माटो कवि जीवन थिङको 66औं जन्म दिवस पालन, चिया कविताले गर्ने जीवन थिङ व्याख्यान श्रृङ्खला

माटो कवि जीवन थिङ 19 दिसम्बर 1955 मा दक्षिण सिक्किमको नाम्चीमा जन्मिएका थिए। उनले आफ्नो छोटो जीवनकालमा धेरै कविता कथा र खण्डकाव्य सिर्जना गरेका थिए। उनको निधन 1978 मा फोक्सोको रोगको कारण कोलकत्तामा उपचारको क्रममा भएको थियो। उनी 23 वर्षको उमेरसम्ममात्रै बाँचे पनि उनले सिर्जना गरेका साहित्य भने सधैँ कालाजयी र युवाहरूलाई प्रोत्साहित गरिरहने साहित्यिक खुराकको रूपमा रहिआएका छन्।


गान्तोक,19 दिसम्बर। सिक्किमका माटो कवि जीवन थिङको 66औं जन्म दिवस पालनासितै चिया कविताको आयोजनमा माटो कवि जीवन थिङ व्याख्यान श्रृङ्खला आयोजन गरिने निर्णय गरिएको छ। माटो कवि जीवन थिङ मार्गमा स्थित रचना बुक्समा चिया कविताले आयोजन गरेको जीवन थिङ जयन्तीको पर्यवेक्षण कलाकार किरण रसाइलीले गरेका थिए।  सिक्किमेली माटोमा जन्मिएका सशक्त साहित्यिक हस्ताक्षरको रूपमा जन्मिएका जीवन थिङले आफ्नो 23 वर्षे छोटो जीवनकालमै धेरै बलिया कृतिहरू सिर्जना गरेको कुरालाई कार्यक्रममा उठान गरियो।

कार्यक्रम जीवन थिङका परिवारका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो । कवि थिङका नाना प्रेम थिङले उनको जीवनबारे प्रकाश पारिन। उनले जीवन थिङको प्रतिमा स्थापनाको निम्ति सरकारसित विशेष अनुरोध गर्ने विषयमा भइरहेको चर्चाबारे पनि जानकारी गराइन्। यसैगरि उनले जीवन थिङको प्रतिमा उनको अभिन्न मित्र थुकचुक लाचुङपाले निर्माण गरेको प्रसंगलाई पनि अवगत गराइन्। अर्कोतिर उनले जीवन थिङका कृति र अप्रकाशित पाण्डुललिपीहरूबारे पनि काम गर्ने पहल शुरु गर्ने निर्णय़ गरिरहेको बताइन्।

कार्यक्रममा पर्यवेक्षकीय मन्तव्य राख्दै कलाकार रसाइलीले अहिले चिया कविताले भूत वर्तमान र भविष्यलाई समेटेर काम गरिरहेको मन्तव्य व्यक्त गरे। उनले कवि थिङले कम्ती उमेरमा गरेका धेरै उपलब्धिमूलक कार्यहरूले युवा पुस्तालाई लामो समयसम्म प्रभावित गरिराख्ने तथा उनीबाट सिक्किमेली युवाजमात प्रोत्साहित रहेको कुरा बताए। उनले युवा प्रतिभाहरूलाई जगेरा गर्नुपर्ने विषयमा पनि जोड दिए।

अर्कोतिर साहित्यकार सुधा एम राईले जीवन थिङ समय भन्दा अघि जन्मिएको बताइन्। उनले सिर्जना गरेका साहित्य समय अघिको रहेको जसको विस्तारमा अध्ययन र शोध हुनपर्ने बताउँदै कवि थिङको कविता वाचन गरिन्।

चिया कविताका संयोजक प्रवीण खालिङले सञ्चालन गरेको कार्यक्रममा देवकुमार दुमी, सुजल प्रधानले पनि कवि थिङको कविता वाचन गरेका थिए। यसैगरि कवि सुचन प्रधान, मणिका शर्मा, एनबी घिमिरे, भिम राउत, सहयात्री प्रितम, देवराज राई, निलम गुरूङ र विष्णु केसीले स्वरचित कविता वाचन गरेका थिए।

उल्लेखनीय छ माटो कवि जीवन थिङ 19 दिसम्बर 1955 मा दक्षिण सिक्किमको नाम्चीमा जन्मिएका थिए। उनले आफ्नो छोटो जीवनकालमा धेरै कविता कथा र खण्डकाव्य सिर्जना गरेका थिए। उनको निधन 1978 मा फोक्सोको रोगको कारण कोलकत्तामा उपचारको क्रममा भएको थियो। उनी 23 वर्षको उमेरसम्ममात्रै बाँचे पनि उनले सिर्जना गरेका साहित्य भने सधैँ कालाजयी र युवाहरूलाई प्रोत्साहित गरिरहने साहित्यिक खुराकको रूपमा रहिआएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन