नयाँ बोर्डलाई शुरूमै मैला व्यवस्थापनको चुनौति

खबरम्यागजिन प्रतिनिधि।

कालेबुङ, 31 मई 2017


कालेबुङको नयाँ नगरपालिकाको बोर्डलाई शुरूमै मैला व्यवस्थापन गर्नुपर्ने चुनौति अघि आएको छ। किनभने, पुरानो बोर्डले ठिकसित मैला व्यवस्थापन नगरेको आरोप छ। यसैले नयाँ बोर्ड गठन हुनेबित्तिकै आज भालुखोप ग्राम कल्याण समितिले मैला व्यवस्थापन सम्बन्धी विविध प्रश्नहरू गर्दै कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधानलाई ज्ञापन-पत्र चढाएको छ। रिपोर्ट्स कालेबुङ कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका प्रतिनिधिरूले आफ्नो मागबारे जानकारी गराएका हुन्।

‘गत जनवरी महिनामा मैला व्यवस्थापनलाई लिएर कालेबुङ नगरपालिका अनि भालुखोप ग्राम कल्याण समितिमाझ दुईपक्षीय सम्झौता भएको थियो’-समितिका अध्यक्ष प्रदीप राईले भने, ‘सम्झौताको मियाद पूरा भइसकेको कारण नगरपालिकाले सम्झौता अनुसार के कति काम गऱ्यो? भन्ने हाम्रो प्रश्न हो।’

कालेबुङ नगरको मैला भालुखोप नेवारगाउँमा लापर्वाहीपूर्ण ढङ्गमा फ्याँक्दै आएको समितिको आरोप छ। यसैले गत जनवरी महिनामा समितिले मैला फ्याँक्नमा प्रतिबन्ध लगाएको थियो। त्यसबेला कालेबुङ नगरपालिका अनि समितिमाझ दुईपक्षीय सम्झौता भएपछि मैला फ्याँक्न सुचारू गरिएको थियो। सम्झौता अनुसार आज 31 मईभित्र मैला व्यवस्थापन ठिकसित गर्ने नगरपालिकाको आश्वासन थियो। यसैले आजको दिनसम्म नगरपालिकाले गरेको मैला व्यवस्थापनको कामको विवरण एक हप्ताभित्र दिनुपर्ने भन्दै नगरपालिकाको नयाँ बोर्डलाई ज्ञापन-पत्र चढाइएको समितिका प्रवक्ता सचिन राईले बताए।

समितिले मैला ठिकसित व्यवस्थित गर्नुपर्ने, कुहुने-नकुहुने मैला छुट्टाउनुपर्ने,  हस्पिटलको मैला फ्याक्न नदिने जस्ता 10 वटा सर्त कालेबुङ नगरपालिकाअघि राखेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया