शपथ ग्रहणअघि यस्तो छ दार्जीलिङ

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 28 मई 2017


एचडी लामा रोडमा देखिएको मैलाको थुप्रो।
टीभी टावर नजिक शनिबार देखिएको मैलाको थुप्रो।

दार्जीलिङ नगरपालिकाको कार्यभार गोजमुमोले आफ्नो काँधमा लिनभन्दा ठीक एक दिनअघि दार्जीलिङका विभिन्न स्थानहरुमा मैलाको थाक यत्रतत्र देखियो। प्रायः दिनहुँनै व्यापक पर्यटकहरुको घुइँचो रहने यहाँको एचडी लामा रोडमा आज बिहान लगभग 11 बजी मैलाको थाक देखिएको थियो भने शनिबार साँझ 5 बजीतिर चौरास्ताको घोड़ा अस्तवल परिसर, टीभी टावर आदि स्थानहरुमा पनि यस्तै मैलाको राश देखा परेको थियो।

यद्यपि, आज बिहान चौरास्ता घोड़ा अस्तवल नजिकको मैला नगरपालिकाको कन्जर्भेन्सी विभागले सफा गरे पनि यसलाई पानीले धोएर सफा गर्ने कार्य भने वार्ड नम्बर 14-का ग्रामवासी जनताले गरेका थिए। आफ्नो ठाउँ-आफै सफा गरौं, यसको लागि सरकारी पदकै आवश्यकता पर्दैन भन्ने उदाहरण आज दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 14-का ग्रामवासी जनताले पेश गरेका छन्। वार्ड नम्बर 14 चौरास्ताको घोड़ा अस्तवलसम्म मात्रै पर्ने भए पनि यस गाउँका लगभग 30 जना महिला-पुरूष मिलेर चौरास्ता परिसर पनि सफा गर्ने कार्य गरे।

यसैको जानकारी गराउँदै वार्ड नम्बर 14-की नवनिर्वाचित नगरपार्षदिका महिमा राणाले भनिन्-आज वार्ड नम्बर 14-का बासिन्दाहरुले चौरास्ताको घोड़ा अस्तवलदेखि चौरास्ता वरिपरिनै सफाई गरे। हुन त चौरास्ता वार्ड नम्बर 14-मा पर्दैन, तर चौरास्ता दार्जीलिङकै एक गरिमा हो। यसलाई सफा बनाउन नगरपालिकाको मात्रै दायित्व होइन। यसैले गाउँवासी जनताको इच्छामानै आज हामीले गाउँवासी जनतासित मिलेर चौरास्ता सफा गरेका हौं। ज्ञात रहोस्, दार्जीलिङ नगरपालिकाका नवनिर्वाचित नगरपार्षदहरुले भोलि मात्रै शपथ ग्रहण गर्नेछन् अनि नगरपालिकाको कार्यभार आफ्नो काँधमा लिनेछन्। तर यसअघिनै 14 नम्बर वार्डवासी जनताले एक उदाहरण पेश गर्दै दार्जीलिङ शहरलाई यसरीनै सधैं सफा गर्नुपर्ने सन्देश दिएका छन्।

यद्यपि, भोलि नगरपालिकाका नगरपार्षदहरूले आफ्नो जिम्मेवारी ग्रहण गरेपछि प्रत्येक बिहीबार दार्जीलिङमा उनीहरुले स्वच्छ अभियान चलाउने पनि निश्‍चित छ। किनभने, गोजमुमो अध्यक्ष विमल गुरूङले नवनिर्वाचित नगरपार्षदहरुलाई प्रत्येक बिहीबार दार्जीलिङ शहरलाई सफा गर्न सड़कमा ओर्लिने निर्देश दिइसकेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन