विमल गुरूङ, जीवन नाम्दुङ, प्रेम प्रधान तथा अन्य साहित्यकार र शिक्षकहरुलाई लाग्यो पुलिस केस

मोहन लामा
दार्जीलिङ, 1 जून।


बंगला भाषा अनिवार्य गर्ने राज्य सरकारको विरोधमा गोजमुमोद्वारा आयोजना गरिएको एक सभामा वक्तव्य राख्ने दार्जीलिङका राजनैतिक पार्टीहरुसँगै साहित्यिक संस्थान, स्कूलका शिक्षकगण आदि विरूद्ध दार्जीलिङ पुलिसले भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गऱ्यो।

पुलिसको मुद्दामा पर्नेहरुमा क्रमैले गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङका साथै गोर्खा दुःख निवारक सम्मेलनका अध्यक्ष पेम्बा बम्जन, नेपाली साहित्य सम्मेलनका सदस्य डा. जीवन नामदुङ, नेपाली साहित्य अकादमीका सदस्य प्रेम प्रधान, सन्त पल्स स्कूलका प्राचार्य आरजे हल्दार, विद्या विकास एकाडेमीका शिक्षक डेरिक प्रधान, सन्त रोबर्टस् स्कूलका प्राचार्य फादर पीटर लिङ्दामो, सन्त जोसेफ कलेजका शिक्षक प्रभात मुखिया, गोजमुमो सदस्य पी. अर्जुन, स्वराज थापा, सेवानिवृत्त कर्नल रमेश आलेका साथै अन्य सामेल छन्। पुलिसद्वारा दर्ता गरिएको यस स्यो-मोटो एफआईआरमा मुख्यरूपले 13 जनाको नाम उल्लेख गरिए पनि यसमा अन्य पनि छन् भन्ने पनि बताइएको छ।

जसले गत 30 मईको दिन स्थानीय गोर्खा रङ्गमन्च भवनमा बंगला भाषाको विरोध जनाउँदै 1 र 2 जूनका दिन पहाड़का सम्पूर्ण विद्यालयहरु बन्द राख्ने अनि 4 जूनदेखि 8 जूनसम्म घूमदेखि हातको पाखुरामा कालो पट्टी बाँधेर जुलूस निकाल्ने प्रस्ताव पारित गरेका थिए भन्ने पनि एफआईआरमा बताइएको छ। यसरीनै पुलिस आफैले दर्ता गरेको यस एफआईआर (जो खबर म्यागजिनले प्राप्त गरेको छ)-मा अझै भनिएको छ-उपर्युक्त आरोपीहरूले गत 30 मईको दिन विभिन्न विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई उपस्थित गराएर राज्य सरकार विरूद्ध दार्जीलिङ पहाड़मा आन्दोलन गर्ने षड़्यन्त्र रचे अनि यिनीहरुलेनै 1 र 2 जूनका दिन पहाड़का सम्पूर्ण विद्यालयहरू बन्द गर्ने प्रस्ताव पनि लिएका थिए। यति मात्रै होइन, यी आरोपीहरुले 4 जूनदेखि घूमबाट विरोध जुलूस निकाल्दै दार्जीलिङ जिल्लापाल कार्यालयसम्म आउने अनि जुलूसको लागि अनुमति नदिइए, दार्जीलिङ पहाड़मा अनिश्चितकालीन हड़्ताल गर्ने पनि प्रस्ताव ग्रहण गरेका छन्। जसको प्रमाण पुलिससित रेकर्डेट सीडीको रूपमा उपलब्ध छ। यसैको आधारमानै पुलिसले गत 30 मईको दिननै उपर्युक्त राजनैतिक नेतृत्व, साहित्यकारवर्ग, शिक्षकवर्ग विरूद्ध भारतीय दण्ड संहिताका धारा 120बी/153(बी)/505/34 दर्ता गरेको छ। जसमध्ये धारा 120बी/153(बी)/505 गैर जमानती मुद्दा रहेको कानूनविद्बाट जानकारी पाइएको छ। 120बी आपराधिक षड़्यन्त्र गरिएको आरोपमा लागू हुन्छ।

यसरीनै 505 जनता दिग्भ्रमित पार्न वा अरूलाई पीड़ा दिनको लागि दिइएको बयानको विरोधमा लागू हुन्छ। यसबारे गोजमुमोले भनेको छ-के बंगालमा आफूले नचाहेको कुरा हुँदा विरोध गर्ने अधिकार पनि छैन? के अब पहाड़का जनता बोल्न पनि नपाउने? यसबारे दार्जीलिङ पुलिस अधीक्षक अमित पी. जाभाल्गीले भने-पुलिसले उपर्युक्त आरोपीहरु विरूद्ध मुद्दा शुरू गरेको छ। जसमा विभिन्न स्कूलका शिक्षकवर्ग पनि सामेल छन्। किनभने, गत 30 मईको दिन भएको सभा राजनैतिक सभा थियो र यी शिक्षकगणका साथै साहित्यकारहरु पनि उक्त सभामा गएर भाषणनै दिएको कारण उनीहरु विरूद्ध पनि मुद्दा दर्ता भएको हो। यसप्रकारको कार्यले साम्प्रदायिक सद्भावना बिग्रिएर जान सक्छ, यसैले उनीहरू विरूद्ध भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको हो।

स्मरण गराइन्छ, गत 30 मईको दिन गोजमुमोको तत्वावधानमा गोर्खा रङ्गमन्च भवनमा नेपाली भाषामाथि अतिक्रमण विषय लिएर एक समीक्षा सभाको आयोजना भएको थियो, जसमा नेपाली साहित्य सम्मेलन, गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्य अकादमीका सदस्यवर्गका साथै अन्य कैयौं गैर राजनैतिक व्यक्तित्वहरु पनि उपस्थित भएका थिए, जसमध्ये डा. जीवन नामदुङ, पेम्बा बम्जन, प्रेम प्रधान, स्कूलका प्राचार्यहरुका साथै शिक्षकहरुले वक्तव्य पेश गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन