आकाशवाणी दिल्लीले नेपाली समाचार प्रसारण ‘बन्द’ गरेको खबर भाइरल; आकाशवाणी गान्तोकको स्पष्टीकरण

खबरम्यागजिन डेस्क


आकाशवाणी दिल्लीले नेपाली समाचारको प्रसारण बन्द गरेको खबर पूर्वोत्तरको नेपाली समाचार च्यानल एन.इ लाइभले हिज अगाडि ल्याएपछि यस खबरले खलबली मचाउन शुरू गरेको छ।

सन् १९५९ देखि शुरू भएको यो नेपाली समाचार साँझको ७.२५ बजे बुलेटिनको रूपमा प्रसारित भइरहेको थियो।

सात दसकभन्दा धेर समयदेखि आकाशवाणी दिल्लीले प्रसारण गरिरहेको नेपाली बुलेटिन बन्द भएको खबर आएपछि धेरैजनाले यसमाथि प्रतिवाद जनाउन शुरू गरेका छन्।

मातृभूमि सुरक्षा अभियानको तर्फबाट डूकनाथ खनालले यसको प्रतिवादमा विज्ञप्ती जारी गरेका छन्।

आकाशवाणी दिल्लीमा नेपाली विभागका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि ३ मई २०२१ देखि नेपाली विभाग बन्द गरिएको अनि ७.२५ मा राष्ट्रिय समाचारको रूपमा प्रसारण गरिने समाचार पनि स्थागित गरिएको कुरा डूकनाथले विज्ञप्तीमा उल्लेख गरेका छन्। तर केही दिनको निम्ति भनेर स्थगित गरिएको बुलेटिनलाई अनिश्चितकालसम्मको निम्ति लम्ब्याइयो भन्दै उनले असन्तुष्टि जाहेर गरेका छन्।

‘अन्य विभागमा कोभिड प्रोटोकल मुताबिक घरबाट रेकर्ड गरेर कार्यक्रम सुचारू राखिएको समय नेपाली विभागलाई पुरै बन्द गरिदिनुको पछाडि ठूलो राष्ट्रिय षडयन्त्र रहेको बुझिएको छ’, डूकनाथले विज्ञप्तीमार्फत भनेका छन्।

‘कतिपय भाषामा घरबाट रेकर्ड गरेर नियमित रूपमा समाचार प्रसारण भइरहेको छ। नेपाली भाषाको समाचार रोकिनु दुर्भाग्यपूर्ण हो’, सिक्किम सरकारको ओबिसी कमिशनको चियरपर्सन पवित्रा भण्डारीले पनि यस घटनामाथि प्रतिक्रिया गरेको देखिएको छ।

यता समाचार अगाडि आएपछि दार्जिलिङमा पनि यसमाथि टिप्पणी आउन थालिसकेको छ।

‘यो हाम्रो निम्ति ठूलो क्षति अनि हाम्रो आत्मसम्मानमा ठेस लाग्ने विषय हो। भारत सरकार अधिनस्थ अल इण्डिया रेडियोले समाचार प्रसारण शुरू गर्नुपर्छ। यो मेरो व्यक्तिगत माग हो’, विनय खेमा नेता केशवराज पोखरेलले फेसबुकमा लेखेका छन्। 

मामिला अगाडि आएपछि खबरम्यागजिनले आकाशवाणी खरसाङका कार्यलय प्रमूख पारशचन्द्र आलेसँग सम्पर्क गऱ्यो।

‘खासमा साँझको नेपाली बुलेटिन बन्द नैं भएको होइन। प्रसारण चलिरहेको छ। कोभिडको हाल स्थितिलाई ध्यानमा राखेर आकाशवाणी दिल्लीले यस बुलेटिनको जिम्मेवारी गान्तोकलाई दिएको छ। गान्तोकले प्रसारण गरेको समाचार हामी रिले गरिरहेका छौं’, उनले भने।

‘यो समस्या नेपाली भाषाको समाचार प्रसारणमा मात्र होइन। अन्य भाषाहरूको समाचार जिम्मेवारी अहिलेलाई दिल्लीबाट क्षेत्रिय स्टेशनहरूलाई दिइएको छ। बङ्गला भाषाको राष्ट्रिय समाचार प्रसारण अहिले कलकत्ताबाट भइरहेको छ’, आकाशवाणी खरसाङ कार्यलय प्रमूख पारशचन्द्र आलेले खबरम्यागजिनसँग भने।

यसमाथि थप स्पष्ट हुने मनसायले खबरम्यागजिनले आकाशवाणी गान्तोकका समाचार प्रमूख शैकत सरकारसँग पनि सम्पर्क गऱ्यो।

‘प्रसारण बन्द भएको होइन। अहिले नेपाली समाचारको जिम्मा हेडक्वाटरले हामीलाई दिएको छ’, शैकतले भने।

‘३ मई २०२१ देखि गान्तोकलाई समाचारको जिम्मा दिइएको हो। शुरूमा दुइ हप्ताको निम्ति भनिएको थियो। तर पछि नयाँ आदेश जारी नभएसम्मको निम्ति लम्ब्याइएको छ’, उनले थपे।

कहिलेदेखि आकाशवाणी दिल्लीबाट समाचार प्रसारण सुचारू हुने सम्भावना छ भनी सोधिएको प्रश्नको स्पष्ट उत्तर दिन शैकतले अस्वीकार गरे, ‘ केही भन्न सकिँदैन। नयाँ आदेश जारी नभएसम्म हामीले हेडक्वाटरको पूरानो आदेश अनुसार काम गर्नुपर्ने हुन्छ।’

‘बेलुकी ७.२५ मा राष्ट्रिय रूपमा प्रसारण भइरहेको समाचारलाई पनि आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचारको रूपमा प्रसारण गरेर नेपाली भाषालाई राष्ट्रिय भाषाबाट प्रादेशिक भाषामा सीमित गराउने षढयन्त्रको गन्ध पाएका छौं’, मातृभूमि सुरक्षा सङ्गठनको तर्फबाट संयोजक डूकनाथ नेपालले यसमाथि भनेका छन्।

जानकारी अनुसार आकाशवाणी दिल्लीले कोरोनाको पहिलो लहरमा दिल्लीबाट नेपाली बुलेटिनको प्रसारण यथावत राखेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन