निरज जिम्बाको भगुवाकरण

आफूलाई गोरामुमोको बताउने निरज जिम्बाको भगवाकरण भइसकेको छ। भगवा रङ्गले उनलाई निलिसकेको छ। त्यही कारणले त हो, जब भाजपाको आलोचना हुन्छ, जब भाजपालाई प्रश्न गरिन्छ, जिम्बा प्याच्च बोल्छन्। उनलाई बिझाउन शुरू हुन्छ।तर आजको स्थिति हेर्दा हातमा खोपेको ‘सुवासवाद’को ट्याटू चाउरी परेर इस्कुसजस्तो भइसक्दा पनि जिम्बाले आफूलाई भगवा रङ्गले निलेको थाहा नपाउलान् जस्तो छ।


-लेखनाथ छेत्री


हिज भएको ढाडको माइनर अपरेशनको कारण अहिले पलङमा थन्किएको छु। छुट्टीमा छु। लाग्यो, केही दिन आराम गरौं।
तर आज कालेबुङमा भएको एक पत्रकार भेला देखेपछि यस्तो अवस्थामा पनि केही नलेखी बस्न सकिन। मैले जिकिर गरिरेको पत्रकार भेला भारतीय जनता पार्टीको हो।
आज दार्जिलिङका सांसद राजु विष्ट कालेबुङ आइपुगे। उनसँग थिए भर्खर केन्द्रीय मन्त्री बनेका अलिपुरद्वार भाजपा सांसद जोन बारला। उनीसँग थिए दार्जिलिङमा भाजपा विधायक निरज जिम्बा।

अलिपुरद्वार सासंद जोन बारला केही महिना अगाडि उत्तर बङ्गाल राज्यको मागको कारण चर्चामा आएका थिए। गोर्खाल्याण्ड मागिरहेका पहाडका जनताबीच पनि यस कुराले बहसको माहोल तयार गरेको थियो।
उत्तर बङ्गाल राज्यको माग गरेको केही हफ्ता पनि नबित्दै मोदी केन्द्रीय मन्त्रीमण्डलमा फेरबदल हुनेभयो। जोन बारलालाई नयाँ मन्त्रीमण्डलमा ठाउँ मिल्यो। उनी मात्र होइन, उनीसँग उत्तर बङ्गाल राज्यको माग गरिरहेका सांसद निसिथ प्रमाणिक पनि मन्त्रीमण्डलमा चुनियो।
उत्तर बङ्गाल राज्यको मागलाई समर्थन गरिरहेका मानिसहरूलाई लाग्यो, अब मुद्दाले संसदमा ठाउँ बनाउने छ। तर त्यस्तो केही भइदिएन।
जोन बारलाले संसदमा उत्तर बङ्गाल राज्यको माग उठाउन त परको कुरा, त्यहाँदेखि यता संसद बाहिर पनि उनी यस मुद्दामा मुक बने। यसको आशय के हो, बुझ्न कति समय लाग्ला र?

दार्जिलिङ पहाड-तराई-डूवर्सको स्थायी राजनैतिक समाधान भाजपाले सङ्कल्पपत्रमा हालिसकेको छ। तर काम भने अलिकति पनि अगाडि सरेको छैन।
राजु विष्टले चुनावको बेला चौरस्तामा उभिएर गोर्खाल्याण्डको नाममा महाकाल बाबाको कसम खाए। जनतालाई लाग्यो, यसचोटि भाजपाले गोर्खालाई न्याय दिन्छ। गोर्खाल्याण्ड हुन्छै हुन्छ। जनताले विपूल मतले राजुलाई जिताएर पठाए।
केही दिन अगाडि मात्र हो, राज्य सचिव सयन्तन बसुले स्थायी राजनैतिक समाधानबारे कुरा स्पष्ट गरे। स्थायी राजनैतिक समाधान भनेको बङ्गालभित्रको व्यवस्था हो, उनले खुलेआम भने।

जनतालाई लाग्ला, बङ्गाल भाजपा मात्र गोर्खाल्याण्डको पक्षमा छैन, तर केन्द्र सरकाले यसलाई स्वीकृति दिन्छ। तर त्यस्तो होइन।
केन्द्रको गृहमन्त्री स्वयंले भनिसकेका छन्, भाजपा बङ्गालमा अलग राज्यको पक्षमा छैन, गोर्खाल्याण्ड हाम्रो कार्यसूचिमा छैन।
यसबाट के बुझ्ने? भाजपाको स्थायी राजनैतिक समाधान भनेको राज्यभित्रको व्यवस्था हो। गोर्खाल्याण्ड होइन।

गोर्खाल्याण्ड होइन भन्ने कुरा त केन्द्रीय गृहमन्त्रालयले बोलाउने भनेको त्रिपक्षिय वार्ताबाट पनि स्पष्ट भइहाल्छ। अलग राज्यको निम्ति त्रिपक्षिय वार्ता बोलाएको इतिहास कहाँको छ? त्रिपक्षिय वार्ता अनिवार्य त्यतिबेला हुन्छ, जब राज्य सरकार, केन्द्र सरकार अनि स्टेकहोल्डर बसेर जनआकांक्षाको मोलतोल गर्ने काम हुन्छ। जसरी दागोपापको समयमा भयो। जसरी जिटिएको समयमा भयो।

तर जब आज कालेबुङको एक पत्रकार भेलामा जोन बारला अनि राजु विष्टलाई यसबारे प्रश्न सोधियो, भाजपा विधायक निरज जिम्बा पो तात्तिए।
‘समय आउँछ भाइ, समय आउँछ’, जोन बारलाको मुखबाट यस बाहेक अरू केही निस्किरहेको थिएन। भाजपालाई पहाडको जनताले जनमत दिइसकेको त पन्द्रह वर्ष भइसक्यो, समय कहिले आउँछ?
जिम्बालाई यही प्रश्नले बिझायो। किन बिझायो, उनी आफै जानुन्।

केन्द्रीय गृहमन्त्रालयले अगस्त १२ तारिखभित्रमा त्रिपक्षिय वार्ताको कुरा थियो। तर खै त पत्र आएको? उनले सायद यही प्रश्नलाई सहन गर्न सकेनन्।
उनले त्यहीँबाट पत्रकारहरूले केन्द्रीय मन्त्रीलाई अड्को थापिरहेको आरोप लगाए।
के पत्रकारहरूले प्रश्न गर्नु गलत हो? के कोही केन्द्रीय मन्त्री बनिसकेपछि जनताको प्रश्नको जवाबदेही बन्दैनन्? जिम्बाले के भन्न खोजेका होलान्? बुझ्न सकिएन।
त्यतिमात्र होइन, निरज जिम्बाले सम्मेलनबाट बाहिर निस्किएपछि पत्रकारहरूलाई ‘ह्यानसम प्याकेज’ थापेको आरोप समेत लगाए।
जिम्बा आफै कुन खेतको मुला हुन्, त्यो त उनी दुईदुईपल्ट कसरी अनि कुन परिस्थितिमा विधायक बने, सतही रूपमा त्यसलाई हेर्दामात्र पनि थाहा हुन्छ।
पत्रकारहरूमाथि यस किसिमको टिप्पणी गर्ने आदत निरज जिम्बाको नयाँ होइन।

विधानसभा चुनाव अगाडिको कुरा हो। गोर्खाल्याण्ड राज्य गठन गर्नुहुँदैन भन्ने आरएसएसको ‘फर्जी’ पत्र सोसल मिडियामा भाइरल बन्यो।
‘मनोज बोगटी यस पत्रका मास्टरमाइन्ड हुन्। उनी पोलिटिकल एजेन्ट हुन्’, जिम्बाले टिप्पणी गरे।
जब पत्रबारे विधानसभा चुनाव अगाडि नै खुलासा भयो, त्यतिबेला जिम्बा कहाँ थिए?

त्यसपछि कालेबुङ टेलिभिजनका सिनियर पत्रकार नरेन्द्र तामाङले भाजपा अनि जिम्बाको गोरू जोतेको स्टन्टमाथि एउटा फेसबुक टिप्पणी गरे।
जिम्बाले एउटा लामो लेख लेखे। त्यसमा पनि नरेन्द्र तामाङमाथि घुस खाएर पत्रकारिता गरेको अनि उनीसँग पत्रकारिताको डिग्री नरहेको कुरा गरे।
केही दिन अगाडि मात्र हो। एउटा अनलाइन कार्यक्रममा भाग लिइरहेको बेला निरज जिम्बालाई एकजना पत्रकारले प्रश्न गरे।
‘गोर्खाल्याण्ड भनेर राजु विष्टले जनतालाई ढाँट्ने काम गरे’, उक्त पत्रकारको प्रश्नको मोटामोटी आशय यस्तो थियो।
पत्रकारलाई विमल गुरूङ निकट रहेको आरोप लगाउन जिम्बाले अलिकति पनि ढिलाई गरेनन्। निरज जिम्बाको यो कस्तो क्यारेक्टर हो?
प्रश्न स्वीकार गर्ने औकात त्यो मान्छेको हुँदैन जससँग प्रश्नको उत्तर हुँदैन। जससँग प्रश्नको जवाब दिने औकात हुँदैन। जससँग झुट बाहेक केही हुँदैन। निरज जिम्बाको मामिलामा यही कुरा स्पष्ट हुन्छ।

जुन पत्रकारले उनलाई कडा प्रश्न गर्छन्, उनी जिम्बाको लागि पोलिटिकल एजेन्ट हुन्छन्।
केही महिना अगाडि निरज जिम्बा खेत जोत्न बुङ्कुलुङ पुगेका थिए। एक हुल पत्रकारहरूले उनको राम्राराम्रा फोटो खिचे। फोटो सोसल मिडियातिर भाइरल बन्यो।
उनलाई पछ्याएर खेतको गह्रासम्म पुग्ने पत्रकारहरूलाई फोटो खिच्न अगाडि निरज जिम्बाले के उनीहरूको पत्रकारिताको डिग्री सोधे त?
जिम्बाको औकात यहीबाट स्पष्ट हुन्छ।

जिम्बाको यो क्यारेक्टर भारतीय राजनीतिमा कुनै नयाँ होइन। उनी जुन दलको वैसाखी टेकेर विधायक बने, त्यस दल अर्थात भाजपाले आफूहरू विरूद्ध प्रश्न खडा गर्ने पत्रकारहरूलाई देशद्रोही सिद्ध गर्ने मुहिम उहिल्यै शुरू गरिसकेका छन्। कतिलाई देशद्रोहको मामिलामा जेलमा थुनिसकेका छन्। कतिको हत्या भइसकेको छ।
निरज जिम्बाले यही त सिकिरहेका छन्। आफूलाई गोरामुमोको बताउने निरज जिम्बाको भगवाकरण भइसकेको छ। भगवा रङ्गले उनलाई निलिसकेको छ। त्यही कारणले त हो, जब भाजपाको आलोचना हुन्छ, जब भाजपालाई प्रश्न गरिन्छ, जिम्बा प्याच्च बोल्छन्। उनलाई बिझाउन शुरू हुन्छ।
तर आजको स्थिति हेर्दा हातमा खोपेको ‘सुवासवाद’को ट्याटू चाउरी परेर इस्कुसजस्तो भइसक्दा पनि जिम्बाले आफूलाई भगवा रङ्गले निलेको थाहा नपाउलान् जस्तो छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन