जवाफ दिन नसके मोर्चाले बाटो छोड़िदिँदा हुन्छ : युवा एकाई

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 28 मई 2017


‘हामीले अनशन शुरू गरेको पाँच दिन पूरा भो। तैपनि गोर्खाल्याण्डको निम्ति सात पल्ट भोट जित्ने गोजमुमोले एक शब्द बोल्न सकेको छैन। गोजमुमो प्रमुखको मौनताले स्पष्ट पार्छ, गोर्खाल्याण्डको निम्ति मोर्चाले देखाउन लायकको कुनै काम गरेको छैन’, जाप युवा एकाईका व्यूरो अध्यक्ष पङ्जक छेत्रीले भने, ‘गोजमुमोले गोर्खाल्याण्डको नाममा केही गरेको छ भने केवल भोट माग्ने काम गरेको छ। अब गोजमुमो अध्यक्षले कि जनताको प्रश्नको जवाफ दिनुपऱ्यो। नत्र गोर्खाल्याण्डको निम्ति बाटो छोड़िदिनुपऱ्यो।’

गोर्खाल्याण्ड माग्छु भन्ने दलले बङ्गालसंगको सम्पूर्ण नाता तोड़्नु पर्ने जनाउँदै उनले विधायक र जीटीए सभासद्हरूले चौकी छोड़्नुपर्ने पनि बताए। भोटैपछि गोर्खाल्याण्ड भन्ने गोजमुमोले गोर्खाल्याण्डको निम्ति राष्ट्रिय स्तरमा के काम गर्दैछ? सो प्रष्ट पार्ने समय अब आएको उनले बताए। जापका युवाहरूले गोर्खाल्याण्डको निम्ति प्रश्न गर्दै पाँचदिन अघिदेखि अनशन बस्दा पनि जीटीएको चौकीमा बस्ने गोजमुमो अध्यक्षले मौनता नतोड़्नुले आजसम्म कुनै काम नभएको प्रष्ट भएको दावी उनले गरे। उनले भने, ‘गोजमुमोले केवल भोटको निम्ति डेटलाइन दिने कार्य गरिरहेको छ। डेटलाइनले गोर्खाल्याण्ड हुँदैन। हामी आफ्नो भविष्यसंग चिन्तित छौं। आज गोजमुमोसंग मेन्डेट छ। यसैले मोर्चाले जवाफदेही बनेर जनताको प्रश्नको जवाफ दिनुपर्छ। आफूलाई एनडीएको घटक दल मान्ने गोजमुमोले घटक दलमा रहेका कुन कुन दललाई गोर्खाल्याण्डबारे सहमत गराउन सकेको छ? कतिजना सांसदलाई यसबारे जनाउन सकेको छ? आफ्नो सांसदलाई कहिले दवाब दिन सकेको छ?’

यसबाहेक गोर्खाल्याण्डको निम्ति जनमत लिएर जाने सांसदको आजसम्म आफ्नै धारणासम्म स्पष्ट नरहेको बताए। राष्ट्रिय स्तरमा गोर्खाल्याण्डको निम्ति एक सुद काम नभएको गुनासो उनले गरे।

‘हाम्रो प्रश्न यही हो कि गोर्खाल्याण्डमाथिको सांसदको व्यक्तिगत सोच के हो ? त्यो पनि स्पष्ट गर्नुपर्छ,’ व्यूरो अध्यक्ष छेत्रीले आज भने। गोर्खाल्याण्डको निम्ति जाप युवा एकाईले कालेबुङको त्रिकोण पार्कमा शुरू गरेको आमरण अनशनले आज पाँचौ दिन पूरा गऱ्यो। अनशन स्थलमा दैनिक रूपमा दार्जीलिङ, खरसाङ, मिरिक र कालेबुङका मानिसहरू आइरहेको देखिन्छ। अनशनकारीहरूलाई मनोबल बढाउनको निम्ति भारतीय गोर्खा परिसंघका प्रतिनिधिहरू पनि अनशनस्थलमा आइपुगेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन