बङ्गला भाषालाई बाध्यात्मक गर्ने षडयन्त्र विरुद्ध जीटीएले प्रस्ताव ल्यावोस्-डा. हर्क

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 29 मई 2017


जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले गोर्खा जनमुक्ति मोर्चालाई नाटक गर्ने पार्टीको संज्ञा दिएका छन्। त्रिकोण पार्कको अनशनलाई सम्बोधन गर्दै बङ्गाल सरकारले बङ्गला भाषालाई बाध्यात्मक गर्ने कृत्यको विरोधमा पनि मोर्चाले नाटक नै गरिरहेको आरोप लगाए।

‘गोर्खाल्याण्डको निम्ति त मोर्चाले नाटक गऱ्योगऱ्यो भाषाबारेको विरोधमा पनि नाटक गरिरहेको छ,’ उनले भने, ‘मोर्चासित जीटीए छ, जीटीएमा बङ्गला भाषालाई विद्यालयहरूमा बाध्यात्मक गर्ने निर्णयको विरुद्धमा प्रस्ताव ल्याएर पठाएको खै?’

उनले मोर्चा सडकमा नै उत्रन नपर्ने अनि केवल जीटीएमा यो प्रस्ताव ल्याए ड्युटी सकिने बताए।

‘मोर्चाका एमएलएहरू यतिखेर के गर्दैछन्, विधानपालिकामा सेसन चलिरहेको छ, समय माग र भाषाको समस्याबारे कुरा उठाऊ, गर्नुपर्ने ठाउँमा किन काम गरेको छैन,’ उनले अझ भने, ‘सासंदको काम कतिबेला आउँछ? उनलाई पनि राज्यलाई लेख्न लगाउ, तर मोर्चा गम्भीर छैन, भएको भए गर्नुपर्ने ठाउँमा काम गरिसक्ने थियो।’

उनले जापले बङ्गालको यो दुर्भावना र कुटनीतिको डटेर विरोध गर्ने अनि 3 जुनदेखि पार्टीको बैठक गरेर कार्यक्रम तयार पार्ने पनि बताए। ‘मोर्चालाई मेरो प्रश्न छ’, छेत्रीले सोधे, ‘जीटीएको कामकाजी भाषा के हो? कुन भाषामा राज्य र केन्द्रसित कागजपत्र गर्दैछ? यहींनेर मोर्चाको भाषाप्रेम स्पष्ट हुन्छ।’

उनले मोर्चाले नेपाली भाषालाई जीटीएमा कामकाजी भाषाकोरूपमा चलाए धेरैवटा रोजगारको अवसर खुल्ने तर मोर्चा यसमा संवेदनसील नरहेको आरोप लगाए।

मोर्चामसित डराउँछ

डा. छेत्रीले मोर्चाले त्रिपक्षीय बैठकमा नै गोर्खाल्याण्ड छोडेको आरोप लगाएका छन्। ‘4 वार्तासम्म गोर्खाल्याण्डको आवाज उठेको हो,’  उनले भने, ‘तर त्यसयताका 7 वटा वार्तामा गोर्खाल्याण्डको ‘ग’ पनि उच्चारण गरेन। 11 औं बैठकमा के के भयो, त्यसको कारज मसित छ, यसकारण मोर्चा मसित डराउँछ।’

11 औं वार्तामा केन्द्रले मोर्चालाई 2011 को चुनाउबाट मान्डेट लिएर आउने अनि आएपछि फाइनल सेटलमेन्टको कुरा गर्ने बताएको तर मोर्चाले आफ्ना प्रतिनिधिहरू नपठाएको कारण  नै गोर्खाल्याण्ड छोडिएको खुलासा पनि गरे। दुइवर्षको लागि भनेर गोर्खाल्याण्ड टेरिटोरी अटोनोमस चलाउनु दिएको र पछिबाट चुडान्त सम्झौता हुने भने पनि मोर्चाकै असंवेदनशीलताको कारण सम्झौता नभएको पनि उनले जनाए।

‘म, अनमोल प्रसाद, एलबी परियार, रोशन गिरी, विनय तामाङलाई केन्द्रिय गृहमन्त्री मधुकर गुप्तले अर्को विशेषज्ञस्तरको बैठकमा विशेषज्ञहरू पठाउनु भनेका थिए,’ छेत्रीले वास्तविकता खोले, ‘तर मोर्चाले विशेषज्ञ पठाएन। केन्द्रले भने जेनरल मदान पठाए। मदानसित हाम्रा विशेषज्ञहरू बस्नुपर्नेमा रोशन र विनय बसे अनि गोर्खाल्याण्डको च्याप्टर टुङ्गाए।’

यसरी गोर्खाल्याण्ड छोड्ने मोर्चाले जाप युवा एकाईले मागेको जवाब दिनै सक्दैन भन्दै उप्रान्त आफै आन्दोलन गर्ने बताउँदै उनशन उठाउने आग्रह गरे।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया