लछेप्रै चुनौतीबीच बने डीके प्रधान अध्यक्ष

खबरम्यागजिन, दार्जीलिङ, 29 मई।


शपथ ग्रहण गर्दै मोर्चा पार्षदहरू

दार्जीलिङ नगरपालिकाका अध्यक्ष बने डीके प्रधान, तर उपाध्यक्ष पदको अन्यौलता अझै जारी छ। डीके प्रधानले दार्जीलिङ नगरपालिका प्रमुख पदको जिम्मा लिनसाथ उनको काँधमा गत नगरपालिका बोर्डले छोड़िराखेको 216 करोड़ रुपियाँभन्दा अधिक मूल्यका विभिन्न परियोजना निर्माणको जिम्मा पनि आएको छ। गत वर्षको 20 दिसम्बरको दिन दार्जीलिङ नगरपालिकाको पूर्व बोर्डले दार्जीलिङका महकुमा अधिकारीमाथि छोड़िराखेका सम्पूर्ण दायित्व आज पुनः महकुमा अधिकारीका हातबाट डीके प्रधानले लिए।

जसमा पूर्व नगराध्यक्ष अमरसिंह राईले शिलान्यास गरिराखेका दार्जीलिङका विभिन्न वार्डमा नयाँ सार्वजनिक भवन निर्माण, मरम्मति, दार्जीलिङ जिल्ला अस्पतालको सुन्दरीकरण र मरम्मति, गड्डीखानस्थित वाटर वर्क्स विभाग अधीनस्थ कार्यालय अनि स्टोर रूमको निर्माण, बायो ग्यास प्लान्ट निर्माणका साथै 205 करोड़को जल परियोजनाका कार्यहरु सामेल छन्। सन् 2012-मा दार्जीलिङ नगरपालिकामा गोजमुमोको बोर्ड गठन भएपछि गत वर्ष केन्द्र सरकारको अम्रुत परियोजनाअनुसार, दार्जीलिङ नगरपालिका क्षेत्रको लागि 205 करोड़ रुपियाँ लागतको पानीको लागि आर्थिक सहयोग ल्याउने सफलता पाएको थियो।

जसअन्तर्गत प्रथमतः पानीको पाइपलाइन बिछ्याउने कार्य हुनपर्नेछ भने चरणवद्ध ढङ्गमा अन्य कार्यहरु पनि हुने योजना छ। यस परियोजनामा दार्जीलिङ नगरपालिका क्षेत्रका 32 वटा वार्डको लागि 32 वटै पानीको ट्याङ्क, पम्पिङ हाउसको निर्माण गर्ने आदि योजनाहरु पनि छन्। यस परियोजनाअन्तर्गत अहिले केवल पाइप किन्नको लागि मात्रै आर्थिक राशि उपलब्ध भएको छ। तर यसको लागि नगरपालिकाले तीन-चारपल्ट टेण्डर जारी गरे पनि यस टेण्डरमाथि कुनै पनि कम्पनीले चासो नदेखाएको स्पष्ट छ।

यसरीनै सन् 1850-मा स्थापना भएको दार्जीलिङ नगरपालिकामा गोजमुमोको बोर्ड गठन हुँदा यसको वार्षिक आय केवल 32 प्रतिशत मात्रै थियो, तर 5 वर्षको कार्यकालमा पुरानो बोर्डले नगरपालिकाको आयलाई 58 प्रतिशतसम्म बढ़ाउने कार्य गरेको थियो। अब यसको आय दरमा बढ़ोत्तरी गर्ने पनि नयाँ नगरपालिका बोर्डमाथि दायित्व थपिएको छ, किनभने गोजमुमोले दार्जीलिङ शहरलाई शिमला अनि शिलाङ जस्तै स्मार्ट सिटीको दर्जा दिलाउन केन्द्र सरकारसित अघिबाटै कुरा गरिसकेको छ। तर दार्जीलिङ शहरलाई स्मार्ट सिटीको दर्जा दिलाउन कुराकानी र सरकारसित असल मित्रता मात्रै पर्याप्य हुनेछैन। यसैले दार्जीलिङलाई केन्द्रको स्मार्ट सिटी योजनामा अन्तर्भुक्त गर्न नगरपालिकाको ट्याक्स संग्रह 90 प्रतिशतसम्म बढ़ाउनुपर्नेछ भने सप्ताहमा 7 दिननै 24 घण्टा जनतालाई पानी उपलब्ध गराउनुपर्नेछ।

किनभने, स्मार्ट सिटीको लागि यी शर्तहरु पूर्ण गर्न अनिवार्य छ। यी शर्तहरु पूर्ण गर्न नसकेको फलस्वरूपनै दार्जीलिङ नगरपालिकाको पुरानो बोर्ड यस शहरलाई स्मार्ट सिटीको दर्जा दिलाउन विफल बनेको थियो। आज यहाँको नगरपालिका कन्फरेन्स हलमा दार्जीलिङका महकुमा अधिकारीको उपस्थितिमा प्रथमतः नगरपालिकाका सम्पूर्ण निर्वाचित सदस्यहरूलाई पद अनि गोपनियताको शपथ ग्रहण गराइएपछि नगरपार्षदहरुले डीके प्रधानलाई नगरपालिका अध्यक्षका रूपमा चयन गरे।

यसपछि महकुमा अधिकारीले नगरपालिका अध्यक्षलाई अध्यक्ष पदको शपथ ग्रहण गराए। यसपछि पत्रकारहरुसित कुराकानी गर्दै नगरपालिका अध्यक्ष डीके प्रधानले दार्जीलिङ नगरपालिकालाई सुचारूरूपले सञ्चालन गर्न कठोर चुनौती रहेको स्वीकार ुगर्दै दार्जीलिङमा पानीको समस्या समधान गर्ने विषयलाई प्राथमिकता दिएको पनि बताए। उनले भने-दार्जीलिङको सुन्दरीकरण, विकास, मैला व्यवस्थापन साथै जनतालाई पूर्ण सुविधा उपलब्ध गराउनको लागि नगरपालिकाले जीटीए र पुलिस प्रशासनको सहयोग लिएर कार्य गर्नेछ। यसका साथै उनले आगामी केही दिनभित्र नगरपालिका उपाध्यक्षको चयन साथै चेयरमेन इन् काउन्सिलको गठन गरिने तय गरिएको पनि बताए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन