खरसाङमा विरोध ऱ्यालीः मुख्यमन्त्रीलाई पत्राचार

निर्माण थापा
खरसाङ, 30 मई।


राज्यभरि बङ्गला भाषा अनिवार्य गराउने पश्चिम बङ्गाल सरकारको निर्णय विरूद्ध अहिले दार्जीलिङ पहाडका विभिन्न ठाउँहरूमा नै विरोध प्रदर्शन कार्यक्रमहरू भइरहेको छ। यसै क्रममा आज खरसाङमा पनि विरोध ऱ्याली निकालिएको थियो। यहाँको टुरिस्ट लजबाट निस्किएको ऱ्यालीले वर्द्धमान रोड हुँदै खरसाङ शहर परिक्रमा गरी पङ्खाबारी रोड हुँदै महकुमा अधिकारी कार्यालमा पुगेर थामिएको थियो।

यसपछि महकुमा अधिकारीमार्फत गोजमुमोद्वारा मुख्यमन्त्रीलाई पत्राचार पनि गरिएको छ। ऱ्यालीमा गोजमुमोको तर्फबाट अनित थापा, प्रभा छेत्री, योगेन्द्र राई, महेन्द्र प्रधान, प्रणय थापा, अनुज थापा लगायत नारी मोर्चा, युवा मोर्चा, विद्धार्थी मोर्चा अनि खरसाङ क्षेत्रका विभिन्न सङ्घ-संस्थाहरु र विद्यालयका विद्यार्थीहरू उपस्थित थिए। खरसाङ महकुमा अधिकारीको अनुपस्थितिमा गोजमुमो, नारी मोर्चा, युवा मोर्चा, विद्यार्थी मोर्चा लगायत विभिन्न सङ्घ-संस्थाहरूले डेपुटी म्याजिस्ट्रेटलाई आ-आफ्नो तर्फबाट ज्ञापन-पत्र चडाएका छन्।

अर्कोतिर, डेपुटी मेजिस्ट्रेटले प्रदर्शनकारीहरूलाई उक्त ज्ञापन-पत्र मुख्यमन्त्रीसमक्ष पठादिने आश्वस्त गराएका छन्। ज्ञापन-पत्र बुझाएपछि महकुमा अधिकारी कार्यालयमा नै एक पथसभा सम्पन्न भयो। जसलाई गोजमुमोको तर्फबाट संयोजक बलराम छेत्री, युवा मोर्चाबाट महकुमा अध्यक्ष परमेन्द्र गुरुङ, विद्यार्थी मोर्चाबाट महकुमा सभापति सोनाम लामा, सङ्घ-संस्थाहरुको पक्षमा आशा लामा मुखियाले सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया