राज्यपाल धनकडले मागे जिटिए कामकाजको विवरण; जिटिएलाई सात दिनको समय

खबरम्यागजिन डेस्क


राज्यपाल जयदिप धनकडले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन ऐन २०११ को धारा(१०) ले राज्यपाललाई दिएको प्रावधान अनुसार जिटिएलाई आफ्नो कामकाजको सम्पूर्ण विवरण मागेका छन्।

जिटिए प्रशासन ऐन २०११ धारा(१०) ले राज्यपाललाई जिटिए कामकाजको विवरण लिने अनि त्यसलाई हरेक साल विधानसभामा पेस गर्ने अधिकार दिएको छ।

यही अधिकारको प्रयोग गरेर धनकडले जिटिएलाई आफ्नो कामकाजको विवरण मागेका छन्। राज्यपालको आदेशमा अतिरिक्त मुख्य सचिवले यस मामिलामा जिटिएका वर्तमान अध्यक्ष सुरेन्द्र गुप्तालाई पत्राचार गरिसकेका छन्।

राज्यपाल धनकडले जिटिए कोषको वर्तमान स्थिति अनि सन् २०११ मा जिटिए सञ्चालनमा आएदेखि केन्द्र सरकार अनि राज्य सरकारबाट हरेक साल आएको रकमको विवरण मागेका छन्।

सन् २०११-१२ देखि हरेक साल जिटिएले गरेको वार्षिक लेखा अनि अडिटको निम्ति गरेको तयारीको विवरण पनि मागेका छन्।

राज्य सरकारबाट जिटिएले प्राप्त गरेका सबै सूचनाहरूको प्रतिलिपि अनि जिटिएले दिएको जवाब प्रस्तुत गर्ने राज्यपालले आदेश जारी गरेका छन्।

एकाउन्टेन्ट जनरल अनि क्यागबाट जिटिएले प्राप्त गरेको सबै सूचना अनि जिटिएले पठाएको जवाबका प्रतिलिपि पनि राज्यपाललाई बुझाउन भनिएको छ।

जिटिए अध्यक्षको पदमा आजको दिनसम्म रहेका व्यक्तिहरूको कार्यकाललाई उल्लेख गर्दै क्रमवद्ध सूचि पनि जिटिएलाई बुझाउने आदेश जारी गरिएको छ।

राज्यपालले पत्रमा उल्लेख गरिएको विवरण पेस गर्नको निम्ति जिटिए अध्यक्ष सुरेन्द्र गुप्तालाई सात दिनको समय दिएको छ।

दुई हप्ता अगाडि दार्जिलिङ भ्रमणमा आएका राज्यपाल धनकडले जिटिएमा व्यापक भ्रष्टाचार भएको अनि आफ्नो अधिकारको प्रयोग गरेर चाँडै जिटिएमा क्यागको विशेष अडिट गराउने बयान जारी गरेका थिए।

‘मेरो भ्रमण अवधिमा मसँग भेटघाट गर्न आउने अनेक प्रतिनिधि टोलीले मसँग जिटिएमा व्यापक भ्रष्टाचार भएको गुनासो गरेका छन्’, राज्यपालले भनेका थिए।

विगत चार सालदेखि जिटिए चुनाव नहुनु अनि हाल जिटिएमा एकैजना निर्वाचित सदस्य पनि नहुनुलाई धनकडले लोकतन्त्रको हत्या बताएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन