‘जो जातिको हुन सकेन उ तृणमूलको पनि हुन सक्दैन’

मनोहर शर्मा

मिरिक, 28 मई 2017


4 अप्रेल ममता व्यानर्जी मिरिक पुग्ने भएकी छन्, त्योभन्दा अघि नै विमल गुरूङ आज मिरिक पुगे। तीनवटा सिटमा मोर्चालाई जिताएलगायत मिरिक नगरपालिका बोर्ड गठनको खेलमा हराएकोमा धन्यवाद र रिस् दुवै पोख्न मिरिक पुगेका विमल गुरूङले भने, ‘यो हार गोर्खा जनमुक्ति मोर्चाको होइन, आमाले पेटमा हुर्काउँदै गरेको गोर्खा सन्तानको हार हो।’

गुरुङ आज भावुक र आक्रोसित दुवै देखिए। तृणमूलको सरकारले गोर्खा फुटाउन जुन चलखेल गरिरहेको छ, भाषा मास्न जुन षडयन्त्र गरिरहेको छ, जुन विभाजनको कुटनीति गर्दै गोर्खाबीच फाटो ल्याइरहेको छ, मिरिकका गोर्खाले उसैलाई जितायो, यही कुराले विमल गुरूङको मन दुखेको देखियो।

‘तपाईँहरूले मोर्चालाई होइन, जातिलाई हराउनु भो,’ गुरूङले भने, ‘जातिलाई यसरी बज्रपात गर्ने मिरिकलाई ठूलो आपत आइलाग्नेछ।’

यद्धपि उनले सन्तोष पनि माने। ‘जो गोर्खाको हुन सकेन, जातिको हुन सकेन, जो मान्छे मेरो हुन सकेन, उ कसैको हुन सक्दैन,’ उनले भने, ‘ममता दिदी याद राख्नु उ तिम्रो पनि हुन सक्दैन।’

मुख्यमन्त्री ममता व्यानर्जीलाई उनले खुलेर चुनौति पनि दिए। बङ्गला भाषालाई  पहाडमा बाध्यात्मक बनाउनु ममता व्यानर्जीकै निम्ति हानिकारक रहेको भन्दै उनले तृणमूललाई जिताउने मिरिकवासीले तृणमूल काङ्ग्रेसले आफूलाई जिताएको खुसीमा पहिलो उपहार नै नेपाली भाषामाथि अतिक्रमण- दिएको कुरा बुझ्नुपर्ने बताए।

उनले बङ्गला भाषालाई बाध्यात्मक बनाइए पहाडमा आगो सल्किने भन्दै मिरिकका नेपाली भाषी तृणमूल काङ्ग्रेस कार्यकर्ताहरूले आफ्नो आमाको चिरहरण हेर्न नहुने पनि बताए। उनले भाषालाई आमाको संज्ञा दिँदै आमालाई बचाउन सबै छोराछोरी एक हुनुपर्ने पनि बताए। उनले आफूहरूलाई जिताउने जनतालाई आभार व्यक्त गर्न भुलेनन्।

जित्ने हार्ने सबैलाई लिएर वार्डवार्डमा समिति बनाउने अनि विकासको रुपरेखा तयार पार्ने पनि उनले बताए।

मिरिकको हारको समिक्षा गर्दै हारलाई आफ्नै नेतृत्वका कमिकमजोरीको फल बताए। यद्धपि यसै हारबाट उर्जा बटुलेर मिरिकमा आफूहरू सङ्गठित बन्ने बताए।

उनले गोर्खाल्याण्डको पनि जिकिर गरे। ‘म घर छोडेर गोर्खाल्याण्डको निम्ति नै सङ्घर्ष गरिरहेको छु,’ उनले भने, ‘गोर्खाल्याण्ड धेरै टाडो  छैन।’

विमल गुरूङ अनि मोर्चा सहसचिव विनय तामाङ दुवैले तृणमूल काङ्ग्रेसले गरेको पर्चापट्टाको वाचाबारे मिरिकवासीलाई सम्झना गराए।

‘चुनाउ जितेमा पर्जापट्टा दिन्छु भनेका छौ,’ हिल तृणमूल अनि मन्त्रीहरूलाई लक्ष्य गर्दै उनले भने, ‘जनतालाई ढाँटेर चुनाउ जित्यौ, जनताले हेर्नेछ। तिम्रो झुट शीघ्र नै सार्वजनिक हुनेछ।’

सभाअघि मोर्चाले अहाले खेला मैदानबाट ऱ्यालीको निकालेको थियो। सभासद ज्योतिकुमार राईको अध्यक्षतामा भएको जनसमावेशलाई कवि सवीर दिलपालीले सञ्चालन गरेका थिए भने सभासद बिनय तामाङ, फुबी राई, बलराम छेत्री, आदिले पनि सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन