रुमाले राजनीति, खण्डित आवाजको कुरुपता र रुपान्तरणको अर्को बाटो

Girl in a jacket

सम्पादकीय


‘हिन्दुस्थान’ नामलाई चेतनामा काँटीले ठोकेर यसको सौन्दर्य फैलाइरहेका भाजपा समर्थित कट्टरपन्थीहरूले, धर्म, जाति, भाषाआदिलाई लिएर गरिरहेको सोकल्ड राष्ट्रवादी प्रदर्शनले उपान्तका सांस्कृतिक धरोहरहरूमा चोट पुऱ्याइरहेको समय हो यो। मुख्यगरी, अल्पसंख्यक, गैर हिन्दू, मुस्लिमहरूलाई ‘हिन्दुस्थानमा बस्यौ भने हिन्दू ‘झैँ’ बस’ भन्ने चेतको थ्रेट दिन अनेकौं चरित्र र शैलीमा काम गर्न मनोवैज्ञानिक दवाब उपार्जन गर्न देशभरि नै अनेकौँ अभ्यास चलिरहेको समय हो। मनोवैज्ञानिक दवाव कुन कुन भाषीहरूसम्म, कुन कुन धर्मसम्म, कुनकुन जातिसम्म छ, त्यसलाई यकिनसाथ अध्ययन गर्न अहिले नै सकिन्न। तर दवाबबोधीहरूले ठूलो चलखेलको प्रभावमा काम गरिहेकै छन्। हिन्दीभाषीहरूले व्यापारको, बजारको, संस्कारको, परम्पराको सवालमा बङ्गालमा समेत यो खाले प्रदर्शन ऐन मौकातिर गरिरहेकै छन्।

•••


पहाडको राजनीति अलिक बाङ्गो छ। यद्धपि नेताहरू यसैलाई सिधा छ, भनिरहेका छन्। केही अन्धोभक्त समर्थकहरू नेताले गरेको बाङ्गो कुराको पछिपछि सिधासित दौडिरहेका छन्। उनीहरूलाई लाग्छ, ‘सर’-ले भनेको कुरा बाङ्गो कसरी हुनसक्छ?

पहाडको अन्धोभक्त समाजको ‘मनोविज्ञान’ निर्माणमा यहाँका राजनैतिक दलहरूले खेलिरहेको ‘गेम’-माथि पनि राज्यसत्ता र केन्द्रिय सत्ताको ‘गेम’ छ। यो मात्थिलो गेम हो। मात्थिलो ‘गेम’-का खेलाडीहरूले तल्लो ‘गेम’-को निम्ति परिस्थिति तयार पार्छ। त्यो परिस्थिति भनेकै पहाडको सामाजिकता र मनोविज्ञान हो।

नत्र, गोर्खा जनमुक्ति मोर्चाले नगरपालिकामा ‘गोर्खाल्याण्ड’ किन घुसाऱ्यो?

साँच्ची नै मिरिकबाहेक मोर्चाको ‘गोर्खाल्याण्ड’ मन्त्रले राम्रो परिणाम दियो। यो परिणामले अधिकांश जनताको पुर्ख्यौली भावुकता जिउँदो रहेको प्रमाण दिन्छ।    ‘भावुकता’ जहिलेसुकै काम लाग्ने ‘टुल्स’ होइन। यसको आफ्नै आयाम र सान्दर्भिकता छ। यतिखेर मोर्चालाई त्यो ‘भावुकता’ समय सान्दर्भिक टुल्स थियो। विपक्षका नेता डा. हर्कबहादुर छेत्री, अशोक भट्टचार्यसमेतले यसलाई स्वीकार गऱ्यो। यो ‘टुल्स’ लाई समय सान्दर्भिक बनाउन मन्त्री इन्द्रनील सेन र चुनाउबेला पहाडका पसेका मन्त्रीहरूको ‘टुर’-ले काम गऱ्यो।

कोलकताका तृणमूल काङ्रग्रेस पोलिटव्युरोले दार्जीलिङको माइन्डसेटलाई अध्ययन गर्न सकिरहेको छैन। किन भने दार्जीलिङले केवल अङ्ग्रेज उपनिवेशले मात्र आफ्नो सभ्यता, विचारप्रणाली र सामाजिकता निर्माण गरेको होइन। चियाबारीका मालिकहरूको मुनाफाखोर वर्क डिजाइन, दुइवटा असफल आन्दोलन र असक्षम नेतृत्वको कमसल व्यक्तित्व, निरन्तर उँधोतिर झरिरहेको अर्थनीति, नीजि लघु उद्योगको खोज र भरपर्न नसकिने बजार प्रणाली, खेतीहरूमा आइरहेको ह्रास, झोडा ठेकेदारीको संस्कार, बौद्धिकहरूको अवसान, सयदिने रोजगारमाझैँ (योजनाहरूमा) ग्रामीणस्तरमा चल्ने राजनीति, घोटला र विक्षोप, पहाडका विपक्षहरूको अबौद्धिक ‘वाक आन्दोलन’-हरूको मिश्रित प्रभावले जुन समाजशास्त्र निर्माण गरेको छ, यसलाई पारम्परिक टुल्सले अध्ययन गर्न सकिँदैन।

नत्र, बोर्ड पनि चाहिने, जातिलाई हेप्ने राज्यको मनोवृत्तिको विरोध पनि गर्ने, मोर्चालाई मन पनि नपराउने तर टाडाको देवताभन्दा गाउँकै भूतलाई प्रेम पनि गर्ने, जत्ति नै संस्कारित राजनीतिको कुरा गरुन् (जन आन्दोलन पार्टी) तर टाडाको देवताको नजिक रहेर गाउँको भूतलाई गाली गर्ने बौद्धिकतालाई निषेध पनि गर्ने, राज्यको पार्टीलाई पहाडमा निषेध गर्न जतिनै कम्युन चरित्र ‘सो’ गरेपनि आखिर सैद्धान्तिक र राजनैतिकरूपमा असफल मोर्चालाई नै जिताउन स्वतन्त्र उम्मेदवारिता दिएर आफ्नो औकात प्रदर्शन गर्ने (क्रामाकपा) माइन्डसेटले पहाडमा किन काम गर्थ्यो?

गोर्खा जनमुक्ति मोर्चाको नगरपालिका बिजयले एउटै कुरा प्रमाणित गऱ्यो, अब ‘जातिक भावुकता’-को आयाम पारम्परिक रहेन। यसका विविध आयामहरू छन्, जसले समयानुसार आफ्नो शक्ति देखाउँछ।

यो शक्तिसित यसपाली केवल तृणमूल काङ्ग्रेस मात्र हारेन, बौद्धिकतालाई राजनैतिक कार्यव्यापारमा प्रयोग गर्ने जन आन्दोलन पार्टी पनि हाऱ्यो। क्रामाकपा झैं झिनामसिना पोष्टर क्रान्ति गरेर सङ्गठन बचाइँराख्ने पार्टीहरू त उहिल्यैदेखि हार्दै आइरहेको हो, सैद्धान्तिकरूपले पनि, क्षमताले पनि, नैतिकताले पनि।

नत्र, सीपीआइएमएलले गरेको कार्यक्रममा बाध्यात्मक बनाइने भनिएको बङ्गला भाषाको विरोध र छुट्टै राज्यको निम्ति नाराबाजी गर्दै त्यसलाई यसवर्षकै ठूलो एचिभ्मेन्ट मान्दै किन बस्थ्यो क्रामाकपा? आफै र आफ्नै दलीय कार्यक्रम तयार पारेर प्रभावकारी काम किन गर्न सक्दैन? भोट बाँडेर मोर्चालाई नै जिताउन किन स्वतन्त्र उम्मेदवारहरू उठाउँथ्यो क्रामाकपा?

नत्र युवा इकाईको दुरुपयोग गर्दै जन आन्दोलन पार्टीले युवाहरूलाई अनशनको नाटक किन गर्न लगाउँथ्यो?  समयानुकूल संस्कारको कुरा ओठमा राखेर चरित्रमा गारोमुमो र गोजमुमोकै आदर्श किन बोक्थ्यो जाप व्युरो/हरू? जति उसको क्षमता हो, त्योभन्दा बढ्ता रङपचौरा गरेर किन राख्थ्यो केन्द्रिय समितिमा नेता/हरू? किन केन्द्रिय समितिकै निर्देश मान्नुपर्ने पुरानै संस्कार च्यापेर युवाहरूले तमासा देखाउँथे त्रिकोण पार्कमा?

मार्क्सवादिक रोमान्टिसिज्मको तेल किन सकिँदैन आरबी राईहरूको दिमागमा र बलिबस्छ धिपधिप? हर्कबहादुर छेत्रीहरूको दिमागले किन भेटेन राज्यसत्ताको कुटनैतिक नेटवर्क र घरको न घाटको दलीय अस्तित्व राखिरहेछ काखमा? गोर्खालीग, गोर्खा राज्य निर्माण मोर्चा, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा, गोर्खा राष्ट्रीय काङ्ग्रेस, मार्क्सवादी कम्युनिष्ट पार्टी, भारतीय गोर्खा परिषद्जस्ता च्याउहरू किन सुक्छ हरेक हिउँदमा? र हरेक वर्खामा उम्रिन्छ मुद्दाबोकेर?

(अलिक परबाट हेर्दा दार्जीलिङ र कालेबुङ जिल्लाभित्र किन यत्रो अन्तरविरोध देखिन्छ?)

समाजको यो कुरुप सौन्दर्यभित्र प्रश्न र उत्तर दुवैका पारदर्शी आयामहरू लुकेका छन्, जसलाई कुनै पनि दलको नेताले अध्ययन गर्नुपर्छ भनेर सोचेकै छैन। उसलाई त यसरी सोच्नुपर्छ भन्नेबारे नै थाहा छैन। आफैलाई बुद्धिजीवी घोषणा गर्ने केही नेताहरू पनि छन्, जो राज्यको राजनैतिक परिस्थिति र सम्भावनाहरूबाट आफू हिँड्ने बाटो खन्छन्।

यी मौकाखोरहरूको बजार त उहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहनेछ।

नेतृत्वमा अध्ययनको संस्कार त छैन छैन, फेरिँदै गइरहेको समाजको सौन्दर्य बुझ्ने चेतना पनि छैन, समाजका अन्तरविरोधहरूको अध्ययन गर्नुपर्छ भन्ने बौद्धिक समाज पनि छैन।

यसमा बाँचेको भनेको त्यही ‘जातिक भावुकता’ एउटै मात्र ‘टुल्स’ हो। यसपालिको नगरपालिकाको चुनाउमा त्यही ‘टुल्स’ मोर्चा फ्रेण्ड्ली थियो।

यसको अर्थ के हो भने सबै त्यो विविध आयामका ‘जातिक भावुकता’-को शक्ति र यसले तयार पारेको राजनैतिक मनोविज्ञानसित लड्ने क्षमता कुनै दलसित छैन। त्यो क्षमता छैन, जसले कमिशनको राजनैतिक सोच बद्लोस्। त्यो क्षमता छैन जसले ‘पैसा’-ले आन्दोलित हुने ‘मास’-लाई इमान्दार सङ्घर्षमा उतारोस्। त्यो क्षमता छैन, जसले नक्कली र सकल्ली आन्दोलन र नेतृत्व चुन्न सक्ने चेतना तयार पार्न सकोस्।

जो नेतृत्व छ, उसैको हातमा रगत छ। उसैले अहिंसाको नारा लगाइरहेछ। उसैले ‘परिवर्तन’-जस्तो समाजवैज्ञानिक सैद्धान्तिकीलाई आफ्नो स्वार्थमा फिट गरिरहेको छ। यस्तोमा उनै ‘हाम्रो कुरा जनताले बुझेन’ भन्दै रोइरहेछ। जनतालाई गाली गरिरहेको छ।

वास्तवमा पहाडका जम्मै पक्ष-विपक्षका दलहरू आफै पनि आफ्नै आयामका भावुकतामा कैद छन्। पहाडका जम्मै बौद्धिकहरू ओठ सिलाएर बस्ने र समाजमा ‘हिप्रोक्रेट बौद्धिकता’-को खेती गर्न बाध्य छन्। वास्तवमा उनीहरू आफ्नै विवेकसित डराइरहेका छन्। आफ्नै कमजोरीसित डराइरहेका छन्। आफ्नै मुखौटासित डराइरहेका छन्। आफ्नै चेतनासित डराइरहेका छन्, आफ्नै राजनीतिसित डराइरहेका छन्।

यो डराउनुपर्ने सामाजिक मनोविज्ञान कसले निर्माण गरिरहको छ? हो, यसरी प्रश्न गर्ने संस्कार आफै पनि प्रश्नदेखि डराइरहेको छ।

नत्र, सचेतहरू, विभिन्न सङ्घसंस्था, दलहरू, साहित्यिक संस्था, नागरिक समाज बङ्गला भाषालाई बाध्यात्मक गर्ने सत्ताको अभ्यासविरुद्ध किन गोलबद्ध हुन सक्दैन?

‘बाध्य’ गर्ने सत्ताको कुटनीतिका अरू आयामबारे बहस गर्ने अनिवार्यताबोध किन कसैले गर्न सकिरहेका छैनन्? उनीहरूको ‘बोध’ गर्ने डिस्कमा कुन भाइरस पसेको छ?

 

‘हिन्दुस्थान’ नामलाई चेतनामा काँटीले ठोकेर यसको सौन्दर्य फैलाइरहेका भाजपा समर्थित कट्टरपन्थीहरूले, धर्म, जाति, भाषाआदिलाई लिएर गरिरहेको सोकल्ड राष्ट्रवादी प्रदर्शनले उपान्तका सांस्कृतिक धरोहरहरूमा चोट पुऱ्याइरहेको समय हो यो। मुख्यगरी, अल्पसंख्यक, गैर हिन्दू, मुस्लिमहरूलाई ‘हिन्दुस्थानमा बस्यौ भने हिन्दू ‘झैँ’ बस’ भन्ने चेतको थ्रेट दिन अनेकौं चरित्र र शैलीमा काम गर्न मनोवैज्ञानिक दवाब उपार्जन गर्न देशभरि नै अनेकौँ अभ्यास चलिरहेको समय हो। मनोवैज्ञानिक दवाव कुन कुन भाषीहरूसम्म, कुन कुन धर्मसम्म, कुनकुन जातिसम्म छ, त्यसलाई यकिनसाथ अध्ययन गर्न अहिले नै सकिन्न। तर दवाबबोधीहरूले ठूलो चलखेलको प्रभावमा काम गरिहेकै छन्। हिन्दीभाषीहरूले व्यापारको, बजारको, संस्कारको, परम्पराको सवालमा बङ्गालमा समेत यो खाले प्रदर्शन ऐन मौकातिर गरिरहेकै छन्।

ममता व्यानर्जीले आफ्नो राज्यमा बङ्गलालाई विद्यालयमा बाध्यात्मक गर्नुको पछिल्तिर के कस्ता कारकहरू होलान्? यस निर्णयले राज्यका अन्यभाषीहरूको भाषिक पहिचानको सवाललाई कहाँ कहाँ कसरी कसरी चोट पुऱ्याउँछ, यसबारे विमर्श भइरहेकै छैन।

यद्धपि, यतिखेर दार्जीलिङ पहाडमा शिक्षामन्त्रीको घोषणाको प्रतिरोधमा आवाज उठेको छ। आवाज त उठ्यो तर खण्डित आवाज। टापु टापु आवाज। टुक्रा टुक्रा आवाज। फेरि पनि आवाजसमेतलाई राजनीतिकरण गर्दै, गुटगत् गर्दै ‘हामी त बोलिरहेका छौँ त’ भन्ने सोमेनसिप देखाउनेहरूले नै मौका पाइरहेको छ।

आखिर यो रुमाले चरित्रले पुऱ्याउने कता हो?

सम्पूर्ण गोर्खाहरूको छाता सङ्गठन-भन्ने हिप्पोक्रेटहरूलाई यतिखेर कसरी निद्रा परिरहेको छ? के साँच्चै ‘बङ्गला बाध्यात्मक’ भन्ने हल्ला गम्भीर समस्या नै हो?

यदि यसको जवाब ‘हो’ हो भने कुनै न कुनै दल, संस्था, व्यक्ति, बुद्धिजीवी, सचेतले समग्र आवाजलाई एउटै मञ्चमा ल्याउन अनिवार्य छ। त्यो गोलबद्ध आवाज नै दार्जीलिङ पहाडको शक्ति हो।

यो शक्तिलाई सांस्कृतिक, राजनैतिक, सामाजिक रुपान्तरणको लागि अभ्यासमा नल्याइएसम्म उठिरहेको आवाजको अर्थ छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया