भानुभक्तको ‘डबल रोल’

सी. के श्रेष्ट


(भानुभक्त आचार्य र विवादको पहिलेदेखिकै नाता रहिआएको छ । ती विवादहरू कति त चाखलाग्दा छन् तर कति भने झिँझेटलाग्दा पनि छन् । यो लेख त्यही क्रममा फेरि अर्को विवाद खड़ा गर्ने उद्देश्यले लेखिएको होइन । भारतमा विशेष दार्जीलिङले भानुभक्तलाई साह्रै नै श्रद्धा अनि आदरभावले मान्ने गरेको इतिहास छ । दार्जीलिङमा भानु-जयन्तीले एक जातीय महापर्वको नै मर्यादा प्राप्त गरेको छ । तर भानुभक्तलाई दार्जीलिङले मान्नुपर्ने जुन कारणहरू अनि तर्कहरू प्रत्येक भानु-जयन्तीमा प्रस्तुत गरिन्छन् ती भने सबै नै अयुक्तिसङ्गत मात्र नभएर कति त अप्रासङ्गिक पनि छन् । त्यसैले भानुप्रेमी नेपाली साहित्यिक अध्येता विद्वानहरूको ध्यान खिँच्नलाई यस लेखमा भानुभक्तलाई अहिलेसम्म मानिआएका कारणहरूको एक याथार्थिक विवेचना गर्दै भानुभक्तको नेपालको रोल अनि दार्जीलिङको रोलको पार्थक्य देखाउने प्रयास गरिएको छ । यो लेख सन् 1985 मा प्रकाशित मेरो पुस्तक ‘दार्जीलिङे भानु-जयन्तीको नाकनिक’-मा समावेश गरिएको थियो । तर लेख छापिएको तीन दशक बितिसक्दा पनि प्रत्येक भानु-जयन्तीमा आजसम्म होहरेवादलाई नै पछ्याएर त्यही पुरानै सोच र विचारको पुनरावृत्ति भइरहेको देख्दा एकपटक फेरि त्यही लेखलाई केही नवीकरण गरेर प्रस्तुत गरिरहेछु । प्रस्तुत लेख कालेबुङको मासिक वैचारिक मञ्च ‘बसिबियाँलो’-को 131 -औँ प्रकरणमा आयोजित 200 -औँ भानु-जयन्ती समारोहमा वार्ताको रुपमा पाठ गरिएको थियो ।)          

भारत स्वतन्त्रताकालको हाम्रो पिढ़ीले भानु-जयन्ती मनाउन थालेको अलि-अलि साहित्यिक ज्ञान छिप्पिँदादेखिकै हो । सन् 1966 -मा दार्जीलिङको सन्त जोसेफ कलेजको विद्यार्थी हुँदा भानु-जयन्तीमा मादले नाच नाचेको याद आउँछ । सङ्गीतकार जितेन्द्र बरदेवाको गीत थियो – चढ़ाउँछौँ पुष्पै हार लै-लै … ! दार्जीलिङमा विशेष साट्ठीको दशकतिरै नेपाली भाषालाई बङ्गालमा सरकारी भाषाको मान्यताको निम्ति अभियानकाल अनि त्यसपछि 1972 सालमा गएर भारतको संविधानको आठौँ अनुसूचीमा गाभ्ने उद्देश्य लिएर जन्मेको संस्था अखिल भारतीय नेपाली भाषा समितिको सङ्घर्षकालदेखि नै भानु-जयन्तीले एक जातीय चाड़को स्वरुप र मर्यादा प्राप्त गरेको हो । त्यसपछि लगातार नबिसाई आजसम्म समारोहपूर्वक मनाइँदै आज भानुभक्तको 200 – औँ जन्म-जयन्ती मनाइरहेछौँ ।

भानुभक्तलाई मान्नका कारणहरूको याथार्थिक विवेचनाको क्रममा साधारण तवरले खुट्याउँदा मैले केही अध्ययन अनि केही अनुभवलाई काममा लगाएको छु । कारण वर्षौँसम्म प्रत्येक भानु-जयन्तीमा उपस्थित भएर भानुसम्बन्धी वक्तव्यहरू सुन्दा-सुन्दा यति धेरै जानकारी प्राप्त छ हामीलाई त्यति जानकारी त आफ्नो विषयमा भानुभक्त स्वयंलाई पनि थिएन होला । अध्ययन र अनुभवबाट प्राप्त ती जानकारीहरूअनुसार साधारण तवरले भानुभक्तलाई मान्नुपर्ने चारवटा कारणहरू बुझिन्छन् –

 

(i) ‘नेपाली पनि साहित्य लेख्ने भाषा हो ?’, ‘यस्तो जनजिब्रे बोलीमा साहित्यजस्तो महान वस्तु लेख्नु हुन्छ ?’, ‘रामगीताझैँ पवित्र ग्रन्थ शुद्रहरूले भट्याउन थाले भने हाम्रो धर्म भ्रष्ट हुँदैन ?’, ‘हाम्रो नाक कहाँ राख्नु ?’, ‘अब साहित्य प्रचार पनि गाइनेहरूले गर्ने ?’ जस्ता जब्बर-जब्बर कुतर्कहरूको हाँक दिएर देवभाषा संस्कृतमा एकाधिपत्य जमाएर बसेका पण्डित खलकले नेपाली मातृभाषाप्रेमी झर्रावादीहरूलाई स्याल्याक्कै पारिरहेको समयमा सरस-सहज-सरल-श्रुतिमधुर-मौलिक-जनप्रिय जनजिब्रे भाषामा, ठुलो आँटको परिचय दिँदै, आफ्नो अमर कृति रामायण दिएर, एउटा नौलो वैचारिक क्रान्तिको उद्घोषणा गरी, नेपाली भाषालाई जुन सम्मान र मर्यादा दिलाए त्यसैको निम्ति भानुभक्त पुजनीय छन्, स्मरणीय छन् ।

(ii)   नेपाली रामायणद्वारा रामनाम गानको सौभाग्य नेपालीभाषीहरूलाई पनि प्रदान गरी, झोपड़ीदेखि महलसम्मै पवित्र रामचरित्र सन्देश पुऱ्याई, नेपाली जनमानसमा साहित्यसितै धर्मप्रतिको पनि चासो जगाइदिएर भानुभक्त नेपालीभाषीहरूका आराध्य महापुरुष बनेका हुन् ।

(iii) ऐतिहासिक पुरुष पृथ्वीनारायण शाहले श्रीगणेश गरेका जातीय एकीकरणको प्रक्रियाका सम्पूरक बनी, भिन्दा-भिन्दै बोली बोल्ने नेवार, मगर, किरात, गुरुङ, तामाङ सबैलाई एउटै भाषा ‘नेपाली’-को बज्रलेपनद्वारा जातित्वको बलियो आधारशिला खड़ा गरी, भाषाद्वारा नै जातीय एकत्वको मार्ग प्रशस्त गरिदिएकाले गर्दा नै भानुभक्त जातीय कवि अनि पथ-प्रदर्शकका रुपमा मानिला भएका हुन् ।

(iv) अशिक्षित निरक्षर जनसमुदायलाई नेपाली भाषामा रामायणको रसिलो रस चटाइवरी पल्काएर, रामायण पढ़्नकै निम्ति भए पनि कनीकुथी अक्षर चिन्नसम्मको योग्यता हासिल गर्ने इच्छा जगाइदिएर साक्षर बन्ने प्रेरणादायक प्रेरणा पुरुष अनि मातृभाषाको प्रबल प्रचारकका रुपमा भानुभक्तलाई श्रद्धा र भक्ति गरिएको हो ।

 

भानुभक्तलाई महापुरुष, युगपुरुष, जातीय योद्धा अनि जातीय जागरणका मसिहा मानिएका मूल कारणहरू यिनै हुन्, यति नै हुन् । यो मैले भनेको होइन । यो यावत् वृत्तान्त त भानुभक्तसम्बन्धी आजसम्म लेखिएका लेखहरू, ग्रन्थहरू, समालोचनाहरू, वक्तव्यहरू अनि चर्चाहरूबाट उठाइएका हुन् । यी उल्लिखित विचारहरूमध्ये कुनै न कुनै एकका अथवा त्योभन्दा धेरका अथवा चारैवटाका प्रतिपादक, प्रवर्तक अनि समर्थकहरूमा डा. पारसमणि प्रधान, राममणि आ. दी., के. डी. प्रधान, डा. जगत छेत्री, मृगेन्द्र शमशेर ज.ब.रा., दीनानाथ सापकोटा, भाइचन्द प्रधान, बालकृष्ण सम, कृष्णप्रसाद भट्टराई, कुलमणि देवकोटा, गुरुप्रसाद मैनाली, सूर्यविक्रम ज्ञवाली, सूर्यकला थापा, लक्खीदेवी सुन्दास, डिल्लीराम तिमसिना, कमला सांकृत्यायन, पं. कुलचन्द्र गौतम, पुष्कर शमशेर, रामलाल अधिकारी, ब्रह्म शमसेर ज.ब.रा., खड़ग बहादुर सिंह, हरिप्रसाद ‘गोर्खा’ राई, पूर्णदास, फणीन्द्रनाथ बसु, हेमराज शर्मा, डा. तुलसी बहादुर छेत्री, रुपनारायण सिन्हा अनि अझै हजारौँ अन्यहरू छन् । 200 –औँ भानु-जयन्ती मनाइसक्दा यस लिस्टमा यही कारणहरूलाई समर्थन गर्ने निश्चय पनि अन्य कैयौँ नयाँ नामहरू थपिइसकेका पाउनेछौँ अनि यो लिस्ट अझै लामो झन् लामो हुँदै जानेछ । अनि यो लिस्ट जति लामो हुँदै जान्छ हामी यथार्थदेखि उति टाढ़ा झन् टाढ़ा हुँदै जानेछौँ ।

 

यसरी टाढ़ा हुँदै जानुको कारण स्पष्ट छ ।

आजसम्म दार्जीलिङेहरू सबैले वर्षौँदेखि भानुभक्तलाई मानेर आएका चारैवटा कारणहरू ध्यानसित मनन गरिए भने त्यहाँ एउटा कुरो ऐनाजस्तै छर्लङ्गै भएर निस्कन्छ … त्यो चाहिँ हो – भानुभक्तलाई मान्नुपर्ने, श्रद्धा गर्नुपर्ने यी चारैवटा कारणहरू, चारैवटा तर्कहरू, नेपाल राष्ट्रकै परिप्रेक्ष्यमा मात्र सही ठहरिने कारणहरू, तर्कहरू छन् । ती कारणहरू अनि तर्कहरू दार्जीलिङे परिप्रेक्ष्यमा पनि त्यत्तिकै साँचिला, दह्रिला अनि न्यायसङ्गत ठहरिन्छन् के त ? मेरो लेखको मूल विषय यही हो ।

 

आउनुहोस्, नेपालको चरिकोटे नाङ्लोमा निफनेको यस गहन विषयलाई अब दार्जीलिङको गुन्द्रीबजारमा केलाएर हेरौँ –

(i) देवभाषा संस्कृतमा एकाधिपत्य जमाएर बस्ने पण्डित खलक अनि भानुभक्तीय रामायणद्वारा नै नेपाली भाषालाई मर्यादा प्रदान गरिएको भन्ने कुरो नेपालको पृष्ठभूमिमा सही ठहरिए पनि दार्जीलिङे परिप्रेक्ष्यमा पटक्कै मिल्दैन । कारण नेपालीलाई जनजिब्रे बोली भनेर हियाउने अनि साहित्य सृजनाको निम्ति अनुपयुक्त ठहराउने संस्कृतपक्षीय लिँड़ेढिप्पी मस्तानहरू दार्जीलिङे माटोमा थिएनन् अथवा भनौँ जन्मिएनन् । एकदुई काशीभाषे पक्षका निस्किए पनि तिनीहरूले छाड़तोस् हानेर कुदने दार्जीलिङे झर्रो नेपाली भाषाको घोड़ाको लगाम थाम्न सकेनन् । दार्जीलिङमा यो बोलचालको नेपाली भाषाको घोड़ा बलवान भएको क्रिस्तान धर्म प्रचारक मिशनरीहरूको समर्थनको चाना खाएर पनि हो । धर्म प्रचारकै उद्देश्यले भए पनि क्रिस्तान धर्मका प्रचारकहरूद्वारा नेपाली भाषामा पर्चा बाँड़्ने अनि कोश तयार पार्ने काम भानुभक्तको रामायण छापिएर प्रकाशमा आउनुभन्दा अघि नै भइसकेको कुरो इतिहासले बताउँछ । अर्थात् दार्जीलिङमा नेपाली भाषा लेख्ने अनि पढ़्ने शिक्षित वा अर्द्धशिक्षित जमात भानुभक्तीय रामायणभन्दा उमेरमा धेरै जेठो भएको बुझिन्छ । हिन्दी भाषाको व्यापक प्रचार अनि शिक्षाको माध्यमधरि हिन्दी हुँदाहुँदै पनि नेपाली भाषाले पूर्ण प्रचलनमा रही मान्यता पनि प्राप्त गरेको तथ्यलाई 1887 -मा सातै काण्ड रामायण प्रकाशित हुनुको 66 वर्षअघि, भानुभक्त केवल सात वर्षको हुँदा, 1821 -मै नेपाली भाषामा बाइबल अनुवाद भएर प्रकाशित भइसकेको कुरोले पुष्टि गर्दछ। जे. ए. एटनद्वारा 1820 -मा नेपाली व्याकरण लेखिसकिएको अनि 1840 -मा कोश पनि तयार भएर हुर्किसकेको नेपाली भाषालाई भानुभक्तको रामायणले आएर आँखा खोलिदिएको भन्नु ऐतिहासिक बलमिचाइ र होहोरेवाद मात्र हो । खास कुरो के हो भने दार्जीलिङे नेपाली भाषाको विकास प्रक्रियामा भानुभक्त प्रभावहीन छन् । आक्कल-झुक्कुलमा उतै पहाड़बाट आएका केही गोठालाहरूले रामायणको एकदुई सिलोकहरू भट्याए भन्दैमा त्यसलाई प्रभाव भन्न मिल्दैन । एउटा गौँथली देखा पर्दैमा वसन्त लाग्यो भन्नु मिल्दैन भनेजस्तै । प्रभावको व्यापकता हुनुपर्छ । भन्नुको अर्थ भानुभक्तलाई मान्नुपर्ने एक नम्बर कारण नेपालको परिप्रेक्ष्यमा सही ठहरिए पनि दार्जीलिङे परिप्रेक्ष्यमा भने पटक्कै मेल खाँदैन ।

 

(ii) भानुभक्तलाई मान्नुपर्ने दोस्रो कारणको जरा उधिन्दा भानुभक्तले रामायणद्वारा झोपड़ीदेखि महलसम्म पवित्र रामनामको गाथा सुनाएर भवसागर तर्ने सहज मार्ग बताइदिए भन्ने कुरो त झन् कता-कता बतासिएको छ । राममणि आ. दी. अनि गुरुप्रसाद मैनालीजस्ता महान् साहित्यिक व्यक्तित्वहरूको यस्तो धारणा भए पनि उनीहरूले यो कुरो नेपालकै परिप्रेक्ष्यमा भनेका हुन् भनेर हामीले बुझ्नुपर्छ । भानुभक्तलाई हिन्दू धर्मका प्रचारकजस्ता अनि नेपाली रामायणचाहिँ झोपड़ीदेखि महलसम्म पुगेको कुरो नेपालको निम्ति सही ठहरिएला तर दार्जीलिङको निम्ति यो कुरो सरासर अपच्य ठहर्छ । त्यस समयको दार्जीलिङमा केको झोपड़ी अनि कहाँको महल… ? यथार्थ स्थितिको जाँचै नगरी कागको पछि कुदेजस्तै । जाँचेका भए थाहा पाउँथे ती झोपड़ीहरूमा सिलोक हाल्ने ओखलढुङ्गे पण्डित थिए कि पताबुङे गुरुङ धामी, तकभरे भुजेल माइला र पान्दामे थेबाहरू अनि त्यहाँ महलमा बस्नेहरू पनि पेमलिङका खरेल, कालेबुङका भेँड़ीवाल मण्डल अनि दार्जीलिङका लेडेनलाहरू थिए कि नेपालका शासकवर्ग । अनि झोपड़ीदेखि महलसम्म रामायणको कुरो गर्नु हो भने आजसम्म पनि दार्जीलिङे भानु-जयन्तीमा रामायण पाठ प्रतियोगिताको निम्ति चाहिने भानुभक्तको रामायण पुस्तक खोज्न कति गाउँको चक्कर लगाउनुपर्छ । हुनत यो सन्दर्भमा नेपालको पनि तस्वीर साह्रै उज्यालो भने देखिँदैन । भाषाविद् शिवराज शर्माकै भनाइअनुसार त ‘चौधै अञ्चलका कति पाहाड़े पण्डितहरूले पनि भानुभक्तको रामायण देखेका छैनन् अझै …’। अनि हिन्दू धर्मकै प्रचारको कुरा गर्नु हो भने यतातिर भानुभक्तको रामायणअघि नै कृतिवासको बङ्गला रामायण, तुलसीदासको हिन्दी रामायण अनि नेपालीमै पनि महाभारत र कृष्णचरित्र ग्रन्थहरू देखा परिसकेका थिए । बरू दार्जीलिङे परिप्रेक्ष्यमै हेर्नु हो भने त हामी अनि हामीअघिका एकदुई पुस्ताहरू त सबै नै क्रिश्चियन मिशनरी स्कुलतिरबाटै शिक्षालाभ गर्नेहरू छौँ । मेरा बराज्यूको पालादेखि नै हामी स्कटिश मिशनरीहरूद्वारा सञ्चालित कालेबुङको एसयुएमआईका विद्यार्थीहरू हौँ। त्यसैले झोपड़ीदेखि महलसम्म रामायण त होइन बरु बाईबलको पो प्रचुर प्रचार भइसकेको थियो । यसै परिवेशलाई परिलक्षित गरेर नेपाली साहित्यका एक विद्वानले तिनताकको दार्जीलिङे समाजलाई ‘क्रिस्तान हुन लागेको नेपाली समाज’ जस्ता अतिशयोक्तिले न्वारन पनि गरिदिएका थिए। त्यसैले झोपड़ीदेखि महलसम्म रामायण अनि रामनामको सन्देश पुऱ्याएकोले भानुभक्तलाई मानिएको हो भन्ने कुरो पनि दार्जीलिङको परिप्रेक्ष्यमा अव्यावहारिक ठहर्छ ।

 

(iii) अब भानुभक्तलाई जातीय एकीरणको योद्धा बनाउने तेस्रो तर्कको पनि धुलौटो कोरौँ –‘गोरखालीको बहादुरी, नेवारको कला अनि किरातीको प्रचीन गौरवको खिँचड़ी नै नेपाली जातित्वको आधार हो अनि यो खिँचड़ी पकाउने खड़कुँड़ाचाहिँ भयो भानुभक्तीय नेपाली भाषा’ भन्ने आशयका मत प्रकाश गरेका छन् धेरै ज्ञानी-गुणी साहित्यिक महारथीहरूले । तर नेपालमा जातीय एकीकरणको प्रक्रियामा भानुभक्तीय रामायण र नेपाली भाषाले प्रभावोत्पादक भूमिका निभाएको कुरो केही हदसम्म साँचो भए पनि दार्जीलिङे परिप्रेक्ष्यमा भने यो दृष्टिकोण तर्कसङ्गत ठहर्दैन ।

दार्जीलिङको जातीय एकीकरणको प्रक्रियाको आफ्नो छुट्टै इतिहास छ । यहाँ थुप्रिएकाहरू त पहिलेदेखि नै छासमिस भएर बस्ने चलन चल्यो । उता नेपालमा बेग्ला-बेग्लै बस्ने बोली-प्रधान, जात-प्रधान समाजहरू यहाँ आएर एकै ठाउँ बस्न बाध्य भए । काम-दाम र मामले जो-जोलाई जता-जता तान्यो त्यता-त्यतै हुर्थुरिएर गए, मिसिएर बसे, बस्न बाध्य भए । मिश्रित झुण्डमा बसेको फलस्वरुप कुनै जातको बोलीको प्राधान्य त्यहाँ रहनसकेन अनि आवश्यकताले नै नेपाली भाषालाई स्वतः बोलचालको माध्यम अनि लेखपढ़को भाषा बनाइदियो । दार्जीलिङमा नेपाली भाषा नबोल्ने र नबुझ्ने कोही पनि थिएनन्, आजसम्म छैनन् ।

हामीले बुझ्नुपर्छ, नेपालको परिप्रेक्ष्यमा जातीय एकीकरण राष्ट्रिय भावनाले उत्प्रेरित थियो भने दार्जीलिङको परिप्रेक्ष्यमा जातीय एकीकरण ‘सर्भाइभल’-को भावनाको प्रतिफल थियो, भनौँ एक प्रकारको बाध्यता थियो । सधैँ नै अनेपाली शासकहरूकै अधीनमा बस्नुपर्ने व्यवस्थामा आफ्नो जातीय अस्तित्वको सुरक्षाको निम्ति यहाँ सबै जातकाहरू हातेमालो गरेर एक भएर नबसी धरै थिएन । आफुभन्दा धेर शिक्षित, चलाक-चतुर अनि बहुसङ्ख्यक जातिशक्तिहरूले खर्लप्पै निलिहाल्ला कि भन्ने त्रासले नै दार्जीलिङे नेपालीभाषी समुदायलाई जातित्व, भाषा र संस्कृतिको संरक्षणप्रति धेर सचेत बनायो । यही त्रासहरूले जन्माएका सङ्घर्षहरू नै आजसम्मका दार्जीलिङे आन्दोलनका विभिन्न स्वरुपहरू हुन् । यी सबै तथ्यहरू केलाउँदा दार्जीलिङे परिप्रेक्ष्यमा भानुभक्तलाई जातीय एकीकरणको सूत्रधारका रुपमा उभ्याउनु सरासर अयुक्तिसङ्गत अनि चित्त नपर्दो ठहर्दछ ।

 

(v) भानुभक्तलाई मान्न पर्ने चौथो कारणमा नेपाली भाषामा रामायण लेखिएकोले धेरै निरक्षरहरू रामायण पढ़्नलाई नै साक्षर बनिए भन्ने छ । यो विचारधाराको पानीले नेपाल राष्ट्रलाई कता-कता छिप्-छिप् भिजाए पनि दार्जीलिङे कुलोसम्म भने यो पानी आइपुगेन। त्यसैले यताको निरक्षरता उन्मूलन अभियानमा भानुभक्तीय रामायणको प्रभाव नगण्य नै छ भन्दा हुन्छ । उता नेपालले निरक्षरता मास्ने पानीको मुहानमा भर्खर गङ्गटे कोट्याइ गर्दै गर्दा यता दार्जीलिङमा भने बिहारी जुँगे मास्टरहरूले मधेसकै कुवाबाट बाल्टीका बाल्टी पानी ओसारेर आँगन हिलै पारिसकेका थिए । त्यसमाथि थप अङ्ग्रेजी पाइपले सात समुद्रपारिबाटै तानेर ल्याएका लाइनसितै एक-दुई पक्का कलहरू त फाउ ! त्यही मधिसे कुवाकै पानीमा जन्मिएका ‘छोटा’-इ र ‘बड़ा’-ई अनि ‘छोटा’-उ र ‘बड़ा’-ऊहरू आजसम्मै नानीहरूको मुख-मुखमै झुन्डिरहेकै छन् अनि नेपालको ह्रस्व र दीर्घ त ठुलाठालाहरूले पनि उच्चारण गरेको कमै सुनिन्छ । दार्जीलिङको साक्षरता अभियानको इतिहास नेपालको भन्दा सर्वथा भिन्दै छ । 1871 सालमै म्याकफार्लेनको देखरेखमा दार्जीलिङ जिल्लाभित्र 25 -वटा प्राथमिक पाठशालाहरू खोलिसकेको अनि त्यही वर्ष अझै 10 -वटा खोलिने योजना भएको कुरो इतिहासले बताएको छ । 1886 -मा स्कटिश मिशनरीहरूले कालेबुङमा एसयुएमआई स्थापित गरिसकेका थिए । शिक्षाको माध्यम हिन्दी भए पनि लिपि देवनागरी नै थियो । अनि यो साक्षरता अभियानमा भानुभक्तको रामायणको कुनै भूमिका देखिँदैन । भनौँ नै भने सन् 1920 -सम्म भानुभक्तले दार्जीलिङमा राम्ररी खुट्टा टेकेर उभिने औसर पनि पाएका थिएनन् ।

 

आजसम्म दार्जीलिङले भानुभक्तलाई श्रद्धा र भक्ति गरेको, आदर र सत्कार गरेर मानिरहेको यी चारवटा कारणहरूले गर्दा नै हो तर दार्जीलिङे परिप्रेक्ष्यमा हामीले यो बुझिसक्यौँ कि यी चारै कारणहरू सरासर असान्दर्भिक अनि अयुक्तिसङ्गत ठहरिन्छन् ।

त्यसो भए के भानुभक्त हाम्रो निम्ति मानिला छैनन् त ? श्रद्धेय छैनन् त ? ? किन छैनन् … हजारपल्ट मानिला छन् ! लाखौँपल्ट श्रद्धेय छन् !

तर दार्जीलिङमा भानुभक्त मानिला अनि पुजनीय छन् भने अरू नै कारणहरूले – पूर्व उल्लिखित नेपाल राष्ट्रको परिधिभित्र मात्र सुहाउँदिला कारणहरूले होइनन् । नेपालले मान्ने र मानेर आएको भानुभक्त र दार्जीलिङले मान्नुपर्ने भानुभक्त भिन्दा-भिन्दै हुन् । एक व्यक्ति दुई व्यक्तित्व । त्यसैले प्रसङ्ग निस्केको हो यहाँ भानुभक्तको डबल-रोलको । अब भानुभक्तको डबल रोलमध्ये यो दार्जीलिङे रोलको चर्चा गरौँ ।

 

आज दार्जीलिङको निम्ति आदिकवि भानुभक्त साहित्यिक व्यक्ति मात्र नभएर युगपुरुष अनि जातीय महापुरुष भइसकेका छन् । दसैँ-तिहार मनाएजस्तै जातीय चाड़को रुपमा मनाइन्छ भानु-जयन्ती दार्जीलिङमा । दार्जीलिङेहरूको निम्ति भानुभक्तभन्दा लोकचर्चित, लोकप्रचलित अनि लोकप्रिय अन्य साहित्यिक विभूति छैनन् । जिल्लाभरि ठड़्याइएका भानुका सालिगहरू, भानुको नाममा स्थापित स्कुलहरू-बाटाहरू, गाउँहरू-टोलहरू, सङ्घ-संस्था-पुस्तकालय र क्लबहरू अनि भानुको नाममा प्रदान गरिने सरकारी र गैर-सरकारी सम्मान र पुरस्कारहरू यस कुराका साक्षी छन् । तर भानुभक्तलाई मान्ने माथि उल्लिखित चारै कारणहरू सही छैनन् भने दार्जीलिङले भानुभक्तलाई यति बिघ्न मान-मर्यादा अनि महत्त्व दिनुको कारण के छ ? यसको पछि के रहस्य लुकेको छ ?

कुरो अलिक पछाड़िबाट कोट्याऊँ – अनि पुराना कुराहरू कोट्याउँदा हामी इतिहासको भर पर्ने गर्छौँ। धेरै पछि पनि नजाऊँ – सुगौली सन्धिसम्म गए ठिकै छ । कुरो बिग्रेको पनि त्यहीँदेखि हो । सुगौली सन्धिकाल भनेको भानुको जन्मकाल पनि हो । सुगौली सन्धिजस्तै नाना थरीका सन्धि र एग्रिमेन्टहरूका भलहरूले बगाउँदै दार्जीलिङको भूभागलाई घरि भानुभक्तको भागमा घरि गिरीधारी भाटको भागमा पर्ने माटाको ढिस्कनाझैँ बनायो । यसरी घरि सिक्किम, घरि भुटान, घरि आजको बाङ्लादेश अनि घरि बिहार हुँदै सिन्चुला सन्धि भइसकेर भल-पैह्रो थामिएपछि हेर्दा दार्जीलिङ जिल्ला ब्रिटिस भारतको एक अभिन्न अङ्ग बनिसकेको थियो । तिनताक दार्जीलिङमा बसोबासो गर्ने जातिसमूह नेपालबाट आफ्नो भूखण्डसितै उछिट्टिएर आएपछि आफ्नो पुरानै स्थितिमा रहनसकेन, परिस्थिति र परिवेशले नै दिएन । सूर्यबाट उछिट्टिएपछि पृथ्वी सानो सूर्य हुननसके जस्तै । तर त्यो सानो टुक्रा पृथ्वी सूर्यबाट छुट्टिए पनि सेलाएर मरिन बरू अझै सुन्दर एक मनोहर भूस्वर्ग भएर बाँच्दिभइन् । त्यसरी नै दार्जीलिङे समुदायले पनि नेपालबाट छुट्टिएर यहीँकै परिवेशअनुरुप एक मौलिक नयाँ समाजको सिर्जना गरी बाँच्न सिक्यो – बाँच्यो पनि । बाँच्नु नै थियो प्राथमिकता त्यस समयको । यही बाँच्ने सङ्घर्षको प्रक्रियामा नेपालमा मानिल्याएका पुराना मान्यताहरू, रीतिरिवाजहरू, झै-झगड़ाहरू, दुस्मनीहरू अनि पूर्वाग्रहहरू कता पुगे कता । जातपात र छुआछुतका देवलहरूलाई आवश्यकताको हम्मरले तोड़्यो अनि धार्मिक शठता र रुढ़ीवादको राक्षसलाई व्यावहारिकताको पहलमानले पछाऱ्यो। एउटा नयाँ संसारको प्रादुर्भाव भयो । जुन संसार निबन्धकार नगेन्द्र शर्माको शब्दमा – ‘नेपाली भएर पनि अनेपाली अनि अनेपाली भएर पनि झन् नेपाली स्वरुपको’ थियो । पाहाड़े खहरेका असला-बुदुनाहरू महान् भारत देशको विशाल बङ्गाल सागरमा परेर केही अत्तासिए पनि मागुर, कत्ले र चित्तलहरूसित साह्रै हच्किएर र दच्किएर बस्ने खालका चाहिँ थिएनन् । रगरगती र छप्छप्ती थिए चारैतिर … भियाई-नभियाई । क्रिस्तानहरूसित लागेर धुमधामसित क्रिसमस मनाएर केक खाने … क्यारल गाउने उनीहरू नै, मुसल्मानसित लागेर हासेल-हुसेलमा पट्टा खेल्ने, तमासा देखाउने अनि टाउको फुटाउने पनि उनीहरू नै । भोटेको ल्होसरमा जाँड़-ढुङ्ग्रो खाने कम्पिटिसनमा जित्ने उनीहरू नै अनि मधिसेहरूसित लागेर होली खेल्दा चिनियाँ र नेपालीको ताछाताछ् भएको कुरो त बुढ़ापाकाहरू आज पनि हाँस्दै सुनाउँछन् । हामी कुनै कुरोमा कम छैनौँ भन्ने भावनाले कुत्कुत्याएकाहरू । नयाँ मुलुकमा आएर ‘छाड़िन्छौँ कि-छाड़िन्छौँ कि’ भन्ने त्रासले पिरोलिएर जागेकाहरू । अरूको देखासिकी गरेर उर्दू, हिन्दी, बङ्गलाबाट तानतुन पारेर भएन आफ्नै मौलिक रचनाहरू पनि लिएर भक्काभक रङ्गमञ्चमा पनि उत्रे – नाटक खेले – रेकर्ड कायम गरे । अरूको दाँजामा पुग्ने होड़मा घुँड़ा धसे । नेपाली भाषाको माध्यमद्वारा आफ्नो जाति र संस्कृतिको जगेर्नामा कम्मर कसेर लागिपरेका, अन्य भारतेली समाजको बराबरीमा, उफ्रेरै भए पनि, पुग्न खोज्ने – यस्ता थिए दार्जीलिङे गोर्खा योद्धाहरू ।

यस्तो चरम प्रतिस्पर्धाको मुहूर्त्तमा, के पक्रेर कसरी उँभो चढ़ौँ भइरहेको समयमा, सारा नेपाली साहित्याकास झलमल्ल पारी भानुको उदय भयो । हुनत यस प्रसङ्गमा भन्नैपर्दा भानुभक्तअघिका अनि पछिका सारा कवि-साहित्यिकारहरूलाई तारा-नक्षत्रसरि बनाई भानुलाई सबैको टक मारिदिने ज्वाज्वल्यमान सूर्य रूप दिनुमा मोतीराम भट्ट कम्पनीको शक्तिशाली ब्याटरीको भूमिका प्रष्ट थियो। जेहोस् अरूको दाँजामा चढ़्न खोजिरहेका दार्जीलिङेहरूलाई भने भानुभक्त बाँदरलाई लिस्नु भयो । कसैको कृतिवास त कसैको तुलसीदास भनिरहेको बेलामा ऱ्याङमा ठयाङ मिलेझैँ गर्वको साथ ‘हाम्रो पनि छ भानुभक्त’ भन्न पाए । अरु जातिहरूसमक्ष देखाउन लायकको, नाक घोक्र्याउन लायकको, आफ्नै जातीय प्रतिभा । सब काम छाड़ेर धुर्रिए दार्जीलिङेहरू भानुभक्तलाई अब्बल दर्जाको महान साहित्यिक विभूति भनी परिचय दिने काममा। त्यसमाथि पनि भानुभक्त को हुन् भन्दा आदिकाव्य रामायणलाई नेपाली भाषामा लेख्ने आदिकवि! अनि रामायण ? रामायण भारतेलीहरूको निर्विवाद धार्मिक ग्रन्थ ! मरुभूमिमा जलस्रोत पाएजस्तै रमाए दार्जीलिङेहरू । चारैतिर छङ्-छङ् छहरा र मूल फुटिरहेको ठाउँमा पानीको के महत्त्व हुन्छ र ? त्यसैले नेपालले भन्दा पहिले भानुभक्तलाई दार्जीलिङले उचाल्यो – आफ्नो बनाएर अँगाल्यो । नेपालबाट प्राप्त घुर्मैलो धमिलो तस्वीरलाई दार्जीलिङले पुछपाछ गरेर चकाचक उजेलो बनायो । नेपालबाट आएका ‘आधि’ कविलाई दार्जीलिङले सुरुवाल अनि पाउमा जुत्ता पनि हालिदिएर ‘पुरा’ कवि बनाइदियो । पहिलो सालिग दार्जीलिङले खड़ा गऱ्यो … नेपालले पछ्यायो । यसरी भानुभक्तलाई पाउनसाथ, अलमल्ल परी बसिरहेका नेपाली भाषासेवीहरू, जाति र संस्कृतिका योद्धाहरू खेताला भई निस्किए दार्जीलिङे खलेगरामा । दाइँ सुरू भयो । नेपाली जातीय उत्थापनको यस महायज्ञमा मेहे बने दह्रिला-भरिला अनि भरपर्दा आदिकवि भानुभक्त आचार्य । दार्जीलिङको चौरस्तामा भानुको प्रथम सालिग अनावरण समारोहको औसरमा बङ्गालका तत्कालीन गवर्नर डा. के. एन. काट्जूले यसरी श्रद्धापूर्वक आफ्नो उद्गार पोखेका थिए – “भानुभक्त नेपाल र नेपालीहरूका मात्र कवि नभएर महान् भारतवर्षका पनि कवि हुन्” ! यसरी पो बनेका हुन् त भानुभक्त दार्जीलिङे मात्र होइन भारतीय परिप्रेक्ष्यमै पनि जातीय महापुरुष अनि नेपाली साहित्यका युगपुरुष ! यसरी भारतेली अन्य जातिहरूमाझ नेपालीभाषी जाति पनि भाषा र साहित्यका धनी अनि एक सुसंस्कृत जाति भनी परिचित बन्यो । नाक ठाड़ो भयो, गर्वले मस्तक उँचा भयो सबैको । भानुभक्तलाई पाएर यसरी सम्पूर्णता पायो भारतमा नेपालीभाषी गोर्खा जातिले ।

 

यहाँ गाँठी कुरो के छ भने भानुभक्तलाई शिखर चढ़ाउनमा नेपालको भन्दा दार्जीलिङको नै धेर प्रयास अनि चासो भएको बुझिन्छ । साँच्चै भन्ने हो भने भानुभक्त आफैलाई यस्तो मान्यता र सम्मानको खाँचो थियो कि थिएन तर दार्जीलिङलाई भने त्यस घड़ी भानुभक्त झैं प्रतिभाको नितान्त आवश्यकता थियो । त्यसैले दार्जीलिङले भानुभक्तलाई आफ्नो साक्खै बनाएर छातीमा टँसाएर राखेको हो । नेपालमा त भानुको लोकप्रियता स्वदेशले लत्याएको फिल्मले विदेशमा गएर नाम कमाएर पुरष्कृतसम्म भइसकेपछि स्वदेशले पनि कान ठाड़ो पारेको जस्तै हो । नेपालले भानुप्रति देखाएको उदासीनता त बालकृष्ण समज्यूले डा. जगत छेत्रीलाई लेख्नुभएको पत्रांशबाट स्पष्ट झल्किन्छ – “… भानु जयन्ती दार्जीलिङमा धुमधामले मनाएको सुन्दा यहाँका साहित्यिक लज्जित भए, किनभने हामीले मनाएको जयन्तीमा यसपाला धेरै थोरै साहित्यिक जम्मा भए । एउटाको आँखा दुख्यो होला, एउटाको खुट्टा, तर त्यही दिन धेरैको एकैचोटि किन कान दुख्यो आश्चर्य छ । यो त मैले उहिलेदेखि भन्दै आएको हुँ – भानुको प्रतिमा दार्जीलिङमा नबनेको भए काठमाडौंमा कुनि ….।”

यसरी भानुभक्तको डबल रोलमा यो नेपालमा खेलिएको रोलचाहिँ त्यति महत्त्वपूर्ण अनि लोकप्रिय हुन नसके पनि दार्जीलिङे रोल भने अत्यन्त महत्त्वको अनि ऐतिहासिक पनि छ । यही रोलले नै भानुभक्तलाई लोकप्रियताको चरमचुलीमा चढ़ाएर हाम्रो जातीय ‘सुपर- स्टार’ पनि बनाएको हो । भानुभक्तको यस्तो महत्त्वपूर्ण रोललाई चाहिँ नजरअन्दाज गरेर प्रत्येक भानु-जयन्तीमा दार्जीलिङकाहरू पनि सबैजना होहोरेमा लागेर आफुसित सन्दर्भै नमिल्ने नेपालकै परिप्रेक्ष्यमा स्थापित पहिलो रोलको मात्र चर्चा गर्नु, सराहना गर्नु, भानुभक्तको यो दोस्रो रोलप्रति सरासर अन्याय होइन र ?

 

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो भने भारत राष्ट्रको पनि संविधानमा समाविष्ट भारतका अन्य आधुनिक भाषाहरूको समकक्षमा खड़ा भएको भाषा हो । भारतको उच्चस्थ साहित्यिक संस्था साहित्य अकादमीद्वारा मान्यताप्राप्त, सिक्किम राज्यको सरकारी भाषा अनि बङ्गाल राज्यको पनि एक सरकारी मान्यताप्राप्त राजभाषा हो । भारतका पुग-न-पुग डेढ़ करोड़ नेपालीभाषीहरूको आदिकविलाई यो राष्ट्रमा पनि स्थापित गर्नु हो भने नेपालबाटै पैँचो लिएका मान्यताहरू र तर्कहरूको आधारमा नै मूल्याङ्कन गरिरहनुमा कतिको बुद्धिमत्ता झल्किन्छ ? विशेष गरेर तब जब नेपालीभाषी गोर्खाहरू आजसम्म भारतमा आफ्नो राष्ट्रिय पहिचानको निम्ति जुझिरहेका छन् । भारतमा आफ्नो राजनैतिक पहिचानको निम्ति सङ्घर्ष चलाइरहेको जातिले त भारतीय आधारमा नै मूल्याङ्कन गरेर, नेपालको राष्ट्रभाषाको मात्र आदिकवि होइन तर भारतको संवैधानिक मान्यताप्राप्त नेपाली भाषाको पनि आदिकविकै रुपमा भानुभक्तलाई प्रतिष्ठापित गर्नुपर्ने होइन र ?

 

भानुभक्तको डबल रोलको दोस्रो रोल … दार्जीलिङे रोल … जुन रोलको कुनै चर्चा गरिँदैन, जुन रोललाई कुनै महत्त्व दिइँदैन, जुन रोलको कहिले मूल्याङ्कन गरिँदैन … अनि जुन रोल भारतका नेपालीभाषी गोर्खाहरूको जातीय इतिहासको एक अन्तरङ्ग अङ्ग हो … त्यही रोल आज तपाईँहरूको न्यायालयमा खड़ा छ ।

 

 निर्णय र न्याय तपाईँहरूको !!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन