विमल खेमामा फेरबदल

खबरम्यागजिन डेस्क


विनय खेमाबाट तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्यले राजीनामा दिए लगत्तै कालेबुङ आइपगेका विमल गुरूङ पार्टीको पुन:विस्तारमा सक्रिय छन्।
हिज कालेबुङको याक्खा रिसर्टमा आयोजित तीनवटा समष्टिसँगको वैठकपछि विमलले पार्टी पदाधिकारीमा केही फेरबदल गरेका छन्।
उनको निर्णय अनुसार कालेबुङ नेता तोप्देन भुटियालाई कालेबुङ जिल्ला समितिको सचिव बनाइएको छ। यस अगाडि तोप्देन कालेबुङ जिल्ला युवा मोर्चा प्रमुख थिए।
तीन वर्षपछि विस्थापित बनेर विमल गुरूङसँगै घर फर्किएका कालेबुङका अनिल लोप्चनलाई केन्द्रीय समितिमा सह सचिवको रूपमा ठाउँ दिइएको छ। उनी कालेबुङ जिल्ला प्रवक्ता थिए।
एक हप्ता अगाडि मात्र विनय खेमाबाट राजीनामा दिएर विमल खेमामा आएका भुवन खनाललाई कालेबुङ जिल्ला प्रवक्ता बनाइएको छ।
‘प्रविण रहपाल अनि नोर्देन लामाको भूमिका बारे केन्द्रीय कमिटीको सभा बसेर फैसला लिइने छ’, विमलले हिज भने।
यस घोषणासँगै विमलले कालेबुङ जिल्लाभित्र पर्ने 43, 44 अनि 45 नम्बर समितिलाई समेटेर बनाइएको राजनैतिक महकुमा समितिको पनि घोषणा गरेका छन्।
‘एरिया ठूलो भएको कारण यी तीन समष्टिहरूलाई मिलाएर महकुमा समिति गठन गरिएको हो। प्रशासनिक रूपमा पनि यसलाई महकुमा बनाउन हामी काम गर्नेछौं’, विमलले भने।
याक्खा रिसर्टमा आयोजित कार्यक्रमबीच हिज महामारीको समय फ्रन्टलाइनरको रूपमा काम गरिरहेका कालेबुङका पत्रकारहरूलाई सम्मान पनि जनाइएको थियो।
सम्मान कार्यक्रमबारे विमलले भने, ‘राजनैतिक रङ्ग दिनको निम्ति यो कार्यक्रम गरिएको होइन। ज्यानको बाजी लगाएर काम गरिरहेका पत्रकारहरूलाई कसैले एउटा फूलको थुङ्गासम्म दिँदैनन्। हामीले उनीहरूलाई सम्मान जनाउने सोंच्यौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन