र जनसंख्या 14 लाख भन्दा धेर छ। यस्तो स्थितिमा दार्जीलिङ सिक्किममा विलय होइन तर सिक्किम दार्जीलिङमा विलय भएको देखिनेछ।
यसर्थ, सिक्किम एउटा सीमान्त राज्यको रूपमा यथावत रहन पाओस्, तीनतिरका अन्तरराष्ट्रिय सीमाको सुरक्षा सिक्किमबाट कायम रहोस्।
बंगालबाट छुट्याएर दार्जीलिङलाई कुनै नाम दिएर अलग राज्य निर्माण भयो भने त्यो सिक्किमवासी तथा दार्जीलिङवासी दुवैलाई हितकारक बन्नेछ। यस विषयमा यदि दार्जीलिङले कुनै सकारात्मक आन्दोलन गर्‍यो भने पुनश्च सिक्किमले सहयोगका निम्ति अवश्य हात बढ़ाउला तर दार्जीलिङ सिक्किम विलयको कुरा आए त्यस आन्दोलनको परिणाम सायद हितकारक नहोला अथवा आपसी आन्दोलन बन्ला। यो कुरा दार्जीलिङका नेतृत्वपक्षले पनि गहिरिएर सोचे राम्रो होला।
गोर्खाल्याण्ड आन्दोलन चल्दा राष्ट्रिय राजमार्ग बन्द गर्‍यो, त्यसको असर सिक्किमलाई मात्र पर्‍यो, मौन भएर सह्यो सिक्किमले, गोर्खाल्याण्ड होला भनेर तर पटक-पटक यो आन्दोलन नेतृवृन्दले नै विलाए जनताले होइन। अहिले पनि विविध नेताहरू अघि आएको देखिन्छ-1. उत्तर बंगाल अलग राज्य हुनुपर्छ। 2. गोर्खाल्याण्ड हुनुपर्छ र 3. दार्जीलिङ-सिक्किम विलय हुनुपर्छ। हामी सिक्किमेहरू आन्दोलन संस्कारमा त्यति ज्ञान राख्दैनौ तर यति चाहिँ जान्दछौ एक कार्यका निम्ति धेर पक्ष भयो भने त्यो कार्य सफल हुँदैन। पहिले सबै विचारका नेतृवृन्दले आपस्तमा छलफल गरेर एक मत भई त्यही एउटा कुरामा स्थिर हुनु राम्रो हुन्थ्यो सायद। मैदान बनिएपछि खेला खेल्नु राम्रो हो, मैदानै नबनाई घरको सिकुवामा कुश्ती खेल्दा सिकुवा मात्र भत्कन्छ अरू केही हुँदैन। यो त हामी अल्पज्ञ जमातको कुरा हो, दार्जीलिङका नेता मात्र के धेरै अरू पनि हामीभन्दा ज्ञानी मानिन्छन्। हामी दर्शक भएर हेर्दैछौ कतै अर्को राज्य हुन्छ कि?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन