हाम्रा योजनाहरू चुनाउमुखी नभएर जनमुखी योजना छन् – मुख्यमन्त्री तामाङ

“पहिलाको सरकारमा आफ्नो स्वार्थ पूर्ति गर्न चुनाउ छेक सरकारी योजनाका टोकन वितरण गर्ने चलन थियो। 2014 र 2019 को चुनाउ अघि एसडीएफ सरकारले वितरण गरेका  टोकन अहिले पनि जनतका सिरानी मुनी भेटिन्छन्। पूर्व सरकारमा  पाएका टोकन छातिमा राखेर जनता चिच्याइ रहेका छन्। जनतालाई टोकन मात्र दिएर पूर्व सरकारले योजनाका लागि अनुमोदन गरेको धनराशि खाइसकेको छ यसको खोजी जनताले गर्नुपर्छ।”

गान्तोक, 13 सेप्टेम्बरः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले शुरु गरेको सिक्किम गरीब आवास योजानअन्तर्गत निर्माण गरिएको पहिलो घरको उद्घाटन गरे। पूर्व सिक्किमको स्यारी निर्वाचन क्षेत्रको नाण्डोक निवासी आथुप लेप्चाको घर उद्घाटन गरेर उनले लाभार्थीलाई सुम्पिए। 8 अक्टोबर 2020 का दिन मुख्यमन्त्रीले सम्मान भवनबाट सिक्किम गरीब आवास योजनाको शुभारम्भ गरेका थिए भने लगभग 11 महिनाको अन्तरालमा यो घरको निर्माण कार्य पूरा भएपछि आज लाभार्थीलाई सुम्पिइएको हो।

राज्य ग्राम विकास विभागले आयोजन गरेको उद्घाटन कार्यक्रममा क्षेत्र विधायक तथा शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा, पर्यटन मन्त्री बीएस पन्त, पीएचई विभागका मन्त्री भीम हाङ सुब्बा, विधायकगण, विभागीय सचिव तथा अधिकारीवर्ग, नगरनिगमका पार्षद, पञ्चायत तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

सिक्किम गरीब आवास योजना एसकेएम सरकारले शुरु गरेको ध्वजवाहक योजना हो। योजनाको पहिलो चरणमा सरकारले 3050 घर वितरण गरेको छ जसको सम्पूर्ण निर्माणकार्य मार्च 2022 सम्ममा पूरा गर्ने लक्ष्य छ। ग्राम विकास विभागअन्तर्गतको यस योजनामा आवण्टन गरिएका मध्येका 446 घरको निर्माण कार्य लगभाग पूरा भएको छ। यसरी नै 1231 वटा घरको स्लेब लगाएर बारबेरको काम चल्दैछ भने अन्य घरको निर्माण कार्य शुरु भएको छ। जानकारी अनुसार 212 वटा घरको भने अहिलेसम्म निर्माण कार्य शुरु हुनसकेको छैन्।

यस योजनामा लाभार्थीको 17.51 लाख रुपियाँको लागतमा 767 वर्ग फुटमा चार कोठाको एकतले पक्का घर निर्माण गरिन्छ। यसमा दुईवटा सिङ्गल र एउटा डबल बेड, दुईवटा स्टिलको दराज, एउटा सोफासेट, एउटा 32 इञ्चको लाइडी टिभी, सेन्टर टेबल र अन्य सामाग्रीको प्रावधान पनि रहेकोछ। विभागले निर्माण गरेको यस घरलाई लाभार्थीले सकेको खण्डमा भविष्यमा बढ़ाए लाने प्रावधान पनि राखिएको छ।

यस अवसरमा बोल्दै एसकेएम सरकारले सरकारी योजनालाई लिएर कहिलै पनि भोटको राजनीति नगर्ने मुख्यमन्त्री पीएस गोलेले बताए। सिक्किम गरीब आवाश योजना शुरु गरेको 11 महिनाभित्रमा लाभार्थीको घर निर्माण कार्य पूरा गरेर सरकारले जनतलाई दिएको वचनप्रतिको प्रतिवद्धता दर्शाएको उनले बताए। पूर्व सरकारले सरकारी योजनामाथि भोटको राजनीति गरेकै कारण पूर्व सरकारको मुख्यमन्त्री आवास योजनाका घरहरूको निर्माण कार्य अहिलेसम्म पूरा नभएको बताए।

मुख्यमन्त्री गोलेले भने, “पहिलाको सरकारमा आफ्नो स्वार्थ पूर्ति गर्न चुनाउ छेक सरकारी योजनाका टोकन वितरण गर्ने चलन थियो। 2014 र 2019 को चुनाउ अघि एसडीएफ सरकारले वितरण गरेका  टोकन अहिले पनि जनतका सिरानी मुनी भेटिन्छन्। पूर्व सरकारमा  पाएका टोकन छातिमा राखेर जनता चिच्याइ रहेका छन्। जनतालाई टोकन मात्र दिएर पूर्व सरकारले योजनाका लागि अनुमोदन गरेको धनराशि खाइसकेको छ यसको खोजी जनताले गर्नुपर्छ।”

एसकेएम सरकार टोकन बाँड्ने सरकार नभएर जनतालाई दिएका योजना र वचन पूरा गर्ने सरकार हो भन्ने मुख्यमन्त्रीले ठोकुवा गरे।  उनले भने, हाम्रा योजना चुनाउमुखी नभएर जनमुखी योजना छन्। हामी अर्को चुनाउका लागि होइन तर अहिले पाएको जनमतलाई शीरमा राखेर काम गर्छौं। हामीले पाँच वर्ष जनताको सेवा गर्ने मौका पाएका छौं सेवा गर्छौं र अर्को चुनाउमा जनताले हामीलाई दिएको मौका रिनिउ नगरे खुसीसाथ स्वीकार गरेर विदा लिन्छौं।”

अर्कोतर्फ राज्यका शहरी गरीब परिवारको घर निर्माणका लागि पनि पछिल्लो 15 अगस्तदेखि अर्बन गरीब आवास योजना सरकारले शुभारम्भ गरेको मुख्यमन्त्रीले जानकारी गराए। उनले बताएअनुसार अर्बन गरीब आवास योजनाअन्तर्गत शहरमा जमिन भएका गरीब परिवारको पनि सरकारले नै घर निर्माण गरिदिनेछ। सिक्किम गरिब आवास योजनाअन्तर्गत पहिलो चरणमा आवण्टन गरिएका घरको निर्माण कार्य पूरा गरेपछि अर्को वर्ष नयाँ लाभार्थीलाई योजना वितरण गरिने बताए।

राज्य सरकारले यो दशैं अघि नै हाउस अप्ग्रेडेशन योजना पनि वितरण गर्ने जानकारी दिए। यस योजनाअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा 400 परिवारलाई योजनाको लाभ दिने र लाभार्थीले प्राप्त गरेको योजना सम्बन्धित बीडीओ कार्यलयबाट लिनसक्ने बताए। हाउस अप्ग्रेडेशन योजनाअन्तर्गत सरकारले घर मरमति गर्नका लागि प्रतिपरिवा 20,000 रुपियाँ प्रदान गर्दछ। यसरी नै प्रत्येक निर्वाचन क्षेत्रमा 100 परिवारलाई जीसीआई च्यादर पनि वितरण गर्ने योजना रहेको बताउँदै तथापी जनताको घर सरकारले नै निर्माण गर्ने योजना लिएकाले च्यादर वितरण कार्यलाई भने बन्द गर्ने योजना रहेको पनि जानकारी गराए।

आफ्नो सम्बोधनका क्रममा मुख्यमन्त्रीले कोभिड महामारीको चपेटमा परेर पनि सरकारले स्वास्थ्य, शिक्षा तथा कृषि व्कासका क्षेत्रमा धेरै काम गर्न सफल भएको बताए। सरकार गठनको छोटो अवधिमा गेजिङ, नाम्ची र एसटीएनअम अस्पतालमा डायलसिस सुविधा शुरु गर्न सफल भएको बताए। एसटीएनएम अस्पतालको भवन पूर्व सरकारले निर्माण गरेको स्वीकार गर्दै तथापी यसको बिल वर्तान सरकारले भुक्तान गर्नु परिरहेको दाबी गरे। उनले भने, “हामी प्रत्येक बजेटमा पैसा छुट्टाएर एसटीएनएम निर्माण गरेको बिल तिर्दैछौं। पूर्व सरकारले यो भवन बनाएको हो तर आधाकल्चोमा उद्घाटन गरेको थियो। यस भित्र चाहिने मशिनेरी हामीले लगायौं। 600 भन्दा बढ़ी मेडिकल स्टाफ नियुक्ती गरेका छौ।” एसकेएमले सरकार स्तरबाट मात्र होइन तर पार्टी स्तरबाट पनि स्वास्थ्य सुविधाका क्षेत्रमा काम गरिरहेको बताए। यस अवसरमा उनले पाकिम र सोरेङ जिल्ला गठन प्रक्रिया पनि चाँढै पूरा हुने जानकारी दिए।कार्यक्रममा मन्त्री कुङ्गा निमा लेप्चाले पनि आफ्नो सम्बोधन राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन