1 र 2 जून सम्पूर्ण स्कूल बन्द, 4-देखि 8 जून विरोध जुलूस

विमलले गर्नेछन् जुलूसको अगुवाई, पाखुरामा कालो पट्टी लगाउने


मोहन लामा

दार्जीलिङ, 30 मई।


बङ्गला भाषा अनिवार्य गराउने राज्य सरकारको प्रस्तावको विरोधमा आगामी 1 र 2 जून पहाड़का सम्पूर्ण शैक्षिक संस्थान बन्द हुने भए भने मुख्यमन्त्री ममता व्यानर्जीको दार्जीलिङ भ्रमणकै क्रममा पहाड़, तराई अनि डुवर्सभरि विरोध जुलूस पनि निकालिने भयो। यति मात्रै होइन, मुख्यमन्त्री व्यानर्जीको जुन दिनसम्म दार्जीलिङमा बस्ने अनि दार्जीलिङमानै राज्यको क्याविनेट मन्त्री मण्डलको बैठक गर्ने कार्यक्रम छ, त्यस दिनसम्मनै दार्जीलिङमा गोजमुमो अध्यक्ष विमल गुरूङको अगुवाईमा विरोध जुलूस निकालिने आज भएको बैठकले प्रस्ताव पारित गरेको छ। आज गोजमुमो केन्द्रिय समितिको आह्वानमा यहाँको गोर्खा रङ्गमञ्च भवनमा बंगला भाषा बाध्यता अध्ययन एवं नेपाली भाषामाथि अतिक्रमणमाथि एक समीक्षा सभा भएको थियो।

जसमा दार्जीलिङका आईसीएसई, सीबीएसई, माध्यमिक विद्यालयका शिक्षक-शिक्षिका वा शैक्षिक संस्था प्रमुखहरुका साथै नेपाली साहित्य सम्मेलन, गोर्खा दुःख निवारक सम्मेलन, हिल कलेज प्रोफेसर एसोसिएशन, जीपीटीओ, जेएसटीओ, क्रिश्‍चियन माइनोरिटी स्कूलका प्रमुखलगायत एसएसके, एमएसकेका प्रतिनिधिहरु पनि उपस्थित थिए। यी सम्पूर्णले प्रथम श्रेणीदेखि 10औं श्रेणीसम्म बंगला भाषा अनिवार्य गर्ने प्रस्तावको कठोर शब्दमा विरोध गर्दै आवश्यक परे उनीहरु सड़कमा ओर्लिन तयार रहेको पनि प्रतिवद्धता जाहेर गरे।

यसै कार्यक्रमलाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विमल गुरूङले आगामी 1 र 2 जूनका दिन दार्जीलिङ पहाड़का सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द गर्ने घोषणा गरे भने 4 जूनदेखि 8 जूनसम्म लगातार घूम रेलवे स्टेशनदेखि दार्जीलिङसम्म अनि कालेबुङ, खरसाङ, मिरिकका साथै तराई-डुवर्समा पनि विरोध जुलूस निकाल्ने शङ्खघोष गरे। उनले भने-यदि बंगाल सरकारले दार्जीलिङ पहाड़मा पनि बंगला भाषा पढ़ाउन चाहन्छ भने ठीकै छ, तर विद्यालयहरुमा छुट्टी भएपछि ट्यूशन लगाएर यो भाषा पठन-पाठन गराउन सक्छ अनि यसको लागि इच्छा हुने विद्यार्थीहरुले स्वेच्छाले बंगला भाषा अध्ययन गर्न सक्छन्। तर जबर्जस्ती थोप्ने कार्य गर्छ भने यसको गोजमुमोले कठोर विरोध गर्नेछ। चाहे यसको लागि हामी मर्न पनि तयार छौं।

आफ्नो इच्छाले कसैले पनि कुनै पनि भाषा सिक्न सक्छ, तर कुनै पनि भाषा कोचार्ने कार्य हुन्छ भने ब्लो भेट्छ, यो स्पष्ट छ। राजनीतिमा एउटा पार्टीले अर्को पार्टीको खोइरो खन्ने कार्य गर्छ, राजनीतिमा यस्तो हुन्छ। तर राजनीतिको रिसले कुनै पनि जातिलाई मास्ने षड़्यन्त्र गर्नु हुँदैन। यदि गोर्खा जातिलाई मास्नको लागि  यस जातिको भाषामाथिनै अतिक्रमण गर्ने कार्य हुन्छ भने यसलाई गोजमुमो मात्रै होइन, गोर्खा जातिलेनै सहनेछैन। यसैले आज यस सभामा विभिन्न शैक्षिक संस्थान, सामाजिक संस्थानका प्रतिनिधिहरु उपस्थित भएका छन्। उनले अझै अघि भने-गोजमुमोको यो विरोध प्रदर्शन आगोको झिल्का मात्रै हो, यदि राज्य सरकारले आफ्नो निर्णय फिर्ता नलिए यो झिल्काले कस्तो रूप लिन्छ, त्यसको परिणाम राज्य सरकार आफैले भोग्नुपर्छ।

उनले दार्जीलिङ पहाड़का सम्पूर्ण राजनैतिक पार्टीहरुलाई आह्वान गर्दै भने-बङ्गला भाषा थोप्ने कार्य केवल गोजमुमोमाथि परेको आघात मात्रै होइन, यो सम्पूर्ण गोर्खा जातिमाथि परेको समस्या हो। यसको विरोधमा आगामी 4 देखि 8 जूनसम्म निकालिने विरोध प्रदर्शनमा पहाड़का सम्पूर्ण राजनैतिक पार्टीहरुले पनि आ-आफ्नै झण्डा लिएर भाग लिन सक्नेछन्। उनले भने-दार्जीलिङ पहाड़मा गोजमुमो, हिल तृणमूल कङ्ग्रेस, गोर्खालीग, गोरामुमो, क्रामाकपा आदि पार्टीहरु छन् अनि सबै पार्टीको आ-आफ्नै झण्डा पनि छ। अब आगामी 4 जूनदेखि हाम्रो झण्डा अलग-अलग भए पनि जाति र भाषा संरक्षणको लागि हामी एक हौं र एक हुनेछौं भन्ने सन्देश दिनुपर्छ।

चाहे परिणाम जे सुकै होस्, तर भाषा र जातिलाई बँचाउनको लागि हामी एक हुनपर्छ। यसैबीच, उनले आफूले जातीय टोपी बेचेर भात खान नसकेको व्यङ्ग्य कस्दै बङ्गला भाषा थोप्ने राज्य सरकारको निर्णयको विरोधमा पहाड़का प्रत्येक गल्ली, खाँबो आदिमा पनि 1 जूनदेखिनै कालो झण्डा लगाउने जनतासमक्ष अपील गरे भने 4 जूनदेखि निकालिने जुलूसमा पनि सबैलाई आ-आफ्नो पाखुरामा कालो पट्टी बाँध्ने पनि आह्वान गरे।

उनले यस समीक्षा सभामा उपस्थित साहित्यिकवर्गलाई सम्बोधन गर्दै अघि भने-यहाँ पढ़ेर परिपक्व हुनेहरु आएका छन् अनि म परेर परिपक्व भएको छु। हामी पढ़ेर र परेर परिपक्व हुनेहरु मिलेर अघि बढ़े हाम्रो सङ्घर्ष अवश्यै सफल हुनेछ। यसैबीच, उनले आगामी 4 जूनको बिहान 10 बजी दार्जीलिङका प्रत्येक जनता, पार्टीका समर्थकहरुलाई पाखुरामा कालो पट्टी बाँधेर घूम रेलवे स्टेशनमा भेला हुने पनि आह्वान गरे, जहाँबाट उनकै अगुवाईमा विरोध जुलूस शुरू हुनेछ। स्मरण गराइन्छ, आगामी 4 जूनको दिन राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको मिरिक आउने कार्यक्रम छ र मिरिकको कार्यक्रमपछि उनी दार्जीलिङ आउने भएकी छन्। यसैबीच, उनले 8 जूनको दिन यहाँको सम्भवतः राजभवनमा राज्यको क्याविनेट मन्त्री मण्डलको एक बैठक पनि गर्ने निर्णय लिएको जानकारी पाइएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन