रूदेनमाथि खनियो विमल खेमा

खबरम्यागजिन डेस्क


बङ्गाल विधानसभाको बजट अधिवेशनबाट हालै फर्किएका कालेबुङ विधायक रूदेन लेप्चाले एक पत्रकार सम्मेलनमार्फत एक दिन अगाडि विमल गुरूङलाई राजनैतिक डिजास्टर बताएका थिए।

रूदेनको सोही बयानको खण्डन गर्न हिज कालेबुङ पार्टी कार्यलयमा विमल खेमाले एक पत्रकार सम्मेलन डाकेको थियो।

‘विमल गुरूङ जाति र गोर्खाल्याण्डको निम्त् होइन, तर दोस्रो खेमा अनि जिटिए दुईको निम्ति डिजास्टर हुन्’, केन्द्रीय सह-सचिव अनिल लोप्चनले बताए।

उनले थपे, ‘रेली खोलामा कति डिजास्टर भएको छ, त्यो रेलीवासीलाई सोधे थाहा भइहाल्छ। कालेबुङ गर्ल्स स्कूलमा कति डिजास्टर भएको छ, त्यो कालेबुङवासीलाई सोधे थाहा हुन्छ।’

केही दिन अगाडि दार्जिलिङमा आयोजित पार्टीका महासचिव अनित थापाले दोषारोपणको राजनीति बन्द गर्नुपर्छ भनेका थिए।

अनिल अनितको त्यस बयान याद दिलाउँदै रूदेनमाथि खनिए, ‘पार्टीको महासचिव दोषारोपणको राजनीति बन्द गर्नुपर्ने अडान राख्छन्। त्यही पार्टीको विधायक फेरि विमल गुरूङमाथि दोषारोपरण गर्न लागिपरेका छन्। यस्तो किन भइरहेको छ?’

विमल गुरूङले फोटो बेचुवा राजनीति गरेको पनि रूदेनको आरोप थियो।

यसमाथि अनिल लोप्चनले रूदेन लेप्चाले पनि कालेबुङको पानीको समस्या समाधान गर्न अनि बाटोघाटोको समस्याको निम्त् केही मन्त्रीसँग भेटघाट गरेर फोटो सामाजिक सञ्जालबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको कुरा उठाए। यदि भेटघाट कालेबुङको जनताको हितको निम्ति हो भने फोटो सामाजिक सञ्जालमा हाल्दा आफूहरूको कुनै आपत्ति नरहेको अनिलले बताएका छन्।

‘कलकत्ताको गोर्खा भवनमा बसेर सन् 2017 को आन्दोलन तुहाउने मास्टर हुन् रूदेन लेप्चा’, अनिल रूदेनमाथि खनिए।

यता राजीनामा घोषणा गर्दा रूदेन लेप्चामाथि भ्रष्टाचारको आरोप लगाउने प्रविण रहपालले पनि रूदेनको बयानमाथि  प्रतिक्रिया गरेका छन्।

आफूले लगाएको आरोपको प्रमाण जुटाउन पन्ध्र दिनको समय दिएर रूदेन लेप्चाले उनलाई कानुनी नोटिस जारी गरेका छन्। प्रमाण जुटाउन नसके रूदेनले प्रविणमाथि मानहानीको मुद्दा हाल्ने कुरा रूदेनले बताएका थिए।

‘तपाईं छोरी कुटेर बुहारी तर्साउने काम नगर्नुहोस्। म अहिले पनि आफ्नो वचनमा अडिग छु। न्यायलयमा उभिएर पनि म त्यही कुरा राख्नेछु। यसबारे कालेबुङको हरेक जनतालाई थाहा छ’, प्रविणले भने।

भुवन खनाल विरूद्ध दोहोरो तनखा मामिलामा रूदेनले जिटिए प्रशासकलाई पत्र लेखिसकेका छन्। भुवन खनाल यसलाई राजनैतिक षडयन्त्र बताइरहेका छन्।

‘यो एक बेरोजगार मान्छेको जीवनमाथि खेलबाड हो’, भुवनले भने, ‘तान साल दस महिनासम्म उनीहरूसँग रहँदा किन यसमाथि कहिल्यै प्रश्न उठाइएन?’

आफूले गिट्टी बालुवा बेचेर होइन तर आफ्नो दक्षताको हिसाबमा काम गरिरहेको जिकिर गर्दै भुवनले भने, ‘अस्थायी रूपमा काम गरेर पेटपाला गरिरहेको छु। मैले कहीँ स्थायी रूपमा काम गरेको प्रमाण छ भने देखाउनुहोस्।’

कालेबुङ विनय खेमाबाटबाट तीन केन्द्रीय समिति अनि एक जिल्ला समिति सदस्यले राजीनामा दिएको दिन शुरू भएको हिलो छेपाई अहिल्यै अन्त्य हुने सङ्केत देखिएको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन