यो पहिलो प्रेम कदापि बिर्सने छैन –छुदेन काविमो

खबरम्यागजिन प्रतिनिधि

मणिपुर, 2 जुन 2017


‘मणिपुरको मेरो पहिलो यात्रा। तपाईंहरूसितको पहिलो बसाई। पुरस्कार पनि मेरो पहिलो। कथा सङ्ग्रह पनि पहिलो। सब कुरो पहिलो। यो पहिलो प्रेम कदापि बिर्सने छैन,’ काङलातोम्बीमा आयोजित समारोहमा अलङ्कृत भएपछि रोमाञ्चित देखिएका छुदेन काविमोले भने, ‘मैले कहिल्यै नचिनेको ,नजानेको मणिपुरबाट पुरस्कृत हुने अवसर पाएँ। यसले मजस्तालाई साहित्यमा लबी गरिरहन पर्नेरहेनछ भन्ने कुरोको महसुस गराएको छ। हाम्रोतिर त ग्रुपिज्म र लबिज्म पनि निक्कै पो हाबी हुँदैछ हौ!’

खबरम्यागजिन स्तम्भकार तथा चर्चित युवाकथाकार छुदेन काविमोलाई ‘1986 ‘कथासङ्ग्रहको निम्ति आशारानी राई स्मृति पुरस्कार २०१७-ले शुक्रबार अलङ्कृत गरियो। मणिपुरको काङलातोम्बीस्थिl सार्वजनिक भवनमा आज सम्पन्न नेपाली साहित्य परिषद्को 35 औं स्थापना दिवस समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो। भाषा सङ्ग्रामी आशारानी राईको स्मृतिमा उनका परिवार पक्षद्वारा प्रायोजित तथा नेपाली साहित्य परिषद् मणिपुरको संयोजनमा आयोजित समारोहमा दिइएको उक्त पुरस्कार स्वरुप नगद राशि दश हजार(10,000), अङ्गवस्त्र र सम्मानपत्रले छुदेन काविमोलाई सम्मानित गरियो।

समारोहलाई नेपाली साहित्य परिषद् अध्यक्ष लोकबहादुर बस्नेतले अध्यक्षता गरेका थिए। जहाँ सदर हिल्स अटोनमस डिस्ट्रिक्ट काउन्सिल मणिपुरका निर्वाचित सदस्य सागर ज्ञवाली प्रमुख अतिथिका रुपमा उपस्थित थिए। डा० पुष्पा राई (पूर्व सीएमओ, मणिपुर सरकार), युवा समालोचक जय क्याक्टस, पुरस्कारप्रापक छुदेन काविमो र लीलाबहादुर छेत्री विशेष अतिथिका रुपमा उपस्थित थिए।

मणिपुर राज्यका विभिन्न गोर्खा सङ्गठनहरू गोर्खा ज्योति प्रकाशन, अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठन, मणिपुर गोर्खा सुधारक सङ्घ आदिका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न स्थापना तथा पुरस्कार अलङ्करण समारोहलाई लक्ष्मण खतिवडाले सञ्चालन गरेका थिए। समारोहको आरम्भ भाषा सङ्ग्रामी आशारानी राई लगायत नेपाली साहित्य परिषद् मणिपुरका दिवङ्गत संस्थापकहरूको स्मरणमा श्रद्धाझ्जली अर्पण गरेपछि परिषद्को साङ्गठनिक झण्डा उत्तोलन गरी 35 औं स्थापना दिवसको शुभकामना आदान-प्रदान गरिएको थियो।

त्यसपछि पुरस्कार अलङ्करण समारोह आरम्भ भयो। नेसाप सल्लाहकार रामप्रसाद शर्माले स्वागत मन्तव्य गरेको समारोहमा यसका मूलसचिव कीर्तिमणि खतिवडाले प्रतिवेदन प्रस्तुति र पुरस्कार चयनबारे आफ्नो पक्ष राखे। मूलसचिव खतिवडाले आशारानी राईको व्यक्तित्व र कृतित्व अनि पुरस्कार चयनको निम्ति प्राप्त पुस्तकहरूका बारेमा जानकारी गराए। भीम धमाला जागुनको ‘बिटुलो रगत’, सञ्जय विष्टको ‘जून जस्तै घाम’, खड्गराज गिरीको ‘कालो सर्प र नयाँ प्रजन्म’, निरज थापाको ‘कथायाम’, प्रकाश हाङ्खिमको ‘ह्याङमेनको चिट्ठी’, विष्णु शर्मा नेउपानेको ‘एक रुपियाँ देउ बाबु कल्याण हुन्छ’, रुद्र बरालको ‘चरित्रहरूको खोजीमा ‘, थीरुप्रसाद नेपालको ‘सौन्द्रय विकृतिहरूको’, हरिस मोक्तान अल्लारेको ‘कथा वाच्दै जाँदा’, निरङ्कर थापाको ‘झरेको फूल’ र छुदेन काविमोका ‘1986 ‘ प्राप्त भएको र तीमध्ये जूरीहरूले परिषद्को प्रक्रिया अन्तर्गत चयनित गरिएको कुरो उनले सार्वजनिक गरे।

पुरस्कार प्रायोजक आशारानी राई पक्षमा अनुराधा नायरको उपस्थितिमा ‘1986’ कथासङ्ग्रहको निम्ति छुदेन काविमोलाई दोस्रो भाषा सङ्ग्रामी आशारानी राई स्मृति पुरस्कार प्रदान गरियो। समारोह अध्यक्ष, प्रमुख अतिथि लगायत पुरस्कार प्रायोजक अनुराधा नायरका बाहुलीबाट सम्मान पत्र, अङ्गवस्त्र र पुरस्कार राशि प्रदान गरियो। अलङ्कृत भएपछि छुदेन काविमोले संक्षेपमा समारोहलाई सम्बोधन गरे। सम्बोधन अवधि काविमोले भारतेली नेपाली साहित्यको परिप्रेक्ष्यमा पुरस्कार घोषणापछि उठ्ने विवाद र नेपाली साहित्य परिषद् मणिपुरको चयन प्रक्रियाबारे बोल्दै आफुलाई चयनित गरिएकोमा परिषद्प्रति आभार प्रकट गरे।

उनले आफ्नो पहिलो प्रकाशोन्मुख उपन्यासबारे पनि केही चर्चा गरे। समारोहमा लीलाबहादुर छेत्री, जय क्याक्टस, सुधा राईलाई नेसापको पक्षमा अभिनन्दन जनाइयो। अनुराधा नायर, डा० पुष्पा राई, जय क्याक्टस, सागर ज्ञवाली, लीलाबहादुर छेत्रीले सम्बोधन गरे। सम्बोधन अवधि जय क्याक्टसले पुरस्कार चयन प्रक्रियामा देखाएको नेसापको निष्पक्षताबारे उल्लेख गर्दै भने, ‘छुदेन काविमोजस्ता प्रतिभा पाउनु भारतेली नेपाली साहित्यको निम्ति गर्वको कुरो हो। सीतादेवी छेत्री, वसन्ती पौड्याल, राहुल राई ‘बोगिको’, देवीप्रसाद थापा, भवानी अधिकारी, दिलिप बरदेवाले कविता वाचन गरेको समारोहमा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश रहेको थियो। अध्यक्षीय सम्बोधन अवधि लोकबहादुर बस्नेतले भाषा सङ्ग्रामी आशारानी राई स्मृति पुरस्कार परम्पराले मणिपुरलाई भारतको अन्यभागसित जोड्ने कार्य मात्रै नगरेर मणिपुर राज्यको नेपाली भाषी- साहित्यिप्रेमीहरूलाई एकत्रित गर्ने सर्जकहरूलाई समेत प्रेरित गर्नथालेको बताए। कार्यक्रमपछि नेसाप सल्लाहकार रामप्रसाद पौड्यालले छुदेन काविमोसित भने, ‘तपाईंको दृश्यजगतमा आफ्नो हेराई छ। भाषामा ज्यान-प्राण छ। यसलाई थेगेर राख्नोस्।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन