दार्जीलिङलाई जोड्ने पुल बनाउन सिक्किम सरकारले गऱ्यो २४४४.०८ लाख रुपियाँ अनुमोदन

खबरम्यागजिन प्रतिनिधि

गान्तोक, 29 मई 2017


सिक्किम र दार्जीलिङका जनताको बहुप्रतीक्षित मागप्रति सिक्किम सरकारले महत्वपूर्ण निर्णय लिएको छ। आज साँझ सम्मान भवनमा बसेको राज्य मन्त्रीमण्डलको सभाले पश्‍चिम सिक्किमको सोमवारेदेखि दार्जीलिङ जिल्लालाई जोड्ने राम्माम खोलामाथि पुल बनाउने निर्णय लिँदै २४४४.०८ लाख रुपियाँ अनुमोदन गरेको छ। पुल सँगसँगै  सिक्किमतिर सड़कको बढ़ोत्तरी, कार्पेटिङ र नाली निर्माणको कार्य पनि गरिने।

मन्त्रीमण्डलको बैठकले विभिन्न विभागअन्तर्गत ७३ वटा प्रस्तावलाई पनि अनुमोदन गरेको छ। यी अनुमोदित योजनाहरूको कुल राशि २,००० करोड़भन्दा अधिक रहेको छ। आगामी ४ जूनदेखि राज्यका चारै जिल्लामा सम्पन्न हुने जनता मेलालाई ध्यानमा राखेर मन्त्रीमण्डलको बैठकले विभिन्न आर्थिक अनुमोदन गरेको छ।  राज्य सरकारको धर्म विभागअन्तर्गत गुम्बा विद्यालय र संस्कृत विद्यालयमा नयाँ शिक्षक नियुक्तिको निम्ति ११० वटा पदको सिर्जना गर्दै यसलाई स्वीकृति प्रदान गरिएको छ।  यसमा वित्तीय वर्ष २०१७-१८ को पहिलो चरणमा २१ पदको भरण हुनेछ।

पञ्चायती राज विभागअन्तर्गत सिक्किम पञ्चायती राज विकास सेवा अधिनियम २०१७ को निम्ति ४५ वटा पद र सिक्किम सहायक पञ्चायती राज विकास सेवाको निम्ति १७६ वटा पद सिर्जना गरिएको छ।  मन्त्रीमण्डलको बैठकले सामाजिक न्याय, सशक्तिकरण तथा कल्याण विभागमा पनि १४ वटा नयाँ पद सिर्जना गर्दै त्यसलाई मञ्जुरी दिएको छ। सड़क तथा पुल विभागका महत्वपूर्ण प्रस्तावहरूलाई  मन्त्रीमण्डलको बैठकले अनुमोदन गरेको छ।  बैठकले राज्यको सड़क सम्पर्कलाई उत्तम बनाउने योजनालाई पनि स्वीकृति दिएको छ, जसमा गान्तोक-रूम्तेक-साङ सड़क खण्डको बढ़ोत्तरी र गुणस्तर बढ़ाउने आर्थिक व्यवस्था गरिएको छ।

विद्युत् तथा ऊर्जा विभागअन्तर्गत सिक्किम विधानसभा परिसरमा सुरक्षा र निगरानी व्यवस्थालाई सुदृढ़ बनाउन १९५.९६ लाख रुपियाँको आर्थिक अनुमोदनलाई मञ्जुरी दिइएको छ। राज्यमा सौर्य ऊर्जालाई बढ़ावा दिने योजनालाई पनि सरकारले धनराशि प्रदान गरेको छ भने जल आपूर्ति तथा जनस्वास्थ्य अभियान्तिकी विभागअन्तर्गत रम्फू र रिनाकमा पिउने पानीको समस्या समाधान गर्न धनराशिलाई मञ्जुरी दिइएको छ। दक्षिण सिक्किममा व्याप्त पिउने पानीको संकटलाई ध्यानमा राखेर रङ्गीत खोलामाथि बहुस्तरीय पम्पिङ व्यवस्था सुदृढ़ गर्न ३०० लाख रुपियाँ आवण्टित गरिएको छ।

यसैगरी, पर्यटन विभागअन्तर्गत लाचेन बजारको सुन्दरीकरण तथा बढ़ोत्तरीको निम्ति ३८८.९० लाख रुपियाँ अनुमोदन गरिएको छ।  शिक्षा ऋणको निम्ति दुई करोड़ रुपियाँ अनुमोदित गरिएको छ भने पशुपालन विभागअन्तर्गत उत्तर सिक्किमको कबि-लुङ्चोक निर्वाचन क्षेत्रमा मात्र २०० वटा दुधालु गाई वितरण गर्न एक करोड़ रुपियाँ अनुमोदित गरिएको छ।

मानव संसाधन विभागअन्तर्गत आरिथाङस्थित सीएस राई निम्न माध्यमिक विद्यालयको पुनर्निर्माणको निम्ति जमिनको क्षतिपूरणका लागि ९७,११,११२ रुपियॉं अनुमोदित गरेको छ। सरकारले राज्यका विभिन्न विभागले राखेका प्रस्तावहरूलाई पनि तत्कालीन आवश्यकता अनुसार अनुमोदन गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया