बजार जाँदा एकजोडी लुगा…

नन्दु पौड्याल

बानरहाट, 30 मई 2017


बजार जाँदा एकजोडी लुगा बोक्नुपर्छ। एउटा खोलातर्दा लगाउने अर्को तरिसकेपछि बजार जाँदा लगाउने। यो हरेक बर्खाको र पुरानो समस्या हो।

कुरा हो, आङ्राभाषा ग्राम पञ्चायत अन्तर्गत पर्ने अप्पर केराबारीको।

‘यो त वर्षोदेखिको समस्या हो। खोलामा सेतु छैन। बर्खामा खोला बढ्छ। हामी अप्पर केराबारीवासीलाई त यसरी नै बजार जानुपर्छ,’ स्थानीय राजु प्रधान भन्छन्, ’कसैले सेतु हालिदिने होइन।’

राजु प्रधानहरूको बजार हो बानरहाट। जहाँ जान उनीहरूले १२ किमी तय गर्नु पर्छ। यही नै हो यहाँको मुख्य बाटो पनि। तर यहाँ आजसम्म कुनै सेतु छैन। हिउँदमा उति समस्या हुदैन। तर बर्खामा त्यही खोला उनीहरूको निम्ति विकट समस्या बन्छ।

बर्खाभरि दुइजोडी लुगा बोक्नुपर्ने दैन्दिनी शुरु। वर्षाको समय पाँच फिटभन्दा अधिक पानी उक्लिन्छ। एकसरो लुगाले हुँदैन। साइकलहरू पनि मानिसहरु काँधमा बोकेर पार गर्छन्। ‘हामी त जसोतसो समस्या टार्छौँ,’ भन्छन् प्रधान, ‘तर कोही विरामी परिदियो भने बाह्र बज्छ। बाइकमा लान पनि मिल्दैन। वाहन बोलाउनु पर्छ १२ किमी टाढा बानरहाटबाट।’

मुख्यगरी गर्भवती महिलाहरूले यही खोलाको कारण समस्या भोग्नुपर्छ। ‘धेरैवटा यस्तो घटना भइसकेको छ,’ सुनाउँछन् राजु, ‘ती घटनाहरूबारे यहाका पार्टीका नेता, सांसदको कानमा पनि कुरा पुगिसकेको छ। तर उनीहरूको आँखा भने पुगेको छैन।’

उनीहरूको आँखा किन पुगेन त? यसको जवाब पनि राजुहरूसित छ। किन भने, अहिलेसम्म यो समस्याबारे स्थानीय मानिसहरूले कसैलाई उजुरी नै गरेका छैनन्।

खबरम्यागजिनले स्थानीय समस्या जलपाइगढी जिल्ला परिषद वन औ भूमि कर्माअध्यक्ष तथा नगरकट्टा तृणमूल ब्लक सभापति अमर नाथसित राख्यो। उनले भने, ‘यो समस्याबारे मलाई त केही पनि पत्तो छैन। स्थानीय भुक्तभोगीहरूले मलाई लिखित समस्या राखे म यसबारे केही गर्न सक्ने थिएँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया