विमल गुरूङलाई पनि कालो झण्डा देखाउछौंः तृणमूल-मुख्यमन्त्री 5 जून आइपुग्ने दार्जीलिङ

 

मोहन लामा
दार्जीलिङ, 1 जून।


मुख्यमन्त्री ममता व्यानर्जी दार्जीलिङ आउँदा उनलाई कालो झण्डा देखाउँछ भने तृणमूल कंग्रेसले पनि गोजमुमो अध्यक्ष विमल गुरूङ जहाँ जान्छन्, त्यहीं उनलाई पनि कालो झण्डा देखाउने चेताउनी दिएको छ। दार्जीलिङ हिल तृणमूल कंग्रेस अध्यक्ष राजेन मुखियाले भने-यदि गोजमुमोले हाम्री नेत्री आउँदा कालो झण्डा देखाउँछ भने हामी पनि गोजमुमो अध्यक्ष विमल गुरूङ जहाँ जान्छन्, त्यहीं उनलाई कालो झण्डा देखाउनेछौं। अब पहाड़का जनता पनि उड़न्ते खबरको पछि लाग्नु हुँदैन, यस्तै उड़न्ते खबरको पछि लागेरनै पहाड़ पछिल्तिर लागिरहेको छ।

यसरीनै गोर्खा जनमुक्ति मोर्चाले नेपाली भाषालाई एउटा भावनात्मक मुद्दा बनाएर जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को चुनाउ ताक्दैछ भन्ने आरोप लगाउँदै मुखियाले भने-राज्यको शिक्षा विभागले दार्जीलिङ पहाड़मा बंगला भाषालाई वैकल्पिक भाषाको रूपमानै राख्ने भएको छ, यसबारे हिजो मात्रै मैले शिक्षामन्त्री पार्थ च्याटर्जीसित फोनमा कुरा गरेको थिएँ। यसरीनै आगामी 5 जूनको दिन राज्यकी मुख्यमन्त्रीसित पनि यसबारे हामी ठोस कुरा गर्नेछौं। हामी पनि जनताको चाहनालाई सम्मान गर्छौे अनि पहाड़मा बंगला भाषालाई वैकल्पिक भाषाको रूपमा लागू गरोस् भन्ने चाहन्छौं। तर यसै विषयलाई गोजमुमोले एउटा राजनैतिक मुद्दा बनाउँदैछ।

दार्जीलिङ पहाड़मा बंगला भाषा अनिवार्य गर्छ भन्ने नोटिफिकेशन खोई? यसबारे अहिलेसम्म राज्य सरकारले आधिकारिक नोटिफिकेशननै जारी गरेको छैन, तर अफवाहको भरमानै गोजमुमोले राजनीति गरिरहेको छ। भाषाको मुद्दालाई समातेर गोजमुमोले जीटीएको चुनाउमा निर्विरोध निर्वाचित बनी पुनः जीटीए आफ्नो दखलमा पार्न खोज्दैछ। गोजमुमोको यस्तो भावनाको राजनीतिमा लागेर जनता दिग्भ्रमिति हुनुहुँदैन। गोजमुमो अध्यक्ष विमल गुरूङ जीटीएका मुख्य कार्यपाल हुन्, उनले सोझै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई फोन गरेर दार्जीलिङ पहाड़ अनि गोर्खाबहुल इलाकाहरुमा बंगला भाषालाई अनिवार्य गर्नुहुँदैन भनेर किन कुरा राख्दैनन्।

यसको लागि उनले मुख्यमन्त्रीसित आधिकारिकरूपमा कुरा गर्न सक्छन्। तर यसो नगरेर गोजमुमोले यसलाई राजनैतिक मुद्दा बनाउने कार्य गरिरहेको छ अनि फेरि बन्दको राजनीति गरिरहेको छ। दार्जीलिङको शिक्षा व्यवस्था उसै पनि तहस-नहस भइसकेको छ, यस्तो अवस्थामा फेरि स्कूलहरु बन्द गरेर अझै यहाँको शिक्षालाई ह्रास पार्ने कार्य भइरहेको छ। दार्जीलिङ हिल तृणमूल कंग्रेसले यसप्रकारको बन्दको राजनीतिको कठोर विरोध गर्छ। यसैबीच, उनले आगामी 5 जूनको दिन राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले मिरिकको आहाले मैदानमा एक जनसभालाई सम्बोधन गरेपछि दार्जीलिङ आउने कार्यक्रम बनाएको पनि मुखियाले जानकारी गराए अनि भने-यसपाली राज्यको क्याविनेट मन्त्री मण्डलको बैठक पनि दार्जीलिङमा गरिने भएको छ। मुख्यमन्त्रीले दार्जीलिङलाई यसरी माया गरिरहेकी छन्।

विगतमा राज्यमा बाममोर्चाको 34 वर्ष शासन रहँदा कहिले राज्यका मुख्यमन्त्री दार्जीलिङ आएनन्, न कुनै मन्त्रीनै आउने गर्थे। तर राज्यमा तृणमूल कंग्रेसको सरकार गठन भएपछि मुख्यमन्त्री ममता व्यानर्जी लगातार दार्जीलिङ पहाड़ आइरहेकी छन् अनि दार्जीलिङमा वर्षमा दुइपल्ट क्याविनेट मन्त्री मण्डलको बैठक पनि गरिने भएको छ। तर दार्जीलिङ पहाड़ले जहिले पनि नकारात्मक सोंच मात्रै राखिरहेको छ। यस्तो सोंचकै कारण पहाड़ पछाड़ि परिरहको हो। यसका साथै उनले जीटीएले अहिलेसम्म कुनै ठोस विकासको कार्य गर्न नसकेको बताउँदै अब मिरिक र पहाड़का अन्य नगरपालिका क्षेत्रको विकास कार्य दाँजेर हेर्ने समय आएको पनि बताए। पहाड़मा कसले धेरै विकासको कार्य गर्छ, त्यो आगामी दिनमा स्पष्ट हुनेछ। किनभने, मिरिकमा तृणमूल कंग्रेसको बोर्ड गठन भएको छ र दार्जीलिङ, खरसाङ अनि कालेबुङमा गोजमुमोको बोर्ड छ। यसैबीच, आज दार्जीलिङका विभिन्न स्थानहरुमा पनि कालो झण्डा लगाउन शुरू भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन