‘मुख्यमन्त्री थोप्छु भन्ने, जिल्लापाल अफवाह भन्नेः कसलाई पत्याउनु?’

खबरम्यागजिन प्रतिनिधि

दार्जीलिङ, 31 मई 2017



मुख्यमन्त्रीले भनेकी छन्, प्रथम र दोस्रो भाषाको रूपमा विद्यार्थीहरुले नेपाली, हिन्दी, अङ्ग्रेजी कुनै पनि भाषा लिन सक्छन्, तर तेस्रो भाषाको रूपमा बङ्गलानै लिन आवश्यक छ  विद्यालयहरु बन्द हुनेः जुलुसमा विद्यार्थी सामेल नहुने



बङ्गला भाषा पठन-पाठनबारे राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी र दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले दिएको बयाननै विवादास्पद रहेको आरोप लगाउँदै यी दुइमध्ये कसलाई पत्याउनु भन्ने गोजमुमो महासचिव रोशन गिरीले प्रश्‍न उठाएका छन्। उनले भने-आज कलकत्तामा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले सम्पूर्ण स्कूल प्रमुखहरूलाई लिएर गरेको बैठकमा तीनवटा भाषामध्ये तेस्रो भाषाको रूपमा बङ्गला भाषा अनिवार्यरूपमा पढ्नुनै पर्ने मत प्रकट गरेकी छन्। तर यता दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले यसबारे गोजमुमोले अफवाह फैलाइरहेको आरोप लगाएकी छन्।

यदि गोजमुमोले राज्यका सम्पूर्ण विद्यालयहरुमा बङ्गला भाषा अनिवार्य गरिएको सम्बन्धमा अफवाह फैलाएको हो भने मुख्यमन्त्रीले आज कलकत्तामा दिएको बयान के हो? मुख्यमन्त्रीले भनेकी छन्, प्रथम र दोस्रो भाषाको रूपमा विद्यार्थीहरुले नेपाली, हिन्दी, अङ्ग्रेजी कुनै पनि भाषा लिन सक्छन्, तर तेस्रो भाषाको रूपमा बङ्गलानै लिन आवश्यक छ। मुख्यमन्त्रीले यसमाथि आफ्नो स्पष्ट बयान दिइरहेको समय दार्जीलिङकी जिल्लापालले यसलाई अफवाह भनिरहेकी छन्। तर जे सुकै होस्, दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा बङ्गला भाषाको पठन-पाठनको नीतिलाई कदापि लागू हुन दिइनेछैन।

यसैबीच, उनले आगामी 4 जूनदेखि हुने गोजमुमोको प्रतिवाद जुलूसमा विद्यार्थीहरुलाई सामेल नगराउने स्पष्टीकरण दिंदै गोजमुमो महासचिव गिरीले भने-गोजमुमोले अदालतको निर्देशलाई सम्मान गर्छ र सम्मान गर्दै आइरहेको छ। यसैले अदालतले विद्यार्थीहरुलाई कुनै पनि राजनैतिक जुलूसहरुमा सहभागी नबनाउने जुन निर्देश जारी गरेको छ, त्यसैलाई सम्मान गर्दै गोजमुमोले पार्टीको जुलूसमा विद्यार्थीहरुलाई सामेल गराउने छैन।

यसै सम्बन्धमा जीटीएसभाका अध्यक्ष लोप्साङ लामाले भने-प्राथमिक पाठशालाहरुमा कुनै पनि भाषाको पुस्तकलाई वैकल्पिक बनाउन सकिँदैन। यहाँ अनिवार्य हुन्छ। वैकल्पिक भाषा केवल उच्च विद्यालयहरुमा मात्रै हुनक्छ, तब कसरी बङ्गला भाषालाई वैकल्पिक भाषाको रूपमा लागू गर्ने यहाँ कुरा उठ्दैछ। यसैबीच, 1 र 2 जूनका दिन दार्जीलिङ पहाड़का अधिकांश विद्यालयहरु बन्द हुने छाँट देखा परेको छ। किनभने, दार्जीलिङका धेरैवटा विद्यालयहरुले 1 र 2 जून विद्यालय छुट्टीको घोषणा गरिसकेका छन्। तरै पनि कलेजहरुमा कतिपय परीक्षा भइरहेको कारण पहाड़का कलेजहरु भने खुल्लै हुनसक्ने अनुमान लगाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया