‘धमिलो पानी’मा बल्छी खेल्न कालेबुङ आइपुगे विमल गुरूङ

खबरम्यागजिन डेस्क


विनय खेमाबाट तीन केन्द्रीय समिति सदस्य भुवन खनाल, नोर्देन लामा अनि प्रविण रहपालसँग जिल्ला समिति सदस्य शरण प्रधानले राजीनामा दिएपछि कालेबुङको राजनैतिक पारा तात्तिन थालेको छ।

भुवन खनाल अनि प्रविण रहपालले विनय खेमा अनि विधायक रूदेन लेप्चामाथि व्यापक भ्रष्टाचार अनि मनमानीको आरोप समेत लगाएर पार्टीबाट बाहिरिएका छन्।

तीन केन्द्रीय समिति सदस्य अनि एक जिल्ला समिति सदस्यको राजीनामापछि हिजसम्म हरेक दिन कोही न कोही राजीनामा दिन मिडियामा देखापरे।

दोस्रो दिन जिल्ला समिति अनि ३५ नम्बर समष्टिका केही प्रतिनिधिहरूले राजिनामा दिए। त्यसको भोलिपल्टै ३५ नम्बर समष्टिबाट ३१ जना युवा कार्यकर्ताहरूले राजीनामा दिएको घोषणा गरे। हिज जिल्ला नारी मोर्चा सदस्य चन्द्रिका छेत्रीले पार्टीको साधारण सदस्यताबाट राजीनामा दिइन्।

चन्द्रिकाले भनिन्, ‘मोमो बेच्छु तर स्वाभिमान बेच्दिनँ।’

‘असन्तुष्टिको बादलबाट, विद्रोहको झरी पर्दा कालेबुङ विनय खेमामा व्यापक राजनैतिक पहिरो’, राजीनामाको यस घटनाक्रमलाई एक स्थानिय समाचार च्यानलले कवितात्मक अभिव्यक्ति समेत दिएको देखियो।

विनय खेमाबाट राजीनामा दिनेहरूमा धेर कार्यकर्ता पैंतिस नम्बर समष्टिबाट छन्। यही समष्टिमा भुवन खनाल सचिव थिए।

‘म पनि धमिलो पानीबाट निस्किएको माछा हुँ। त्यसैले हरेक कुरामा आफूलाई सही भन्दिनँ। तर जसले ममाथि आरोप लगाइरहेका छन्, उनीहरूको चरित्र कालेबुङको जनताले एकपल्ट हेर्नुपर्छ’, आफूमाथि लागेको भ्रष्टाचारको आरोपमाथि प्रतिक्रिया गर्दै विधायक रूदेन लेप्चाले भने।

त्यही ‘धमिलो पानी’मा बल्छी खेल्न हिज बेलुकी अचानक मोर्चा पहिलो खेमा अध्यक्ष विमल गुरूङ कालेबुङ आइपुगेका छन्। आउँदो चार दिनसम्म विमल कालेबुङमा रहने जानकारी प्राप्त भएको छ। 

यता विनय खेमाबाट राजीनामा दिने क्रम शुरू हुने बित्तिकै विमल खेमा कालेबुङ प्रवक्ता अनिल लोप्चनले एक विज्ञप्ती जारी गरेर भने, ‘कारणवस पार्टीबाट बाहिरिएका पुराना सदस्यहरूको घर वापसी हुनसक्छ अनि सबैलाई स्वागत गरिनेछ।’

लोप्चनको सङ्केत स्पष्ट छ। राजीनामा दिने नोर्देन लामा अनि प्रविण रहपाल विमल खेमामा केन्द्रीय समिति सदस्य थिए।

‘हामीले वुद्धिजीवि उम्मेद्वार छोडेर, रूदेन लेप्चालाई जिताउन दिनरात मेहनत गऱ्यौं….,’ राजीनामा घोषणा गरेको दिन भुवन खनालले यसो भनेपछि अझ उनीहरू विमल खेमामा जान सक्ने सङ्केतको रूपमा हेरिएको थियो।

राजीनामा दिनअघि नै उनीहरू विमल खेमाको सम्पर्कमा आइसकेको कुरा उल्लेख गरेर केटिभी कालेबुङले हिज बेलुकी एउटा समाचार छापेको छ।

विमल गुरूङ कालेबुङ आइपुग्ने बित्तिकै नोर्देन लामा अनि प्रविण रहपालसँग घरैमा पुगेर भेट गरेको खबरले उल्लेख गरेको छ। भुवन खनाल अनि शरण प्रधानसँग पनि विमलको हिज बेलुकी भेट भइसकेको बताइएको छ।

‘विमल खेमाको विशेष नजर अहिले कालेबुङ नगरपालिका रहेको थाहा लागेको छ। अघिबाटै ६ जना पार्षदहरू आफूसँग रहिसकेको अनि दुईजना जाप पार्षद अनि दुईजना तृणमूल पार्षद पनि कुनै पनि समय आफूहरूसँग हुनसक्ने साथै रहल पार्षदहरूसँग पनि तालेमेल बनाउने कोसिस भइरहेको जान्नमा आएको छ’, केटिभीको उक्त समाचारमा लेखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन