राजधानीको कोलाहलबाट मुक्ति खोज्नेहरूको निम्ति पाङथाङमा खोलियो ट्री हाउस क्याफे

“उत्तर सिक्किम जाने वैकल्पिक मार्गको रूपमा रहेको यो पाङथाङ क्षेत्रबाट पर्यटकहरू आउजाउ गरिरहन्छन्। यसैगरी राजधानीको नजिक भएको कारण शहरबाट केही समय भएपनि शान्ति खोज्न चाहनेहरूको निम्ति स्वर्ग जस्तै शान्त ठाउँ कहीँ छ भने त्यो यसै क्षेत्रलाई मान्न सकिन्छ।”

गान्तोक, 04 सेप्टेम्बर। राजधानीको कोलाहलबाट दिक्क बनेकाहरूको निम्ति मौलिक मनोरञ्जनको व्यवस्था शुरु भएको छ। गान्तोकबाट 15 किलोमिटरको दूरीमा स्थित पाङथाङ निवासी वसन्त राईले शुरु गरेको ट्री हाउस क्याफे शहरको कोलाहलबाट भाग्न चाहनेहरूको निम्ति उत्कृष्ट गन्तव्य बनेको छ। कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि लकडाउनको अवधीमा ठूला-ठूला धुप्पीको रूख बीच बनाइएको ट्री हाउस क्याफे जैविक तथा गाउँले मौलिकता बोकेको खानपान र प्राकृतिक दृश्यावलोकनको निम्ति निक्कै आकर्षक ठाउँमा छ। हिमालयन भ्यू पोइण्टको रूपमा अगावै चर्चामा रहेको यो ठाउँ महामारी अघि देशी विदेशी पर्यटकहरूको निम्ति निक्कै आकर्षणको केन्द्र थियो। यसैबीच राई परिवारले पर्यटकहरूको निम्ति होम स्टे पनि शुरु गरेपछि थप संसाधन जुटाउन ट्री हाउस क्याफे पनि शुरु गरेको हो।

हिजो अपह्रान्न आफ्नै माता-पिताको बाहुलीबाट रिबन काटेर वसन्त राईले शुरु गरेको ट्री हाउस क्याफेमा 15 जनासमम्म अतिथिहरूले खानपान गर्न सक्छन्। विशेषरूपमा पर्यटकको निम्ति थप आकर्षण बढाउन यो रूखमाथि काठको घर बनाएर क्याफे चलाउने निर्णय गरेको राईले बताए। अहिलेलाई क्याफे भित्र पस्नको निम्ति 50 रूपियाँ शुल्क बुझाउनुपर्ने त्यसमा एक कप कफी क्याफेको तर्फबाट अतिथिलाई प्रदान गरिने उनले बताए। अहिले क्याफेमा चिया, कफी सितै स्थानीय जैविक उत्पादहरूको प्रयोग गरेर बनाइएका खान-पान उपलब्ध हुनेछ। त्यसमा अतिथिहरूको मुख्य रोजाई भने गुराँस, चिम्फिङ, आरुचा, नसपाती, अलैंचीको वाइन, तोङ्बा, ट्राउट माछा, बस्तिको कुखुरा लगायत गाउँमै उत्पादित जैविक कुराहरू रहेको उनले बताए।

विशेष गरेर उत्तर सिक्किम जाने वैकल्पिक मार्गको रूपमा रहेको यो पाङथाङ क्षेत्रबाट पर्यटकहरू आउजाउ गरिरहन्छन्। यसैगरी राजधानीको नजिक भएको कारण शहरबाट केही समय भएपनि शान्ति खोज्न चाहनेहरूको निम्ति स्वर्ग जस्तै शान्त ठाउँ कहीँ छ भने त्यो यसै क्षेत्रलाई मान्न सकिन्छ। वसन्त राईले शुरु गरेको यो पर्यटनको पेशाले उनको परिवारलाई मात्र नभएर गाउँलाई पनि फायदा पुग्ने देखिएको छ। स्वयं वसन्त राईले गाउँदै जैविक उत्पादनहरूलाई आफ्नो होम स्टे र क्याफेमा उपयोग गर्ने गरेको हुनाले गाउँलेहरूलाई पनि सोझै फायदा पुग्ने उनको भनाइ छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन