रूट शतकले इङ्ग्ल्याण्ड विजयी

लण्डन, 2 जून।


आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो म्याचमा आयोजक इङ्ग्ल्याण्ड विजयी भएको छ। इङ्ग्ल्याण्डको यो जीतमा जो रूट हिरो बने। उनकै उत्कृष्ट 133 (नट्आउट) इनिङ्ग्सको भरमा आयोजक देशले 306 रनको विजयी लक्ष्य 47.2 ओभरमा केवल दुइ विकेट गुमाएर सहजै प्राप्त गऱ्यो। यो उत्कृष्ट इनिङ्ग्सका लागि 26 वर्षे रूटलाई प्लेयर अव् द म्याच छनोट गरियो। तीन दिनअघि मात्र बलियो दक्षिण अफ्रिकाविरुद्ध तीनवटा म्याचको वन् डे शृङ्खला जित्ने इङ्ग्लिस टीमले बङ्ग्लादेशविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गऱ्यो।

यहाँको किङ्ग्सटन ओभलमा 306 रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले केवल 6 रनको योगफलमा प्रारम्भिक ब्याट्सम्यान जेसन रोय (01) -को विकेट गुमाएर समस्यामा फँसेको थियो। यद्यपि अर्का प्रारम्भिक ब्याट्सम्यान अलेक्स हेल्सले रूटसँग मिलेर दोस्रो विकेटका लागि 159 रनको महत्त्वपूर्ण साझेदारी गरी टीमलाई सङ्कटबाट उकास्ने काम मात्र गरेनन् तर जीतका लागि आधार पनि तयार पारे।

विध्वंसी ब्याटिङ गर्ने हेल्सले 95 रन बनाए। 28 वर्षीय यी ब्याट्सम्यान आउट भएपछि रूटले कप्तान इयान मोर्गनसँग मिलेर तेस्रो विकेटका लागि 143 रनको अटुट साझेदारी गरी आफ्नो टीमलाई महत्त्वपूर्ण जीत दिलाए। मोर्गनले 75 (नट्आउट) रन बनाए। बङ्ग्लादेशका लागि कप्तान मशरफे मुर्तुजा र सब्बीर रहमनले एक-एक विकेट लिए। यसभन्दा अघि टस हारेर पहिलो ब्याटिङ गर्न परेको बङ्ग्लादेशले निर्धारित ओभरमा 6 विकेट गुमाएर 306 रन सङ्ग्रह गरेको थियो। बङ्ग्लादेशका लागि प्रारम्भिक ब्याट्सम्यान तमिम इकबालले 128 रन बनाए। उनीबाहेक विकेटकीपर ब्याट्सम्यान मुश्फिकुर रहीमले 79 रनको उपयोगी इऩिङ्ग्स खेले। इङ्ग्ल्याण्डका लागि लियम प्लङ्केटले चार तथा ज्याक बल र बेन स्टोक्सले एक-एक विकेट लिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन