लिजेन्ड अभिनेता दिलिप कुमारको निधन

खबरम्यागजिन डेस्क


लामो समयदेखि स्वास्थ्य सम्बन्धि समस्यासँग सङ्घर्ष गरिरहेका हिन्दी सिनेमाका लिजेन्ड अभिनेता दिलिप कुमारको आज बिहान निधन भएको छ।

98 वर्ष पुगिसकेका दिलिप कुमार- असल नाम युसुफ खान-लाई हिन्दी सिनेमा जगतमा ‘ट्राजेडी किङ’ भनेर चिनिन्थ्यो। उनलाई मङ्गलबारदेखि हिन्दुजा अस्पतालको आइसियू युनिटमा राखिएको थियो।

‘लामो समयको विरामीपछि आज बिहानको 7:30 बजे उनको निधन भयो’, उनको उपचार गरिरहेका डा. जलिल पार्करले पिटिआइसँग भनेका छन्।

‘भारी मन अनि अत्यन्त पीडाको साथ म दिलिप साहबको निधन भएको घोषणा गरिरहेछौं। हामी सबै ईश्वरबाट आएका हौं, त्यहीँ फर्किएर जान्छौं’, दिलिपका निकटका साथी फैजल फारूकीले दिलिपको आधिकारिक ट्वीटर ह्यान्डलमा लेखे।

हिन्दी सिनेमामा उनलाई आजसम्म अभिनयको ट्रेन्ड सेटर मानिन्छ। हिन्दी सिनेमामा सबभन्दा प्रभावशाली अभिनेताहरूमा एक मानिने उनको सिनेमा यात्रा पाँच दसकसम्म रह्यो। 

देवदास, मुगल-ए-आजम, गङ्गा यमुना, राम और श्याम, नयाँ दौर, मधुमति, क्रान्ती, विधाता, शक्ति, मशाल आदि उनका चर्चित फिल्महरू हुन्।

सन् 1944 मा ज्वारभाटा नामक चलचित्रबाट अभिनय यात्रा शुरू गरेका दिलिपलाई पहिलो फिल्मले चर्चा दिलाउन सकेन। सन् 1947 मा नुर जहानसँग उनले खेलेको फिल्म जुग्नुले उनलाई प्रभावशाली अभिनेताको रूपमा अगाडि ल्यायो।

सन् 1954 मा उत्कृष्ट अभिनयको निम्ति फिल्मफेयर जित्ने दिलिप पहिलो अभिनेता बने। उनले आफ्नो जीवन कालमा आठचोटि यो पुरस्कार जितेका छन्। दिलिप शाहरूख खानसँग सबभन्दा धेर फिल्मफेयर जित्ने अभिनेताको रेकर्ड साझा गर्छन्।

सन् 1994मा दादासाहेब फाल्के पुरस्कार अनि 2015 मा पद्म विभुषण पुरस्कार जितिसकेका दिलिपको सबभन्दा धेर पुरस्कार जित्ने अभिनेताको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डले नाम दर्ता गरेको छ।

उनको निधनमा फिल्म जगतका हस्ती, देशका प्रधानमन्त्री नरेन्द्र मोदी, काङ्ग्रेस नेता राहुल गान्धी लगायत धेरैले शोक व्यक्त गरिरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन