दिल्लीमा उठ्यो आवाजः दिल्ली तृणणूल काङ्ग्रेस कार्यालय घेराउ गरिने

खबरम्यागजिन प्रतिनिधि

दिल्ली, 31 मई 2017


पश्चिम बङ्गाल सरकारद्वारा दार्जीलिङ पहाड़लगायत तराई डुवर्सक्षेत्रका शैक्षिक संस्थानहरूमा प्रथम कक्षादेखि  दशौं कक्षासम्म बाध्यतामूलक बङ्गला भाषा शुरू गर्ने घोषणाको विरोधमा गोर्खा जनमुक्ति मोर्चा, दिल्ली शाखाद्वारा आज दिल्लीको जन्तर-मन्तरमा धरना प्रदर्शन गऱ्यो। दिल्लीका विभिन्न क्षेत्रहरूमा बसोबासो गर्ने गोरखाहरूले धेरै संख्यामा सहभागिता जनाएर उक्त धरना प्रदर्शनीमार्फत आफ्नो मातृभाषाप्रतिको प्रेम अनि श्रद्धा व्यक्त गरे।

दिल्ली गोजमुमो शाखाका अध्यक्ष मनोज शङ्करले बताएअनुसार आजको धरनामा बङ्गला भाषा जबरजस्ती थोपेर गोरखाहरूको मातृभाषामाथि पश्चिम बङ्गाल सरकारले अतिक्रमण गरेको ठहर गर्दै व्यापक  विरोध प्रदर्शन गरिएको हो। भाषा अनि जातिको आधारमा गोर्खाल्याण्डको माग गरिरहेको गोर्खाहरूलाई भाषिकरूपमा नै अल्पसंख्यक बनाएर गोर्खाल्याण्डको मुद्दालाई दबाउने पश्चिम बङ्गाल सरकारले षड़यन्त्र गरिरहेको आरोप लगाउँदै उनले उक्त षड़यन्त्रलाई भारतभरिका गोर्खाहरूले विरोध गर्नुपर्ने पनि बताए।

‘हामी भारतका विभिन्न प्रान्तहरूमा छरिएर बसेका गोर्खाहरूको पनि मातृभाषा नेपाली हो अनि यस भाषाले भारतको सविंधानको आठौं अनुसूचिमा पनि मान्यता प्राप्त गरिसकेको छ,’ उनले भने, ‘यसर्थ भारतीय संविधानले समेत सम्मान दिएको हाम्रो भाषामाथि पश्चिम बङ्गाल सरकारले अतिक्रमण गर्छ भने सारा भारतभरिका गोर्खाहरू चुप लागेर बस्नेछैन। आफ्नो मातृभाषाको सुरक्षा गर्न भारतभरिका गोर्खाहरू एकजुट बन्नेछन् पश्चिम बङ्गाल सरकारले उक्त फरमान तुरून्तै फिर्ता लिनुपर्छ।’

पश्चिम बङ्गाल सरकारको उक्त  भाषिक अतिक्रमणको विऱोधमा गोजमुमोले पहाड़मा गरिरहेको सबै आन्दोलनलाई दिल्लीका गोर्खाहरूको पूर्ण समर्थन रहेको जनाउँदै उनले मातृभाषामाथि आइपरेको यो सङ्कटलाई कुनै राजनैतिक अनि धार्मिक रङ नदिएर पहाड़का समग्र राजनैतिक दल अनि सघं- संस्थाहरूले पनि सड़कमा आएर विरोध गर्नुपर्ने उनले अपील गरेका छन्।

‘भाषालाई सवैंधानिक मान्यता दिलाउन जसरी गोर्खाहरूले एकजुटता देखाएका थिए यसबेला पनि यही एकजुटताको खाँचो रहेको छ,’ उनले अझ भने, ‘यतिबेला एकजुट भएनौं भने हामी आफ्नै ठाउँमा आफ्नो मातृभाषा पढ़्न अनि बोल्नबाट पनि वञ्चित बन्नेछौं।’

दिल्लीका गोर्खाहरू यस विषयमा धेरै गम्भीर रहेको जनाउँदै पश्चिम बङ्गाल सरकारको पक्षबाट उक्त फरमान फिर्ता लिनेबारे आगामी दुई चारदिनभित्रमै कुनै कार्य नगरेको खण्डमा अझ दिल्लीको जन्तरम-मन्तरमा अझ वृहतरूपमा विरोध प्रदर्शनी गरिने अनि दिल्लीस्थित तृणमूल काङ्ग्रेसको कार्यालय घेराउ गरिने समेत मनोज शङ्करले चेतावनी दिएका छन्।

यसबाहेक केन्द्र सरकारले पनि यस मुद्दामा हस्तक्षेप गरिदिनुपर्ने अनि दार्जीलिङका सांसद एसएस आहलुवालियाले पनि यस विषयमा आफ्नो नैतिक जिम्मेवारी वहन गर्नुपर्ने पनि आजको धरनामा माग उठेको पनि उनले बताए।

आजको धरना कार्यक्रमको अध्यक्षता मनोज शङ्कर, गोजमुमो दिल्ली शाखा अध्यक्षले गरेका थिए भने सचिव रोशन रामुदामु, उपाध्यक्ष विनोद प्रधान, मोतीलाल शर्मा, किरण सेवा, डी तामाङ, इशु चामलिङ अनि हरियाणाका सचिन चामलिङले सम्बोधन गरेका थिए।

खरसाङः खरसाङमा विक्षोप प्रदर्शन गर्दै ठाउँठाउँमा कालो झण्डा फहरिन शुरु भएको छ। सभासद योगेन्द्र राईले भोलिदेखि कालो पट्टि र कालो झण्डा लगाएर विरोधलाई अझ तीबर गरिने बताएका छन्।  भोलि बिहान हतार हुने हुनाले अहिले नै खरसाङ बजारमा कालो झण्डा लगाएको उने बताए। उनले कालो झण्डा मोर्चा, विद्यार्थी मोर्चा, युवा मोर्चा, नारी मोर्चा लगायत विभिन्न सङ्घ-संस्थाहरु मिलेर लागाएको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया