गोर्खाल्याण्डको लागि विष्टमाथि दबाब बनाउन आमरण अनशनमा जाने गोर्खा लिग

खबरम्यागजिन डेस्क


संसदमा गोर्खाल्याण्डको मुद्दा लिएर जानको निम्ति भाजपा सांसद राजु विष्टमाथि दबाब बनाउने क्रियाकलाप जारी राख्दै अखिल भारतीय गोर्खा लिग(भारती)ले नयाँ कार्यक्रमको घोषणा गरेको छ।  

दलले केही हप्ता अगाडिदेखि राजु विष्टमाथि निरन्तर दबाब बनाउने काम गरिरहेको छ। गोर्खाल्याण्डको मुद्दा संसदमा लिएर जान नसके राजु विष्टबाट राजीनामाको माग गरिरहेको छ।

भारतीय जनता पार्टीले आफ्नो सङ्कल्प पत्रमा गाभेको गोर्खाको दुईवटा मुद्दा स्थायी राजनैतिक समाधान अनि छुटेका एघाह्र जातलाई जनजाति दिलाउने कुरामा ठोस केही गरेको छैन।

जनताले गोर्खाल्याण्डको मुद्दा उठाउन संसद पठाएको सांसद राजु विष्ट अहिलेसम्म मौन रहेको गोर्खा लिगले बारम्बार जिकिर गरिरहेको छ।

‘लोकसभाको मनसून अधिवेशनमा छलफल हुने विषयहरू सार्वजनिक भइसकेको छ। चर छलफल हुने विषयहरूको सूचिमा गोर्खाको कुनै मुद्दा उल्लेख गरिएको छैन’, दलका महासचिव एस.पी. शर्माले भने।

केही दिन अगाडि मात्र अरूणाचलका केही उपजातिलाई जनजातिको मान्यता दिइने क्याबिनेटले मन्जुरी दिएको तर गोर्खाको एघाह्र जातलाई जनजाति दिइने कुरामा अहिलेसम्म पहल नभएको शर्माले उल्लेख गरेका छन्।

‘भाजपाका गठबन्धन दलहरू पनि यतिबेला मुद्दामाथि मौन बस्नुले कुन आधारमा उनीहरूले भाजपालाई सहयोग गरेका थिए, उनीहरूको इमान्दारीमाथि पनि सन्देह हुन्छ’, एस. पी.ले भने।

‘मनसून अधिवेशन भोलिदेखि शुरू भएर 13 अगस्तसम्म चल्नेछ। विष्टमाथि दबाब बनाउन हामी 1 अगस्तदेखि दुई दिने धर्ना आयोजना गर्नेछौं। त्यसपछि पनि जवाब पाएनौं भने आमरण अनशन शुरू गर्नेछौं’, एस.पी.ले बताए।

लिगको यस कार्यक्रममा मुद्दामाथि काम गर्ने हरेक राजनैतिक पार्टी अनि संस्थाको सहयोग रहने आफूहरूले आशा गरेको पनि शर्माले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन