गोर्खाल्याण्ड नपाइ उठ्यो अनशन, हर्कबहादुर छेत्रीले पहिलोपल्ट उच्चारण गरे- ‘जय गोर्खाल्याण्ड’

खबरम्यागगजिन प्रतिनिधि

कालेबुङ, 29 मई 2017


विमल गुरूङलाई गोर्खाल्याण्ड माग्दै गरेको जन आन्दोलन पार्टीको युवा एकाईँको अनशन गोर्खाल्याण्ड नपाई उठाएको छ। जबसम्म विमल गुरूङलाई पठाइको जवाब आउँदैन तबसम्म नउठ्ने भनिएको अनशन अचानक उठ्यो। खबरम्यागजिनलाई आज 12 बजीतिर युवा एकाईका प्रमुख पङ्कज छेत्रीले भनेका थिए, ‘अनशनकारीहरूको स्वास्थ्य बिग्रिँदैछ तर हामी अनशन उठाउने छैनौँ।’

तर उनले यसो भने दुइघन्टा पनि बित्न नपाई अचानक अनशन उठेको देखियो। ‘जाप आफैले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा भएपछि विमल गुरूङलाई दवाब दिइरहनुको अर्थ रहेन,’  उठेको अनशनबारे बोल्दै पङ्कज छेत्रीले भने, ‘हामीले जति सक्थ्यौं, त्यो गरिरहेकै छौँ। अबको उर्जा जापले गर्ने आन्दोलनलाई दिनेछौँ।’

जन आन्दोलन पार्टीको अध्यक्ष भएदेखि यता आज डा. हर्कबहादुर छेत्रीले पहिलोपल्ट गोर्खाल्याण्डको नाम लिएर सबैलाई अचम्भित तुल्याएका छन्। पार्टीको नाम अघि गोर्खा नराखेको सन्दर्भमा अनेकौँ तर्क दिने डा. हर्कलाई निक्कै निरुत्साहित देखिन्थ्यो।

स्मरण रहोस्, जन आन्दोलन पार्टीका कुनै व्युरो सदस्यले ‘गोर्खाल्याण्ड’-मुद्दानामलाई सम्बोधन गरेका थिएनन्। उनीहरूले गोर्खाल्याण्ड-को साटो छुट्टैराज्य भन्ने गरेका थिए। डा. छेत्रीले अनेकौं अन्तर्वार्ता अनि आफ्नै लेखहरूमा पनि किन जन आन्दोलन पार्टीले ‘गोर्खा’ र ‘गोर्खाल्याण्ड’ भन्दैन भन्नेबारे अनेकौं वकालत गरिसकेका छन्। उनले ‘गोर्खा’ र ‘गोर्खाल्याण्ड’ दुवै शब्द-को राजनैतिक व्यापार चलिरहेकोले आफूहरूले गोर्खा र गोर्खाल्याण्ड नभनेको बताउँदै आइरहेका थिए।

‘हामीले छुट्टैराज्यभन्दा जनताले बुझेनन्,’ त्रिकोण पार्कबाट डा. छेत्रीले आज भने, ‘त्यसै कारण आजदेखि हामी गोर्खाल्याण्ड भन्नेछौँ।’ उनले आफ्नो सम्बोधन सकेर पहिलोपल्ट ‘जय जाप, जय गोर्खाल्याण्ड’ भने।

उनले केवल गोर्खाल्याण्ड मुद्दानाममात्र काडेनन्, उप्रान्त जापसित केवल ‘वान पोइन्ट मुद्दा-गोर्खाल्याण्ड’-मात्र हुने घोषणा पनि गरे।

3 जुनदेखि जापको सर्वोच्च निति निर्धारण समितिले छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको खाका तयार पार्नेछ। ‘हामी पहाडको जनतालाई दुःख दिनेछैनौँ,’ डा. छेत्रीले भने, ‘हामी हाम्रो आन्दोलनलाई बौद्धिकस्तरमा अघि लानेछौँ।’

डा. छेत्रीले विमल गुरुङले गोर्खाल्याण्डको निम्ति केही नगरेकोले उनीबाट उत्तरको अपेक्षा गर्नु बेकार रहेको भन्दै अनशनकारीहरूलाई जुश पिलाएर अनशन तोडाए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया