विनय तामाङले त्यागे गोजमुमो-2, अब अर्कै पार्टी गरेर तेस्रो राजनैतिक अध्याय शुरु गर्ने घोषणा

उनी भावुक बन्दै रुँदै विमल गुरुङलाई सम्बोधन गर्दै भने, ‘दाजु, तपाईँले मलाई 2017 मा आरोप लगाउनु भयो, तर मैले जनता बँचाउन, झण्डा बँचाउन, पार्टी बँचाउन मैले यसो गरेको थिएँ।’ उनले विमल गुरुङलाई अपिलै गरेर भने, ‘म अब तेस्रो राजनैतिक अध्याय शुरु गर्दैछु, मलाई त्यसमा बाधा नगर्नुहोला।’

खबरम्यागजिन डेस्क


विनय तामाङले आजदेखि विनयखेमा गोजमुमो छोडे। उनले पार्टीको अध्यक्ष र साधरण सदस्यतासमेतबाट राजिनामा दिएका छन्।  आज दार्जिलिङमा एक पत्रकार सम्मेलन गरेर पार्टी छोडेको जनाएका हुन्।

‘मेरो पहिलो राजनैतिक अध्याय गोरामुमोबाट भयो, दोस्रो राजनैतिक अध्याय गोजमुमोबाट भयो, आजदेखि म तेस्रो अध्याय शुरु गर्नेछु,’ विनय तामाङले भने, ‘तेस्रो अध्याय शुरु गर्छु, तर यसबारे आजै स्पष्ट पार्दिन।’

यति भन्दाभन्दै पनि विनय तामाङले आफूमाथि 2019 देखि षडयन्त्र भइरहेको र अहिले पनि षडयन्त्र भइरहेको खुलाएका छन्। ‘मलाई पहाडको राजनीतिबाट एलिमिनेट गर्ने षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘कतिले मलाई भाजपामा जान्छ भन्दैछन्, कतिले तृणमूलमा जान्छ भन्दैछन्, कतिले विमल गुरुङसित मिल्छ भन्दैछन्। तर ती सबै अफवाह मात्र हुन्।  मेरो तेस्रो अध्याय शुरु भयो, त्यसबारे आज खुलाउँदिन, पछि पत्रकार सम्मेलन गरेर सबै बताउँछु।’

उनले आफूले आजदेखि गोजमुमो छोडेको स्पष्ट पार्दै भने, ‘आजदेखि विनय खेमा गोर्खा जनमुक्ति मोर्चा रहने छैन। म अनित थापा भाईलाई अनुरोध गर्छु, आजदेखि विनय खेमा मोर्चा भनेर सम्बोधन नगरीदिने। म आज पार्टीको अध्यक्ष पदबाट राजिनामा दिइरहेको छु।’

उनले राजिनामा दिनुको कारण 2019 र 2021 को दुइवटा विधानसभा चुनाउ हारेकोले नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा दिएको जनाए। यसै अवसरमा उनले आफूसित रहेको पार्टीको अरिजिनल झण्डा गोजमुमो-1 का अध्यक्ष विमल गुरुङलाई पातलेबास कार्यालयमा पठाइदिने घोषणा पनि गरेका छन्।

तामाङले अनित थापालगायत, सतिश पोखरेललाई सम्बोधन गर्दै अध्यक्ष पदबाट राजिनामा पत्र पठाउने जनाएका छन्। ‘मेरो जीवनमा दुइपल्ट आशुँ झऱ्यो, पहिलो गोरामुमोको झण्डा घरबाट निकाल्दा अनि अहिले गोजमुमोको झण्डा निकाल्दा,’ उनले रुँदै भने, ‘गोजमुमोको झण्डाको मालिक आयो, दाजु विमल गुरुङलाई भोलि झण्डा पठाइदिँदैछु।’

उनी भावुक बन्दै रुँदै विमल गुरुङलाई सम्बोधन गर्दै भने, ‘दाजु, तपाईँले मलाई 2017 मा आरोप लगाउनु भयो, तर मैले जनता बँचाउन, झण्डा बँचाउन, पार्टी बँचाउन मैले यसो गरेको थिएँ।’ उनले विमल गुरुङलाई अपिलै गरेर भने, ‘म अब तेस्रो राजनैतिक अध्याय शुरु गर्दैछु, मलाई त्यसमा बाधा नगर्नुहोला।’

यता अनित थापालाई सम्बोधन गर्दै उनले भने, ‘मेरो रिक्त पदमा उपयुक्त कसैलाई राख्नुहोला। म छिट्टै तेस्रो राजनैतिक अध्याय शुरु गर्दैछु। म मेरो मुद्दा छोड्दिन, जनतालाई निराश पार्ने छैन।’

उनले आफू जिटिएको अध्यक्ष रहँदा यदि कुनै भ्रष्टाचार गरेको पाए, आफूलाई सजाय दिन सक्ने पनि जनाए।

‘म छुचो छु, तर मनमा मेरो केही छैन,’ उनले भने, ‘चिनीमा कीरा लाग्छ, नूनमा लाग्दैन। म नून भएँ हुँला।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन