दलाई लामा:  एक आत्माको लडाइँ

 

१७ मार्च सन् १९५९ को दिन एक 23 वर्षिय लामा सिपाहीको भेषमा ल्हासाको आफ्नो दरबारबाट रातारात पलायन बने। उनीसँग त्यतिबेला तिब्बतका केही मन्त्री, उनका भक्त अनि तिब्बती नागरिकहरूको लस्कर थियो। उनले त्यस दिनदेखि यता कहिल्यै ल्हासा देख्न पाएका छैनन्। तर जीवनभर आफ्नो ठाउँ फर्कने सपना पालेर बसे।

उनी तिब्बतको आध्यात्मिक अनि राजनैतिक गुरू दलाई लामा हुन्।

चिनियाँ सिपाही उनीहरूको ज्यानको पछि लागेको थियो। त्यही ज्यान बचाउन उनीहरू रातभर हिँडिरहे। अन्त्यमा भारतको अरूणाचल प्रदेश आइपुगे।

जवाहरलाल नेहरू त्यतिबेला भारतको प्रधानमन्त्री थिए। अरूणाचलबाट उनीहरूले नेहरूलाई सहयोगको अपिल गरेर पत्र लेखे। पत्रको जवाब आयो। भारत सरकारबाट हरेक शरणार्थीहरूले सुरक्षा पाउने वचन आयो।

नेहरूले दलाई लामालाई भारतमा ‘निर्वासित सरकार’ गठन गर्ने अनुमति समेत दिए। हिमाचल प्रदेशको धर्मशालालाई निर्वासित तिब्बती सरकारको राजधानी बनाइने निर्णय लिइयो। नेहरूको तिब्बती शरणार्थी अनि दलाई लामाप्रतिको उदार चरित्रलाई भारतका राजनैतिक विश्लेषकहरूले अनेक तरिकाले हेरेका छन्। 

दलाई लामाको तिब्बतबाट पलायनलाई आज धेरैजना ‘इतिहासको सबभन्दा विचित्र पलायन’ भन्छन्।

दलाई लामा भारत आइपुगिसकेपछि तिब्बतना चिनिँया सेना गुम्बाहरू तोड्न अनि तिब्बतीहरूको हत्या गर्नतिर लाग्यो। तिब्बतीहरूको सांस्कृतिक अनि धार्मिक पहिचानमाथि चीनले धावा बोल्न शुरू गऱ्यो।

आज तिब्बत अनि चीनबीचको राजनीति दलाई लामातिर मोडिएको छ। दलाई लामा वास्तवमा एक संस्थाको नाम हो, जसको सात शताब्दी पूरानो इतिहास छ।

‘दलाई लामा’ शब्दको उत्पत्ति मङ्गोल शब्द ‘दलाई’ अनि आदिम तिब्बती शब्द ‘लामा’बाट भएको मानिन्छ। दलाई अर्थान समुद्र। लामा अर्थात गुरू। दलाई लामा अर्थात ज्ञानको समुद्र।

बौद्ध धर्म परम्परा अनुसार आजसम्म चौधजना दलाई लामाहरूले अवतार लिइसकेका छन्। यस परम्पराको सुरूवातमा दलाई लामालाई एक आध्यात्मिक गुरूको रूपमा हेरिन्थ्यो। दुइ शताब्दीपछि राजनैतिक गुरू पनि मानिन थाल्यो।

आज दलाई लामालाई ‘पोप अनि राष्ट्रपतिको समागम’को रूपमा हेरिन्छ।

बौद्ध धर्म परम्परा अनुसार दलाई लामालाई पुनर्जन्मको अधिकार प्राप्त छ। उनले आफू पुनर्जन्म भएर आउने शरिर समेतको चयन गर्नसक्छन् भन्ने विस्वास छ।

पछिल्लो दलाई लामाको सन् १९३३ मा मृत्यु भएपछि तेन्जिङ ग्यात्सोलाई आजको दलाई लामा चयन गरिएको हो।

दलाई लामाको चौधौं अवतारको रूपमा बौद्धहरूले मानेका तेन्जिङ ग्यात्सोले नोबेल शान्ति पुरस्कार पाएका छन्। विश्वका धेरै देशहरूमा शान्तिको प्रतिकको रूपमा हेरिने उनी विख्यात राजनैतिक रेफ्यूजी हुन्।

चर्चित लेखक/पत्रकार डम मोरेज एकदिन दलाई लामालाई भेट्न धर्मशाला पुगेका थिए।

‘तिब्बतबाट पलायन भएको समय त्यहाँ ठूलो आँधीबेहरी आएको अनि चिनियाँ सेनाहरूले आँधीबाट उठेको धुलोको कारण तपाईंलाई देख्न नसकेको कुरा उल्लेख गरिएको छ। कतिले त्यसलाई दैविक शक्ति मान्छन्। के यो सत्य हो?’ मोरेजले उनलाई सोधेका थिए।

‘त्यस्तो आँधी त यस सिजनमा तिब्बतमा हरेक दिन आउँछ’, दलाई लामाले अट्टाहस गर्दै दिएको जवाब डम मोरेज सम्झन्छन्।

तेन्जिङ ग्यात्सो आफूले गर्ने ठट्टाको निम्ति पनि धेरैको प्रिय छन्।

तर चीनको सत्ता दलाई लामालाई मन पराउँदैनन्। चीन उनलाई ‘पृथकतावादी’, ‘लामाको भेषमा ब्वाँसो’ अनि ‘ढोँगी’ भन्छ।

दलाई लामामाथि उदार भाव राख्ने आफ्नो नागरिकलाई चीन सहन गर्न सक्दैन। यस्ता नागरिकलाई कारावास अथवा मृत्युदण्डको सजायसम्म हुनसक्छ। चीनमा दलाई लामाका किताबहरूमाथि प्रतिबन्ध लगाइएको छ।

प्रख्यात अमेरिकी गायिका लेडी गागाले एकदिन मिनेपोलिसमा उनीसँग भेट गरिन्। योगाबारे सल्लाह लिन भनी गरिएको त्यस भेटपछि लेडी गागा चीनमा प्रतिबन्धित बनिन्।

आजको दिन तेन्जिङ ग्यात्सो ठिक ८६ वर्षको भएको बेला दलाई लामाको उत्तराधिकारी को हुने? भन्ने प्रश्न सर्वाधिक चर्चाको विषय बनेको छ।

यता चीनले आफ्नै दलाई लामाको खोजी शुरू गरिरहेको छ।

‘दलाई लामाले आफ्नो उत्तराधिकारी चुन्न सक्दैनन्। यसलाई पुष्टि गर्न हामीसँग इतिहासिक दस्तावेज छन्। दलाई नामाको निम्ति चिनियाँ सरकारको अनुमोदन चाहिन्छ’, चीन सरकार बारम्बार भनिरहेको छ।

के ‘नास्तिक’ चीन सरकारसँग यसो गर्ने अधिकार छ? के चीनको चयनलाई विश्वले स्वीकार गर्ला? प्रश्न गम्भीर छ।

‘चीनले आफ्नो दलाई लामा आफै चयन गर्नु भनेको इटालीले पोप फ्रान्सिसलाई हटाएर उनको ठाउँमा कसैलाई राख्ने अनि सबै क्याथोलिकहरूलाई उनलाई पोपको रूपमा स्वीकार गर्ने आदेश जारी गर्नुजस्तो हो’, धेरैले यसो भनिरहेका छन्।

यस मामिलामा अमेरिकाले पनि हस्तक्षेप शुरू गरेको छ। चीनसँग आफ्नै दलाई लामा चयन गर्ने अधिकार छैन भन्ने कुरालाई केन्द्रमा राखेर अमेरिकी संसदले बिल समेत पास गरेको छ। 

बौद्ध परम्परा अनुसार दलाई लामाको उत्तराधिकारी चुन्ने प्रक्रियामा अहम भूमिका पाचेन लामाको हुन्छ। पछिल्लो पाचेन लामा मई सन् १९९५ देखि निखोज छन्। त्यतिबेला उनी छ वर्षको बालक थिए। तिब्बतीहरू यसको दोष चीन सरकारलाई दिन्छन्।

चीनले आज आफ्नै पाचेन लामा चयन गरेको छ।

वर्तमान दलाई लामाले आफ्नो उत्तराधिकारीको निम्ति केही विकल्प पेस गरेका छन्।

‘दलाई लामा नामको संस्थाको अब आवश्यक्ता छैन। तर यस परम्परालाई बचाएर राख्ने मानिसहरूको चाहना भए त्यस निर्णयको सम्मान गरिने छ’, तेन्जिङ ग्यात्सोले एकचोटि भनेका थिए।

दलाई लामाले आफ्नो उत्तराधिकारी आफै चयन गर्ने यसको अर्को विकल्प हो। आफ्नो मृत्यु तिब्बतदेखि बाहिर भए उनको अवतार भारतबाट पनि हुनसक्ने विकल्प उनले सार्वजनिक गरिसकेका छन्।  

उनले एकपल्ट आफ्नो अवतार एक महिला हुनसक्ने सम्भावना पनि व्यक्त गरे।

‘महिला सुन्दर हुनपर्छ’, उनले भनेका थिए। उनको यो बयान विवादास्पद पनि रह्यो।

पछि उनले माफी माग्दै भने, ‘त्यो बयान अनुवादमा हराएको ठट्टा थियो।’

के आउँदो दिनमा विश्वले दुई दलाई लामाहरूलाई देख्ने हो? अथवा तिब्बती बौद्ध परम्परा अनुसार दलाई लामा नाम संस्थाका अन्तिम प्रतिनिधि हुनेहुन् तेन्जिङ ग्यात्सो?

आज विश्वको धेरै ठाउँले उनको जन्मदिन मनाइरहेको बेला धेरैको मनमा यो प्रश्न खेलिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन