सिक्किमको सरकारी सम्पत्ती बिक्री गर्न प्रतिबन्धित लगाउनुपर्छः सिक्किमे नागरिक समाज

गान्तोक,5 सेप्टेम्बर। सिक्किमे नागरिक समाजको एउटा महत्वपूर्ण बैठकले सिक्किमको सरकारी सम्पत्ति बेच्न प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै प्रस्ताव पारित गरेको छ। आज राजधानी गान्तोकको एउटा होटलमा राज्यका पूर्व मुख्य सचिव पिके प्रधानको अध्यक्षतामा सम्पन्न बैठकमा मुख्य अतिथिको रूपमा राज्यका पूर्व शिक्षा मन्त्री केएन उप्रेती रहेका थिए। कार्यक्रममा आफ्नो सभाध्यक्षिय सम्बोधन राख्दै पूर्व मुख्य सचिव प्रधानले सिक्किममा नागरिक समाजको आवश्यकता तथा औचित्यबारे बताए भने राज्यको वर्तमान सामाजिक अनि राजनैतिक परिदृश्यलाई हेर्दा नागरिक समाजको आवश्यकता खट्किएको ठोकुवा गरे। उनले भने, सिक्किममा अहिले जसरी सिक्किमको पुराना कानुनहरूको तरलीकरण हुँदैछ अनि राज्यको सामाजिक तथा राजनैतिक अवस्था कमजोर हुँदैछ त्यसले नागरिक समाजको आवश्यकता रहेको छ। एक राष्ट्र एक राशन कार्डको विरोध गर्दै पिके प्रधानले सिक्किममा यसको आवश्यकता नरहेको बताए। यसका साथै सिक्किमे मूलका भोटिया लेप्चाका जमीन गैर सिक्किमेहरूको नाममा पञ्जिकृत भएकोमा विरोध गर्दै राज्य सरकारले यस सम्बन्धमा कडा निगरानी राखेर यस्तो कार्यबाट पर बस्न अपिल गरे। कार्यक्रमलाई नागरिक समाजका मुख्य संरक्षक तथा पूर्वमन्त्री छितेन टासी भोटियाले आफ्नो कुरा राख्दै, सिक्किममा सिक्किमे भोटिया लेप्चा र नेपालीको भाइचारा फर्काइल्याउनुपर्ने अपिल गरे। सिक्किमको निम्ति सबै एक भएर लड्ने पनि अपिल गरे। यसैक्रममा सिक्किमको विकासको नाममा सिक्किमकै पुराना कानुनहरूको तरलीकरण भइरहेको र सिक्किमको सरकारी सम्पत्तिहरू बिक्रिगर्न सरकार लागी परेको गम्भीर आरोप लगाए। उत्तर सिक्किमको चुङथाङमा रहेको टिस्टा उर्जा जल विद्युत परियोजनाको राज्य सरकारको अंश पनि वर्तमान सरकारले बेचिसकेको बताए। यसैगरि राज्यका धेरैवटा सरकारी सम्पत्तिहरू बेच्न वर्तमान सरकार लागिपरेको बताए। सत्ताको दबाउमा राज्यमा अनैतिक कार्यहरू भइरहेको आरोप लगाउंदै हालै राज्यमा एक विशेष व्यक्तिको अवैध कार्यलाई प्रशासनले दबाएको पनि आरोप लगाए। यस सम्बन्धमा सिक्किमे नागरिक समाज चुप लागेर नबस्ने चेताउनी दिए। कार्यक्रमलाई नागरिक समाजका अध्यक्ष भरत बस्नेतले सम्बोधन गर्दै सिक्किमको हितमा सिक्किमेहरू एक हुने अपिल गरे। सिक्किमे नागरिक समाजको पक्षमा प्रस्ताव पारित गर्दै सिक्किमको पुरानो कानुनको संरक्षण, सिक्किमेको जमीन गैर सिक्किमेलाई बेच्न प्रतिबन्ध र सिक्किमको सरकारी सम्पत्ती बेच्नमा प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावहरू पारित गरियो। उक्त प्रस्ताव समाजका महासचिव पासाङ ग्याली शेर्पाले पठन गरेका थिए। उनले आफ्नो सम्बोधनमा नागरिक समाजको औचित्यबारे प्रकाश पारेका थिए। यसैगरि आजको सभामा समाजसित अनलाइन जोडिनको निम्ति हामी हामी सिक्किमे डट कम नामक वेबसाइट र समाजको लोगो सार्वजनिक गरियो। अब उसो समाजले अनलाइन सदस्यता अभियान थालेको छ। कार्यक्रममा पूर्व शिक्ष मन्त्री केएन उप्रेतीले पनि आफ्नो सम्बोधन राखेका थिए। जसमा उनले चौकीको लोभमा परेर जाति र माटोलाई घात हुने कार्य गर्नु नहुने बताए। उनले सिक्किमेको हितको विपरित कार्य हुँदा आफूले मन्त्रीको पद त्याग गरेर प्रतिवादमा उत्रिएको उदाहरण प्रस्तुत गर्दै अहिले सिक्किममा भइरहेको सिक्किमेको हित विपरितको कार्यप्रति खेद प्रकट गर्दै सिक्किमे नागरिक समाजले गरिरहेको कार्यको सराहना गरे। सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन