‘श्रोता-दर्शकको मनै छामेर गीत लेख्न सक्नुहुन्थ्यो’

नयाँ पत्रिका-बाट साभार


शम्भु प्रधान

चर्चित श्रीमान्का श्रीमतीहरू क्षमता भएर पनि ओझेलमा परेका उदाहरण धेरै छन्। तर, कुसुम गजमेर कहिल्यै श्रीमान्को ओझेलमा परिनन्। जुन गीत लेखिन्, उही चर्चित बन्यो। वरिष्ठ संगीतकार रञ्जित गजमेरकी श्रीमती बनेर उनले नाम बिकाउनुपरेन। आफ्नै गीतका शब्दले ‘कुसुम गजमेर’ नाम स्थापित भयो। ‘रेली खोला बगर’ होस् या ‘मोहनी लाग्ला है’, सधैँ सबैको कण्ठमा झुन्डिन सक्ने गीतका रूपमा स्थापित भए। ‘दुईपाते सुइरो’, ‘उकालीमा पछिपछि ओरालीमा अघिअघि’, ‘के सोचेँ मैले के भयो अहिले’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘नयाँ–नयाँ सजाऊँ है संसार’ आदि जुनै पनि गीत निकै चले। कुसुमका धेरै गीतमा भारतीय चर्चित गायिका आशा भोस्लेले पनि स्वर भरेकी छिन्। उनका शब्दमा रञ्जितको संगीत र गायक-गायिकाको स्वर मिलेपछि श्रोता लठ्ठै पर्थे। अहिले पनि उस्तै लाग्छन्, ती गीत। हो, उनै गीतकार कुसुमको बिहीबार ७२ वर्षको उमेरमा मुम्बईमा निधन भयो। कलेजोसम्बन्धी समस्याले ग्रसित उनको उपचारकै क्रममा ज्यान गएको हो। आफ्ना फिल्मका धेरैजसो गीत कुसुमबाटै लिएका निर्देशक शम्भु प्रधानले उनीसँगको विगतको निकटता स्मरण गरेका छन्।


 

 ‘सम्झना’ बनाउँदा  पहिलोपटक चिनेँ
चलचित्र ‘सम्झना’ बनाउँदा मैले कुसुम भाउजूलाई नजिकबाट चिन्ने मौका पाएँ। ३४ वर्षअघि अर्थात् ०४० सालतिरको कुरा हो, यो। त्यतिखेर म बम्बई (हालको मुम्बई) बस्थेँ। रञ्जित गजमेरलाई दाइ भन्ने भएकाले उहाँलाई भाउजू सम्बोधन गर्थें। मेरो सम्मान र सम्बोधनमा उहाँलाई कुनै संकोच थिएन। निकै प्रेम गर्नुहुन्थ्यो। सम्झना मेरो पहिलो चलचित्र हो। यो चलचत्रिका सबै नै गीत कुसुम भाउजूले नै लेख्नुभएको हो। यो चलचित्रका लागि उहाँले लेख्नुभएको ‘दुईपाते सुइरो’ निकै हिट भयो। त्यसो त ‘पिरती आफैँ हुँदो रहेछ’ र ‘के सोचेँ मैले के भयो अहिले’ पनि उस्तै चले। उहाँले लेखेका गीत नराम्रो होला कि भन्ने त सोच्नै नपर्ने। श्रोता-दर्शकको मनै छामेर लेखेजस्तो लाग्ने।

उहाँकै घरमा अड्डा जमाइन्थ्यो
फिल्ममा सँगै काम गरेको निकटता मात्रै होइन, पारिवारिक निकटता नै बढ्दै गयो। कला क्षेत्रमा लागेका युवालाई निकै प्रोत्साहित गर्ने रञ्जित दाइको स्वभाव छ। भाउजू झन् बढ्दा सकारात्मक हुनुहुन्थ्यो। मलगायत धेरै नेपाली कलाकर्मी रञ्जित दाइको बम्बईस्थित घरमा अड्डा जमाएर बस्थ्यौँ। उहाँकोमा जाने र गीत, सङ्गीतको चर्चा गर्ने काम हुन्थ्यो। उहाँहरू दुवैजना हौसला दिनुहुन्थ्यो। भाउजू त झन् सरल र सहज स्वभावको।

चिया पिउँदापिउँदै पनि लेख्न सक्ने खुबी
कुसुम भाउजूको क्षमता नै बेग्लै थियो। अहिले सम्झिँदा पनि मलाई अचम्म लाग्छ। उहाँलाई फिल्मको सम्बन्धित विषयवस्तु बताएपछि एकैछिनमा गीत लेखिदिने। गफ गर्दागर्दै, चिया पिउँदापिउँदै पनि गीत लेखिदिनुहुन्थ्यो। कुनै एकान्त चाहिँदैनथ्यो, गीतका शब्द फुराउन। रमाइलोमै गीत लेखिदिन सक्ने क्षमता थियो। उहाँ जस्तोपायो गीत लेख्नुहुँदैनथ्यो। शब्द निकै ‘क्याची’ उतार्न सक्नुहुन्थ्यो। त्यसो त उहाँका हरेक गीत सुन्दा सबैले महसुस गरेकै कुरा हो नि!

मन परेन भने सच्याइहाल्ने बानी 
मैले कुसुम भाउजूका गीत धेरै फिल्ममा लिएँ। ‘मायालु’, ‘बेहुली’, ‘सम्पत्ति’, ‘सरस्वती’, ‘सक्कली–नक्कली’, ‘सपना’लगायत सबै गीतमा उहाँकै गीत लिएँ। उहाँको गीतमा रञ्जित दाइले सङ्गीत भरिदिने भएकाले काम गर्न पनि सजिलो हुन्थ्यो। फेरि उहाँहरूसँग काम गर्न निकै सहज। कुसुम दिदीको एउटा बानी अनौठो थियो। एकपटक लखेको गीत मन परेन भने उत्निखेरै सच्याएर परिस्कृत गर्नुहुन्थ्यो। यतिसम्म कि गीत रेकर्ड गर्दागर्दै शब्द मन नपरेजस्तो लाग्यो भने तत्काल रेकर्ड रोकेर गीत सच्याउनुहुन्थ्यो। कसरी हुन्छ राम्रो हुनैपऱ्यो भन्ने उहाँको धारणा रहन्थ्यो। तर, गीत सच्याएपछि सबैलाई देखाउने पनि गर्नुहुन्थ्यो। मलाई त उहाँले लेखेका गीतप्रति ढुक्क लाग्ने भएर पनि जहिल्यै उहाँकै सहारा लिएँ।

गीत रेकर्ड हुँदा स्टुडियोमा हुनैपर्ने 
धेरै गीतकार गीत दिन्छन् र अन्य जिम्माबाट टाढा रहन्छन्। तर, कुसुम भाउजूको स्वभाव र काम फरक थियो। सङ्गीतकार र गायकलाई गीत दिएर मात्रै उहाँ कहिल्यै ढुक्क हुन नसक्ने। रेकर्डिङ स्टुडियोमा उपस्थित भएर पूरै रेकर्ड सुन्नुपर्ने स्वभाव थियो। आफूले सोचेभन्दा नराम्रोजस्तो लाग्यो भने तत्काल दोहोर्याएर लेख्ने र फेरि गाउन लगाउने गर्नुहुन्थ्यो। उहाँको यो स्वभाव आजित पार्ने खालको पनि थिएन। चित्त बुझ्ने काम गर्नुहुन्थ्यो र त सबैले स्विकार्थे। चिन्नेजति सबैले ठान्थे, उहाँको जोड उत्कृष्ट बनाउनकै लागि हुन्छ। नभन्दै हरेक गीतबाट परिणाम यस्तै निस्किन्थ्यो।

उहाँको क्षमतामाथि कतिले प्रश्न उठाए
कुसुम भाउजूको क्षमतालाई नजिकबाट नजान्नेहरू हुन् या अर्काको राम्रो देख्न नसक्नेले अनेक लान्छना पनि लगाए। कतिपयले त उहाँका ती चर्चित गीतहरू अरूले नै लेखेकोसम्म भन्न भ्याए। कतिपयले ती गीत लेख्ने कुसुम नभएर, रञ्जित गजमेर नै हुन् पनि भने। यस्ता कुरा सबै वाहियात थिए। कुसुम भाउजूको लेखन क्षमताको म साक्षी छु। सबैका सामु एकैछिनमा गीत लेख्ने क्षमता थियो, उहाँमा। ढिलोमा एक–दुई रातमै गीत तयार पारिदिनुहुन्थ्यो। यति मात्रै हो, उहाँका शब्द सुहाउँदो सङ्गीत दिएर रञ्जित दाइले थप उत्कृष्ठ बनाइदिनुभयो।

न खुसी न दुःखी सधैँ उस्तै स्वभाव
उहाँ कहिल्यै पनि फुरुक्क फुर्किएको मैले देखिनँ। उहाँको दुःखी अनुहार पनि देखिनँ। सधैँ एकनासको स्वभाव देखिन्थ्यो। निकै कम बोल्ने स्वभाव थियो, तर अनुहारमा उज्यालो चमक हुन्थ्यो। जतिखेर पनि मन हाँसेजस्तो लाग्थ्यो, अनुहार हेर्दा। रिस लुकेको कहिल्यै अनुहारमा झल्किएन। गीत हिट भयो भनेर कहिल्यै उत्तेजित पनि हुनुभएन।

गीत लेखेको पैसा कहिल्यै माग्नुभएन
उहाँ कहिल्यै केही ‘डिमान्ड’ नराख्ने। गीत लेखेको पैसा कहिल्यै लिनुभएन। हामी समग्रमा सङ्गीत भरेको हिसाब गरेर रञ्जित दाइलाई पैसा दिन्थ्यौँ। तर, भाउजूको गीतका लागि भनेर छुट्टै कहिल्यै पैसा दिइएन। रञ्जित दाइसँगको सम्झौताभित्रको मूल्यमै उहाँले गीत लेखिदिनुहुन्थ्यो। उहाँलाई त सित्तैमा गीत लेख्न लगाइयो भने पनि हुन्छ।

रेकर्डेड गीत नै  सित्तैमा दिनुभयो
दार्जिलिङमा ‘सम्झना’ सुटिङ हुँदै थियो। मलाई गीत चाहिएको थियो। मैले रञ्जित दाइसँग एउटा गीत चाहियो भनेँ। उहाँले कुसुम भाउजूलाई मेरो समस्या बताउनुभएछ। भाउजूकै पहलमा मलाई तत्काल रेकर्ड गरेर तयारी अवस्थामा राखिएको गीत नै पठाइदिनुभयो। त्यो पनि पैसा तिर्नु नपर्ने गरी। सित्तैमा पठाइदिएको त्यो गीत ‘गहिरो–गहिरो सागरजस्तो’ थियो। गीत पहिल्यै दीपानारायण झाले आफ्नै खर्चमा रेकर्ड गर्नुभएको रहेछ। यो घटनाबाट पनि मैले भाउजूको प्रेम गहिरोसँग महसुस गर्न पाएँ। केही गर्छु भन्नेलाई भित्रैदेखि सहयोग गर्ने उहाँको स्वभाव थियो, सित्तैमा सहयोग गर्न पनि तयार।

कामबाहेक घरायसी सल्लाह पनि दिनुहुन्थ्यो
कामको कुरा एउटा पाटो भयो। उहाँ त पारिवारिक स्वभाव पनि देखाउनुहुन्थ्यो। मलाई पनि घरायसी केही समस्या पऱ्यो भने उहाँसँग सल्लाह लिन्थेँ। ‘बुहारीसँग यस्तो व्यवहार गर्नुपर्छ, यसो नगर्नू’ भन्दै अर्ती दिनुहुन्थ्यो। कामको सिलसिलाबाट सुरु भएको सम्बन्ध पूरै पारिवारिक भयो। तर, पछिल्लो समय उहाँसँग भेट हुन पाएन। उहाँको निधनको खबरले निकै दुःखी तुल्याएको छ। विगतको सम्झनाले पनि मेरो अहिले मन गिजोलेको छ। नेपाली सांगीतिक क्षेत्रमा कुसुम भाउजूको निधनले अपूरणीय क्षति पुगेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया