कालेबुङमा नगरपालिका बोर्ड गठन, घोषणापत्रलाई व्यावहारिकतामा ल्याइने

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ 30 मई 2017


शपथनामा पढ्दै अध्यक्ष-उपाध्यक्ष
उपस्थिति मोर्चा पार्षदहरू
शपथग्रहण पछि पार्षदहरू

महकुमा अधिकारी निर्मलय घरामीले गोर्खा जनमुक्ति मोर्चाका नगरपालिका विजयी उम्मेदवारहरूलाई नगरपालिका कार्यालयमा नै शपथ ग्रहण गराए। शपथग्रहणमा तृणमूल काङ्ग्रेसका पार्षदहरू अनुपस्थिति थिए भने जन आन्दोलन पार्टीका पार्षदहरूको भने उपस्थिति थियो।

मोर्चा पार्षदहरूले आज बोर्ड गठन गर्दै चुनाउ घोषणापत्रमा उल्लेख विकास कार्यलाई अक्षरस पालन गर्ने बताए। नगराध्यक्ष शुभ प्रधानले नगरको विकास नै प्रमुख कर्तव्य रहेको बताए। यता जापका पार्षदहरूले पनि बोर्डलाई सहयोग गर्ने बताएका छन्।

गोर्खा जनमुक्ति मोर्चाले नगर विकासको निम्ति  २५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको थियो। जसको एक नम्बरमा  शहरको पिउने पानीको समस्या समाधान गर्ने उल्लेख गरेको छ। यस अन्तर्गत नेउराबाट थप पिउने पानी ल्याउने, वितरण प्रणालीमा सुधार ल्याउने साथै रेली खोलाको पानी पम्प गरेर ल्याउने बताइएको छ।

कालेबुङमा रहेको ट्राफिक जामको समस्या समाधान गर्न साथै गाडी पार्किङको समस्या सुल्झाउन नोभेल्टी हल छेउमा निर्माणाधिन रहेको बहुतले पार्किङ बिल्डिङ यथाशीघ्र पूरा गर्ने कुरालाई घोषणा पत्रमा दोस्रो प्राथमिकता दिएको छ। शहरमा जनसाधारणको निम्ति फ्लाइओभर निर्माण गर्ने, डम्पिङ ग्राउण्डलाई अझ क्षमतावान बनाउने, सर्वसाधारण अनि पर्यटकको निम्ति  वाईफाई सुविधा प्रदान गर्ने, जमीनको मालिकना हक नभएका नगरपालिका क्षेत्रका मानिसहरूलाई उक्त हक प्रदान गरिने, साहित्य-संस्कृति-कलाको सम्बर्द्धन गर्न प्रतिष्ठान निर्माण गर्ने आदि कुराहरू घोषणा पत्रमा अन्तर्भुक्त गरिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया